बालापन सम्झाउने 'ऐना झ्यालको पुतली'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फिल्म समीक्षा

बालापन सम्झाउने 'ऐना झ्यालको पुतली'

नेपाली फिल्मको पहिचान के हो ? भन्ने बहस चलिरहँदा निर्देशक बिडारीजस्ता कथावाचकको प्रवेश हुनु फिल्म क्षेत्रका लागि नयाँ आशा हो । समाजबाटै टिपिएका पात्रहरूको कथा भन्ने 'ऐना झ्यालको पुतली'लाई नेपाली माटोको कथा भन्न सकिन्छ ।
रीना मोक्तान

काठमाडौँ — ठूला मुद्दा, 'लार्जर द्‍यान लाइफ चरित्र', भारी भरकम संवादबिना पनि सरल र सहज ढंगले कथा भन्न सकिन्छ भन्ने कथ्यलाई प्रमाणित गर्ने फिल्म बनेको छ, 'ऐना झ्यालको पुतली' । सुजित बिडारी निर्देशित यो फिल्ममा साधारण तरिकाले सामान्य कथालाई मिहीन ढंगबाट भनिएको छ ।

दिदी विद्या र भाइ वसन्तको सम्बन्धमा आधारित छ फिल्म । पढाइमा तीक्ष्ण विद्या मितिनीसँगै हर्नामाडी गई बाँकी पढाइ पूरा गर्न चाहन्छिन् । तर, भाइको सानो लापर्बाहीले विद्याको पढाइ पूरा गर्ने सपना पूरा हुँदैन । तुहिएको सपनाले निराश बनेकी विद्यामा नयाँ आशा थपिदिन भाइ वसन्तले गर्ने संघर्ष नै 'ऐना झ्यालको पुतली' हो ।

विद्या र वसन्तले सिसाको डिब्बामा थुनिएको पुतलीलाई उडाउँदै गरेको प्लटबाट फिल्मको कथा सुरु हुन्छ । विद्या पुतलीलाई बन्द सिसाभित्रै सीमित गर्न चाहँदिनन् । पुतलीलाई उड्न दिन्छिन्, स्वतन्त्र गरिदिन्छिन् । यो एउटै दृश्यले पुतलीझैं उड्न चाहने विद्याको रहर/उद्देश्य प्रस्तुत गरिदिन्छ। फिल्मको अर्को दृश्यमा विद्या झ्यालछेउ अचल बनेर बसेकी हुन्छिन्, उड्न नसक्ने पुतलीझैं । पुतलीमार्फत सुरु भएको कथा त्यसरी विम्बात्मक रुपमा पुतलीमै आएर समाप्त हुनुले फिल्मको पटकथाकार प्रमुख कथाबाट भड्किएका छैन्न भन्ने देखाउँछ । निर्देशक सुरुदेखि नै दर्शकलाई के देखाउन चाहन्छन् भन्ने कुराको प्रस्ट उदाहरण पनि हो यो दृश्य ।

कथा पूरा भन्न नपाउँदै कतिपय फिल्ममा निर्देशक अन्य प्लटहरूमै अलमलिँदा दर्शकलाई के भन्न खोजेको हो भन्ने कुरा प्रस्ट हुन्न । यो हकमा निर्देशक बिडारी सुरुदेखि नै सचेत देखिन्छन् । फिल्मको सुरुदेखि नै कथाको केन्द्रीय द्वन्द्वलाई पछ्याउँदै बिडारीले पटकथा कोरेका छन् । विद्या आफ्नो पढाइ पूरा गर्न चाहन्छिन् तर, घरको गरिबी बाधक बनिदिन्छ । फिल्ममा विद्या र वसन्त बस्ने भूगोल, उनीहरुले बाँचेको समय सीमामा समेत निर्देशकले ध्यान पुर्‍याएको देखिन्छ ।

चलचित्रले विद्या र वसन्तको कथा मात्रै भन्दैन, बालमनोविज्ञानलाई खिपेर बनाइएको चलचित्र हेर्दा त्यो कालखण्डमा हुर्किएका दर्शक आफ्नै बालापनमा पुग्छन् । यो नै फिल्मको सबैभन्दा सशक्त पक्ष हो । भर्खर-भर्खर गाउँमा टिभी पुग्दाको रोमाञ्चकता, अरुको घरमा टिभी हेर्न नपाउँदाको खल्लोपन र हेर्न गरेको संघर्ष चलचित्रमा देखाइएको छ । यो कथा पनि वसन्त र उनका साथी उमेशको मात्रै होइन, २ दशकअघि नेपाली समाजमा हुर्कँदै गरेका धेरैको भोगाइ नै यही हो ।

घरझगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर पनि बिडारीले प्रस्तुत गरेका छन् । बुवाआमाको झगडा र कमजोर आर्थिक अवस्थाले सानै उमेरमा उमेश काठमाडौं जान चाहन्छन् । वसन्तलाई पनि काठमाडौं जान फकाउँदै उनी भन्छन्, 'भान्दाइले मलाई त काठमाडौं आइज, गलैंचा फ्याक्ट्रीमा काम खोजिदिन्छु भन्नुभा'छ । सधैं बाउको कुटाइ खानुभन्दा त जाने हो ।' 'आजदेखि कहिल्यै घर आउँदिनँ' भन्दै घुर्क्याउँदै घरबाट फन्किएर भाग्ने वसन्तको बालसुलभ व्यवहार धेरैको कथा हो । विद्याले विद्याकै लागि गरेको संघर्ष निम्नवर्गीय परिवारमा हुर्केकाहरूको भोगाइ हो । यस्तै पटकथा दर्शकलाई बाँधिराख्ने मूल कडी बनेको छ ।

फिल्ममा पात्रहरूको स्थापनामा खासै लामो समय खर्चिएको छैन । विद्या अनि वसन्तको मात्रै होइन फ्रेमभित्र अटाइएका महत्त्वपूर्ण पात्रहरूको स्थापनामा निर्देशकले ध्यान पुर्या‍एका छन् । वसन्त र उमेशको सम्बन्ध स्थापना गर्न 'चाइनिज पेन' किन्दै गरेको दृश्य काफी छ । हुर्कँदै गरेकी विद्याका यौवनका चाहनाहरू प्रस्तुत गर्न उनले ओठ र गालामा लगाएको लाली अनि चुराहरूमा चलमलाएका उनका हातका दृश्यले धेरै कुरा बोल्छन् ।

फिल्मको संवाद दृश्यझैं कसिला छन् । बाल मनोविज्ञानलाई केन्द्रमा राखेर संवाद बुनिएका छन् । जुन 'एक्सपेक्ट रेसियो'मा 'ऐना झ्यालको पुतली' खिचिएको छ, त्यसले सिनेमेटिक अनुभव दिनुका साथै दर्शकलाई पात्रसँग सजिलै जोडिदिन्छ । एक्सपेक्ट रेसियोले दर्शकलाई त्यतिबेलाको समयमा पुर्‍याइदिन्छ।

सिनेमेटोग्राफर अमर महर्जन पनि निर्देशकले देखाउन खोजेको कुरामा प्रस्ट देखिन्छन् । एउटा दृश्यमा वसन्तले दिदीले दिएको चिठ्ठी बाँसघारीमा फालिदिन्छन् । क्यामेराले विस्तारै फालेको चिठ्ठी खिच्छ । त्यस्तै गरी कविता प्रतियोगितामा विद्याले आफ्नो हातमा भएको चिठ्ठी हेर्दै गरेको कुरालाई क्यामेराले पनि देखाइदिन्छ ।

थुप्रै ठाउँमा चरित्रलाई क्यामेराले पछ्याएको छ । कतिपय ठाउँमा परिवेशको कथा पनि क्यामेरामार्फत भनिएको छ । विद्यालयले पढ्नका लागि हर्नामाडी जान नपाएको अवस्थालाई देखाउन क्यामेराले पात्रलाई महत्त्व दिएको छैन । त्यहाँको परिवेशबाटै पात्रको अवस्था देखाउन सिनेमेटोग्राफरले चलाखी अपनाएका छन् ।

त्यस्तै यो फिल्ममा सम्पादक किरण श्रेष्ठको बलियो उपस्थिति देखिन्छ । फिल्ममा अनावश्यक लाग्ने त्यस्ता दृश्य छैन, जो फिल्मको प्रमुख कथासँग जोडिँदैन । घटनाक्रम यसरी एकअर्कासँग अन्तरसम्बन्धित भएपछि नै हो फिल्मसँग दर्शक बाँधिने । एउटा घटनाले अर्को घटना निम्त्याउँदा(कज एन्ड इफेक्ट) त्यो कथाले दर्शकको ध्यान तानेर राख्छ । किरण श्रेष्ठले त्यसरी अनावश्यक लाग्ने दृश्यहरु छिमल्दै कथालाई द्रुतगतिमा अगाडि बढाएका छन् ।

बिडारीको कथालाई दृश्यमा मजबुत बनाउन किरणको सम्पादनले महत्वपूर्ण भूमिका खेलेको छ । यो फिल्ममा ध्वनिमा पनि निकै मिहिनेत देखिन्छ । एउटा दृश्यमा विद्या हातमा कविता बोकेर बसेकी हुन्छिन, अन्य विद्यार्थीसँगै । कविता प्रतियोगिताका सञ्चालकले अन्तिम प्रस्तुतिमा अरुकै नाम बोलाउँदा विद्याको शून्य भएको मनोविज्ञान प्रस्तुत गर्न ध्वनिलाई मधुर बनाइएको छ । त्यस्तै कक्षामा प्रथम हुन नपाउँदा विद्याको मनोभाव प्रस्तुत गर्न त्यसरी नै ध्वनिको प्रयोग गरिएको छ । ध्वनिमा किशोर आचार्य बेजोड लाग्छन् । पार्श्व संगीतमा पुष्पा संगमको मिहिनेत देखिन्छ । उमेशले गाउँ छोड्ने क्रममा वसन्तसँग मागेको अन्तिम बिदाइमा बज्ने धुनले मनै हुँडल्छ ।

फिल्ममा 'नन एक्टर'हरुले अभिनय गरेका छन् । वसन्तको निर्दोषपन, जिज्ञासु स्वभावलाई दिनेश खत्रीले आफ्नो अभिनयमार्फत जीवित गराइदिएका छन् । विद्याको चरित्रमा लक्ष्मी चिमरियाले मेहनत गरेको देखिन्छ । विद्याको आशा, रिस, आवेग, त्यागलाई लक्ष्मीले आफ्नो अभिनयले प्रस्तुत गरिदिएकी छन् ।

उमेशको चरित्रलाई निकै निर्दोष, असहाय अनि आशावादी बनाउन उमेश श्रेष्ठको अभिनय तारिफलायक छ । सिरु विष्टले एउटी आमाको प्रेम, दु:ख,संघर्षलाई आफ्नो अभिनयमार्फत प्रस्तुत गरेकी छिन् । कहिल्यै अभिनय नगरेका बालबालिकाहरूबाट यत्तिको काम निकाल्नु सानो कुरो होइन । त्यसअर्थमा यी चरित्रमा फिट हुने बालबालिकालाई कास्टिङ गरेका केदार श्रेष्ठ पनि धन्यवादका पात्र हुन् ।

नेपाली फिल्मको पहिचान के हो ? भन्ने बहस चलिरहँदा निर्देशक बिडारीजस्ता कथावाचकको प्रवेश हुनु फिल्म क्षेत्रका लागि नयाँ आशा हो । नेपाली समाज, संस्कृति अनि समाजबाटै टिपिएका पात्रहरूले 'ऐना झ्यालको पुतली'लाई नेपाली माटोको कथा भन्न सकिन्छ । नेपाली फिल्मको पहिचान नजिक पुगेको 'ऐना झ्यालको पुतली'मार्फत फिल्म क्षेत्रले राम्रो कथावाचक पाएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगको चासो सम्बोधन गर्न दाहाल तयार

'अब फेरि अल्पमत र बहुमत हुने होइन । हुन त अल्पमत र बहुमत गरेर लान सकिन्छ तर त्यो देशको राजनीतिका लागि भोलिका दिनमा शान्ति, स्थायित्व र विकासको सपनाको लागि दुर्भाग्यपूर्ण हुन सक्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — द्वन्द्वकालीन घटनाका मुद्दामा विशेष अदालतले गर्ने फैसलामा पुनरावलोकन गर्न पाउने व्यवस्था राख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति जनाएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सडकमा उठेका आवाज, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगले देखाएको चासो सम्बोधन गर्न पनि उनले आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिमा नै पारित गर्न पनि आग्रह गरेका छन् ।

'सडकमा पुनरावलोकनको कुरा उठेको छ । भाषा मिलाएर पुनरावलोकनको व्यवस्था राखिदिऔँ भन्नेमा छु म । गम्भीर मानवअधिकार उल्लंघनको कुरामा जे कुरा सडक, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगले पनि कन्सर्न राखेको छ, त्यसलाई पनि कुनै शब्दद्वारा सम्बोधन गर्न कोसिस गरौं,' उनले भने, 'हामीले सहमति बनाएर टुंग्यायौंभन्दा जाने सन्देश एउटा हुन्छ तर सहमति बनाउन सकेनन् भन्दा या अल्पमत-बहुमत बनाएर टुंग्याए भन्दा जाने सन्देश अर्को हुन्छ ।'

विवादित विषयमा सबैलाई मान्य हुने शब्द खोजेर सहमतिमा नै विधेयक अगाडि बढाउनुपर्ने दाहालको भनाइ थियो । सातवटै प्रदेशमा गएर सबै सरोकारवालाहरूसँग गहन अन्तरक्रिया गरी तयार पारिएको विधेयक भन्दै दाहालले सहमतिमा पारित गर्न आग्रह गरेका छन् । उनले राजनीतिक दल र राष्ट्रपतिसँग पनि समझदारीमा नै विधेयक अगाडि लैजानेबारे समझदारी रहेको बताए ।

पूरा पढ्न : अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगको चासो सम्बोधन गर्न दाहाल तयार


प्रकाशित : भाद्र २९, २०७९ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×