विकास बोर्डमा भुवन केसी

'दुर्व्यवहारजस्तो विषयलाई सामान्यीकरण गरियो'

आरोपी नै शक्तिमा पुग्दा दुर्व्यवहार भोगेका महिला हतोत्साही हुन्छन् : रंगकर्मी आकांक्षा कार्की
रीना मोक्तान

काठमाडौँ — अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेका छन् । २ वर्षअघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले यौन दुर्व्यवहारको आरोप लगाएका उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षतामा नियुक्त गरेको हो ।

'दुर्व्यवहारजस्तो विषयलाई सामान्यीकरण गरियो'

केसीले बुधबार पदभार ग्रहण गरिसकेका छन् । यतिखेर भुवनलाई बधाई दिने र यौन दुर्व्यवहारको आरोपितलाई चलचित्र क्षेत्रको अभिभावकीय पदमा नियुक्त गराएको भन्दै विरोध गर्नेहरुको दुई समूह छुट्टिएको छ ।

मिटू अभियानलाई उचाइमा पुर्‍याएको हार्वे विन्स्टिनविरुद्धको यौन दुर्व्यवहारको आरोपले विनस्टिनलाई सन् २०१८ यता जेल पुर्‍यायो । ८० भन्दा बढी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि सुरुमै विन्स्टिनलाई 'द विनस्टिन कम्पनी' र 'एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्स'ले निकालेको थियो ।

सन् २०१८ मै बलिउड अभिनेत्री तन्नुश्री दत्तले अभिनेता नाना पाटेकरले १० वर्षअघि गरेको यौन दुर्व्यवहारको आरोप लगाएसँगै नानाले 'हाउसफुल ४' गर्न पाएनन् । फिल्मलाई निर्देशन गर्ने भनिएका साजिद खानमाथि पनि तीन महिलाले यौन दुर्व्यवहारको आरोप लगाए । त्यसपछि फरहाद रामजीले 'हाउसफुल ४' को निर्देशकीय जिम्मेवारी पाए ।

त्यस्तै, भारतमै गायिका सोना मोहापात्रले संगीतकार अनु मलिकविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएपछि मलिकलाई 'इन्डियन आइडल' १०औं संस्करणबाट हटाइयो । तर, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यौन दुर्व्यवहारको आरोप लगाएका भुवन भने बोर्डको अध्यक्ष बने । यसको अर्थ हो, अब साम्राज्ञीले गर्ने फिल्महरुको निर्णय लिने क्षमतामा छन् भुवन ।

अभिनेत्री साम्राज्ञीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत २०७७ को असारतिर आफूलाई भुवनले यौन दुर्व्यवहार गर्दा आफू १७ वर्षको रहेको खुलाएकी थिइन् । 'यस्तो पनि समय आयो जब मलाई दुर्व्यवहार (ह्यारेसमेन्ट) गरियो । सबैजनाको अगाडि त्यो व्यक्ति मेरो अनुहारको मजाक उडाएर हाँस्थ्यो । त्यतिबेला मात्र १७ वर्षको थिएँ म। मैले एक व्यक्तिलाई यसबारे सुनाएको पनि थिएँ। तर, उहाँले यो उद्योगमाथि तिनीहरुकै नियन्त्रण छ जोसँग शक्ति छ, उनीहरुकै गुटबन्दी छ । यदि उनीहरुले तिमीलाई मन पराएनन् भने फिल्मको अफर पाउँदैनौं भनेर बोल्न दिनुभएन,' उनले उक्त घट्ना सम्झँदै भनेकी थिइन् ।

भिडियोमा साम्राज्ञीले भुवनको नाम कतै लिएकी थिइनन् । तर, प्रतिवादमा भुवनले भने सामाजिक सञ्जाल फेसबुकमा खाना नपाएर रोइकराइ गरेको भन्दै स्टाटस नै लेखे । 'खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !' उनले लेखेका थिए ।

त्यसपछि साम्राज्ञीले भुवनले जापानको अवार्ड कार्यक्रममा पनि दुर्व्यवहार गरेको कुरा खुलाएकी थिइन् । 'जापानमा अवार्डमा जाँदा पनि उहाँ असहज ढंगले मेरो नजिक आउँदा मैले धकेलेको थिएँ । उहाँलाई वा अरुलाई त्यस्तो व्यवहार मन पर्छ होला तर मलाई मन पर्दैन । त्यति नजिक आउन उहाँ मेरो को हो र ?’ उनले भनेकी छन्,‘यस्तो आक्रमणले फिल्ममा आउन चाहने नयाँ केटी र उनीहरुका अभिभावकहरु हतोत्साही हुन्छन् । त्यसैले पनि म चुप बस्दिनँ । अत्ति हेप्ने काम भयो ।’ त्यसपछि साम्राज्ञीविरुद्ध केसीले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दर्ता गरे । अहिले यो मुद्दा अदालतमा विचाराधीन छ ।

यौन दुर्व्यवहारका आरोपितलाई बोर्डको अध्यक्ष बनाएसँगै महिलाहरुलाई त्रासमा बाँच्नुपर्ने स्थितिको विकास भएको भुवनका प्रतिस्पर्धी समेत रहेकी निर्देशक सम्झना उप्रेती रौनियार बताउँछिन् । 'मन्त्रालयले खोलेको निवेदनमा सुरुमा उनलाई त्यहाँ नै रोक्न सकिन्थ्यो । उनले सजिलै निवेदन भर्न पाए । अन्तर्वार्ता लिएर बोलाएको छ । देशको गरिमा बोक्ने पार्टी नेपाली कांग्रेसले त्यस्तो व्यक्तिलाई अध्यक्ष बनाउँदा पार्टीले के हैसियत राख्छ? फिल्म क्षेत्रका पुरुषहरुले एक त फिल्म क्षेत्र महिलाका लागि सुरक्षित छैन भन्ने भान गराइरहन्छ,' सम्झनाले भनिन्,'विकास बोर्डमै उनीविरुद्ध निवेदन परेका छन् । उहाँ गतिलो चरित्र भएको व्यक्तिमा गनिनु हुन्न । उहाँजस्तो व्यक्तिलाई बोर्डमा लगेर कांग्रेसले के सन्देश दिन खोजेको हो भन्न सकिन्न । भोलिदेखि चलचित्र क्षेत्रका महिलाहरूलाई त्रासमा बाँच्नुपर्ने स्थिति बनाइदियो ।'

यौन दुर्व्यवहारका अनुभवलाई समेट्दै 'भजाइना मोनोलग' निर्देशन गरेकी रंगकर्मी आकांक्षा कार्की भुवन त्यो शक्तिमा पुग्नुले यौन दुर्व्यवहारबारे बोल्ने महिलालाई हतोत्साही भएको बताइन् । 'यो गैरजिम्मेवार निर्णय भयो । तिमीहरुले जे बोले पनि बोल्दै गर, तर हामी नसुनेझैं गरिदिन्छौं, देखेको पनि नदेखेको जस्तो गरिदिन्छौं । कसैले हामीलाई जवाफदेही बनाउन सक्दैनौं भनेर एक महिलालाई दर्जा नै नदिएको, आदर नगरेको भन्ने उदाहरण मान्न सकिन्छ,'आकांक्षाले भनिन्,'त्यस्तो व्यक्ति निर्णय लिने क्षमतामा पुगेपछि पहिल्यै शक्तिमा भएको पुरुषले अर्को शक्तिमा पुग्दा अर्को कोही व्यक्तिले कसरी बोल्न सक्छ । कसैलाई गलत गरेको छ भने त्यही व्यक्तिहरूको करिअर कन्ट्रोल गर्ने डोरी त उसको हातमा पर्‍यो नि ।'

आकांक्षा थप्छिन्,'यो त ल 'खा' भनेकोजस्तो पनि भयो । तिमीहरु जति नै चिच्च्याउँदै गरे पनि हामी यसरी प्रगति गरिरहन्छौं भनेर देखाएको हो ।' फिल्म निर्देशक मनोज पण्डित भुवनलाई अध्यक्ष बनाइदिएर सरकारले यौन दुर्व्यवहारजस्तो अपराधलाई सामान्यीकरण गरिदिएको बताउँछन् । 'राजनैतिक दलहरुलाई सामाजिक कुनै पनि मुद्दासँग सरोकार छैन भन्ने यसले देखाउँछ । खालि हरेक सरकारी निकायमा आफ्ना कर्मचारी कसरी भर्ती गराउने भन्ने कुराले मात्र महत्त्व राख्छ भन्ने देखिन्छ । त्यसकै रिफ्लेक्सन हो यो,'पण्डितले भने,'दलहरुका लागि आफ्ना कार्यकर्ताको सवालमा हरेक अपराध सामान्य लाग्छ । यसले अपराधलाई सामान्यीकरण गरिदिएको छ । यति महत्त्वपूर्ण मुद्दामा दलहरू मौन बसिदिनु, महिला हिंसाका मुद्दामा उनीहरुलाई कुनै पनि चासो छैन भन्ने स्पष्ट हुन्छ ।'

दलीय आबद्धता

यतिखेर भुवन अध्यक्ष बनेसँगै दलीय आबद्धतामाथि प्रश्न उठेका छन् । पहिलो संविधानसभा चुनावपछि भुवन एमाले प्रवेश गरे । दोस्रो संविधान सभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोज्यो तर पार्टीभित्र चर्को विरोध भएपछि पछि हट्यो । त्यसताका उनको नाम राप्रपा र उन्नत लोकतन्त्र पार्टीसँग जोडियो । तर, गत वैशाख २० मा नीर शाहको पहलमा केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कांग्रेश प्रवेश गरे ।

बोर्डको अध्यक्षका लागि दलीय आबद्धता बन्द गर्न माग गर्दै समीक्षक एवं पत्रकार यज्ञशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । 'हुन त कुलमान घिसिङ जस्तो आफ्नो क्षमता सिद्ध गरेका र नेपालमा असम्भवजस्तै मानिएको लोडसेडिङ हटाउने काम गरेर देखाएका मान्छेसमेत माओवादी सरकारमा नआइ फेरि विद्युत् प्राधिकरणको हाकिम हुन पाएनन्, त्यसैले यो देशमा दलीय आबद्धता र दलीय आधारमा नियुक्ति अति सामान्य कुरा हो। त्यसैले हरेक क्षेत्रमा दलीय आबद्धता र प्रतिबद्धतासहितका संघ संगठन छन्। गभर्नर आफ्नो पार्टीको नभएकाले सरकारले हटाउने र सरकार आफ्नो पार्टीको नभएकाले गभर्नरले निहुँ खोज्ने पनि देखिएकै हो,'उनले लेखेका छन्,'अझै छोटकरीमै नाम राखेर भए पनि पार्टीको जुवामा नारिनै परेको हो। यस्तोमा चलचित्र विकास बोर्डको के कुरा गर्नु ! तैपनि एमालेमा रहेका (काठमाडौंमा सांसदको टिकटसमेत दिएर पछि खोसिएका) भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन पहिले कांग्रेस प्रवेश गराएर मात्रै अध्यक्ष बनाइयो। यसको अर्थ भुवन केसी कांग्रेस भएकाले अध्यक्ष भएका हुन् भन्ने लगाउन मिल्छ कि मिल्दैन ? उनको क्षमताको आधारमा हो भने वैशाखमा पार्टी प्रवेश गराउनुको कारण के? बोर्ड अध्यक्षको योग्यता यही हो ?'

थप लेखेका छन्, 'भुवन अभिनेता र निर्माताका रूपमा स्थापित व्यक्ति हुन् तर चलचित्र क्षेत्रलाई मार्ग निर्देशन गर्ने र मौलिक सिनेमा संस्कृति विकासको भिजन भएका व्यक्तिजस्तो लाग्दैन। भुवनले त्यसमा मलाई गलत सिद्ध गरून् भन्ने कामना छ। (यसमा थप- भुवनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले लगाएको यौन दुर्व्यवहारको आरोपलाई सरकारले बिर्सेको कि मुद्दा नै नमानेको भन्ने प्रश्न पनि छ।)'

बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल भने विदेशी फिल्म रोकेर देखाउन भुवनलाई चुनौती दिन्छन् । 'उहाँले बाहिर बसेर बलिउड फिल्म रोकेर देखाउँछु भन्नुभएको थियो । अब उहाँ पदमा पुग्नुभयो त्यो काम पनि गरेर देखाउन सकेको होस् मेरो कामना छ,' दयारामले भने ।

प्रकाशित : श्रावण ११, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?