१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कर्णालीमा मिस नेपालको अडिसन

सुर्खेत — मिस नेपालका लागि कर्णाली प्रदेशमा पहिलोपल्ट अडिसनको आयोजना गरिएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबार र बिहीबार अडिसन हुने भएको हो । देशभरबाट छनोट गर्दा कर्णालीबाट पनि सहभागी लिन लागिएको आयोजक द हिडन ट्रेजरले जनाएको छ ।

कर्णालीमा मिस नेपालको अडिसन

यो पल्टदेखि मिस नेपाल पेजेन्टमा केही परिवर्तन गरिएको छ । ‘प्रतियोगीको उचाइ ५ फिट ४ इन्चबाट घटाएर ५ फिट ३ इन्चको मापदण्ड बनाइएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीले भने, ‘यसै वर्षदेखि प्रतियोगीको उमेर १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ ।’ यो वर्षको प्रतियोगिताका लागि वैशाख ३१ सम्म आवेदन खुला छ । त्यसका लागि नेपालगन्जमा अडिसन सकिएको छ भने शुक्रबारदेखि धनगढी र आइतबारदेखि धरानमा हुनेछ । काठमाडौंमा भने जेठ ३ मा अडिसन हुने जानकारी उनले दिए । छनोटमा परेकालाई एक महिनाको प्रशिक्षणपछि फाइनलमा सहभागी गराइनेछ ।

यो वर्ष मिस नेपाल–वर्ल्ड, मिस नेपाल–अर्थ र मिस नेपाल–इन्टरनेसनल गरी ३ वटा मुख्य ‘टाइटल’ छन् भने कान्तिपुर मिडिया ग्रुपले प्रायोजन गरेको ‘द काठमान्डु पोस्ट मिस इन्टिलेक्चुअल’ सहित ७ वटा ‘सब टाइटल’ रहनेछन् । मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्माले कर्णाली चिनाउन पनि सुर्खेतमा पहिलोपल्ट अडिसन आयोजना गरिएको बताइन् । ‘यो यस्तो प्रतियोगिता हो जहाँ जित्नका लागि आए पनि सबै प्रतियोगी हार्न पनि तयार हुन्छन्,’ उनले भनिन्, ‘म पनि कुनै उपाधि जित्छु भनेर गएकी थिइनँ, केही सिक्नका लागि गएकी थिएँ तर उपाधि जितियो ।’ उनले आफैंले आफैंलाई विश्वास गर्न सके उपाधि धेरै टाढा नभएको बताइन् । बिस्तारै ‘ग्ल्यामरस’ क्षेत्र नेपाली समाजले बुझ्दै गएको उनको भनाइ थियो ।

मिस नेपाल वर्ल्ड–२०१५ इभाना मानन्धरले काठमाडौं र पोखरामा मात्र हुने प्रतियोगिता आउँदा कर्णालीको महत्त्व झल्किएको बताइन् । ‘महिलाको क्षमता अभिवृद्धिमा पनि यो प्लाटफर्म महत्त्वपूर्ण छ,’ उनले भनिन् । आत्मविश्वास भए जुनसुकै परीक्षामा उत्कृष्ट भइने उनको भनाइ थियो । सहभागीले प्रशिक्षणमा सिकेका कुरा लागू गर्न सके समाज परिवर्तन गर्न सक्ने मानन्धर बताउँछिन् । ‘यो प्रतियोगिता ट्यालेन्सी, एक्स्पोजर र शिक्षा प्रस्तुत गर्ने इभेन्ट मात्र होइन,’ उनले भनिन्, ‘यसले जस्तोसुकै

अप्ठ्यारोलाई पनि ट्याकल गर्न सक्ने क्षमता प्रदान गर्छ ।’ कर्णालीको विविधता प्रवर्द्धनका लागि यस्ता कार्यक्रम सहयोगी हुने उनले बताइन् ।

प्रकाशित : वैशाख २१, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?