कौशीको सांगीतिक कथा

'धुमधामको घुमघाम' 

कनकमणि दीक्षितद्वारा लिखित 'एड्भेन्चर्स अफ अ नेपाली फ्रग'मा आधारित यस नाटकले नेपाल भ्रमणमा निस्किएका एक भ्यागुतोको यात्रामार्फत जनावरका समस्या मात्रै होइन, सहरका आधुनिकता, काठमाडौंको कोलाहल अनि विकृतिमाथि पनि व्यंग्य गर्छ ।
रीना मोक्तान

काठमाडौँ — चितवनका जनवार एकअर्कासँग संवाद गर्दा हुन् त उनीहरुका कुराकानीका विषय के हुँदा हुन् ? आफ्ना पीडा व्यक्त गर्दा कुन समस्या नछुटाउँदा हुन् ? सायदै यो अनावश्यक लाग्ने विषयतिर घोत्लिन हामीले समय खर्चेनौं, आफ्नै जिन्दगीका पीडा सुल्झाउनमा व्यस्त भइरह्यौं । आकांक्षा कार्की निर्देशित नाटक 'धुमधामको घुमघाम'को एउटा दृश्यले भने हामीलाई यी प्रश्नहरुमा घोत्लिन बाध्य नै बनाउँछ । 

'धुमधामको घुमघाम' 

इचंगुबाट तराई घुम्दै चितवन पुगेका भक्तप्रसाद भ्यागुतोलाई चितवन राष्ट्रिय निकुञ्जकी बघिनीले बुई चढाउँदै भन्छिन्, 'ऊ पर हेर त केही हात्तीहरू पर्यटक बोकेर हिँडिरहेका छन् ।' काठमाडौंबाट नेपाल भ्रमणमा निस्किएको भ्यागुतो यसरी बघिनीको ढाडमा चढेको देखेर दंग परेका एक जनावरले बघिनीको कुरा पूरा हुन नपाउँदै भन्छन्, 'विचराहरू कति खर्च गरेर हामीलाई हेर्न आउँछन्, तर रुख पात र जंगल हेरेर फर्कन्छन् ।'

त्यसपछि अर्कोले थप्छ, 'ती हात्तीहरू पनि कम विचरा छैनन् । त्यत्रो मान्छे बोकेर हिँड्न तिनीहरूलाई कम्ता गाह्रो हुन्छ ?' त्यसपछि बघिनीले त्यहाँको गम्भीर समस्या सुनाउँछिन्, 'उहिले चितवनको पूरै भागमा बाग्लो जंगल थियो । चारकोसे झाडी । भक्त भ्यागुतो, हामी जनावरहरू जतासुकै हिँड्न सक्थ्यौं । तर मान्छेहरू तल झरेर जंगल सखाप पारे, हुँदाहुँदा यस्तो साँघुरो ठाउँमा कोच्चिएर बसेका छौं ।'

मानिसले आफ्ना स्वार्थका लागि जंगल अतिक्रमण गरेसँगै त्यसले जनावरको बासस्थानमा पारेको प्रभाव बुझाउन नाटकको यही एउटा दृश्य काफी छ । आफ्नो बास्थानमा मानिसको हस्तक्षेप बढेसँगै जंगली जनावर मानव बस्तीमा घुस्न थालेका हुन् । बेलाबखत जनावर बस्ती पस्दा निम्तिएको दुर्घटनाका समाचारहरू पनि आइरहेका हुन्छन् ।

मानव र जंगली जनावरको यो प्राकृतिक सम्बन्धमा तालमेल नमिलेको कुरालाई प्रस्तुत गर्दै जनावरको सुरक्षित बासस्थानबारे नाटकले बोलिदिन्छ । सँगसँगै यी दुईको प्राकृतिक सम्बन्ध निर्माणतर्फ पनि वकालत गर्छ। मानिसले त अतिक्रमण गरेर बनाएको आफ्नो घरलाई सुरक्षा गर्न हर प्रयास गर्छ, तर के जनावरले त्यसो गर्न सक्छन् त ? यी समस्यालाई जनावरको नजरबाट हामीले नियाल्यौं त ?

कनकमणि दीक्षितद्वारा लिखित 'एड्भेन्चर्स अफ अ नेपाली फ्रग'मा आधारित यस नाटकले नेपाल भ्रमणमा निस्किएका एक भ्यागुतोको यात्रामार्फत जनावरका समस्या मात्रै होइन, सहरका आधुनिकता, काठमाडौंको कोलाहल अनि विकृतिमाथि पनि व्यंग्य गर्छ । एकदिन हजुरबुवाले आफ्नो नेपाल घुम्ने सपना अपूरो रहेको सुनाइसकेपछि भ्यागुतो भक्तप्रसादले इचंगु छाडेर नेपाल घुम्ने ठान्छ । त्यसपछि भक्ते पुग्छन्, असन । त्यहाँबाट विष्णुमतीले बगाउँदै वाग्मती पुर्‍याउँछ । त्यही खोलै खोला ऊ पुग्छ, तराई, चितवन, पोखरा । पोखराहुँदै घान्द्रुक अनि मुक्तिनाथ हुँदै लोमान्थाङ । भद्र भलाद्मी, जिज्ञासु अनि जोशिलो भक्तप्रसाद बोल्न सक्ने भ्यागुता हो ।

उसको भ्रमणले देशको विविधता, भौगोलिक स्वरुप, संस्कृति र सभ्यता समेट्दै लगेको छ । भक्तेको रोचक यात्रालाई सांगितिक शैलीमा निकै रमाइलो ढंगले नाटकमा प्रस्तुत गरिएको छ । यात्रामा गर्ने अनुभव र सिकाइलाई रमाइला घटनाक्रम, चोटिला संवादमार्फत प्रस्तुत गरिएको छ ।

मञ्चमा प्रयोग गरिएका प्रप्स, कलाकारले गर्ने जनावरको भावभंगी, आवाज, संगीत र प्रकाशको बेजोड समिश्रणले २५ औं वर्षपछि दीक्षितले लेखेका पात्रहरू मञ्चमा जिवित लाग्छन् । कलाकारका पहिरन, भाषाको लवज अनि संगीतले दर्शकलाई भक्ते पुग्ने ठाउँहरूमा डोर्‍याउँदै लैजान्छ । भक्तेको यो रमाइलो यात्रमार्फत गहकिला विषयतर्फ पनि सोच्न लगाउँछ । हरेक दृश्यपिच्छे आउने गीतहरूले नाटकलाई त्यति नै सांगितिक बनाएको छ ‍। यसले दर्शकलाई कथासँग बाँधेर राख्न मद्दत गरेको छ ।

गीतहरूले कतै संवाद त कतै कथावाचनमा सहयोग पुर्‍याएको छ । एउटा दृश्यमा भक्ते तराई पुगेको कुरा गीतैबाट पनि प्रस्ट हुन्छ ।

'… तराई आफैंमा यति बढेमान छ, भन्न पर्दैन बढाई
स्वागत छ, स्वागत छ, स्वागत छ, यो हो तराई… '

यो गीतले भक्तेलाई मात्रै होइन दर्शकलाई पनि त्यहीँ पुर्‍याउँछ । त्यसपछि तराईका फराकिला फाँट अनि घना जंगल देखेर भक्तेले गाउँछ :

'मैले देख्न त खाली खेत मात्रै देखेको
माटो, हिलोमा बस्छु त्यस्तै नै जिन्दगी
जंगल भनी नाम त मैले सुनेको
तर, खाली मात्र आफ्नै कल्पनामा मात्र बनेको…।'

गीतका लय, शब्द, संगीत अनि गायनले 'धुमधामको घुमघाम'लाई डिज्नीकै कुनै गीति नाटक हेरेजस्तै लाग्न सक्छ ।

चितवनमा भेटिएका एकजनाले काठमाडौं कस्तो छ ? भनेर सोधेको प्रश्नमा भक्तले गीतबाट दिने जवाफ उतिकै व्यंग्यात्मक सुनिन्छ - 'सोचें थे मान्छे त मान्छे हुन्छन् तर मैले त बाँदर देखें' ।

पोखरामा पुगेपछि भक्तेले बिन्दास भ्यागुताहरू भेट्छ, जसका लागि रमाउनु, पिउनु, नाच्नु नै जिन्दगी हो । यस्तो विलासी जीवन देखिसकेपछि भक्ते निचोडमा पुग्छ,'पर्यटहरूसँगको संगत । देशविदेशको घुमाइ र पैसाको आम्दानीले गर्दा नै होला सायद पोखराका भ्यागुताहरूको जीवनशैली यस्तो भएको ।'

चलिआएको परम्परालाई त्यागेर आधुनिकतालाई मात्रै अंगाल्नेमाथि व्यंग्यात्मक प्रहार गर्दै नाटकले काठमाडौंले देख्न नसकेको नेपाललाई देखाइदिन्छ । 'काठमाडौंले पनि तराईलाई देख्छ ?' नाटकमा प्रयोग यो सशक्त बिम्बात्मक संवादले काठमाडौं केन्द्रित राज्य सत्ताको चरित्र इंगित गर्छ । त्यसैले त पोखराबाट घान्द्रुक उक्लेका भक्तेलाई एक गधाले भन्छ, 'यो काठमाडौंले देश हेर्नु पनि गज्जब राम्रो कुरा हो ।'

भ्यागुताको ट्वारट्वार आवाज, जिज्ञाशु र नम्र व्यवहारलाई आफ्नो अभिनयमार्फत आकाश नेपालीले भक्ते पात्रलाई मञ्चमा उभ्याइदिएका छन् । कलाकारहरूले निकाल्ने जनावरको आवाजले मञ्चमा दुरुस्तै लाग्छ । नाटकमा आकाशसँगै आशिष काफ्ले, बसना तिमल्सिना, विनिता लामा गुरुङ, गणेश पौडेल, कविराज राई, मारुती सापकोटा, नवीन चन्द्र अर्‍याल, निशान खत्री, ऋषिकेश बस्याल, सरिता कठायत र सुरज मल्लको अभिनय छ ।

कनकमणिको कथालाई नाट्य रुपान्तरण गर्ने आयुष निरौला र 'धुमधामको घुमघाम'को परिकल्पना र निर्देशन गरेकी आकांक्षा कार्कीले मिहिनेतले भक्तेको यो यात्रामा दर्शकलाई सँगैसँगै हिँडाउँछ । भक्तले आफैंलाई मात्रै होइन दर्शकले पनि उनको यो यात्रामा आफूलाई भेट्न पाउनेछन् ।

प्रकाशित : भाद्र २०, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?