कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिप्पणी : सम्मान माग्नेलाई अवार्ड !

रीना मोक्तान

काठमाडौँ — 'नालापानी'लाई विशेष फिल्म घोषणाको माग गर्दै फिल्मसम्बन्धी अधिकांश छाता संगठनदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्म दौडधुप गरेको निर्माण टिमले आइतबार राष्ट्रपति भवनमा 'राष्ट्रिय चलचित्र अवार्ड' प्राप्त गर्‍यो । ९ करोड लगानीमा निर्माण गरिएको भनिएको फिल्मका निर्देशक रिमेश अधिकारीले राष्ट्रपतिको हातबाट 'विशेष चलचित्र पुरस्कार २०७६'को अवार्ड उचाले ।

टिप्पणी : सम्मान माग्नेलाई अवार्ड !

यसै विधामा २०७६ मा प्रदर्शनमा आएको फिल्म 'आमा' र गुरुङ भाषाको 'मि नहोर्बै'ले पनि अवार्ड प्राप्त गर्‍यो ।

'नालापानी' न हलमा प्रदर्शनमै आएको छ, न त फिल्मले उठाएको विषयमाथि समीक्षात्मक चर्चा भएको छ । नालापानीको युद्धमा आधारित फिल्मलाई अझै दर्शकले हेर्न पाएका छैनन् । केही स्थानमा गरिएको 'च्यारिटी शो' कै भरमा सम्मान खोज्दै हिँड्ने फिल्मलाई 'आमा'सँगै एउटै विधामा राखेर प्रमाणपत्रसहित सम्मान गर्दा 'नालापानी'लाई विशेष फिल्म मान्ने आधार के ? फिल्मको अझै प्रदर्शनको टुङ्गो छैन । प्रदर्शनमै नआएको फिल्मसँग एउटै विधामा अवार्ड प्राप्त गर्नेमा दीपेन्द्र के. खनाल र उनको टिम पनि थियो । 'नालापानी' सँगै एउटै विधाको अवार्ड उचालिरहँदा दीपेन्द्रको टिमले अवार्ड पाएकोमा खुसी हुने कि दुखी ? प्रकाश भट्टराई, दिनेश डीसी, चेतन सापकोटा, ऋषि लामिछाने, निर्मला चौलागाई, चिरञ्जीवी गुरागाईंको समितिले कसरी फिल्म छनोट गर्‍यो ?

अवार्डकै गरिमा हराउने किसिमले प्रदान गरिएको अवार्ड 'नालापानी'कै पोल्टामा मात्र परेको होइन । नेपाल सरकारको मातहतमा रहेको चलचित्र विकास बोर्डले योपटक बोर्ड स्टाफदेखि कलाकारलाई रिझाउने हिसाबले अवार्ड वितरण गर्‍यो । हुन त फिल्म क्षेत्रमा च्याउसरी उम्रिएका अवार्डमा आफूनिकटलाई भागबन्डा गर्नेदेखि अवार्डकै किनबेच नहुने गरेको होइन । तर, नेपाल सरकारले प्रदान गर्दै आएको पुरस्कार र अवार्डकै धज्जी उडाउने गरी अन्धाधुन्ध बाँडिएको छ । यस्तै हिसाबले लापरवाहीपूर्वक अवार्ड वितरण गर्ने थाले भोली राष्ट्रपति भवनमा कलाकार होइन; विकास बोर्ड सदस्य मात्र अवार्ड थाप्न जाने अवस्था नआउला भन्न सकिन्न ।

अब यो वर्ष अवार्ड प्राप्त गर्ने फिल्मको चर्चा गरौं । हरेक वर्ष हुँदै आएको यो अवार्ड कोभिड महामारीका कारण ०७६ र ०७७ मा हुन सकेन । त्यही २ वर्षको अवार्डलाई समेट्दै बोर्डले, राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सुरुमै 'चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको' विधामा ३३ जनालाई अवार्ड दियो । अभिनेता राजेश हमाल, निर्माता निर्देशक शम्भु प्रधान, चैत्यदेवी सिंह, शर्मिला मल्ल, गौरी मल्ल, चिरञ्जीवी बस्नेत, नवल खड्का, सुशील पोख्रेल, राजेशपायल राई, सुरेशचन्द्र अधिकारी, राजुविक्रम थापा, दिपाश्री निरौल, एनबी महर्जन, उदय सुब्बालगायतका थुप्रै पुराना कलाकारदेखि प्राविधिक, संगीतकारलाई अवार्डमा समेट्यो । २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका राजेश हमाल, सयौंको संख्यामा गीत रेकर्ड गरेका गायक राजेश पायल राईले यही विधामा अवार्ड उचाल्दा ४ वटा फिल्ममा लगानी गरेकी शर्मिला पाण्डेलाई अवार्ड दिँदा योगदानकै आधारमा अवार्ड दिनु कति सुहाउँदो भयो ? लगानीकर्तालाई प्रोत्साहन नै गर्नुपर्छ भन्ने हो भने नयाँ विधा नै स्थापित गरेर पाण्डेले झैं २/४ फिल्ममा लगानी गरेका निर्मातालाई खुसी बनाए सकारात्मक हुने थियो । कलाकारको मेकअप गरेरै आफ्नो जीवन फिल्म क्षेत्रलाई समर्पित गरेका सन्तु लामाले अवार्ड पाएको विधामा पाण्डेले अवार्ड पाउँदा अवार्डको शोभा बढ्यो कि घट्यो ?

विशेष योगदानको यही विधामा केही समय अगाडि आफ्नो नग्न तस्वीरको ब्लोअपमार्फत् चर्चामा छाएकी एक मोडललाई पनि अवार्ड दिइयो । गायनमा विशेष योगदान पुर्‍याएको भन्दै उद्घोषकले उनको नाम घोषणा गर्दा सोमबार अवार्ड कार्यक्रममै समेत गाइँगुइँ चल्यो । आयोजकले गायन क्षेत्रमा आफ्नो प्रतिभाको प्रस्तुत गर्दै आएका ती तमाम स्रष्टाहरूलाई बिर्सेर उनको योगदान चाहिँ उच्च देख्यो । चलचित्र क्षेत्रको नीतिगत तहमा योगदान पुर्‍याएको भन्दै शंकरप्रसाद कोइराला (एसपी कोइराला)लाई गीतकारको परिचय दिँदै अवार्ड दिँदा चलचित्र अवार्ड पनि अमेरिका उड्नकै लागि मात्र वितरण गरिएको त होइन भन्ने शंका उब्जाइदिएको छ ।

यति मात्रै होइन विशेष योगदान पुर्‍याएको भन्दै यही विधामा बोर्डका ४ अधिकृत (चिरञ्जिवी गुरागाईं, गिरिश शर्मा, प्रभाकर भट्टराई र निर्मला चौलागाईँ) र सदस्य अर्जुन कुमारले अवार्ड पाए । यो घरेलु मैदानमा खेल आफैंले जित्नुपर्छ भनेर आफ्नै टिमलाई विजय घोषणा गरेजस्तै भएन र ?

जे होस् फिल्म क्षेत्रका दिग्गज व्यक्तिहरुसँगै घरकै अवार्ड पाउँदा दङ्ग थिए बोर्डका स्टाफहरु । आफ्नो कार्यकाल सकिनै लाग्दा स्टाफको मुहारमा देखिएको खुसीले दंग हुनेमा थिए बोर्ड अध्यक्ष दयाराम दाहाल ।

२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत फिल्म 'आमा'ले उत्कृष्ट फिल्म, निर्देशन, अभिनेत्रीको अवार्ड प्राप्त गर्‍यो । अभिनेत्री सुरक्षा पन्त र निर्देशक दीपेन्द्र के खनाल यो विधामा अवार्डका लागि योग्य देखिनुमा प्रशंसा गर्ने ठाउँ छ । निर्मातृ शर्मिला पाण्डेले उत्कृष्ट फिल्मको अवार्ड उठाउँदा अवार्डको महिमा खस्किएन । प्रदीप भट्टराईले 'जात्रै जात्रा'बाट उत्कृष्ट लेखन, कथा/पटकथा/संवादको अवार्ड प्राप्त गरे । तर, 'छ माया छपक्कै'बाट कलाकार दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा २०७७ मै प्रदर्शनमा आएको 'सेल्फी किङ'का अभिनेता विपिन कार्की, 'घामड शेरे'बाट निश्चल बस्नेतले गरेको अभिनयको न त त्यहाँ चर्चा नै भयो, न अवार्ड दिइयो । अवार्ड कार्यक्रममा ढाकाटोपीमा चिट्टिक्क परेर बसेका विपिन कार्कीको नामसमेत उच्चारण गरिएन । २ वर्षको अवार्ड एउटै बनाएर दिँदा निर्णायक टिमले विधाअनुसारकै फिल्महरुमा समेत अनुसन्धान नगरेको प्रस्ट हुन आउँछ ।

अवार्ड वितरणसमेत २०७६ र ०७७ को फिल्म हेर्नुमा भन्दा पनि व्यावसायिकता र चर्चाकै शिखरमा रहेको फिल्मले मात्र निर्णायकको ध्यान तानेको देखिन्छ । त्यसो त 'नव प्रवेशी' भन्दै अशोक शर्माका छोरा अंकित शर्मालाई अवार्ड दिँदै गर्दा ती वर्षमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर(एउटा यस्तो प्रेमकहानी), सिद्धान्तराज तामाङ, अलोना काबो लेप्चा (आप्पा), रुबिना थापा(लभ डायरिज) लगायत कलाकारले पनि डेब्यू गरेका थिए । यो विधामा पनि अभिनय हेरिएको हो वा व्यवसायिक सफलता ? प्रश्न गर्ने ठाउँ थुप्रै छन् । २ वर्षको फिल्मको छुट्टाछुट्टै अवार्ड दिन छाडेर एउटैमा सबैलाई समेट्न खोज्दा अवार्डका दाबेदार केही कलाकारका नाम छुटेको भए एउटा भन्ने आधार हुनसक्थ्यो । तर सात जनाको निर्णायक टोलीकै नजरले ती नामहरू छुटाएको देख्दा भने निर्णायकमाथि पनि प्रश्न तेर्सिन्छ ।

सबैको चासोको विषय रहेको यही विधामै पनि लापरवाहीपूर्वक फिल्मको छनोट गरिएको देखिन्छ । राष्ट्रिय चलचित्र पुरस्कारको यो विधामा निर्णायक थिए कृष्ण मल्ल, लय संग्रौला, नरेश पौड्याल, सामीप्यराज तिमल्सेना, रेजिना उप्रेति, गिरीश शर्मा, हरिसिंह रैखोला । फिल्म निर्माणमै महत्वपूर्ण मानिने ध्वनी, संगीतजस्ता विधालाई समेट्दै नसमेटिएकोमा चित्त दुखाउनेहरु धेरै छन् ।

शम्भुजित बाँस्कोटा र भुवन थापा चन्दलाई दीर्घ साधना सम्मान दिइएको यो अवार्ड कार्यक्रम विगतमा झैं यो वर्ष पनि कमजोरीहरुले भरिएको थियो ।आफ्नालाई रिझाउने चक्करमै अवार्ड दिँदा फिल्म क्षेत्रमा मिहिनेत गरिरहेकाहरु यो वर्ष पनि छायाँमा परे । सम्मान खोज्नेहरुलाई नै अवार्ड बाँड्न थाले 'राष्ट्रिय चलचित्र पुरस्कार'को महत्त्व कति माथि उठ्ला र !

प्रकाशित : वैशाख ५, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?