१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ब्युँतियो ‘र्‍याप ब्याटल’

काठमाडौँ — कोरोना महामारीपछि ‘रअ बार्ज’ को र्‍याप ब्याटल समूह पुनः सक्रिय भएको छ । झन्डै एक दशकदेखि युवा पुस्ताबीच लोकप्रिय ‘रअ बार्ज’ लाई प्रवेश रायमाझी नेतृत्वको टिमले ब्युँताउने जमर्को गरेको हो ।

ब्युँतियो ‘र्‍याप ब्याटल’

९० को दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तर्गतको रचनात्मक र रोमाञ्चक विधा ‘र्‍याप ब्याटल’ लाई नयाँ पुस्ताले निकै रुचाएका छन् ।

‘रअ बार्ज’ लाई कोलिन राणालगायतको समूहले झन्डै एक दशकअघि स्थापित गरेका थिए । महामारीअघि यो समूहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा र्‍याप ब्याटलका इभेन्टहरू गर्दै आएको थियो । हाल रायमाझीले नेतृत्व लिएपछि ‘रअ बार्ज’ समूहले र्‍याप ब्याटललाई अगाडि बढाउन देशका मुख्य सहरहरूमा अडिसन लिइसकेको छ । र्‍याप ब्याटलले पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु गरेको थियो । रअ बार्जले ब्याटलका लागि डिजिटल अडिसन आवेदन आह्वानको छोटो समयमा नै ३ हजारभन्दा बढीको युवाहरूको सहभागिता रहेको संस्थापक राणाले बताए । उनका अनुसार समूहले छिट्टै नै ब्याटलका अडिसन र एलिमिनेसन राउन्ड सकेर लाइभ राउन्डका लागि टप ४० प्रतिस्पर्धी छान्दै छ ।

संगीत उद्यमी रायमाझीका अनुसार नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्युजिकमा खेलिने दोहोरीलाई र्‍याप ब्याटल भन्छन् । ‘यो पनि निकै लोकदोहोरी रचनात्मक हुन्छ,’ उनले थपे, ‘दुई व्यक्तिबीच हिपअप म्युजिकको विधामार्फत र्‍याप ब्याटल हुन्छ । सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृतिलगायतमा एकअर्काले गतिलो प्रहार गरी र्‍याप गराइन्छ ।’ यसको उद्देश्य नेपाली म्युजिक र हिपअपलाई फ्युजन गरेर लैजानु भएको रायमाझीले बताए । उनले भने, ‘नेपाली म्युजिकलाई विभिन्न देशसम्मै पुर्‍याउने हो ।’ र्‍याप ब्याटललाई शो मात्र सीमित नगरी यसको माध्यमबाट युवा पुस्तालाई ज्ञान बाँड्नपर्ने उनको धारणा छ । एउटा र्‍यापरले र्‍याप गाएरै जीवन निर्वाह गर्न सक्ने अवस्था बनाउनु नै ‘रअ बार्ज’ को ध्येय रहेको उनले सुनाए ।

प्रकाशित : असार १, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?