हल सञ्चालक–फिल्मकर्मी जुहारी- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हल सञ्चालक–फिल्मकर्मी जुहारी

हलवालाले नेपाली फिल्मलाई दोस्रो दर्जाको ठान्यो : फिल्मकर्मी
दर्शकको मागअनुसार शो वितरण गर्छौं : हलवाला
रीना मोक्तान

काठमाडौँ — प्रदर्शनको अघिल्लो दिन बिहीबार दिउँसोसम्म पनि फिल्म ‘ऐना झ्यालको पुतली’ लाई हलले ‘शो टाइम’ नदिएको भन्दै उक्त फिल्मका निर्देशक सुजित बिडारीले सामाजिक सञ्जालमार्फत आवाज उठाएपछि फेरि मल्टिप्लेक्सले गर्ने शो बाँडफाँट विवादमा तानिएको छ । हिन्दी फिल्म ‘ब्रम्हास्त्र’ को जाँचपासमा ढिलाइ भएपछि हलवालाले जाँच पास भइसकेका नेपाली फिल्मको समेत बुकिङ खुला नगरिदिएको फिल्मकर्मीले आरोप लगाएका छन् ।

निर्देशक बिडारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘भावनात्मक कुरा गरेर सिनेमा चल्दैन । सिनेमा चल्नका लागि हलमा दर्शक पुग्नुपर्छ । अवस्था यस्तो छ कि, एउटा हिन्दी सिनेमाको सेन्सर नभएको कारण हामीले भोलि रिलिज हुँदै गरेको हाम्रो सिनेमाको सो टाइम अहिलेसम्म पाउन सकेका छैनौं ।’

सुजितको पीडा बाहिरिएसँगै चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजले ‘हलवालाको भेदभाव’ प्रति विरोध जनाउँदै विज्ञप्ति नै जारी गर्‍यो । ‘नेपाली चलचित्र प्रदर्शकबाट व्यावसायिक मर्यादालाई समेत कुल्चिएर नेपाली सिनेमाको अग्रिम बुकिङ खुला नगर्नाले हाम्रा प्रदर्शकको नेपाली चलचित्रप्रति हेर्ने नजर कस्तो रहेको छ भन्ने प्रस्ट भएको छ,’ निर्माता संघको विज्ञप्तिमा भनिएको छ, ‘यस्ताखाले गैरव्यावसायिक रवैया देखाई स्वदेशी निर्मातालाई निमोठ्ने बाटोमा लाग्नु आफैंमा खेदजनक छ । किन हाम्रा नेपाली सिनेमालाई बारम्बार हेप्न खोजिन्छ ? यसको ठोस जवाफ चलचित्र प्रदर्शक साथीहरूले दिनै पर्दछ ।’ त्यस्तै निर्देशक समाजले लेख्यो, ‘सधैंभरि नेपाली चलचित्रमाथि विदेशी फिल्मको दबाब प्रवृत्तिको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अभिभावक संस्था चलचित्र विकास बोर्डलाई पनि नेपाली चलचित्र क्षेत्रलाई नै हतोत्साहित पार्ने गैरजिम्मेवारपूर्ण कार्यहरूलाई बन्देज लगाउन अनुरोध गर्दछौं ।’

चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले ‘ब्रम्हास्त्र’ फिल्मका वितरक स्टेसन फाइभ र डीसीएनले कागजात ढिला बुझाउँदा सेन्सरको समयमा ढिलाइ भएको बताए । ‘विकास बोर्डले सेन्सर रोकेको होइन । वितरकले कागजात नल्याएसम्म त हामीले जाँचपासका लागि सिफारिस दिँदैनौं । उनीहरूकै कारणले ढिला हुने अनि दोष बोर्डलाई दिएर भएन नि,’ गुरागाईंले भने, ‘सबै कागजात आइसकेपछि मुभी कोड दियौं ।’

खासमा शो खुलाउन विकास बोर्डले सेन्सर कोड (बक्स अफिस कोड) दिन्छ । ‘ब्रम्हास्त्र’ सँगै ‘ऐना झ्यालको पुतली’ को पनि वितरण सम्हालेका प्रचण्डमान श्रेष्ठका अनुसार बुधबार नै उनीहरूले सेन्सर कोड हलवालालाई इमेल गरिदिए । हिन्दी फिल्मलाई नकुरी नेपालीका लागि सो बाँडफाँट गरिदिन आग्रहसमेत गरे । तर, हलवाला भने हिन्दी फिल्मकै सेन्सरपछि मात्र सो वितरण गर्ने पक्षमा बस्यो । हलहरूको ठूलो चेन क्यूएफएक्सबाहेकका अन्य हलले नेपाली फिल्मका लागि छिटपुट शो पनि छुट्याइदिए । तर, क्यूएफएक्सले भने ‘ब्रम्हास्त्र’ को सेन्सर पास भएपछि मात्रै सो वितरण गर्ने तयारी गर्दा नेपाली फिल्मको बुकिङ बिहीबार साँझ मात्र खुल्यो ।

‘खासमा बोर्डले सेन्सर रोक्न लगाएको रहेछ । बुधबारसम्म त हामीले सधैं फिल्मको बुकिङ खुला गरिसक्थ्यौं । त्यो गर्न सक्ने हुँदाहुँदै पनि बोर्डले हामीलाई दुःख दिनलाई ‘ब्रम्हास्त्र’ को सेन्सर रोकिदिएको हो,’ क्यूएफएक्सका भाष्कर ढुंगानाले भने, ‘हामी त शुक्रबारदेखि हल बन्द गरेर नै आन्दोलनमा जानेवाला थियौं ।’ वितरक प्रचण्डमान नेपालीसँगै हिन्दी फिल्मको कागजात पुर्‍याइदिँदा पनि बोर्डले विभिन्न बहानामा सेन्सरमा ढिलाइ गरिदिएको आरोप लगाउँछन् ।

चलचित्र संघका महासचिव एवं वितरक नरेन्द्र महर्जन भने हलवालाको आन्दोलनका कुराले ‘ऐना झ्यालको पुतली’ को बुकिङ समयमै नखुलाइएको तर्क गर्छन् । ‘खासमा हल बन्द गरेर आन्दोलन गर्ने हाम्रो छलफल थियो । त्यही भएर बुकिङ खुला नगरेको हो । छलफलपछि सोमबार हल बन्द गर्ने निर्णय गर्‍यौं,’ हल बन्द गर्ने कारण खुलाउँदै उनले भने, ‘जहिल्यै हलवालालाई नै नेपाली फिल्मकर्मीले गाली गरे, आरोप लगाए ।’ बिहीबार नै संघले सोमबार देशभरका हल बन्द गर्ने निर्णय गरेको छ ।

क्यूएफएक्सले ‘ब्रम्हास्त्र’ लाई प्रारम्भिक ५७ र ‘ऐना झ्यालको पुतली’ लाई ११ शो दिएको छ । अर्को नेपाली फिल्म ‘गोर्खा ः विनिथ दि ब्रेभरी’ लाई ८ शो मात्रै छुट्याइएको छ । हलवालाले नेपाली फिल्मलाई शो वितरणमा विभेद गर्ने गरेको फिल्मकर्मीको पुरानै आरोप हो । ‘नेपाली फिल्मले सबै प्रक्रिया पूरा गरेर पनि बुकिङ रोकेर राख्नु हामीलाई दोस्रो दर्जाका रूपमा हेरिएको प्रस्ट भयो,’ निर्देशक दीपेन्द्रकुमार खनाल सुनाउँछन्, ‘जति शो पाउँथ्यो, त्यति पहिल्यै खोलिदिएको भए आपत्ति हुन्थेन । आन्दोलनकै कारण बुकिङ नखुलाइएको कुरा बहाना हो ।’

निर्देशक बिडारीले हलवालाको व्यवहारले नेपाली फिल्मको अस्तित्वलाई नस्विकारेको अनुभव गरेका छन् । फिल्मको शो वितरण ‘प्राइम टाइम’ का आधारमा हुनुपर्ने दीपेन्द्रको माग छ । ‘एफक्यूबमा ‘चिसो मान्छे’ को प्रदर्शन गर्दा तीन वटा शो पाएको थिएँ तर प्राइम टाइममा नभएपछि हटाउन लगाएँ,’ उनले आफ्नो अनुभव सुनाए । ‘प्रकाश’ का निर्देशक दिनेश राउत हलवालाले नेपाली फिल्मको शो वितरणमा लगाइने पूर्वानुमानमा परिवर्तन ल्याउनुपर्ने धारणा राख्छन् । ‘हलवालाले फिल्म दर्शकबीच नपुग्दै यस्तो फिल्म चल्दैन भन्ने अनुमान गरिदिन्छन् । खासमा फिल्मको तागत त दर्शकबीच नपुगेसम्म थाहा हुँदैन,’ उनले भने, ‘त्यसरी पूर्वानुमान गरेर शो वितरण गर्नु नै गलत हो । नेपाली भाषा, पहिरनको फिल्म चल्दैन भन्नु त उनीहरूको समस्या हो ।’

वितरक प्रचण्डमान श्रेष्ठ थुप्रै फिल्म प्रदर्शनमा आउँदा हलवालालाई शो वितरणमा कठिनाइ हुनेमा फिल्मकर्मीले बुझिदिनुपर्ने बताउँछन् । ‘सोमबार/मंगलबार नै बुकिङ खुला गर्ने त धेरै फिल्म नभएको बेलामा हो । नेपाली फिल्म क्षेत्रमा धेरै पटक यस्तो भएको छ,’ उनले भने, ‘बुकिङको विषयमा कि त नीति नियम नै बनाउनुपर्‍यो । प्रदर्शकले पनि आफ्नो हित हेर्छ । उनीहरूले पनि आफूलाई सही लाग्ने समयमा शो वितरण गरिदिन्छ ।’

प्रकाशित : भाद्र २४, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

कोरियन फिल्मको नेपाली भर्सन 'सम्हालिन्छ कहिले मन'

रीना मोक्तान

काठमाडौँ — 'चोरी' नेपाली फिल्मकर्मीको पुरानै रोग हो । विदेशी फिल्मका पटकथा दुरुस्तै चोरेर सिर्जनशिलताको नकावमा चर्चित हुने फिल्मकर्मी थुप्रै छन् । कथा मात्र होइन हुबहु संवाद अनि फ्रेममा खिचिएका फिल्मले लामो समय नेपाली दर्शकलाई झुक्क्याइरह्यो । अझै केही फिल्मकर्मी यो रोगबाट ग्रसित छन् ।

'नेपाली फिल्मको आफ्नो पहिचान बनाउनुपर्छ, हाम्रा कथाहरू भनिनुपर्छ' भन्ने बहस चलिरहँदा यी फिल्मकर्मी भने चोरिएका पटकथामा फिल्म बनाउन थाकेका छैनन् । लगातार प्रदर्शनमा आइरहेका फरक कथ्य शैलीका फिल्महरूबीच प्रदर्शनमा आएको 'सम्हालिन्छ कहिले मन' यही रोगबाट ग्रसित देखिन्छ ।

महेश दवाडीको लेखन र सुदर्शन थापा निर्देशित 'सम्हालिन्छ कहिले मन'को थिम दक्षिण कोरियाली फिल्म 'मोर द्‍यान ब्लु'बाट टप्पक्क टिपिएको छ । विद्यालय जीवनमै के र क्रिमले आफ्नो परिवार गुमाउँछन् अनि दुवै सँगै बस्न थाल्छन् । एकअर्कालाई मन पराउन थाल्छन् । एक्लै छाडिनु क्रिमको ठूलो डर रहेको थाहा पाएसँगै केले आफूलाई क्यान्सर लागेको कुरा उनीबाट लुकाउँछन् । के आफूले मन पराएको क्रिमलाई असल व्यक्तिको हातमा सुम्पेर संसार छाड्ने निर्णयमा पुग्छन् ।

आफ्नी प्रेमिका लागि असल व्यक्ति खोजिदिने ‍त्यही कोरियन कथामै बनाइएको छ, 'सम्हालिन्छ कहिले मन' । श्रेया(पुजा शर्मा) र रोमन(सोनम तोप्डेन) एक भेटमै एकअर्कासँग नजिकिन्छन् । असल मित्र हुँदै दुवैको मनमा एकअर्काका लागि प्रेम अंकुराउन थाल्छ । कथा त्यही, रोमनलाई कार्डियोमायोप्याथी भएको हुन्छ जसको ठोस उपचार छैन । त्यसपछि आफूले प्रेम गर्ने व्यक्तिलाई असल व्यक्ति सतिस (आकाश श्रेष्ठ)सँग मिलन गराइदिने कथा फिल्ममा छ ।

'सम्हालिन्छ कहिले मन' र 'मोर द्‍यान ब्लु' एउटै समय अन्तरालमा आएको भए पनि थिम मिल्यो भनेर चित्त बुझाउन सकिन्थ्यो । तर, सन् २००८ मा बनेको यो फिल्मको प्लट, संवाद चोरिएको भर्सनमा उस्तै हुनु त पक्कै संयोग होइन !

नक्कल गर्नलाई पनि अक्कल चाहिन्छ । लेखक दवाडीले केही हदसम्म कथालाई तोडमोड गर्न अक्कल पुर्‍याउने कोसिस गरेका छन् । कोरियन फिल्ममा केलाई क्यान्सर लागेको हुन्छ, यता रोमनलाई मुटू सम्बन्धी रोग । त्यसमाथि त्रिकोणात्मक प्रेम भनेर मित्रता घुसाइदिएका छन् । ‍पात्रहरूको स्थापना, उनीहरूका नाम, काम र उदेश्य बदलिदिएका छन् । कोरियन फिल्ममा अभिनेताले कथा न्यारेट गर्छ, यता अभिनेत्रीले । कोरियनमा के र क्रिम एउटै रेडियो स्टूडियोमा काम गर्छन् । यता नेपाली भर्सनमा, रोमन फोटोग्राफर हुन्छन् । श्रेयाले बेलायतमै रहेको आफ्नो रेस्टूरेन्टमा आमा बुवालाई सघाउँदै मल्टिनेस्नल कम्पनीमा नाम निकाल्छिन् । सतिससँगको उनको भेट त्यही कम्पनीमा हुन्छ । सतिस त्यही मल्टिनेस्नल कम्पनीका मालिक हुन्छन् । पहिलो हाफसम्म प्लटमा हेरफेर गरे पनि मध्यान्तरपछिको भागमा उस्तै-उस्तै लाग्ने घट्नाक्रम जोडिँदै जान्छ ।

कोरियन फिल्ममा केले आफूले मन पराउने क्रिमलाई राम्रो केटा खोजेर बिहे गर्न सल्लाह दिन्छन् । नेपाली भर्सनमा पनि उसैगरी स्वस्थ अनि वास्ता गर्ने केटा खोजेर बिहे गर्न रोमनले श्रेयालाई सुझाउँछन् । उक्त दृश्यमा बोलिने संवाद उस्ताउस्तै छन् । उदाहरणका लागि 'रोमनमा म मेरो मम्मी पापा दुवै देख्छु' भन्ने संवाद कोरियनमा पनि दुरुस्तै छ । त्यसपछि आउँछ, बिहे गर्नु अगाडिको दृश्य । कोरियनमा केले दुलहाको पहिरनमा क्रिमसँग फोटो खिच्छन् । यता, रोमनले बिहे गर्न लागेकी श्रेयालाई मंगलसुत्र लगाइदिन्छन् ।

फिल्ममा त्यस्ता थुप्रै संवाद अनि प्लटहरू छन् जुन कोरियन फिल्म हेरिसकेका दर्शकका अगाडि लुकेर लुक्दैन। एउटै थिम, प्लट अनि संवादहरू कोरियन फिल्मबाट कपी गरिसकेपछि त्यही स्तरकै फिल्म बनाएको भए पनि 'सम्हालिन्छ कहिले मन'ले दर्शकलाई बाँधेर राख्न सक्थ्यो होला । तर, क्लिसे संवाद, अपरिपक्व अभिनय, कमसल लेखनले फिल्मलाई कोरियन भर्सनको नजिक पनि पुर्‍याउन सकेको छैन ।

'मोर द्‍यान ब्लु'ले जुन शैलीमा तीन प्रेमीहरूको वियोगान्त कथा भनेको छ, त्यसै गरी नेपाली भर्सनमा त्यो प्रेम, त्याग र समर्पण निर्देशकले दर्शकलाई महसुस गराउन सक्दैनन् । न्यारेसनकै आधारमा तीनबीच प्रेम अंकुराएको कुरा दर्शकले बुझिदिनुपर्छ । क्लाइमेक्समा खुल्ने 'टुइस्ट एण्ड टर्न'ले जति कोरियनमा दर्शकको मन हुँडल्छ, नेपाली भर्सनले मनलाई छुन सक्दैन ।

न्यारेसनले थुप्रै दृश्यलाई कमजोर बनाइदिएको छ । रोमन र श्रेयाको पहिलो भेटलाई विश्वाशिलो ढंगले प्रस्तुत गर्न सकेको छैन । श्रेयाले विदेशी बालबालिकालाई सडक-सडकमा 'ताराबजी लैलै' सिकाउँदै हिँडेको दृश्य पट्यारलाग्दो देखिन्छ । त्यस्तै रोमनलाई चाहिने बेलामा टुप्लुक्क आइपुग्ने इतिसाको उदेश्य, पृष्ठभूमि केही खुल्दैन । जबर्जस्ती घुसाइएका गीतहरूले कथावाचनमा सहयोग पुर्‍याउँदैन । गायक सुगम पोख्रेलको चर्चित गीत 'सम्हालिन्छ कहिले मन'बाट शीर्षक राखिएको यस फिल्मले त्यही गीतको मर्म/भावलाई पनि पर्दामा उतार्न सकेका छैनन् ।

फिल्मको सम्पादनमा जर्क भेटिन्छ । अभिनयमा पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्डेन अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । चरित्र निर्माणदेखि डायलग डेलिभरीमा उनीहरूले कसरत गरिदिएको भए केही हदसम्म पर्दामा श्रेया, रोमन र सतिससँग दर्शक जोडिन पाउँथे ।

प्रविधिको यो युगमा यस्ता किसिमका फिल्म बनाइरहे दर्शकको मन नेपाली फिल्ममा जोडिन कठिन हुने पक्का छ । अब पनि चोरेको पटकथाले दर्शक हलसम्म तानिन्छन् भनेर सोच्नु निर्देश तथा निर्माताहरूको भ्रम हो ।

प्रकाशित : भाद्र २२, २०७९ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×