फेरिए लाउरे- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरिए लाउरे

र्‍यापर बने दुर्व्यसनविरूद्ध अभियानकर्मी
दीपक परियार

पोखरा — ‘मेरो गोलीजस्तो बोली रटटटटटट...,’ आठ वर्षअघि रअ बार्जमा युनिक पोइटसँगको र्‍याप ब्याटलमा ‘लाउरे’ को लाइन चर्चित बन्यो । त्यसपछि पोखराका आशिष रानाले पछाडि फर्किएर हेर्नुपरेन । ‘मेरो सोल्टा’ होस् वा ‘केस नम्बर ४२०’, ‘हाउडे’, ‘तीतो सत्य’, ‘चुप लाग’, ‘साथी हो’ जस्ता चर्चित र्‍याप उनले ल्याए । सिनेमा खेल्ने मौका पाए । रियालिटी सोको निर्णायक बने ।

गत वर्षको पुस १४ मा उनी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि भने उनको ‘करिअर’ मा धक्का लाग्यो । पोखराको न्युरोडबाट अरू तीन साथीसहित उनी समातिएका थिए । लागूऔषध दुर्व्यसनको अभियोगमा उनी ५६ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसे । फागुन ११ मा तारेखमा छुटे । उनै लाउरे अहिले लागूऔषधविरुद्धको अभियन्ता छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ‘लागूऔषधविरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम’ मा उनलाई दूतका रूपमा प्रस्तुत गरेको छ । असार ६ देखि १२ सम्म सञ्चालन हुने अभियानमा उनी सहभागी हुनेछन् । असार ६ मा पोखरा सभागृह हलमा लागूऔषधसम्बन्धी सचेतना कार्यक्रममा उनले प्रस्तुति दिनेछन् । आफ्नो अनुभवसमेत सुनाउनेछन् ।

स्नातक तह पढ्दै गर्दा लागूऔषधको स्वाद लिने जिज्ञासा भयो । जिज्ञासु स्वभावले गलत बाटो लियो । झन्डै १० वर्षको बीचमा उनले लागूऔषध छोड्न चाहे तर सकेनन् । ‘मैले हरेकपल्ट ड्रग युज गर्दा अब छोड्छु भन्ने लाग्थ्यो,’ शुक्रबार पोखरामा उनले भने, ‘तर ड्रग खान उक्साउने संगतमा हुँदा छोड्न सकिँदैन रहेछ । खराब संगत छोड्नुपर्छ ।’

उनी गीत लेख्न जाग्राम बस्थे । दुर्व्यसनले सिर्जनशील बनिने भ्रम थियो । प्रहरीले पक्रिएर हिरासतमा राखेको सुरुआती दिन उनलाई निकै गाह्रो भयो । अन्य थुनुवा देखे । ‘ठूलो–ठूलो अपराधमा आएका छन् । ५–१० वर्ष कारागारमा जानेवालामा छन् । तर उनीहरू निष्फिक्री छन्,’ उनले सुनाए, ‘मेरो केस सानो हो भन्ने लाग्यो । त्यसले पनि मलाई कुलतबाट बाहिर निस्कन मद्दत गर्‍यो ।’ भित्रै उनले दुर्व्यसनबाट उम्केर गर्ने कामको सूची बनाए । तीमध्ये ८० प्रतिशत योजना पूरा गरिसकेको उनले बताए ।

प्रहरीले गरेको व्यवहारले उनलाई सकारात्मक बनायो । ‘योभन्दा अगाडि हिरासतमा परेको थिइनँ । प्रहरीले नराम्रो व्यवहार गर्छ भन्ने छाप थियो, गलत रहेछ भन्ने बुझें,’ उनले भने । उनी कुलतबाट बाहिर निस्किएको ६ महिना भयो । उनी अब युवालाई त्यो बाटो नजान सल्लाह दिने अभियानमा छन् ।

प्रकाशित : असार ४, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

एन्फा निर्वाचन : सहकार्यपछि प्रतिस्पर्धी

नेपाली फुटबलमा शक्तिशालीलाई साथ दिँदा होस् वा त्यसविरुद्ध अभियान चलाउँदाको समय, दुई दशकयता एकसाथ र एक रथमा थिए कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ । एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङवीच तीन वर्षयता सम्बन्ध चिसिएको छ । उनीहरू एन्फाको नेतृत्व गर्ने होडमा एकअर्काविरुद्ध उभिएका छन्, जसका लागि चुनाव सोमबार हुँदै छ ।
राजु घिसिङ

काठमाडौँ — पछिल्लो दशक नेपाली फुटबल खुबै बदनाम भयो । विशेष गरी सन् २००९ देखि २०१५ सम्म । नेपाली राष्ट्रिय टिम नै ‘म्याच फिक्सिङ’ काण्डमा मुछियो । स्वयं फिक्सरले नेपालको म्याच फिक्सिङ गरेको किताबमा लेखिदिए । कतारी मोहम्मद बिन हमामसँगै गणेश थापा विश्व फुटबलको राजनीतिबाट लखेटिए । थापामाथि भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध नै लाग्यो । त्यसपछि घरेलु फुटबलको राजनीति उत्कर्षमा पुग्यो । २२ वर्ष लामो थापा युगमा पूर्णविराम लाग्यो । त्यसको चार वर्ष भइसक्यो तर अखिल नेपाल फुटबल संघ (एन्फा) मा लुछाचुँडीको लडाइँ/प्रतिस्पर्धा कायमै छ । रोकिने कुनै संकेत छैन ।

एन्फा कार्यसमितिको निर्वाचन यही असार ६ गते सोमबार हुँदै छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आ–आफ्नो प्यानलसहित अन्तिम तयारीमा छन् । फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले आफ्नो उम्मेदवारी एन्फामा सुशासन र सिस्टम बसाल्नका लागि खबरदारीको रूपमा रहेको बताएका छन् । उनीसँग न कुनै मतदाता खुलेका छन् न त समर्थक प्रचारमा जुटेका छन् । त्यसैले एन्फाको निर्वाचन सीधा अर्थमै शेर्पाविरुद्ध नेम्बाङको प्रतिस्पर्धा बनेको छ । त्यो पनि पूरापुर टिम बनाएर ।

एन्फामा तत्कालीन अध्यक्ष थापालाई सरकारको साथ लिएर गीता राणाले चुनौती दिएको दुई दशक भयो । त्यो नेतृत्वको लडाइँ चर्को थियो । त्यसको मूल्य नेपाली फुटबल र राणा आफैंले पनि चुकाउनुपर्‍यो । त्यो बेला राणालाई बर्खास्त गर्दै त्यो समूहको कार्यबाहक अध्यक्ष बनेका शेर्पा थापा नेतृत्वको एन्फामा उपाध्यक्ष बन्न पुगेका थिए । त्यसपछि थापालाई साथ दिइरहेका शेर्पाले २०७० सालपछि थापाविरोधी आन्दोलनको नेतृत्व गरेका थिए । जहाँ नेम्बाङले शेर्पालाई सुरुबाटै साथ दिएका थिए । वास्तवमा उनी त्यो शुद्धीकरणको अभियानमा शेर्पापछि सबैभन्दा सक्रिय थिए । उनी पनि केन्द्रीय सदस्यका रूपमा एन्फा प्रवेश गरेको दुई दशक भइसकेको छ ।

२०७५ वैशाख २२ मा एकलौटी रूपमै शेर्पाको समूहले एन्फाको चुनाव जित्यो । शेर्पा अध्यक्ष भए । सर्वाधिक मतसहित उपाध्यक्ष चुनिएका नेम्बाङलाई एक वर्षप्छि वरिष्ठ उपाध्यक्ष बनाइयो । त्यो एक वर्षभित्र शेर्पाले चार उपाध्यक्षलाई पालैपालो र आफूअनुकूल कार्यबाहक अध्यक्ष (शेर्पा विदेश गएको समयमा) दिएका थिए । त्यहींबाट नेम्बाङ र शेर्पावीच मनमुटाव सुरु भएको थियो । वरिष्ठ उपाध्यक्ष भएपछि नेम्बाङले शुद्धीकरण अभियानताका उठाएका सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणको मुद्दालाई कार्यसमिति बैठकमा खरो रूपमा उठाउन थाले । स्वर ठूलो बनाउँदै लगे । बेथितिविरुद्धको आवाज चर्काउँदै गए । बैठकको माहोल शान्त होइन, चर्को बन्न थाल्यो । दुई दिनसम्म पनि बैठक चल्न थाल्यो ।

शेर्पाले अध्यक्षको हैसियतमा एन्फामा धमाधम काम गरिरहे । बेफुर्सदी नै भए । दिनरात फुटबलकै लागि दौडिए । खाली मैदानमा पोल (गोलपोस्टका लागि) गाड्न उपत्यकाको बाक्लो बस्तीमात्रै होइन, देश दौडाहामै निस्किए । वार्षिक ८० करोड रुपैयाँमाथिको बजेट ल्याए । सहिद स्मारक ‘ए’ डिभिजन लिग ५ वर्षपछि ब्युँताए । गोल्डकपको चाङ थियो नै । काठमाडौं उपत्यका र मोफसलका उत्कृष्ट क्लबहरूलाई समेट्दै देशकै सबैभन्दा माथिल्लो श्रेणीको प्रतियोगिताको रूपमा राष्ट्रिय लिग पनि घोषणा गरे । वनकै जग्गामा भए पनि रौतहटमा महिला फुटबल एकेडेमीका लागि भवन पनि तयार भयो । रामसार मिडियासँग ४ करोड ५० लाखको मार्केटिङ र प्रमोशनको सम्झौता गर्‍यो । कतार एयरवेजसँग ‘ए’ डिभिजन लिगका लागि वार्षिक १ लाख ५० हजार डलर पनि लियो । यस्ता थुप्रै सम्झौता भयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मुख्यालयदेखि होस्टेलसम्मै मर्मतसम्भार गरियो । राष्ट्रिय खेलकुद परिषदले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दशरथ रंगशाला पुननिर्माण गर्‍यो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा रंगशालामा फर्कियो । सागमा यू–२३ टिमले स्वर्णपदक दोहोर्‍यायो । पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनल माल्दिभ्समा खेल्यो । विश्वकप २०२२ को आयोजक कतार हो र यसको फुटबल संघबाट अनुदानमा आएका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा नेपालले माल्दिभ्समा सफलता हात पारेको थियो ।

महिला टिमले ओलम्पिक छनोटसम्मै ‘एक्सपोजर’ पायो । महिला राष्ट्रिय टिमले १३ औं साग र साफबाहेक नाडेज्दा कप र हिरो कपमा पनि फाइनल खेल्यो । तर, यी मैदानका नतिजाभन्दा नेतृत्वको खुबी फुटबलको विकास र सुशासन स्थापनाको नजरबाट मात्रै चियाउन मिल्छ, हेर्न सकिन्छ, जसमा तीन वर्षयता प्रश्न उठिरह्यो ।

प्रतियोगिताको उद्घाटन र समापनमा मुख्य अथितिको रूपमा मात्रै होइन, मैदानबाहिर पनि अध्यक्ष शेर्पाको व्यस्तता निकै बढ्यो । ठीक यही समयमा नेम्बाङले कार्यसमितिमा आफ्नो समूह बनाउँदै गए । सुरुबाटै उनलाई साथ दिएका प्लानिङ ब्वाइज युनाइटेडका दावा लामा (केन्द्रीय सदस्य) उनका मुख्य शक्तिको रूपमा स्थापित भए । शेर्पा भने थापाविरुद्धको अभियानको टिमबाट अगलग्गिँदै गए । त्यो बेला पनि साथ दिएका रूपन्देहीका दीर्घबहादुर केसी (कुमार) शेर्पाको मुख्य खम्बाको रूपमा अगाडि बढे । दुवै समूहमा विस्तारै अरू पदाधिकारी थपिँदै गए । त्यसैले यो निर्वाचन घोषणा हुँदासम्म नेपाली फुटबल स्पष्ट रूपमै दुई कित्तामा विभाजित भयो– नेम्बाङ र शेर्पा समूहको रूपमा ।

प्रशिक्षक अलमुताइरी बारम्बार विवादमा मुछिए । उनी कहिले नेम्बाङमाथि खनिए । कहिले नेपाल छाड्ने/नफर्किने भन्दै सामाजिक सन्जाल तताए । पछिल्लोपल्ट सिनियर ११ जना खेलाडीलाई एसियन कप छनोटको टिमबाटै निकालेर तहल्का मच्चाए । कार्यसमितिमा प्रश्न तेर्सिंदै जाँदा उनलाई अध्यक्ष शेर्पाले विश्वास गरिरहे । यसले पनि नेम्बाङ र शेर्पावीच दूरी बढाउन भूमिका खेल्यो । गणेश थापा पछिल्लोपल्ट शेर्पाविरुद्ध खुबै लागेका छन् । उनले चुनावमा शेर्पाविरुद्ध चलखेल गरिरहेका छन् । तर, उनी गृह जिल्ला मकवानपुरको चुनावमा शेर्पाका खास मान्छेविरुद्ध आफ्नो पक्षलाई चुनौती दिनसक्ने स्थितिमा पनि उभ्याउन सकेनन् । चुनाव नजिकिँदै जाँदा शेर्पा भने आफ्नै समूहमा पनि घेरिँदै गएका छन् । शुक्रबारमात्रै नेपालमा अवैध रहेको सट्टबाजी (बेटिङ) को लागि तथ्यांक उपलध्य गराउन स्विट्जरल्यान्डको एक कम्पनीसँग सम्झौता गरेको रहस्य बाहिर आएको छ ।

देशमा हुने खानेले नै फुटबलमा पहुँच राख्छन् । तर, चुनाव आयो कि उनीहरू नयाँ–नयाँ ट्र्याकसुट, टिसर्ट, जुत्ता उपहार ग्रहण गर्न दरबारमार्गमा छानिरहेका/डुलिरहेका भेटिन्छन् । खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षण सिविरमा राखेजस्तै नेम्बाङ र शेर्पाले समूहले या चुनावी माहोलमा मैदानबाहिरका खेलाडीहरूका लागि महिनौंदेखि ‘क्याम्प’ नै खडा गरेका छन् । त्यसैले उपत्यकामा एन्फाको चुनाव उत्कृर्षमा पुगेको छ । यी दुवै समूहमा नहिँडेका वा कुनै मोहजाल वा प्रलोभनमा पर्नसक्ने ८–१० भोट छन् । यसपालिका ८४ भोटमध्ये त्यही ‘मध्यमार्गी’ मत आउने चार वर्षका लागि नेपाली फुटबलमा भाग्यविधाता बन्नेछ । यसैका लागि पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङका छोरा पंकज (झापा) र उमेश शेर्पाका सन्तान कर्मा (सिन्धुपाल्चोक) बीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

प्रकाशित : असार ४, २०७९ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×