२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नगरकोटलाई राष्ट्रिय दोहोरी उपाधि

कान्तिपुर संवाददाता

पोखरा — पोखरामा पाँच दिनसम्म चलेको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि काठमाडौंको नगरकोट दोहोरी साँझले जितेको छ । सोमबार भएको प्रतिस्पर्धाको फाइनलमा काठमाडौंकै दरबार दोहोरी साँझलाई पराजित गर्दै नगरकोट पहिलो भएको हो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधी घर अस्ट्रेलिया आए । दुवै टिमले बराबर अंक प्राप्त गरेपछि तेस्रो भएका हुन् ।

नगरकोटलाई राष्ट्रिय दोहोरी उपाधि

कल्याण शेरचन स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाबाट कुल ४५ टिम सहभागी थिए । प्रतियोगिताको विजेता समूहले ६ लाख, उपविजेताले ४ लाख र तेस्रो भएका दुई समूहले डेढ–डेढ लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गायक दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिका गण्डकीकै सीता परियार घोषित भए । अनुशासित टिम जापानको ओसाकास्थित धौलागिरि दोहोरी साँझ बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ति कार्कीले प्राप्त गरिन् ।

उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमले जनही ५०/५० हजार रुपैयाँ प्राप्त गरे । नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रुपैयाँ प्रदान गरियो । साउन १२ बाट पोखरा सभागृहमा सुरु भएको प्रतियोगिता पाँचौं दिनमा अबेर गरी सम्पन्न भएको हो । प्रतियोगिता अपेक्षा गरेभन्दा भव्य भएको आयोजकको भनाइ छ । प्रतियोगितामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजीले सम्हालेका थिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार र पोखरा महानगरपालिकाले सहकार्य गरेका थिए । प्रतिष्ठानले लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । ६४ वर्षको उमेरमा शेरचनको २०६७ माघ २४ मा निधन भएको थियो ।

प्रकाशित : श्रावण १७, २०७९ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?