फिल्ममा सीमान्तकृतका कथा

रीना मोक्तान

काठमाडौँ — परम्परागत नेपाली फिल्मको विषय हेर्दा मधेस, कर्णाली र सुदूरपश्चिम लगायत सीमान्तकृत समुदाय र क्षेत्र प्राय: छुट्ने गरेका थिए । अमुक गाउँबाट सहरमा आएको युवकको संघर्ष लगभग साझा विषय हुने गर्थ्यो ।

फिल्ममा सीमान्तकृतका कथा

राज्यबाट किनाराकृत मधेससहित कर्णाली र सुदूरपश्चिम पनि नेपाली फिल्मको नजरबाट लामो समय परै छुटे । पछिल्लो समय फिल्ममा निश्चित समुदाय वा क्षेत्र पहिचान हुने गरेका छन् । यससँगै सीमान्तकृतका कथामा फिल्मकर्मी आकर्षित हुन थालेका छन् ।

त्यसको ज्वलन्त उदाहरण हो – 'चिसो मान्छे' । दीपेन्द्र के खनाल निर्देशित फिल्मले खाडीबाट कफिनमा फर्किएको शव बोकेर बाजुरा जाने पात्रहरूको कथा समेटेको छ ।

'चिसो मान्छे'ले पात्र र गन्तव्य सुदूरपश्चिमकै रोज्यो । फिल्ममा सुदूरको कथा भने थिएन । नेपाली फिल्ममा सुदूरपश्चिम छुटेकै कारण आफूले बाजूराका पात्रहरू फिल्ममा समेटेको बताउँछन् निर्देशक खनाल । 'सुदूरपश्चिममा त हल नै छैन । नेपाली फिल्म अब त्यता पनि पुग्नुपर्छ भन्ने उद्देश्य थियो । फिल्ममा काठमाडौंबाट यात्रा गर्ने क्रममा लामो समय अवधि चाहिएको थियो त्यसैले गन्तव्यका रुपमा बाजुरा रोजें । पूर्वको कुनै ठाउँ पनि रोज्न सक्थें । तर पश्चिमको भाषा, संस्कृतिले आकर्षित गर्‍यो,' खनालले भने, 'मधेसमा त हिन्दी, भोजपुरी फिल्मको प्रभाव छ । त्यहाँ नेपाली फिल्मको खासै उपस्थिति छैन । सुदूरपश्चिममा अहिले त फिल्म यूट्युब अथवा डिसहोमबाट हेर्नु हुँदो रहेछ । त्यो माध्यममा भए पनि नेपाली फिल्मको उपस्थिति देखाउन सकियो ।'

निर्देशक खनाल फिल्मको बजारका लागि पनि सुदूरपश्चिममा हल आवश्यक रहेको बताउँछन् । भन्छन्,'सुदूरपश्चिम नेपाली फिल्म क्षेत्रको लागि छुट्टै बजार बन्न सक्छ कि भन्ने ध्येयले पनि हामी त्यहाँ पुगेका हौं ।' बाजुराको भाषालाई फिल्ममा समेट्दा त्यहाँका स्थानीयले फिल्ममा निकै चासो देखाएको दिपेन्द्रको अनुभवले भन्छ । 'बाजुरामा खासै छायांकन गर्ने मानिसहरू पुगेका रहेनछन् । त्यहाँका मानिसहरुले हामीलाई सहयोग गर्नुभयो । उहाँहरु आफ्नो भाषा संस्कृतिलाई लिएर एकदमै गर्व गर्नुहुँदो रेहछ,' प्रदर्शनरत चिसो मान्छेको छायांकन सम्झँदै दीपेन्द्रले भने, 'एउटा पिंढीमा यो भाषा संस्कृति हराउला कि भन्ने चिन्ता देखें । फिल्ममा उहाँहरुको भाषा क्यारिकेचर गरेजस्तै नभइदिओस् भन्ने उहाँहरुको सोच । हाम्रो भाषा फिल्ममा दस्तावेजका रुपमा रहन्छ भन्ने खुसी स्थानीयमा देखिन्थ्यो ।' फिल्म प्रदर्शनसँगै बाजुराका स्थानीयले राम्रो प्रतिक्रिया दिएको दीपेन्द्र सुनाउँछन् ।

निर्देशक दिनेश राउतले भने निम्नमध्यम वर्गीय पात्रको कथा भन्नका लागि कर्णालीसम्म पुगेको बताउँछन् । यस क्रममा त्यहाँको जीवनशैली आउनेमा उनी विश्वस्त छन् ।

भदौ १० लाई प्रदर्शन मिति तोकेको 'प्रकाश' वर्ग विभेदको कथा हो । निम्न वर्गीय परिवारमा हुर्किएका एक पात्रले सरकारी शिक्षक बन्नका लागि गर्नुपर्ने संघर्ष फिल्ममा समेटिएको छ । काठमाडौंको नजरले कर्णालीकै कथा देखिए पनि फिल्ममा फरक विषयवस्तु उठाइएको बताउँछन् निर्देशक राउत ।

मीन भाम निर्देशित फिल्म 'कालो पोथी' कर्णालीमै खिचिएको थियो । त्यसअघि फिल्मकर्मीहरुले खासै त्यहाँको कथा उठाएका थिएनन् । निर्देशक राउत नेपाली फिल्मको आफ्नो पहिचान बनिसकेको छैन भन्ने अनुभवले नै आफूले कर्णालीको कथामा 'प्रकाश' बनाएको बताउँछन् । 'यो भन्दा अगाडि नेपाली फिल्मकर्मीले आफ्नो कथा भनेकै छैन नि त । हामी त कहीँ न कहीँ बलिउडबाट प्रभावित थियौं । नेपाली फिल्मको आफ्नो पहिचान बनिसकेको छैन है भन्ने लागिसकेपछि हामीले यस्तो कथा भन्न सुरु गरेका हौं,'राउतले भने,'फिल्मप्रतिको बुझाइमा आएको परिवर्तनले पनि यो कथासम्म मलाइ डोर्‍यायो होला । नेपाली फिल्मको खास परिचय के हो भन्ने अझै स्थापित भएको छैन । त्यसको अर्थ गाउँकै कथा उठाउँदा हाम्रो आफ्नो कथा हुन्छ भन्ने छैन ।'

कर्णालीमा फिल्मको छायांकन गर्न सजिलो छैन । आउजाउमा राउतको टिमले समस्या भोग्यो । तर, स्थानीयहरुको साथ र सहयोगमा उनीहरुले फिल्मको छायांकन सके ।

लक्ष्मण सुनार निर्देशित 'बुलाकी' कर्णालीकै कथामा केन्द्रित फिल्म हो । जाजरकोटमा खिचिएको फिल्म जारी प्रथामा बनेको छ । यसअघि सुनारले 'रेलको बाटो' बोलको म्युजिक भिडियो खिचेका थिए । त्यतिबेलै उनलाई कर्णालीको कथामा फिल्म बनाउने मन थियो । एक दिन निर्माता टोपेन्द्र विष्टको टिमले यो प्रथामाथि फिल्म बनाउने प्रस्ताव बोकेर आफ्नो अगाडि आएपछि उनले 'बुलाकी'को निर्देशन गरेका हुन् ।

कर्णालीको राजधानी 'सुर्खेत'मा जन्मिएका सुनारले कर्णालीले कथा उठाउँदा आफ्नो पहिचान पनि जोगिने हुँदा फिल्म निर्देशन गरेको बताउँछन् । 'नेपाली फिल्म क्षेत्रमा पहिला खासै पश्चिमको कथा आउँथेन । तर, अहिले आउन थालेको छ । हामीले जारी प्रथा कु-प्रथा हो भनेर देखाएको छैनौं,'सुनारले भने,'जारी प्रथा अहिले पनि फरक स्वरुपमा प्रचलनमा त छ नि त ।'

कर्णालीसम्म पुग्न यातायात व्यवस्थाको अभाव छ । तर पनि फिल्मकर्मीहरू त्यहाँ पुगेर आफ्नो ठाउँको कथा सुनाइदिँदा खुसी छन् सुनार । 'पहिलादेखि नै म कर्णालीको कथामा फिल्म बनाउन चाहन्थें । यसबीच गीत पनि बनाएँ । म कर्णालीकै । व्यवसायी फिल्मकर्मीहरुले हाम्रो ठाउँको कुराहरु उठाइदिँदा खुसी लाग्छ नै,'उनले भने,'फिल्मकर्मीहरुले पहिल्यैदेखि आफ्नो ठाउँको कथा उठाउनु पर्थ्यो । कर्णालीमा धेरै कथा छन् । यहाँका कथामा फिल्म बन्दा त गर्व लाग्छ ।'अहिले पोस्ट प्रोडक्सनमा रहेको 'बाटुली' कात्तिक १८ मा प्रदर्शन गर्ने तयारी छ ।

यस्तै मनोज पण्डित निर्देशित 'एक' मधेस केन्द्रित थियो । जसले मधेसको पछिल्लो राजनीतिक संघर्षलाई देखाएको छ । भौगोलिक मात्रै नभएर सांस्कृतिक रुपमा पनि मधेसलाई राजधानीदेखि टाढा राख्ने गरिएको ठान्छन् निर्देशक पण्डित । त्यही दुर्गम मधेसको कथा यसअघिका फिल्ममा नसमेटिएपछि पण्डितले त्यही छुटेको कथालाई 'एक' मा ल्याएका हुन् ।

त्यसो त बजार केन्द्रित फिल्ममा रमाइरहेका निर्देशक रामबाबु गुरुङ पनि पछिल्लो समय मधेसका कथाबाट आकर्षित भएका छन् । गुरुङ पनि श्याम साहको कथा 'लाटीको छोरो'लाई स्कृप्टमा रुपान्तरण गरी फिल्म छायांकनको तयारीमा छन् ।

प्रकाशित : असार १४, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?