भारत र नेपालमा एकैसाथ प्रदर्शन हुँदै 'प्रेमगीत–३'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत र नेपालमा एकैसाथ प्रदर्शन हुँदै 'प्रेमगीत–३'

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म 'प्रेमगीत ३' असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म 'प्रेमगीत ३' अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । फिल्मलाई यसअघि 'विश्वजितम'को नामले भारतमा प्रदर्शन गर्ने तयारी थियो । तर, नेपाल र भारतमा प्रचारका लागि एउटै नाम प्रयोग गर्दा फाइदा पुग्ने देखेपछि फिल्मको प्रतिलिपि लिएको कम्पनीले 'प्रेमगीत ३'कै नाममा फिल्म प्रदर्शन गर्ने भएको हो ।

'खासमा गुगलमा धेरैले प्रेमगीत ३ भनेर खोजेका रहेछन् । अब एउटै फिल्मलाई भारतमा एउटा नाम अनि नेपालमा अर्को भनेर प्रचार गरियो भने राम्रो नहोला भनेर फिल्मको नाम एउटै राखिएको हो,'फिल्मका निर्देशक एवं निर्माता सन्तोष सेन सुनाउँछन्,'भारतले पनि आजबाट यही नाममा फिल्मको प्रचार सुरु गरेको छ ।'

फिल्मलाई भारतमा युएफओ, मधु इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । सन्तोष फिल्म ओटीटी प्लेटफर्म अमेजनमा पनि प्रदर्शनमा आउने बताउँछन् । नेपाली फिल्मलाई भारतमा प्रदर्शन गर्न पाउँदा दंग छन् सन्तोष । 'अब हाम्रो कला भारतीय बजारमा देखिँदैछ । त्यो नै हाम्रो लागि ठूलो खुशी हो । २ वर्ष हामी मुम्बई बसेर गरेको मिहेनत देखिँदैछ,'उनले भने ।

फिल्मलाई भारतमा प्रदर्शन गर्न हिन्दी भाषामा डब गरिएको छ । फिल्मको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको थियो ।'प्रेमगीत ३' छेतेन गुरुङको ड्रिम प्रोजेक्ट थियो । २०७७ भदौ २७ मा बितेका छेतेनले आफ्नो ड्रिम प्रोजेक्ट हेर्न पाउँने छैनन् । फिल्ममा छेतेन र निर्माता सन्तोष सेनको निर्देशन छ । अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।

प्रकाशित : श्रावण १६, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

सहमति कार्यान्वयनमा सरकारको ढिलाइले हामीविरुद्ध पक्राउ पुर्जी जारी भयो : बास्तोला

'पत्रिकामा सूचना जारी गर्नुअघि केही सोधपुछ भएको थिएन । अब सरकारसँग नै कुराकानी हुन्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन नेकपाका नेताहरूका नाममा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी गरेको छ । चन्द समूहले हिंसात्मक गतिविधि बढाएपछि प्रतिबन्ध लगाइएको बेला गरेका घटनालाई लिएर पक्राउ पुर्जी जारी भएको उक्त समूहका नेताहरूको बुझाइ छ । 

प्रतिबन्ध फुकुवा भइसकेको र सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि अदालतबाट त्यस्तो पुर्जी जारी हुनु र ३५ दिनभित्र पक्राउ गर्न भन्नु नमिल्ने कुरा भएको उक्त समूहमा रहेका नेताहरूले बताएका छन् ।

चन्द समूह छोडेर नेकपा (बहुमत) बनाएका धर्मेन्द्र बास्तोलाले सरकारले सहमति कार्यान्वयन नगर्दा पक्राउ पुर्जी जारी भएको हुनसक्ने बताए । बास्तोलालाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ । उनले अब सरकारसँग छलफल हुने बताए । 'हामी खुला राजनीतिमै थियौं । तत्कालीन सरकारले जबर्जस्ती प्रतिबन्ध लगाएर धकेल्न खोजेको थियो । त्यसपछि हामीले सहमति गरेर शान्तिपूर्ण खुला राजनीतिमा आएका हौं,' उनले भने, 'सहमति कार्यान्वयन गर्ने प्रक्रियामा सरकारले ढिलाढाला गरेको हुनाले अदालतले जारी गरेको होला । हामी सरकारसँग कुरा गर्छौं । सरकारको ढिलाइका कारणले यो आएको हो ।'

पत्रिकामा सूचना जारी गर्नुपहिला आफूहरूलाई कुनै जानकारी नगरिएको पनि बास्तोलाले बताए । उनले एकैपटक पत्रिकामा पक्राउ पुर्जी जारी गरिएपछि थाहा हुन आएको बताए । 'पत्रिकामा सूचना जारी गर्नु पहिला केही सोधपुछ भएको थिएन । अब सरकारसँग नै कुराकानी हुन्छ,' उनले भने ।

यसबीचमा सहमति कार्यान्वयन गर्न, मुद्दा फिर्ता र बन्दी रिहाइका लागि सरकारसँग पटकपटक छलफल भएको बास्तोलाले बताए । सरकारका अधिकारीले बारम्बार काम हुन्छ भनेको तर व्यवहारमा त्यस्तो नदेखिएको पनि उनको भनाइ थियो । 'हामी सरकारसँग कुरा गरिरहेका छौं । प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि कुरा भइरहेको थियो,' पक्राउ पुर्जी जारी भएपछि के गर्ने भन्नेबारे बास्तोलाको जवाफ थियो, 'अब कसरी अगाडि बढ्ने भन्ने कुरा सरकारमा भर पर्छ ।'

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन् ।

प्रकाशित : श्रावण १६, २०७९ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×