कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
फिल्म समीक्षा दोख

फुटबल र युद्धको संघर्ष

रीना मोक्तान

काठमाडौँ — १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वको प्रभाव नेपालका सबै गाउँ र सहरसम्म कुनै न कुनै रुपमा पर्‍यो । सिंगो समाजलाई प्रभावित पार्ने त्यो दशक देखाउने सन्तुलित फिल्म भने थोरै बनेका छन् । माओवादी युद्धमाथि बनाइएका धेरैजसो फिल्म या त पूर्वाग्रही बने वा महिमामण्डनमै रमाए । युद्धको अवस्था र प्रभावलाई सन्तुलित रुपमा दृश्यमा उतार्न थोरै फिल्ममात्रै सफल बनेका छन् ।

फुटबल र युद्धको संघर्ष

माओवादी युद्ध अन्त्य भएको २ दशकपछि फिल्मकर्मी अनुप बरालले त्यसलाई दृश्यमा उतार्ने चुनौती मोले । हालै प्रदर्शनमा आएको 'दोख' सोही युद्धको असरमा केन्द्रित छ ।

'दोख' ले माओवादी युद्धकै कथा त भन्दैन । तर युद्धको पृष्ठभुमिमा लेखिएको फिल्मले युद्धले बनाएका घाउहरू समेट्छ । जुन घाउ खतका रुपमा अझै छन् । माओवादी युद्धको समयमा दुई पक्षबीच पिल्सिएका जनता, उनीहरूको मनस्थिति र बाँच्ने संघर्ष फिल्ममा देखाइएको छ ।

बलिउड शैलीलाई पच्छ्याइएका, दुइअर्थी संवादले भरिएका कमेडीले समाजलाई सधैँ सतही चित्रण गरिरहँदा अनुप बराल निर्देशित 'दोख' भने त्यो भीडबाट बाहिरै देखिएको छ ।

नेपाली समाजले भोगेको एउटा यस्तो कालखण्डको यथार्थ चित्रण गर्दै समाजकै पात्र, परिवेश अनि संवादमार्फत् फिल्मसँग दर्शकलाई जोड्न सफल छ, 'दोख' । फिल्मका पात्रहरू समाजबाट टप्पक्क टिपिएका छन् भने ठेट संवाद दर्शकलाई फिल्मसँग जोड्ने बलियो कडी बनेको छ । पटकथा, निर्देशन अनि प्राविधिक पक्षको तालमेल मिल्दा फिल्म समग्रमा सुन्दर छ ।

व्यवसायिक नाफाका लागि फिल्मको ब्रान्ड बेचेर सिक्वेल बनाइएका बासी कथाहरूको भीडमा दोखले नयाँ स्वाद पस्कन्छ । युद्धमा को सही थियो र को गलत भनेर फिल्मले माओवादी र सेनाको पक्ष वा विपक्ष लिँदै फैसला गर्दैन । तटस्थ रहेर २ दशक पुरानो कथा देखाउनु नै फिल्मको सफलता बनेको छ । मौलिक संवाद, सुन्दर दृश्य, सशक्त अभिनय, पार्श्व ध्वनी र संगीतको समिश्रण अनि कलात्मक रंगको तालमेल फिल्ममा देखिएको छ ।

फिल्मको कथा सुरु हुन्छ दुई गाउँको विवादबाट । सल्ले र भकुण्डे गाउँलाई चुथ्रे वनले जोडेको छ । सल्ले ठान्छ, यो वन सरकारले आफूहरुलाई उपहारमा दिएको हो । वर्षौंदेखि घाँसदाउरा गर्दै आएको वनलाई भकुण्डे पनि आफ्नो मान्छ । एक दिन घाँस काटेकै निहुँमा सल्लेका केटाहरू (नाइकेको समूह)ले भकुण्डेका केटालाई कुट्छन् । त्यसपछि माओवादीका कमाण्डर संगीत (सुरज मल्ल)ले दुई गाउँबीचको यो विवाद सल्टाउन उनीहरूबीच फुटबल प्रतिस्पर्धाको घोषणा गरिदिन्छ । प्रतिस्पर्धा जित्नेले नै वनमा आफ्नो हक जमाउन पाउने भएपछि सल्लेका केटाहरु फुटबल प्रतिस्पर्धाको तयारीमा लाग्छन् । त्यही समयमा गाउँमा नयाँ मास्टर रोनित (मनिष निरौला)को प्रवेश हुन्छ । उनको इन्ट्रीसँगै कथाले कस्तो मोड लिन्छ ? फिल्मको कथा युद्ध र फुटबलबीच घुमेको छ ।

नाइकेको समूह फुटबल खेल्दै गरेको एउटा दृश्यसँगै फिल्म सुरु हुन्छ । जहाँ उनीहरुलाई पछाडि छोड्दै वन पस्दै गरेको माओवादीको लस्कर एउटै फ्रेममा अटाइएको छ । युद्ध र फुटबल अर्थात् फिल्मको पूरा कन्सेप्ट नै उक्त दृश्यले छर्लंग पारिदिन्छ । फिल्ममा यस्ता थुप्रै सशक्त दृश्यहरु समेटिएका छन् । हरेक दृश्य एकपछि अर्कोसँग जोडिएका छन् । अँध्यारोमा राँको बाल्दै हिँडेको लस्कर होस् या अस्ताउँदै गरेको सूर्यको किरणमा खिचिएको पात्रहरुको छायाँ मात्रैको दृश्य, चित्रकला झैं लाग्ने यी दृश्यहरुले थुप्रै कुरा बोलिदिन्छन् ।

निर्देशक बराल आफूले देखाउन खोजेको कुरामा प्रस्ट छन् भन्ने उदाहरण हो यो । गाउँभरि हल्ला फैलिएको 'खासखुस' दृश्य, कलाकारहरुको मिहिन चरित्र चित्रणमा निर्देशक अनुपको बलियो उपस्थिति देखिन्छ । सानो भूमिका पाएका पात्रहरुलाई पनि फ्रेममा उत्तिकै महत्त्वका साथ देखाइएको छ । उनीहरुका ससाना भावनालाई पनि दृश्यमा समेट्न सक्नु रंगकर्मी बरालको सबल पाटो झल्किन्छ । दुई गाउँबीचको फुटबल प्रतिस्पर्धाको दृश्य निकै रोचक दृश्यमध्ये एक हो । उक्त दृश्यमा दर्शकले त्यही मैदानमा आफैंलाई उभिएको अनुभव गर्न सक्छन् ।

दृश्यहरूले मात्रै होइन कलाकारको अभिनयले कथालाई सजीव बनाइदिएको छ । अभिनेत्री दीया मास्केले रुक्कीको चरित्रलाई न्याय दिएकी छन् । रुक्कीको मनोवैज्ञानिक, सामाजिक पाटोलाई दीयाले आफ्नो अभिनय क्षमताले पुष्टि गरेकी छन् । अधिकांश नेपाली फिल्ममा महिला चरित्र चित्रण निकै कमजोर ढंगमा लेखिएका हुन्छन् । 'दोख' भने महिला चरित्र चित्रण र महिलालाई पर्दामा दिने स्थानका हिसाबले अगाडि देखिन्छ । आफ्नो भविष्यका लागि वर्तमानका समस्या पछाडि छाडेर अगाडि बढ्ने विद्रोही स्वाभावको महिला चित्रणमा दीया उत्तिकै बलियो देखिन्छिन् । मास्टर रोनितको भूमिकामा मनिष निरौलाको अभिनय प्रशंसायोग्य छ । मास्टरको जीवनको निराशा उनको आँखैमा झल्किन्छ । यही फिल्ममार्फत् अब्बल अभिनयले फिल्म क्षेत्रमा निरौलाले आफ्नो लागि स्थान फराकिलो पारेका छन् । त्यस्तै नाइके पात्रलाई जीवन्त बनाउन रोय दिभले गरेको अभिनय प्रशंसालायक छ । पर्दामा छोटो भूमिकामा देखिएका माओत्से गुरुङले पनि आफ्नो अभिनयमार्फत घनश्यामको चरित्रलाई दुरुस्त देखाइदिएका छन् ।

फिल्ममा फुंग उडेको रंग संयोजन देख्न सकिन्छ । दुई सैद्धान्तिक द्वन्द्व र लडाईंबीच पात्रहरूको जीवनको रंग पनि उडेको देखाइन्छ । उनीहरुको जीवन अनि त्यो समय झल्काउने रंग संयोजनले फिल्मका दृश्यलाई विश्वासिलो बनाउन मद्दत गर्छ । मास्टर मनिषले देख्ने सपनाहरू (फ्ल्यासब्याक)लाई मूलत: श्यामश्वेत रंगमा देखाइएको छ । बाल्यकालको एउटा दृश्यमा उनी खुसी देखिन्छन्, जीवनमा सबै कुरा मिल्दाको क्षणलाई भने रंगीन देखाइएको छ । त्यही दृश्यमा रातो रंगले दिने अर्थ फिल्मको कथासँग जोडिएको छ ।

त्यस्तै यो फिल्ममा पार्श्वध्वनीले पनि कथावाचनमा प्रमुख भूमिका निभाएको देखिन्छ । पात्रहरूको मनस्थिति, भावना अनि घट्नालाई स्थापित गर्न पार्श्वध्वनीले सहयोग गरेको छ । पार्श्व संगीत 'रातैले बुन्छ'बोलको गीतले त रुक्कीको मनस्थिति र युद्धको पीडा बोलिदिएको छ । मौलिक संवाद फिल्ममा प्रयोग गरिएका छन् । उदाहरणका लागि नाइकेको समूहले फिल्मभर 'फुटबल खेलौं' भन्दैनन्, उनीहरु 'गोल खेलौं' भन्छन् । गाउँघरमा बोलिने मौलिक भाषा, लवज संवादमा झल्किँदा दर्शकले अझै पात्रहरूमा आत्मियता महसुस गर्छन् । 'ह्वाइट इज द प्रब्लम'जस्ता संवादहरू बलियो आइरोनीको रुपमा सुनिएका छन् । दर्शक हसाउन दुइअर्थी संवादकै प्रयोग गर्नेहरूलाई यो संवाद मात्रैले पनि धेरै जवाफ दिन्छ ।

फिल्ममा थुप्रै चरित्रहरू छन् । सबै चरित्रलाई उत्तिकै स्थान दिन खोज्दा फिल्म एउटै गतिमा नहिँडेको आभास हुन्छ । युद्ध र फुटबलको कथालाई समानन्तर ढंगले लैजान नसक्दा फिल्मको केन्द्रीय द्वन्द्व अलमलमा परेको छ । चुथ्रे विवादले दुई गाउँबीच फुटबल प्रतिस्पर्धा आयोजनाको घोषणा त हुन्छ । तर फिल्मको कथा युद्धतिर बढी ढल्किँदा मध्यान्तरसम्म फुटबलको प्रसंग हराएको हो कि भन्ने पनि लाग्छ ।

त्यस्तै रुक्की र रोनितबीचको सम्बन्धलाई स्थापित गर्न हतार गरिएको छ । त्यसैले उनी दुईको जीवनमा आउने उतारचढाव दर्शकलाई विश्वसनीय लाग्दैन । तर 'ओपन इन्डिङ'ले भने अन्तिम समयसम्म पनि दर्शकलाई रुक्कीबारे सोच्न बाध्य गराउँछ । बीचमा धुमधाम नाचगान, हिरोरहिरोइनको प्रेमालाप अनि एक मुक्काले १० जना गुन्डा ढालिदिने फिल्म मनपराउने दर्शकका लागि 'दोख' नौलो अनुभव हुन सक्छ । फिल्मको अन्तमा निर्देशक बरालले इतिहासमा अब यस्तो घट्ना नदोहरियोस् भन्ने संदेश थपिदिएका छन् । फिल्म हेरिसकेपछि यस्तो लाग्छ कि, युद्धका अरु थुप्रै 'दोख'हरू देखाइनु पर्छ ।

प्रकाशित : असार २६, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?