औषधिको कालोबजारीमाथि व्यंग्य गर्ने नाटक 'सिटामोल'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औषधिको कालोबजारीमाथि व्यंग्य गर्ने नाटक 'सिटामोल'

रीना मोक्तान

काठमाडौँ — आत्तिँदै/रुँदै भागिरहेकी बहिनी भुन्टीलाई पछ्याउँदै दाजु ठूले ‍खाली चौरमा आइपुग्छन् । त्यसपछि गाउँकै बाजे र बज्यै पनि हस्याङफस्याङ गर्दै त्यहीँ थपिन्छन् । मास्टर काका आफ्नो श्रीमती खोज्दै हतारिँदै खाली चौरमै आइपुग्छन् ।

त्यसपछि थपिँदै जान्छन्- बुढी आमा, उनकी नातिनी, एकल महिला, जड्याहा, उरन्ठेउला केटाहरू, गाउँका अन्य व्यक्तिहरू । भूकम्पले उनीहरू सबैलाई एउटै चौरमा जम्मा गराएको हो । एकैछिनमा मास्टर्नी काकी पनि देखा पर्छिन् । भूकम्पले गाउँ सोत्तर बनायो; त्यही पीडासहित बाँच्ने आसमा एकै ठाउँ भेला भएका गाउँले त्यही चौरलाई आफ्नो घर बनाउँछन्, एउटै चुलोलाई भान्सा । एकल महिलाले चौरको एउटा कुना समातेकी छन् भने अछुत जँड्याहाले अर्को कुना । भूकम्पका पराकम्प झैं बेलाबेला झुल्किरहन्छन् स्वास्थ्य चौकीका अहेब । विपद्ले निम्त्याएको पीडा र त्रासबीच गाउँलेहरूले नयाँ समस्याको सामना गर्नुपर्छ 'हैजा' । चौर नजिकै रहेको स्वास्थ्य चौकी बन्दको बन्दै छ । यस्तो अवस्थामा उनीहरूले औषधोपचार कसरी प्राप्त गर्लान् ? नाटक 'सिटामोल'को बाँकी कथामा देखाइएको छ ।

रंगकर्मी सुलक्षण भारतीको लेखन र जयराम ढकालको निर्देशन रहेको यस नाटकमा स्वास्थ्य क्षेत्रको गम्भीर मुद्दालाई हाँस्य विधामार्फत प्रस्तुत गर्न खोजिएको छ । औषधिको कालोबजारी, बेथितिलाई समेट्दै नाटकले साधारण जनताको पहुँचमा हुनुपर्ने 'सिटामोल'को अभावले सर्वसाधारणमा पार्ने प्रभावलाई प्रस्तुत गरेको छ । त्यस्तै, एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण, छुवाछुत, अन्धविश्वासका विषय पनि समेटिएका छन् । 'म दुखीको भाग्य नै नासियो । घर सम्पत्ति बाटोमै भासियो । भुइँचालोले गर्नु गरायो । दु:‍ख पाउनु भाग्यमै रहेछ; भावीले नि गर्नु गरायो,' आफ्नो दु:खलाई गीत बनाएर गुन्गुनाउँदै आइपुगेकी एकल महिलालाई चौरमा अन्यसँगै बस्न दिइँदैन । 'उता गएर बस । आफ्नो लोग्ने त खाई-खाई‚ अब हामीलाई पनि खान्छेस्,' बुढीआमैले नमिठो वचन लगाउँछिन् । त्यति मात्र होइन, विपत्‌को बेलामा पनि गाउँले विभेद गर्न पछि हट्दैनन् ।

हातमा बोतल लिएर लरबराउँदै चौरमा आएका जँड्याहा उनीहरूसँगै बस्न आइपुग्छन् तर उनलाई पनि अछुत भन्दै परै राखिन्छ । त्यसैले एउटा दृश्यमा उनी भन्छन्, 'सबैलाई चलेको पानी मलाई नचल्ने । तर सबै जनाले चलाउने चर्पीचाहीँ चल्ने ?' जात व्यवस्था कसरी दह्रो गरी जडा गाडिएको छ भन्ने कुरा नाटकको यही एउटै दृश्यले बोलिदिन्छ ।

'सिटामोल'लाई नाटकमा बिम्बका रुपमा प्रयोग गरिएको छ । सिटामोलजस्ता अत्यावश्यक औषधिका लागि जनताले कति सास्ती भोग्नुपर्छ भन्ने कुरालाई नाटकले प्रतिबिम्ब गरेको छ । हुन त चौर नजिकै हुन्छ, स्वास्थ्य चौकी । हैजाले थलिएका गाउँहरूलाई त्यहीँ छेउको स्वास्थ्य चौकीले गिज्याइरहे झैं लाग्छ । सरकारले अनुदानमा दिएको औषधिको कालोबजारी गर्नेहरूलाई नाटकले व्यंग्य गर्छ । एक दिन अहेब बिमारले थला पर्छन्; उनका लागि अपरिहार्य बन्छ- सिटामोल । गाउँले उनलाई लिएर वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउँछन् । सबै कार्यालयले आश्वासन दिँदै सिफारिस लेखिदिन्छन् तर उनीहरूको हातमा सिटामोलको एक चक्की पर्दैन । उनीहरू एउटा सिटामोलका लागि यति कार्यालयका ढोका चाहर्छन् कि उही वडाध्यक्ष प्रधानमन्त्री भइसक्दा पनि उनीहरूले सिटामोल देख्न पाउँदैनन् । यो दृश्यले कोभिडको समयमा भएको चरम सिटामोल अभावलाई सम्झाइदिन्छ । कोभिड-१९ को तीव्र संक्रमण ताका अत्यावश्यक औषधिमध्येको सिटामोल नै अभाव भएपछि नेपाली जनताले सास्ती खेप्नुपर्‍यो । त्यतिबेला अन्य औषधिलाई विकल्पका रुपमा समेत प्रयोग गरियो । मूल्यवृद्धिका लागि कृत्रिम अभाव सिर्जना गर्नेहरूप्रति असंवेदनशील बनेको सरकारलाई पनि नाटकले प्रश्न गर्छ ।

यस्तो गम्भीर विषयलाई हास्य विधामा प्रस्तुत गर्नु चुनौतीपूर्ण छ । तर, त्यही चुनौतीसँगै फरक विषयवस्तुलाई पुरानो नाटकघरले 'सिटामोल'मा देखाउने प्रयास गरेको भए पनि यस्तो संवेदनशील मुद्दामा नाटक बनाउँदा विषयवस्तुमाथि गहन अध्ययन, अनुसन्धानसहित कथा लेखनमा अझै मेहनत गरिएको भए सुनमा सुगन्ध थपिने थियो । स्वास्थ्य क्षेत्रको यो लापरवाही, असंवेदनशीलतामाथि प्रश्न उठाउनु तारिफयोग्य काम हो । बुढी आमाले दोहोर्‍याइरहने कुरा अनि भुन्टीको रोइरहने बानी भने ‘लाउड’ लाग्छ ।

अहेबको चरित्रलाई मञ्चमा अरुण पौडेलले जीवन्त प्रस्तुत गरेका छन् । नाटकमा अरुणसँगै कलाकारहरू ऋतेश कार्की, श्रवण यादव, प्रकाश थापा, युनिशा बजगाईं, प्रविन खरेल, अस्मिना भारती, पियुस कुँवर, धनलक्ष्मी राई, सन्देश कार्की, शिशिर गिरी, सागर भट्टराई, टिका निरौला, सविता तामाङ, सुरेश राई, सरोज खालिङ राई, तुलसी बोहोरा, सदीन लुइँटेल, अर्णव घिमिरेको अभिनय छ । सिटामोलको चक्की बनाइएको प्रप्स कथासँग सान्दर्भिक हुने किसिमको नाटकमा प्रयोग गरिएको छ । स्वास्थ्य चौकी, ट्वाइलेटजस्ता प्रप्सहरूको प्रयोगमा पनि मिहेनत देखिन्छ । संगीतमा मोनिष निरौला र राजकमल फकिरको काम पनि प्रशंसा लायक नै छ ।

प्रकाशित : श्रावण २०, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

कच्चा तेल प्रतिब्यारेल ८९ डलरमा झर्‍यो, आउने महिना उत्पादन थप बढाइने  

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेल (डब्लूटीआई)को मूल्य प्रतिब्यारेल ८९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल र मुर्बान कच्चा तेलको भाउ ९४ डलरमा झरेको छ । प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य २ महिनामै झण्डै ४० डलरले घट्नुलाई ठूलो गिरावट मानिएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अझै घट्ने विभिन्न प्रक्षेपण सार्वजनिक भएका छन् । 

यसैबीच तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन ओपेक प्लसले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने निर्णय समेत गरेको छ । ओपेक प्लसले सेप्टेम्बरमा दैनिक थप १ लाख ब्यारेल तेल उत्पादन गर्ने निर्णयले आपूर्तिमा थप सहज हुने र त्यसले अन्तत: मूल्य घट्न मद्दत पुग्ने अनुमान छ । अर्कोतर्फ रुसको उत्पादन पनि घट्ने संभावना नदेखिएकाले तेलको भाउ अझै घट्न सक्ने भारत पेट्रोलियमका प्रमुख अरुणकुमार सिङले इकोनोमिक टाइम्सलाई बताएका छन् । यसअघि अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट पनि तेलको मूल्य घटेर आएको छ । हालै डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । त्यसअघि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।भारतले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । पेट्रोलियम पदार्थको मूल्य बढी हुँदा ढुवानी खर्च समेत बढ्न गई भान्सा समेत महँगिन जान्छ । कच्चा तेलको मूल्य घटेमा महँगी नियन्त्रणमा समेत सघाउ पुग्नेछ । कच्चा तेलको मूल्य घट्नु नेपालको समग्र अर्थव्यवस्थाका लागि फाइदा हुनु हो ।

प्रकाशित : श्रावण २०, २०७९ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×