१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

'गोग्राह'मा नयाँ कथाहरू

काठमाडौँ — फिल्म सम्बन्धी आवसीय कार्यशाला 'गोग्राह फिल्म रेसिडेन्स २०२२' सकिएसँगै गोग्राहका सहभागी ६ लेखक/निर्देशकले निर्माताहरुको बीचमा लेख्दै गरेका फिल्मको कथा सुनाएका(पिचिङ) छन् । हालै काठमाडौंमा आयोजित गोग्राहको कार्यक्रममा रंगकर्मी आकांक्षा कार्की, फिल्मकर्मी राजेशप्रसाद खत्री, शान्ता नेपाली, अभिमन्यु निरबी, साइन सुनार, निकिता त्रिपाठीले निर्माणाधीन फिल्मको कथा सुनाएका हुन् । 

'गोग्राह'मा नयाँ कथाहरू

फिल्म मेकिङमा इच्छुकहरूलाई कथा लेख्न सिकाउने यो कार्यशालाका सहभागीहरुको कथा सुनिसकेपछि अभिनेता दयाहाङ राइले आफूले सबै प्रमुख पात्रमा आफूलाई नै देखेको बताए ।

'अभिनेता भइसकेपछि प्रमुख पात्रका लागि लोभ हुँदो रहेछ । यहाँ साथीहरुले कथा सुनाउँदै गर्दा मैले सबै प्रमुख पात्रमा आफैंलाई देखें । सायद त्यो प्रमुख पात्र मै पो हुँ कि भन्ने पनि लाग्यो,'दयाले उपस्थित सबैलाई हसाउँदै भने, 'आफूलाई जुन कथा भन्दा सहज हुन्छ फिल्मकर्मीले त्यही कथा भन्नुपर्छ भन्ने मलाई लाग्छ । सबैको कथा सुनिरहँदा मलाई के लाग्यो भने पक्का हामीले खोजिरहेको कथाहरु अहिले आइरहेको छ । त्यो फिल्ममा म चाहिँ कता अट्छु कि भन्ने भयो ।'

सन् २०१९ देखि सुरु भएको गोग्राहले फिल्म निर्देशन र लेखनको कार्यशाला आयोजना गर्दै आएको छ । यसअघि सन् २०१९ मा पहिलो पटक एक हप्ताको फिल्म लेखन तथा निर्माण कार्यशाला आयोजना गरेको थियो । त्यसपछि २०२०/२१ को कार्यशाला भने भर्चुअल आयोजना भयो । पहिलो चरणको लेखन कार्याशालामा छानिएका फिल्मकर्मीलाई १२ हप्ता लामो निर्देशन कार्यशाला गरिएको थियो । त्यसपछि १६ हप्ताको निर्देशन कार्यशाला भयो । त्यसमध्येबाट शान्ता नेपालीको लघु फिल्म 'मुना', ज्योत्सनासिंह ठकुरीको 'एलेक्सिया' र सुनील गुरुङको 'विन्ड हर्स'ले पाँच-पाँच लाख प्रदान गरिएको थियो ।

'गोग्राह फिल्म रेसिडेन्स २०२२' अन्तर्गत छानिएका ६ लेखक/निर्देशकले हालै ६ हप्ता लामो मेन्टरिङको कक्षा लिए । रेसिडेन्स अन्तर्गत लेखक/निर्देशकले पनि कार्यक्रममा कथा पिच गरेका हुन् । गोग्राहका संस्थापक एवं फिल्म निर्देशक दीपक रौनियार, लेखक आशा मगरातीलगायत अन्य विदेशी फिल्मकर्मीले रेसिडेन्सका सहभागीलाई आफ्नो प्रोजेक्टमा मेन्टरिङ गरेका थिए । 'गोग्राह फिल्म रेसिडेन्स २०२२' अन्तर्गत फिल्मका लेखक/निर्देशकलाई गोग्राहले अनुदान नदिए पनि विश्व बजारमा पुर्‍याउन मद्दत गर्ने संस्थापक अध्यक्ष रौनियारले बताए ।

लेखक एवं अभिनेत्री मगरातीले आफूहरूले फिल्म निर्माणको सुरुआती दिनमा भोग्नुपरेका दु:खहरु नयाँ फिल्मकर्मीले भोग्नु नपरोस् भन्ने सोचले गोग्राहमार्फत् फिल्मकर्मीहरूलाई विश्व बजार, फिल्म लेखन एवं पथ प्रदर्शन गर्दै आएको बताइन् ।

'हाम्रो समाज जसरी विविध छ त्यस्तै विविध फिल्म क्षेत्रलाई पनि बनाउन पाए हुन्थ्यो भन्ने हामीलाई लागिरहन्थ्यो । त्यसैको सानो प्रयास हो गोग्राह । फिल्म निर्माणमा हामीलाई कहिल्यै पनि प्रविधि प्रमुख लागेन । मुख्य भनेको फिल्मकर्मीको आफ्नो आवाज नै हो । उनीहरुको भोगाइ, अनुभवबाट निस्केको कथा नै प्रमुख हुन् भन्ने लाग्छ हामीलाई,' उनले भनिन्, 'फिल्मले हामीले बाँचेको समाजलाई झल्काओस् भन्ने लाग्छ । फिल्मकर्मीको मनमा गढेको प्रश्न फिल्मकर्मीले निर्धक्क फिल्ममार्फत सुनाओस् भन्ने हामी चाहन्छौं । त्यसैले हामीले सहभागी छान्दा विविधतालाई प्राथमिकतामा राख्छौं ।'

प्रकाशित : असार २०, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?