कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक मजदुरको ‘पिंगाई माया’

काठमाडौँ — तामाङ समुदायमा छोरीलाई माया गरेर बोलाइने थुप्रै नामहरूमध्ये एक हो– पिंगाई माया । यही मायालु नामलाई केन्द्रमा राखेर एक पात्र बुनिन् गायिका निर्मला घिसिङले ।

सडक मजदुरको ‘पिंगाई माया’

लेखपढ नगरेकी, गाउँमा सामान्य रूपमा बाबुआमा र भाइको सपनाका लागि दिनचर्या बिताएकी सोझी ‘पिंगाई माया’ सँगै कवि राजु स्याङ्तानले जोडिदिए मध्यपहाडी लोकमार्गमा ज्यामी काम गर्ने एक युवकको संघर्ष । त्यसैमा कवि स्याङ्तानले अझै थपे युवक र ‘पिंगाई माया’ बीचको प्रेम कथा ।

तामाङ समुदायका महिला, मजदुरका कथामा संस्कृतिलाई समेटेर तयार गरिएको ‘पिंगाई माया’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतमा शब्द गायिका घिसिङको छ भने उनलाई स्वरमा साथ अनिश योञ्जनले दिएका छन् । कोरोना महामारीको समयमा सिर्जना भएको गीतमा तामाङ भाषासँगै समुदायकै संस्कृति र मौलिक अर्गानिक प्रेम कथालाई उठान गर्ने जमर्को गरिएको गायिका घिसिङले सुनाइन् ।

‘भाषा त्यसै पनि जातिको संस्कृति हो,’ उनले भनिन्, ‘यसमा तामाङ समुदायकै संस्कार र परम्पराका कुरा देखाउने हामीले कोसिस गरेका छौं ।’

गीतमार्फत कथासँगै मौलिक संस्कृतिलाई अगाडि ल्याउने जमर्को गरेको उनले सुनाइन् । गीत सुनेपछि लोकमार्गमा काम गर्ने तामाङ समुदायको एक युवकको कथा सिर्जित भएको कवि स्याङ्तानले सुनाए ।

यसले मजदुरहरूको कथालाई समेट्ने स्याङ्तानले ठहर गरे । सडकमार्गमा अहोरात्र खटिने मजदुरहरूको कथालाई उनले यसभन्दा अघि कवितामा उठान गरिसकेका छन् । मजदुरका पीडा प्रस्तुत गरिएको स्याङ्तानको ‘रामबहादुर मार्ग’ शीर्षकको कविता धेरैले रुचाएका छन् ।

रामेछापको सुनपाती गाउँपालिकामा छायांकन गरिएको म्युजिक भिडियोमा बुद्धि तामाङ र निरञ्जली लामाले अभिनय गरेका छन् ।

प्रकाशित : वैशाख १५, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?