'गोग्राहको आवसीय कार्याशाला हुँदै, प्रशिक्षकमा दीपक र आशा

काठमाडौँ — 'गोग्राह फिल्म रेसिडेन्स २०२२' अन्तर्गत छानिएका ६ लेखक/निर्देशकलाई फिल्मसम्बन्धी कार्याशाला सुरु भएको छ । गोग्राहका संस्थापक एवं फिल्म निर्देशक दीपक रौनियार र लेखक आशा मगरातीसँग ६ हप्ता फिल्मकर्मीहरुले प्रशिक्षण लिनेछन् । 

'गोग्राहको आवसीय कार्याशाला हुँदै, प्रशिक्षकमा दीपक र आशा

रंगकर्मी आकांक्षा कार्की, अभिमन्यू निरबी, निकिता त्रिपाठी, राजेश प्रसाद खत्री, नव विजय श्रेष्ठले तोकिएको कार्याशाला अवधिभर आफ्नो फिचर फिल्मको पहिलो ड्राफ्ट पूरा गर्नेछन् । फिचर प्रोजेक्ट लेखनमा दीपक र आशाले उनीहरुलाई मेन्टर गर्नेछन् । यसअघि सन् २०१९ मा पहिलो पटक गोग्राहले एक हप्ताको आवसीय कार्यशाला आयोजना गरेको थियो । फिचर फिल्मतर्फ पाँच जना छनोटमा परेका छन् ।

२०२०/२१ को कार्यशाला भने भर्चुअली आयोजना गरिएको थियो । पहिलो चरणको लेखन कार्याशालामा छानिएका फिल्मकर्मीलाई १२ हप्ता लामो निर्देशन कार्यशाला गरिएको थियो । त्यसपछि १६ हप्ताको निर्देशन कार्यशाला भयो । त्यसमध्येबाट शान्ता नेपालीको लघु फिल्म 'मुना', ज्योत्सनासिंह ठकुरीको 'एलेक्सिया' र सुनील गुरुङको 'विन्ड हर्स'ले पाँच-पाँच लाख प्रदान गरिएको थियो । कार्यशालामा तयार पारेको तीन लघु फिल्म अहिले निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन तीन फिल्ममा गोग्राहले निर्माताको रुपमा काम गरिरहेको निर्देशक दीपक रौनियार बताउँछन् ।

यो पटकको आवसीय कार्यशालामा भने विजेता घोषणा गरिने छैन । तर‚ उनीहरूले तयार पार्ने फिल्मलाई फिल्म फेस्टिभलमा लैजाने, बजारसँग परिचय गराउनमा आफूहरुको भूमिका रहने गोग्राहका संस्थापक दीपक बताउँछन् । 'यसपालि सुरु गरिएको यो पहिलो आवासीय कक्षा हो । यसअघिका वर्कसप अनलाइन सम्पन्न भयो । कोभिडको समयमा न्युयोर्कमा बसेर म त्यहाँका विद्यार्थीहरुलाई पढाउथें,' फिल्म स्टडिज एट द युनिभर्सिटी अफ नर्थ क्यारोलिन विलमिङ्टनमा असिस्टेन्ट प्रोफेसरको रुपमा अध्यापपन गराउँदै आएका रौनियार भन्छन्, 'म यहीँ अमेरिकामा बसेर अमेरिकाको विद्यार्थीलाई पढाउन सक्छु भने नेपालीलाई किन नपढाउने ? त्यही सोचसहित गोग्राहले कोभिडमा घरमै बसेका सहभागीलाई वर्कसप आयोजना गर्‍यो । त्यो कक्षाको डिजाइन हामीले अमेरिकन सेमेस्टर मोडलमा कोर्सको विकास गरेर पढाएँ ।'

सेतो सूर्यका निर्देशक रौनियारका अनुसार यो सहभागीले फिल्मकर्मीले कार्याशालापछि काठमाडौंका निर्माताहरुबीच उनीहरुले आफ्नो प्रोजेक्ट पिच गर्नेछन् । त्यसपछि अनुदान(ग्रान्ट) अप्लाई गर्न पनि गोग्राहले सहयोग गर्नेछ । नयाँ फिल्मकर्मीलाई फिल्म निर्माण, बजारसँग जोडिदिने योजनासहित गोग्राह सुरु भएको रौनियार सुनाउँछन् ।

'आशा र म यो फिल्म क्षेत्रका लागि 'आउट साइडर' हौं । त्यतिबेला आशाको अनुहारलाई तुरुन्तै फिल्म फिल्ममा मौका दिने अवस्था थिएन । जब कि उनले थिएटरमा राम्रा नाटकमा अभिनय गरिरहेकै थिइन् । फिल्म निर्माणका लागि नेपालमा फन्डिङ छैन । बल्ल विकास बोर्डले थोरै रकम सहयोग गर्न थालेको सुनेको छु । कम्तिमा सुरु भयो, त्यो राम्रो कुरा हो । हामीले सुरु गर्दा त्यस्तो केही स्रोत नै थिएन,' दीपकले भने, 'फिल्म क्षेत्रमा पुरुषको दबदबा छ । महिलाको आवाज नै छैन । दलितको विषयमा फिल्म बनेन भन्छौं तर एक जना दलित फिल्मकर्मी छैनन् । आफ्नो समुदायको कथा भन्न त आफ्नो समुदायकै फिल्ममेकर चाहियो । त्यसका लागि राज्यले आफ्नो भुमिका निर्माण गर्नुपर्ने हो । फिल्म बनाउने काम त एकदमै खर्चिलो छ । कति फिल्मकर्मीले एउटा फिल्म बनाए फिल्म क्षेत्रबाट हराए । एउटा फिल्म बनाएर आशा र म पनि हराउने हो कि भन्ने थियो । हामीले एकदम दु:ख गरेर फिल्म निर्माण र बजारबारे सिक्यौं । हामीले सिकेको कुरा अरुलाई कसरी सिकाउन सकिन्छ भन्ने क्रममै भाष्कर गौतमसँग भेट भयो । अनि यो कार्याशाला सुरु भयो ।' ‍

प्रकाशित : जेष्ठ २, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?