कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

हराएको फिल्म जब फर्कियो !

रीना मोक्तान

काठमाडौँ — 'मलाई त काठमाडौं आइज, गलैंचा फ्याक्ट्रीमा काम खोजिदिन्छु भन्नुभा'छ । सधैं बाउको कुटाइ खानुभन्दा त जाने हो', फिल्म 'ऐना झ्यालको पुतली'मा 'बाङ्गे' चरित्रले यो संवाद बोल्छ । बाङ्गेको चरित्रमा अभिनय गरिरहेका बाल कलाकार उमेश श्रेष्ठलाई त्यतिबेलासम्म 'काठमाडौं कस्तो छ' भन्नेसमेत थाहा थिएन । सोच्थे, 'काठमाडौं पनि चैनपुरजस्तै होला ।' तर, फिल्मको प्रदर्शन नजिकिएसँगै पहिलो पटक काठमाडौं टेकेका उमेश यहाँका ठूल्ठूला घर देखेर दंग छन् ।

हराएको फिल्म जब फर्कियो !

'अस्ति पिलेनबाट यहाँ आउँदा धेरै घरहरू देखें । काठमाडौंमा ठूल्ठूलो घर होला, चैनपुरजस्तै होला भन्ने सोचेको थिएँ । तर, काठमाडौंमा त बाक्लो बस्ती रहेछ,' उमेशले भने । फिल्मको ट्रेलरमा बाङ्गेले बसन्त (दिनेश खत्री)सँग बोल्ने अर्को संवाद पनि समेटिएको छ- 'तँ र म सँगै भागौं न काठमाडौं ।’

फिल्मको यो दृश्यमा सट दिँदै गर्दा उमेशले सोचेका थिएनन्, काठमाडौं आउन पाउँला भन्ने । परीक्षाका कारण बसन्तको चरित्र निभाएका दिनेश संखुवासभामै छुटे, तर उमेश भने फिल्मका अन्य बालकलाकार लक्ष्मी चिमरिया, क्षितिज लिम्बु, प्रशन्न पौडेलसँगै काठमाडौं आइपुगेका छन् ।

सुजीत बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यी कलाकारहरूका लागि डेब्यु फिल्म हो । यसअघि कहिल्यै अभिनय नगरेका यी 'नन-एक्टर' ले फिल्ममा अभिनय गरेका छन् । दिदी र भाइको कथामाथि बनेको यो फिल्मको बुसानमा वर्ल्ड प्रिमियर भयो । '२०औं ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको यो फिल्मलाई पर्दामा हेर्न उनीहरू आतुर छन् ।

'पाँच वर्षअघि छायांकन भएको फिल्म हेर्ने दिन नजिकिँदै छ । एकदम उत्साहित छु,' फिल्ममा दिदी विद्याको चरित्रमा देखिएकी लक्ष्मीले सुनाइन् । फिल्म गर्दा कक्षा ९ मा पढ्ने लक्ष्मी अहिले कक्षा १२ सकेर मेडिकल परीक्षाको तयारीमा छिन् । अहिले त उनी कक्षा ६ र ८ का विद्यार्थीलाई पढाउँछिन् । ट्रेलर सार्वजनिक भएसँगै ती विद्यार्थीले लक्ष्मीलाई फिल्मकै विषयमा सोधिरहेका हुन्छन् । भन्छिन्, 'कक्षामा छिर्न नपाउँदै विद्यार्थीहरूले तपाईंले फिल्म खेल्नुभएको रहेछ भन्छन् । हामी हेर्छौं तपाईंको फिल्म भन्छन् ।'

नयाँ स्कुलका साथीहरूले आफूले फिल्म खेलेको छु भन्दा पनि नपत्याउने अर्का कालाकार उमेशले बताए । ‘अहिले त हलमै फिल्म हेर्न पाउने भयो,' उनले उत्साहित हुँदै थपे ।

कास्टिङ निर्देशक केदार श्रेष्ठ र आकाश मगरले यी बालबालिकालाई ४ सय जनाको अडिसनबाट छानेका हुन् । लक्ष्मी अडिसनबाटै छानिएकी हुन् । अडिसन सकिएपछि अन्तिममा पुगेकी थिइन् लक्ष्मी । अडिसनअघि निर्माण टिमले संखुवासभामा भएका अधिकांश विद्यालयमा अडिसनबारे जानकारी गराउँथे । सूर्य बोर्डिङ स्कुलमा टिम पुगेपछि नै हो लक्ष्मीले फिल्मबारे थाहा पाएको । तर, अडिसनका दिन विद्याश्रम जाने योजना बन्यो । उता अडिसनको समय सकिसकेको थियो । घर छेउकी एक जना बहिनीले कर गरेपछि उनी अडिसन दिन पुगिन् । उनलाई देख्नासाथ केदार पक्का भइसकेका थिए कि विद्याको चरित्रमा उनी सुहाउँछिन् । 'अडिसन सकिएपछि लजाउँदै उनी आइपुगेकी थिइन् । तर‚ मेरो दिमागमा त्यतिबेलै उनी क्लिक भइसकेकी थिइन्,' केदार सुनाउँछन् । पाँच वर्षअघिको आफूलाई पर्दामा हेर्दा लक्ष्मीलाई अचम्म लाग्छ । 'अहिले फिल्मको दृश्यहरु हेर्दा हामीले यस्तो पनि गरेका थियौं र भन्ने हुन्छ । त्यतिबेला त्यो दृश्य कसरी गरियो होला भन्ने लाग्छ । पहिला त टुक्रा-टुक्रा क्लिपहरु हेरेको थिएँ । अहिले त ती सबै क्लिपहरू जोडेर फिल्म नै बनिसक्यो,'लक्ष्मीले सुनाइन् ।

मिलन चरित्रका लागि क्षितिज लिम्बु भने अन्तिममा चुनिएका थिए । खासमा उनलाई अडिसनबारे खासै थाहा थिएन । त्यतिबेला उनी हिमगंगा निमाविको कक्षा ७ मा पढ्थे । शारदा माविमा एक दिन निबन्ध प्रतियोगितामा सहभागी हुन जाँदा केदारसँग उनको भेट भयो । त्यसअघि फिल्मका लागि फाइनल भइसकेका कलाकारको रिहर्सल सुरु भइसकेको थियो । मिलन चरित्रका लागि कलाकार आवश्यक भएपछि केदारको टिम हिमगंगा पुग्यो । निबन्ध प्रतियोगिताका लागि अभ्यास गरिरहेका क्षितिजमा केदारले मिलनको चरित्र देखे । 'केदार सरहरूले त्यतिबेला मलाई हेरिरहनु भएको रहेछ । नौलो व्यक्तिले त्यसरी हेरिरहँदा खुलदुली पनि भयो । त्यसपछि नजिक आएर फिल्मको कुरा गर्नुभयो । मेरो शिक्षकसँग पनि कुरा गर्नुभयो । त्यसको भोलिपल्ट घरसम्मै आइपुग्नु भयो,' क्षितिजले उक्त दिन सम्झे ।

क्षितिजको कुरा सक्न नपाउँदै केदारले थपे, 'त्यो भेटपछि हामी उसलाई खोज्दै घर पुग्यौं । हामी पुगेको केही क्षणमा बारीतिरबाट ऊ गुलेली चलाउँदै आयो । फिल्ममा पनि गुलेली चलाउने दृश्य थियो । त्यसपछि त उनै हाम्रो मिलन हो भन्ने भयो ।' त्यतिबेला ७ मा पढ्ने क्षितिज फिल्ममा नकारात्मक चरित्र छ भन्ने सुनेर अभिनय नगर्ने भन्दै रोएका पनि थिए । 'भिलेन भन्ने बित्तिकै नराम्रो, कुट्ने मात्रै हुन्छ भन्ने दिमागमा थियो । भिलेनको चरित्र गर्नुपर्छ भन्दा पनि म रोएको थिएँ । फिल्ममा काम नगर्ने भन्दै झगडा पनि गरें । मामाहरूले मलाई कन्भिन्स गर्नुभयो,' उनले नोस्टाल्जिक हुँदै सुनाए । फिल्ममा उनको चरित्र झगडालु स्वाभावको हुन्छ । चरित्र वास्तविक जीवनसँग पनि मेल खाने भएपछि अभिनय गर्न उनलाई खासै गाह्रो नभएको क्षितिज सुनाउँछन् ।

गोकुलको भूमिकामा अभिनय गरेका प्रशन्नले पनि फिल्मको पात्र र आफूमा मिल्दोजुल्दो स्वभाव भेटे । प्रशन्नका हजुरबुबा पदमप्रसाद पौडेल पनि कलाकार । गाउँमा पहिलोपल्ट टीभी उनकै घरमा ल्याइएको थियो । टीभीमा हजुरबुबाका टेलिसिरियल र फिल्महरु हेर्थे, प्रशन्न । गाउँले सबै उनका घरमा टीभी हेर्न आउने गर्थे । टीभी हेर्न आउनेहरूका लागि डोको र मकै राखिदिन्थे । मकै छोडाउँदै फिल्म हेर्थे अरु । यो फिल्ममा पनि उनी त्यसरी नै फिल्म देखाउने चरित्रमा देखिएका छन् । एक दिन पसलमा बसिरहेका बेला कास्टिङ टिमले फिल्मको विषयमा कुरा गरेसँगै उनी अडिसनका लागि तयार भएका थिए ।

'पसलमा भेट भएको दिन सरहरूले ‘फिल्म खेल्न मन छ’ भनेर सोध्नु भयो । म झस्किएँ । ओह्हो ! फिल्म पो खेल्ने । तर, अडिसन दिनेहरूको लिस्ट हेर्दा छानिने हो कि होइन भन्ने लागेको थियो,' उनले पुराना दिन सम्झँदै भने, 'अडिसन दिएको १ महिनापछि मलाई फिल्ममा छनोट भएको भन्दै फोन आयो । १५ मिनेटमा बानेश्वर आउनू भन्नुभएको थियो । मेरो घरबाट त्यहाँ पुग्न हिँड्दै जाँदा १ घण्टा लाग्थ्यो । त्यसैले म दौडँदै गएँ । चैनपुर बजारमा पुगिसकेपछि एक जना दाइले बाइकमा पुर्‍याइदिनुभयो ।' फिल्ममा अभिनय गर्दा ९ मा पढ्ने प्रशन्न अहिले स्नातक गर्दैछन् । 'फिल्ममा काम गरेपछि पहिला अभिनय र फिल्ममेकिङ सजिलै सोचेको थिएँ । तर, फिल्म मेकिङ सजिलो विषय होइन रहेछ भन्ने कुरा यो फिल्ममा काम गरेपछि नै थाहा पाएँ । पहिला त मलाई जसले जे गरिरहेको छ‚ त्यो देखाउनु अभिनय लाग्थ्यो,' प्रशन्नले फिल्म गर्दाको अनुभव सुनाए ।

उमेशले भने 'ऐना झ्यालको पुतली'मा अभिनय गर्नुअगाडि क्यामेरा देखेकै थिएनन् । सुरुमा त क्यामेरा अगाडि उभिन पनि लजाउँथे । तर, बिस्तारै बानी पर्दै गएको उनी सुनाउँछन् । यो फिल्ममा उनी आफ्ना काकाले गर्दा जोडिए । खासमा कास्टिङ टिमसँग उनको काकाले भतिजको रुची फिल्ममा हुन सक्ने भन्दै कुरा गरेका रहेछन् । त्यसपछि निर्माण टिमसँग भेटेपछि उनले अडिसन दिए । त्यतिबेला कक्षा ५ मा पढ्ने उमेशको यो वर्ष एसईई हो । क्षितिज भने कक्षा १२ मा पढ्दैछन् । फिल्ममा उमेशलाई क्षितिजले झापट हान्नुपर्ने एउटा दृश्य थियो । उक्त दृश्य खिच्न आफूहरुलाई गाह्रो भएको उमेश र क्षितिज बताउँछन् । 'त्यो दृश्य गर्न एकदम गाह्रो भएको थियो,' क्षितिजतिर हेर्दै उमेशले छायांकनको समय सम्झिए । उमेशको कुरा सक्न नपाउँदै मिलनले थपिहाले,' त्यसमा २०/२२ पटक सट दिँदा उमेश त दिनभरि घोप्टो अनुहार लगाएर बसेको थियो ।'

'नन-एक्टर'सँग काम गरे भनेकोजस्तो काम निकाल्न सकिन्छ भनेरै कास्टिङ निर्देशक केदारले यी कलाकारलाई रोजे । फिल्मका अर्का प्रमुख पात्र बसन्तलाई त फिल्ममा अभिनय गराएको निहुँमा उनका बुबाले उजुरी नै गरेका थिए । 'बसन्तलाई फिल्ममा खेलाएको देखेर उनका बुबाले छोरा कहाँ लैजान लागेको हो भनेर उजुरी दिनुभयो । वडाध्यक्षले फोन गरेपछि हामीले थाहा पायौं । त्यसपछि हामीले उनलाई बुझायौं । बसन्तको बुबालाई पनि फिल्मको क्रु बनायौं,' केदारले भने ।

हराएको फिल्म जब फर्कियो

२०७४ तिर फिल्मको छायांकन भएको थियो । झन्डै २ महिना फिल्मको छायांकनका लागि विद्यालय छुट्यो । तर, उनीहरू सेल्टरमै अध्ययन गर्थे । शिक्षकहरूले गृहकार्य त पठाउँथे तर उनीहरुलाई छायांकनमै मन लाग्न थालिसकेको थियो । विद्यालयमा प्रथम आउँथे, क्षितिज । फिल्मका लागि लामो समय पढाइ छुट्टिँदा शिक्षकहरुले 'फेल हुन्छौ तिमी त' भनिदिन्थे । तर, फिल्मको छायांकनमा लामो बिदा लिएर पनि उनी कक्षामा दोस्रो भए ।

छायांकनको लामो समयपछि पनि फिल्मको अत्तोपत्तो नहुँदा क्षितिजलाई फिल्म बन्दैन भन्ने लागेको थियो । 'साथीहरूले तेरो फिल्म त हरायो भन्थे । तेरो अभिनय खेर गयो, त्यतिकै फिल्म बनाउन मात्र आएको रहेछ उनीहरू भन्थे । तर‚ केही समयअगाडि केदार सरले कल गर्नुहुँदा फिल्म हराएन छ भन्ने भयो । तर अब त्यस्तो भन्नेहरूले पनि हाम्रो फिल्म हेर्न पाउँछन् । खुसी लागिरहेको छ,' क्षितिजले सुनाए ।

साथीहरूबाट त्यस्तै प्रतिक्रिया पाउँदा लक्ष्मीलाई पनि फिल्म बन्छ भन्ने आस नै थिएन । 'छायांकन सकिनेबित्तिकै तैंले त फिल्म खेलेको होइन ? कैले आउँछ भनेर बाटोमा सबैले सोध्थे । साथीहरूले पनि तँ त ठूली भइहालिस् । अब बोलाउँदा पनि बोल्दैनस् होला भन्थे,' हाँस्दै सनाइन्, 'बिस्तारै बिस्तारै मलाई पनि फिल्म साँच्चै आउँदैन कि क्या हो भन्ने लागिसकेको थियो ।' प्रशन्न र उमेशले पनि साथीहरूबाट त्यस्तै प्रश्नको सामना गर्नुपर्‍यो । प्रशन्नलाई त फिल्म फेस्टिभल लक्षित गरेर बनाइएको रहेछ भन्ने लागेको थियो । अब अर्को फिल्म गर्ने कि नगर्ने ? भनेर कसैले प्रश्न गरे लक्ष्मी, उमेश, क्षितिज र प्रशन्नको एउटै जवाफ हुन्छ,' चान्स पायो भने अर्को फिल्म पनि गर्ने हो ।'

प्रकाशित : भाद्र ९, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?