२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुरक्षाको कान्स अनुभव: रेड कार्पेटमा हिँड्दा शून्य भएँ [भिडियो]

रीना मोक्तान

काठमाडौँ — जीवनकै पहिलो विदेश यात्रा 'कान्स'। सायदै सुरक्षा पन्तले 'द एट माउन्टेन्स'मा अभिनय गर्दा कल्पना गरेकी थिइन् । विश्व प्रसिद्ध फिल्म फेस्टिभलमा आफूले अभिनय गरेको फिल्म छनोटमा परेको खुसी बाँड्दै 'द एट माउन्टेन्स'का मेकरले एक दिन सुरक्षालाई कान्सको निम्तो दियो ।

सुरक्षाको कान्स अनुभव: रेड कार्पेटमा हिँड्दा शून्य भएँ [भिडियो]

'के छ तिम्रो समय । कान्स आउँछौ ? भनेर सोध्नुभयो । किन नजानु मैले आउँछु भनेँ,' कान्सको खबर आउँदाको क्षण सम्झन्छिन् सुरक्षा । कान्स सुरु हुनुभन्दा १३ दिनअघि आधिकारिक निमन्त्रणा पत्र हातमा पर्‍यो । त्यसपछि सुरक्षाले सुरु गरिन् भिसा अप्लाइको दु:खदायी संघर्ष । भिसा आउने टुङ्गो थिएन । भिसा पाउन १५ दिन अगाडि अप्लाइ गर्नुपर्ने रहेछ । तर पनि सुरक्षाले झिनो आसा बोकी अप्लाइ गरेको भिसा आयो ।

'कान्सको समयमा त्यहाँको होटल, खानेकुराको मूल्य अत्यन्तै बढ्दो रहेछ । फिल्मको प्रोडक्सन टिमले सबै खर्च व्यहोरिदिन्थ्यो होला। उनीहरुले सबै खर्च आफूहरुले बेहोर्न नसक्ने बताएपछि मैले ‍प्लेनको टिकट काटें । उहाँहरुले २ दिनको एकोमोडेसन हेरिदिनु भएको थियो,' सुरक्षा सम्झिन्छिन् । नेपालबाट एक्लै कान्स हिँडेकी सुरक्षा तीन ट्रान्जिटसहितको यात्राले एउटी महिला कति सबल हुनुपर्छ भन्ने सिकाएको बताउँछिन् । 'एक्लै विदेश यात्रामा हिँडेकी छु । विभिन्न ट्रान्जिटहरुमा एक्लै बस्नुपर्ने । एक महिला कतिसम्म सबल हुनुपर्छ भन्ने पनि महसुस भयो। म पढेलेखेकी छु । केही आइपर्‍यो भने त्यसलाई सामना गर्न सक्छु भन्ने अनुभव गरायो । कति कुराहरुको सामना गर्न सकिँदो रहेछ एक्लै यात्रामा हिँडियो भने,' उनले भनिन् ।

२४ घण्टाको यात्रापछि सुरक्षा कान्स पुगिन् । कान्स पुग्दाको उत्साह मनमा थियो । एयरपोर्टबाट देखेको कान्सको दृश्य झनै मनमोह । 'एकदमै सुन्दर सहर । जहाँ प्रकृति र मानव संरचना मिलेर बसेको थियो । डाँडाहरु हाम्रोजस्तै थियो । कति व्यवस्थित रुपले बनाइएका घरहरु । एकदमै फेसनेबल सिटी । बच्चादेखि वृद्धासम्मले फेसन गर्ने, 'कान्स पुग्दाको क्षण सम्झिन्, 'इलेक्ट्रिकल गाडीमा एयरपोर्टमै लिन आउनु भएको थियो । सबै कुरा सेड्युलमा चल्यो ।'

कान्सको रेड कार्पेट

उनी पुगेको भोलिपल्ट रेड कार्पेटमा हिँड्नु थियो । नेपालबाट एक कलाकार यसरी बोलाउने बित्तिकै कान्समा पुग्ने हिम्मत गर्ला भन्ने 'द एट माउन्टेन्स'का मेकरले खासै अपेक्षा गरेका थिएनन् । कान्सको रेड कार्पेट, सुरक्षाले धेरै पटक टेलिभिजनमा हेरेकी थिइन्। पत्रिकामा पढेकी थिइन् । सधैँ त्यहाँको संसार कस्तो होला भन्ने हुन्थ्यो । आफैं त्यहा पुग्दा त्यो समय उनलाई जादुमयी लाग्यो । अधिकांश कलाकारले टेक्न चाहने कान्सको त्यो रेड कार्पेट । त्यही कार्पेटमा हिँड्दै गर्दा एक पटक त सुरक्षा शून्य बनिन् । 'रेड कार्पेट हिँड्दै गर्दा म शून्य भएँ । सबैभन्दा खट्केको कुरा त मेरो फोटो खिचिदिने कोही फोटोग्राफर भइदिएको भए ! त्यो माहोलमा हेर्न मात्र पाउँ, फोटोतिर ध्यान पुर्‍याउन नपरोस् भन्ने लागिरहेको थियो । त्यहाँ कसैलाई फोन दिने अवस्था थिएन । ५-१० मिनेटको समय थियो रेर्ड कार्पेटमा हिँड्ने । २/३ मिनेट पोज दिन लगाइयो, टिमसँगै सिँढी चढ्दै पोज दियौं,' उनी सुनाउँछिन्, 'सबैका लागि त्यो नयाँ थिएन होला। तर मेरो लागि बिल्कुलै नयाँ । कास ! यहाँको माहोल सबैलाई देखाउन पाएको भए भन्ने लागिरह्यो । त्यसैले रेड कार्पेटमा हिँड्नु भन्दा अगाडि सेल्फी भिडियो खिचें । हिँड्दै गर्दा मैले मेरो राष्ट्र, फिल्म क्षेत्रलाई प्रतिनिधित्व गर्दैछु भन्ने भइरहेको थियो ।'

कसरी तयार पारियो रातो पहिरन ?

रेड कार्पेटमा हिँड्दै गर्दा आफू मात्रै धप्पक्क बलेको सुरक्षाले अनुभव गरिन् । टिमका सबै कलाकार कालो पहिरनमा उनी रातोमा । रातो कपडाले धेरैको नजर तान्न मद्दत गर्ने भएकाले सुरक्षा कान्समा पहिरनको महत्त्व अझै बुझेको बताउँछिन् । कान्सका लागि हिँड्नु २ दिनअघि तेन्जिङ छेतेन भुटियाले उक्त पहिरन तयार गरिदिएका थिए । 'ब्यूटी एण्ड फेसन भन्ने म्यागजिनमा उक्त पहिरन '१५ सुन्दर पहिरन' भन्दै समेटियो । 'मैले पहिरन बनाइदिन अनुरोध गर्दा सुरुमा उहाँले कस्तो देखिन मन छ भनेर सोध्नुभयो । सानो देशको एक अभिनेत्री जसको फिल्ममा सानै भूमिका छ । भीडमा नहराओस् भनेर मैले रातो रङ रोजेँ । रातो रङ मलाई मनपर्छ पनि,' उनी सुनाउँछिन्, 'मैले सुरुमा सारी बनाउने कि भनेर सोधेँ । तर उहाँले कान्सको महत्त्व बुझेर रातारात सुन्दर पहिरन तयार पारिदिनुभयो । त्यो कपडाले पहिलो इप्रेसन बनाउन एकदम मद्दत गरेको छ ।'

उक्त पहिरनमा ७ वटा मुजा बनाइएको छ । सुरक्षाका अनुसार उक्त मुजाले सात प्रदेशको अर्थ दिने अनि रातो रङले राष्ट्रिय फूल लालीगुराँसको प्रतिनिधित्व गर्छ । 'भिसा आए पनि नआए पनि यो ड्रेस कान्सको लागि बनाइएको थियो' भन्ने प्रमाणका लागि तेन्जिङले उक्त पहिरनमा सुरक्षाको तस्बिर खिचेर राखे । त्यही परिहनमा सुरक्षाले अन्तर्राष्ट्रिय कलाकारसँगै रेड कार्पेटमा हिँड्दै गर्दा तेन्जिङको कला पनि पोखियो । रेड कार्पेटपछि टिमसँगै सुरक्षा हल प्रवेश गरिन् । ठूलो संख्याको दर्शकले उनीहरुलाई 'स्ट्याण्डिङ अभिएसन'सहित स्वागत गरे । सुरक्षाले त्यहाँ फिल्म हेरिन् ।

फिल्ममा भूमिका

गत लकडाउनको समयमा कास्टिङ निर्देशक शान्ती गिरीमार्फत उनी 'द एट माउन्टेन्स'मा संलग्न हुन पाएकी हुन् । झन्डै एक वर्षअघि उनी चितवनमा 'ग्रिन बर्ड' भन्ने फिल्मको छायांकनमा रहँदा शान्तीले उनलाई फिल्मको लागि सिफारिस गरिदिएकी रहिछन् । उनी यता फिल्मको सुटिङ सँगसँगै जुम मिटिङमार्फत अडिसन गर्थिन् । ७/८ वटा जुम मिटिङपछि उनी फिल्मको लागि फाइनल भएकी थिइन् । फिल्मको छायांकन २० प्रतिशत मात्रै नेपालमा गरिएको हो । मनाङका सुन्दर दृश्यमा खिचिएको फिल्मले नेपालमा यात्रा गर्दै आएको बेलामा प्रमुख अभिनेताले एक महिलासँग भेट्छन् । ‍एक्लै यात्रामा हिँडेकी ती महिलासँग प्रमुख अभिनेताको सम्बन्ध जोडिन्छ । त्यही महिला पात्रको भूमिकामा सुरक्षा फिल्ममा देखिएकी छन् ।

फिल्ममा सुरक्षाले अभिनय गरेको दृश्य धेरै छैन । तर नेपाल प्रतिनिधित्व गर्ने फिल्ममा नेपाली महिलाको चरित्रमा निभाउन पाउँदा उनी उत्साही थिइन् । अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालका दृश्य अनि आफ्नो अभिनय देख्न पाउँदा उनी गर्वले गमक्क भइन् । 'आफ्नो देश, आफ्ना मानिसहरु । म आफैं पर्दामा थिएँ । त्यो सबैलाई दर्शकले हेर्दै हुनुहुन्छ भन्दा एकदमै खुसी लाग्यो । फिल्ममा मनाङ, बसपार्क, हिमाल अनि यहीँका स्थानीय मानिसहरु बोलेको देखाइएको छ,' उनले भनिन्, 'आफ्नो मानिसहरुलाई त्यही पर्दामा अरु दर्शकसँग बसेर हेर्दा राम्रो लाग्यो ।'

फिल्म हेरिसकेपछि धेरैले उनलाई 'तपाईं फन्नी' हुनुहुँदो रहेछ भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनी त्यस्तै रमाइलो चरित्रमा देखिएकी छन् । फिल्म हेरिसकेपछि प्रतिक्रियामा धेरैले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरे । फिल्म प्रदर्शनपछि निर्देशकदेखि कलाकार सबै भावुक बने । सबैका आँखा रसाए । सुरक्षा मात्रै रोइरहेकी थिइनन् । उक्त क्षण सम्झँदा अहिले पनि सुरक्षाको हाँसो रोकिएन । कोही कलाकार कान्समा पुग्दैमा नेपालको प्रतिनिधित्व हुन्छ भन्ने सुरक्षालाई लाग्दैन । त्यसैले उनले त्यो भीडमा नेपाललाई प्रस्तुत गर्ने हर कोसिस गरेको उनी सनाउँछिन् । भोलिपल्ट फिल्मको प्रेसमिट राखिएको थियो । त्यहाँ उनले 'स्क्विड गेम'का प्रमुख अभिनेतासँग फोटो खिच्न भ्याइन् । 'मेरो अगाडि चिनेको जस्तो कलाकार देखें । चिनिसकेपछि त शून्य भएँ । फोटो खिचौं कि हेरिरहौं भन्ने द्विविधा भयो। यस्तो मौका फेरि नपाइएला भनेर सँगै फोटो खिचिहालें,'सुरक्षा सुनाउँछिन् ।

रेड कार्पेटमा हिँड्दै गर्दा सुरक्षाको घुँडा सुनिएछ । बिरानो देशमा घुँडाको समस्याले २ दिन आराम गर्नुपर्दा उनले आफ्नाहरुलाई खुबै सम्झिन् । अविनाशको टिमले उनलाई सहयोग गर्‍यो ।'सायद शक्ति कम भएर हो कि ! एकदम भात मिस भइरहेको थियो । पिज्जा अनि ब्रेडले शरीरमा शक्ति दिएजस्तो नलाग्ने । हिल्समा हिँड्नु परेको छ । खुट्टामा सानो हड्डी लक भएछ । नेपालमा जस्तो समूहमा कोही नबस्ने । म कति ठाउँमा एक्लै पर्थें । २ दिन आराम गर्नुपर्‍यो, 'उनले सुनाइन्, 'त्यहाँको अस्पतालको प्रक्रिया कति फरक हुँदो रहेछ । कहिले नेपाल पुगौं र एयरपोर्टमा ढल्दिन्छु अनि मलाइ उठाएर कसैले अस्पताल लानुहुन्छ होला भन्ने भएको थियो । त्यतिबेला देश पनि मिस भयो ।' खुट्टाको त्यही समस्याले फर्कँदा सुरक्षाको प्लेन नै छुटेछ ।

कान्समा नेपाली फिल्म

यो वर्ष सुरक्षाले रेड कार्पेट नाप्दै गर्दा निर्देशक/लेखक अविनाश विक्रम शाहको 'लोरी' अफिसियल छनोटमा परेर स्पेशल मेन्सन जित्नु ७५ औं कान्समा नेपालको उपस्थिति मात्रै नभएर यो उपलब्धिले इतिहास रच्यो । नेपालले अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफ्नो उपस्थिति जनाउन सुरु गरेको सुरुक्षाको अनुभवले भन्छ । 'यो मेरो मात्रै होइन, नेपालकै लागि पहिलो पटक थियो । अविनाश विक्रम शाह निर्देशित फिल्म पहिलो पटक अफिसियल छनोटमा परेको थियो । अहिलेसम्म नेपालले त्यो संसार देखेको छैन । यो देख्न अझै बाँकी छ र देख्न सक्दो रहेछ भन्ने अनुभव भयो,'उनले भनिन्,'अविनाशको टिमलाई त्यहाँ भेट्दा कोही आत्मिय भेटेजस्तो भयो । नेपाली बोल्न तलतल भयो ।'

हाम्रो फिल्म 'कान्स'जस्तो फेस्टिभलमा कसरी पुर्‍याउने ? अन्तर्राष्ट्रिय बजार र फिल्मकर्मीसँग भेटेर फर्किएकी सुरक्षा नेेपालीले नेपालको कथामा गर्व गर्नुपर्ने बताउँछिन् । 'हाम्रा छरिएका जुन स-साना कथा छन् ती उत्कृष्ट कथा हुन् भन्ने बुझ्नुपर्‍यो । महत्त्व दिनुपर्‍यो । अर्को त फिल्म बनाउँदा मात्रै कान्स पुग्ने हो । त्यहाँसम्म पुग्ने प्रक्रियामा फिल्म बनाउनुपर्‍यो । त्यो प्रक्रिया फिल्म पढेकाहरुलाई थाहा होला । त्यो प्रक्रियालाई जानेर अप्लाइ गर्नुपर्‍यो,' उनले भनिन्, 'आफ्नो कथाहरुमा विश्वास गरेर भन्नुपर्‍यो ।'

उनी अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुग्ने कलाकार, फिल्मकर्मीलाई हेर्ने छुट्टै संस्था(बडी) बन्नुपर्ने धारणा राख्छिन् । 'सायद फिल्म विकास बोर्डले पहल गर्नुपर्छ । अथवा आर्थिक सहयोग त गरिदिनु पर्‍यो । चलचित्र विकास बोर्डमा बुझ्दा यसरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुग्ने फिल्मका निर्देशक र निर्मातालाई आर्थिक सहयोग गर्दै आएको थाहा पाएँ । तर म त विदेशी फिल्ममार्फत त्यहाँ पुगें । सायद भोलिको दिनमा हामी जुनसुकै फिल्ममार्फत त्यहाँ जाँदा त्यस्ता कलाकारलाई कसरी सहयोग गर्ने भन्नेतर्फ बोर्डले होस् या राष्ट्रिय तहबाटै त्यस्तो नीति बन्नुपर्छ ।'

मिठो/नमिठो दुवै अनुभव संगाल्दै नेपाल फर्किएकी सुरक्षा थप्छिन्, 'यस्तो प्लेटफर्ममा जानु भनेको राष्ट्रको प्रतिनिधित्व गर्ने कुरा नै हो । त्यसैले यसमा राष्ट्रले सहयोग गर्नुपर्छ । अफिसियल फोटोग्राफर, मेडिकल टिम पठाइदिनुपर्छ जस्तो लाग्छ । हामीले त्यस्तो प्लेटफर्ममा पुगेको संघर्षको कथा लुकाइरहने अनि राष्ट्रले त्यहाँ पुगेकै कुरामा गर्व गर्ने मात्र त हुँदैन नि त । कान्समा जाने कुरा मैले मेरो मुखले नबोल्दासम्म थाहै हुँदैन रहेछ ।'

प्रकाशित : जेष्ठ २७, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?