१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
समीक्षा

समयसँगै चल्न नसकेको समाजलाई प्रश्न गर्ने नाटक '२४ मा १२'

रीना मोक्तान

काठमाडौँ — 'अनि भाइको नाम के होला ?' कोठा खोज्दै त्यहाँ पुगेका बाबुरामलाई घरबेटीले प्रश्न गर्छिन् । फोहोरको पैसा दिनु नपर्ने, पानी पनि वालछ्याल । काठमाडौंमा यस्तो काइदाको कोठा पाएपछि सल्यानबाट आएका बाबुराम दंग ! कोठामा सर्ने पक्का भइसक्छ । दुर्गा दिज्जु (कोठा खोज्ने बिचौलिया)ले खोजिदिएको कोठा मण्डला थिएटर नजिकै ।

समयसँगै चल्न नसकेको समाजलाई प्रश्न गर्ने नाटक '२४ मा १२'

तर, घरबेटीले सोधेको प्रश्नको उत्तरले बाबुरामको हातबाट पाउँदा-पाउँदैको कोठा खोसिन्छ । बाबुरामको थर गन्धर्व भन्ने बित्तिकै घरबेटीले थप प्रश्न गर्छिन्- 'गन्धर्व भनेको के हो ? क्षेत्री बाहुन हो भाई ?' बाबुरामले आफू दलित रहेको खुलाएपछि आत्तिँदै घरबेटी भन्छिन्,'पानी नचल्ने ?'

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक '२४ मा १२'को यो दृश्यले दलित भएकै कारण सहनुपरेको अपमान र पीडा प्रतिबिम्व गर्छ । 'शीक्षित' अनि 'सभ्य'हरू बस्ने राजधानीमा हुने विभेद्‍को स्वरुप देखाउँछ । २१ औं शताब्दीमा पनि मान्छे भएर बाँच्न नपाउने दलितहरूको प्रतिनिधि पात्र हुन्, बाबुराम । कोठा खोज्दा जातीय विभेद्‍ सामना गरेका तमाम रुपा सुनारहरूले भोग्नु परेको पीडाको सानो अंशलाई नाटकको यो दृश्यमा देखाइएको छ । जातीय भेदभाव र छुवाछुतलाई संरक्षण गर्ने राज्य, व्यक्ति अनि समाजलाई प्रश्न गर्ने नाटकले समसामयिक विषय उठाएको छ । उमेश सुनामको लेखन अनि संगीत सापकोटाको निर्देशनमा तयार भएको '२४ मा १२'ले यस्तै उत्पीडनमा परेको अर्को समुदायको पनि व्यथालाई समावेश गरेको छ । यौनिक तथा अल्पसैंख्यक समुदायको समस्या, उनीहरूले भोग्नुपरेको विभेद्‍ बाबुरामको कथासँगै समानान्तर रुपले नाटकमा अगाडि बढाइएको छ ।

जातीय र लैङ्गिक विभेद्‍का विषय यसअघि पनि थुप्रै नाटक, फिल्म अनि साहित्यका विविन्न विधामा उठाइएका छन् । विभेद्‍का फरक-फरक स्वरुप प्रस्तुत गर्न निर्देशकले नयाँ अवधारणाबाट सिर्जना पस्किएका छन् । २४ घण्टामा १२ घण्टा मात्र बाँच्ने दुई पात्र उभ्याउँदै नाटकले जातीय र लैङ्गिक विभेद्‍का बहस छेडिदिन्छ । २४ मा १२ घण्टा बाँच्ने ? प्रश्न उठ्न सक्छ । निर्देशक सापकोटाले उत्पीडनमा परेका यी दुई पात्रमार्फत् शीर्षकभित्रको अर्थ खुलाउँदै जान्छन् ।

नाटक रोचक ढंगबाट सुरु हुन्छ । एकै ठाउँमा भेला भएका घडीहरूबीच आफूले बिताएको समयलाई फर्केर हेर्ने क्रममा एक घडीले बाँचेको/देखेको समयकै बिगतबाट '२४ मा १२' सुरु हुन्छ । बाबुरामलाई रतन्धो भएको हुन्छ, उनी रातमा देख्न सक्दैनन् । त्यसैले दिनको १२ घण्टा मज्जाले बाँचे पनि रात उनका लागि अस्तित्वमै हुन्न । गाउँकै एक कथित उच्च जातकी उर्मिलासँग बाबुरामको प्रेम मौलाएको छ । गाउँका नेता हिमान सिंह उर्मिलाका बुवा थिए । हिमानसिंह दलितका मुद्दाहरू उठाउँदै चुनाव जित्न चाहन्छन् । तर, दलित मुद्दा उनको भाषणमा मात्र सीमित छ । दलितको छायाँसमेत उनी मन पराउँदैनन् । यस्तोमा कथित उच्च जातकी प्रेमिका पाउन बाबुरामले कस्तो संघर्ष गर्नुपर्ला ? के हिमानसिंहको राजनीति जातीय विभेद्‍ उन्मुलनको एक खुड्किलो बन्ला ? बाबुरामको कथाले यही प्रश्नको उत्तर खोजेको छ ।

त्यस्तै नाटकमा अर्को पात्र उभ्याइएको छ, जसका लागि रातको १२ घण्टा महत्त्वपूर्ण हुन्छ । पूर्ण रातमा ठमेलका चोकहरूमा ग्राहक कुर्छन् । प्रहरीबाट लुकीलुकी देह ब्यापार गर्ने पूर्ण पनि रातको १२ घण्टा मात्र बाँच्छन् । पूर्ण पुरुषको शरीरमा जन्मिए तर महिला भावनासहित । यौनिक तथा अल्पसैंख्यकहरू समाजबाट मात्र होइन परिवारबाटै कसरी अपहेलित छन् पूर्णको कथाले देखाउँछ । बुवासँगै काठमाडौं आएका पूर्णलाई बीचबाटोमै छाडेर बुवा हराउँछन् ।

'बाले भन्नुभएको मजस्ताका लागि त्यो गाउँमा ठाउँ नै छैन । बा र परिवारको इज्जत नजाओस् भनेर बाले मलाई यहाँ ल्याउनुभयो । यहाँ पुगिसकेपछि बा नै कहाँ हराउनु भो हराउनु भो । म खोजेको खोज्यै भएँ,' रुँदै पूर्णले ठमेलमा भेटिएकी एक यौनिक तथा अल्पसैंख्यक समुदायकी पात्रसँग आफ्नो व्यथा सुनाउँछन् । यौनिक तथा अल्पसैंख्यकहरू परिवारबाटै बहिस्कृत भएको अवस्था देखाउने नाटकको दृश्य सशक्त ढंगले प्रस्तुत गरिएको छ । २४ मा १२ घण्टा मात्रै बाँच्ने यी दुई पात्र घडीमार्फत् नै जोडिएको देखाइएको छ ।

नाटकमा समयको विम्ब निकै घतलाग्दो तरिकाले प्रस्तुत छ । समय अनुसार चल्न नसक्ने दुई पात्रहरूमार्फत् समयसँगै प्रगतिशील बन्न नसकेको समाजमाथि नाटकले व्यंग्य गर्छ । नाटकमा सुरुदेखि अन्तिम दृश्यसम्म घडी देखाइएको छ । प्रविधिको यो समयमा, समाज कुन समयमा चलेको छ ? नाटकले प्रश्न गर्छ । समय बदलिए पनि जरा गाडेर बसेको विभेद्‍ किन बदलिएन ? निर्देशक सापकोटाले मिहिन ढंगबाट समयको मारमा परेकाहरूको कथामार्फत् गहन विषयमाथि बहस छेडिदिएका छन् ।

बाबुराम र पूर्णको भूमिकामा देखिएका दुई प्रमुख कलाकारले चरित्रको हाउभाउ, बोलीचाली अनि भावभंगीमा गरेको मेहनत प्रशंसनीय छ । प्रयोग गरिएका प्रप्सहरू, सेट डिजाइन कथासँग सान्दर्भिक लाग्छन् । संगीततर्फ निर्देशक संगीत सापकोटा, मोनिश निरौला, मनोज महर्जन र परिवर्तन कोइरालाले गरेको कामले कथालाई बग्नमा मद्दत गरेको छ । पात्रहरूको भावमा डुब्न, उनीहरूसँग दर्शकलाई बाँध्न संगीतले महत्त्वपूर्ण भूमिका खेलेको छ । 'मान्छे म त मान्छे'बोलको गीत निकै सशक्त र सुन्दर सुनिन्छ । नाटकमा राज न्यौपाने, आलोक थामी, प्रमिला खनाल, अस्मिता खनाल, संगीता थापा, सन्जित प्रताप मल्ल, विशाल देवकोटा, सुन्दर धिताल, उमेश सुनाम, पूर्ण बहादुर गन्धर्व, विशाल रिजाल, अर्जुन दुलाल, रवीन्द्र खत्री, समायरा श्रेष्ठ, अली शाह र नवीन प्याकुरेलको अभिनय छ ।

प्रकाशित : भाद्र २८, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?