२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

निको नहुने घाउ- 'दोख'

रीना मोक्तान

काठमाडौँ — 'न्यु नेपाली सिनेमा'ले सन् २०१३ तिर स्क्रिप्ट लेखन प्रतिस्पर्धा आयोजना गर्‍यो । 'न्यु नेपाली सिनेमा' त्यतिबेला वैकल्पिक फिल्मबारे छलफल गराउने फोरमको रुपमा सक्रिय थियो । त्यही प्रतिस्पर्धाको निर्णायक बन्नका लागि एक दिन रंगकर्मी अनुप बराललाई आयोजकले अनुरोध गर्‍यो ।

निको नहुने घाउ- 'दोख'

'म किन निर्णायक बन्ने, तपाईंहरुले मलाई त्यस बापत पारिश्रमिक पनि दिनुहुन्न ! आयोजक पारिश्रमिक दिन सक्ने अवस्थामा नभएपछि अनुप जिस्किए । एउटा सर्त राख्दै निर्णायक बन्ने निधो गरे । उनको सर्त थियो, 'प्रतिस्पर्धाबाट छानिएको १० स्क्रिप्टमध्ये मनपरेको एउटामाथि मैले फिल्म बनाउन पाउनुपर्छ ।'

त्यही प्रतिस्पर्धामा प्रथम बनेको स्क्रिप्टमाथि बनेको हो -'दोख' । राजन कठेत लिखित स्क्रिप्टले प्रतिस्पर्धामा विजयी बन्दा २ लाख २५ हजार जित्यो ।

'मलाई राजनको काम निकै संवदेनशील लाग्थ्यो । राजनले लेखेको स्क्रिप्टमा गहाराइ हुन्छ भन्ने थाहा थियो । प्रतिस्पर्धा जितेको स्क्रिप्टको कथा मलाई एकदम मनपर्‍यो,' अनुप पूराना दिन सम्झँदै बताउँछन् ।

जनआन्दोलनको पृष्ठभूमिमा अलग भू-भागमा घटेको घटनालाई आख्यानमा ढालेर 'दोख'को कथा बुनिएको थियो । दुई गाउँ जोड्ने सामुदायिक वन कसको हो? भन्ने लडाईं समेटिएको कथा । त्यही वन आफ्नो बनाउनका लागि गाउँहरुबीच फुटबल प्रतिस्पर्धा गराइन्छ । त्यही कथालाई दृश्यको रुप दिन २०७२ तिर निर्माण टिम भोजपुर पुग्यो । ६/७ दृश्यको छायांकनपछि भुकम्प आयो । टोली काठमाडौं फर्कियो । प्राविधिकदेखि कलाकार सबै तितरबितर भए ।

भूकम्पपछि जीवन सामान्यतर्फ फर्कँदै गर्दा फेरि छायांकनका लागि तयार के गर्दै थिए, नाकाबन्दीले टिम फेरि रोकिए । त्यतिञ्जेल अनुमानित बजेट सकिसकेको थियो । सबैले फिल्म 'डब्बा' होला भन्ने सोचेका थिए । तर, जसोतसो लगानीकर्ता खोजेर पुन: छायांकनमा निस्कियो टिम ।

'सुरु गरेको कामलाई फत्ते गर्नुपर्छ भन्ने थियो । तर, पहिला खिच्दै आएको क्यामेरा छोडेर नयाँ क्यामेराले फिल्म खिच्दा बजेट बढ्यो । पारिश्रमिक लिने कुरै छोडौं, मैले आफैंले पनि फिल्म पूरा गर्न आफ्नोतर्फबाट केही रकम हालें । आफूले गरेको प्रोजेक्ट पूरा गरौं भन्ने हुन्छ सबैलाई,' फिल्मका निर्देशक बरालले सुनाए ।

१५ वर्षअघिको जनयुद्धको समयलाई फिल्ममा देखाउन टिमले खुबै मिहिनेत गर्‍यो । अनुपका अनुसार त्यतिबेला चुरोटको डब्बामा फोक्सोको चित्र नहुने हुँदा उनीहरुले त्यस्तै सिगरेटको दृश्य खिचे । बियरको बोतल पूरानै देखाउन खोजे । त्यतिबेलाको रेडियो, भट्टी अनि भित्ताहरु देखाउने प्रयास गरे । फिल्ममा कस्ट्युम डिजाइनर थिएन । कलाकार आफैंले आफ्नो लागि कस्ट्युम बनाउँथे । बन्दुक बनाउन निकै मिहिनेत लागेको अनुप सुनाउँछन् ।

'दोख'को सबै काम सकिएपछि प्रदर्शनको तयारी थाल्दा फेरि कोरोना महामारीले फिल्म रोकियो । भूकम्प, नाकाबन्दी, कोरोना, बजेट अभावलगायतका थुप्रै समस्या छिचोल्दै ७ वर्षमा 'दोख' प्रदर्शनका लागि तयार भयो । असार २४ मा प्रदर्शन हुने फिल्म दर्शकको जिम्मामा लगाइदिन पाउँदा निर्देशक बराललाई ठूलो भारी बिसाएको अनुभव भएको छ ।

'बल्ल फिल्मको भारी बिसाएको छु । यो भारी गह्रुंगो छैन । एकदम हलुंगो र मीठो छ भन्ने लाग्छ,' मुसुक्क हाँस्दै भने, 'नेपालमा फिल्म बनाउन अहिले पनि महाभारतको युद्ध लडेको जस्तो हुन्छ । दोखले गर्दाखेरी घरायसी समस्या होला जस्तो भएको थियो । म घरमै फिल्मको सम्पादन गर्थें । दियाले मलाई तपाईंको जीवनमा दोख मात्रै छ हामी छैनौं' भन्थिन् । गरिसकेको कामलाई अपूरो छाड्दा नराम्रो असर जान्छ भन्ने लागेर मैले फिल्मको कामलाई निरन्तरता दिएँ ।'

युद्ध - निको नहुने घाउ

युद्ध सम्झँदा अनुपको आँखामा खाली विद्यालय, महिला र वृद्धाको उदास अनुहार नाच्छ । 'खाली विद्यालय, खाली बेन्च, जहाँ विद्यार्थी जान सक्दैनन् । उदास महिला र वृद्धाका आँखा । बेरोजगार युवाहरु जो गाउँमा बस्न सक्दैनन्, न शहर जान सक्छन्,' उनले भने । युद्ध निको नहुने घाउ भएकोले बिम्बका रुपमा फिल्मको नाम 'दोख' राखिएको अनुपको भनाइ छ ।

'शब्दकोषमा टाइफाइड बिग्रियो भने दोख हुन्छ भनेर लेखिएको छ । तर युद्ध एउटा त्यस्तो बिमारी हो जो अहिलेसम्म निको हुन सकेको छैन । त्यही बिम्बको रुपमा दोख नाम राखिएको हो । एउट यस्तो काल जुन सबैभन्दा डरलाग्दो, पीडाहरुले भरिएको थियो । जुन पीडा अझै हामीभित्र छ ।'

समय अन्तरालमा फिल्मकर्मीहरु जनयुद्धलाई समेट्दै फिल्म निर्माण गरिरहेका छन् । आखिर युद्धका कथा दर्शकलाई किन सुनाउनुपर्छ ? प्रश्न गर्दा अनुपले युद्धको भयानक रुप, त्यतिबेलाको कालखण्ड देखाउन फिल्मकर्मीले युद्धका कथामा फिल्म निर्माण गर्ने गरेको जवाफमा दिए ।

'युद्ध आफैंमा भयानक छ । त्यसले मानिसहरुमा कति किसिमका मनोविज्ञान छोडेर गएको छ । युद्धको असर लामो समयसम्म बस्छ नि,' अनुपले भने, 'युद्ध आफैंमा नराम्रो थियो । त्यसले एक समयमा केही परिवर्तन ल्याए पनि युद्धका डोबहरु गएको हुँदैन । त्यो नराम्रो कुरा हो भन्ने संदेश फिल्मबाट जाने नै भयो । अर्को त एउटा कालखण्डमा यस्तो पनि भएको थियो भन्ने महसुस गर्न पाउँछौं युद्धका फिल्महरुमा ।'

फिल्ममा भोजपुर, दिक्तेलको कथा समावेश छ । कथा जहाँको हो, त्यही माटोको सुगन्ध आओस् भन्ने सोचसहित अनुपले कवि श्रवण मुकारुङलाई फिल्मका लागि गीत लेख्न दिए । श्रवणलाई लेख्न कठिन भएको 'रातैले बुन्छ' बोलको गीत एक वर्षअघि युट्युबमा सार्वजनिक भयो । गायिका झुमा लिम्बुले गाएको 'यारी'ले युद्धको पीडा, त्यो समयमा दर्शकलाई पुर्‍याउँछ ।

गीतमा पुष्पा र संगमको संगीत छ । फिल्ममा समावेश अर्को 'भेट होला लैलै' भने निर्देशक अनुपलाई असाध्यै मनपरेको गीत हो । हुन त अन्य व्यवसायिक फिल्मकर्मी अनावश्यक ठाउँमा गीतहरुको प्रयोग गर्छन् । प्रचारको उद्देश्यले बनेका कति गीत कथामा आवश्यक पनि लाग्दैनन् । आफूले भने कथाको मर्म अनुसारको संगीत फिल्ममा राखेको अनुपको तर्क गर्छन । 'गीतलाई अधिकांश फिल्ममा डेकोरेसनको रुपमा मात्र प्रयोग गरिन्छ । तर, हामीले कथाको माटो र सुगन्ध दिनका श्रवणलाई गीत लेख्न लगाएँ, पुष्पा र संगमलाई संगीत भर्न दिएँ,' उनले भने ।

'दोख' प्रदर्शनको अन्तिम संघारमा छ । हलसम्म फिल्म पुर्‍याउन गर्नुपर्ने संघर्ष अझै निर्माण टिमले गर्नै बाँकी छ । 'दोख'ले कस्तो सो पाउने हो? अनुप अलमलमा छन् ।

'सो कति पाउने हो थाहा छैन । अहिले सिक्वेल फिल्मले सो पाइरहेका छन् । त्यस्तै फिल्म धेरै चलेका पनि छन्,' अनुप सुनाउँछन्, 'अहिले दर्शक मिश्रित छन् । दर्शकले संसारभरका फिल्महरु हेरेका छन् । तर, कति दर्शकको फिल्म चेतना दुअर्थी संवाद, हाँसो मजाक, हिरो हिरोइनको गीतमै अड्किएको छ । त्यो हुनुको पछाडि पनि कारण होला । हामीले जनयुद्ध भोग्यौं, अनि कोरोना देख्यौं । सायद त्यसलाई बिर्सेर दर्शक मनोरञ्जन लिन हल पुग्छन् । त्यस्तो दर्शकलाई आफ्नो फिल्ममा तान्ने त्यो परिपक्वता सायद हामीकहाँ आइसकेको छैन होला ।'

जस्तो फिल्म चल्यो, त्यस्तै फिल्म बनाउनेहरुको होडबाजी छ नेपाली फिल्म क्षेत्रमा । बजारकै पछाडि दौडदा नेपाली फिल्मले अझै आफ्नो भाष्य निर्माण गर्न नसकेको अनुप बताउँछन् । 'जुन विषय चल्यो त्यस्तै फिल्म बनाउनेहरु बढी छन् । बजारमा चलिरहेको जस्तै फिल्म बनाउन थाले फिल्म क्षेत्रको विकास हुन सक्दैन,' अनुप सुनाउँछन्, 'संख्यात्मक रुपले फिल्म बढी भए पनि फिल्मको इतिहास हेर्ने हो भने अझै हाम्रो फिल्म उस्तै देखिन्छ । हामीभन्दा अलि पछाडि फिल्म बनाउनेहरु कति अगाडि पुगिसके । त्यसो हुनुको प्रमुख कारण हामी बजारको पछाडि दौडेर हो । हामीले बनाउने कामहरुको लागि बजार बनाउन सकेनौं । अबको लडाईं फरक धारको फिल्म हेर्ने दर्शकको निर्माण हो ।'

अनुप थप्छन्, 'नेपाली फिल्म संक्रमणकालीन अवस्थामै छ । नेपाली फिल्मको आफ्नो छुट्टै पहिचान बनाउनुपर्छ भन्ने कुरा छ । हामीले जुन कथा भन्छौं त्यसले वास्तवमै हाम्रो समाजलाई पक्रन सकेको छ कि छैन? भन्ने बुझ्नुपर्छ ।'

प्रकाशित : असार १५, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?