कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
वर्ष २०७८ मा सिनेमा

महामारीले गाल्यो, विदेशी फिल्मले च्याप्यो

आयातित दृश्यभाषालाई बदलेर आफ्नै समाजको कथा घटना, यहींका पात्र चरित्रलाई टिपेर हाम्रै परिवेशमा भन्न जरूरी 
सुशील पौडेल

काठमाडौँ — कोभिड महामारीले विश्वलाई नै झन्डै साढे दुई वर्षदेखि सताइरहेको छ । सुरुवातमा त विश्व नै ठप्प पारेको कोभिडले विश्व अर्थतन्त्र डामाडोल बनायो । यसबाट नेपाल पनि अछुतो रहेन । वर्ष २०७८ पनि लगभग कोभिड महामारीकै त्रासमा बित्यो । गत असोजपछि महामारी केही मत्थर भएसँगै विभिन्न क्षेत्र चलायमान हुन थाले पनि मुलुकको फिल्म क्षेत्रले भने राज्यबाट त्यो सुविधा पाएन ।

महामारीले गाल्यो, विदेशी फिल्मले च्याप्यो

राजनीतिक दलका ठेलमठेल कार्यक्रमदेखि सार्वजनिक यातायातका साधनले कोचाकोच यात्रु बोकिरहँदा फिल्म हलदेखि रंगमञ्चले भने खुल्ने अनुमति नै पाएन । जब अनुमति पाए, पालो पर्खेर बसेका आशातित फिल्मले पनि आँट देखाउन हच्किए । बरु हलिउडदेखि बलिउडका फिल्मले हाम्रा फिल्म हलमा दर्शक उतारे ।

रिलिजको मुखमा आएर कोभिडको मार खेपेको ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेको चौथो पटकमा मात्र हल पायो । तर, चलेन । यसका निर्माता अर्जुनकुमार स्वयं एक रुपैयाँ हात नलागेको सुनाउँछन् । एक करोड ६५ लाख रुपैयाँ लगानीको उक्त फिल्मबारे उनी भन्छन् ‘खत्तम नै भयो । जति लगानी गरें, सबै डुब्यो । पोस्टर टाँसेको गमको पैसा पनि आएन ।’ चपली हाइट–३ ले समीक्षात्मक हिसाबले नराम्रो प्रतिक्रिया पाएको भने होइन । तर दक्षिण भारतीय फिल्म ‘पुष्पा’ सँगै लगाइएको उक्त फिल्मले बक्सअफिसमा टाउको उठाउन पनि पाएन । अर्जुनकुमार थप्छन्, ‘यो वर्ष समग्र नेपाली फिल्मको हविगत चपली हाइट–३ कै जस्तै भयो ।’

चलचित्र विकास बोर्ड सदस्यसमेत रहेका अर्जुनकुमारले सोही बेला हिन्दी डब दक्षिण भारतीय फिल्मको नेपाल प्रदर्शनलाई नियमन गर्नुपर्छ भन्ने आवाज नउठाएका पनि होइनन् । तर आफूलाई कसैको साथ नहुँदा आज अवस्था झनै भयावह बनिरहेको सुनाउँछन् । ‘अब त झन् हरेक हप्ता कुनै न कुनै हिन्दी डब फिल्म रिलिज हुन्छ हुन्छ नै, कसरी रोक्ने ? सक्छौं ?,’ उनले आफैंलाई प्रश्न गरे ।

पुसको मध्यबाट मात्र फिल्म ‘कठपुतली’ ले स्वदेशी दर्शकलाई एक हदसम्म हलमा तान्यो । भलै समीक्षात्मक हिसाबले मिश्रित प्रतिक्रिया बटुलेको उक्त फिल्मले पनि लगानी सुरक्षित गर्न सकेन । यसअघि आँट गरेर प्रदर्शनमा आएका फिल्महरू ‘डाँडाको वरपीपल,’ ‘धुम ४,’ ‘ओभर डोज,’ ‘सकिन भुल्न तिमीलाई,’ ‘चुरीफुरी’ ले पनि हलमा खासै चुरीफुरी देखाउन सकेनन् ।

वर्ष २०७८ को अन्तिम फिल्म ‘मैले आई लभ यू भन्नै सकिन’ सम्म आइपुग्दा मुस्किलले दर्जन नेपाली फिल्म मात्रै हलमा रिलिज गरिए । ‘चपली हाइट–३,’ ‘म यस्तो गीत गाउँछु–२,’ ‘लप्पन छप्पन–२,’ र ‘चिसो एस्ट्रे’ ले केही चर्चा भने बटुले । फिल्मका नायक पल शाह नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा परेपछि दर्शक, फ्यान भावुक बनेर उनका लागि भए पनि हलसम्म ‘म यस्तो गीत गाउँछु–२’ हेर्न पुगे । हुन त सुदर्शन थापा निर्देशित उक्त फिल्मको गीत, संगीत यसअघि नै हिट भएकाले पनि फिल्मप्रति केही दर्शकमा पर्खाइ भने थियो । जे जसरी भए पनि अन्ततः वर्षभरमा सबैभन्दा बढी व्यापार गर्ने नेपाली फिल्म पनि यही दरियो । एकाध हलमा त यस फिल्मले नयाँ वर्षसँगै प्रदर्शनको ५१ दिने छेको पार गर्ने अवस्थामा समेत पुगेको छ ।

‘घरेलु बक्स अफिसबाट नै अझै पनि हाम्रो फिल्मले लगानी सुरक्षित गरिसकेको अवस्था छैन,’ फिल्म निर्देशक थापाले भने, ‘ठूलो लगानी, कोरोनाका कारण पटक–पटक प्रदर्शन मिति सर्नुले पनि असर गर्‍यो । तैपनि स्वदेशी फिल्म क्षेत्र चलायमान हुनुपर्छ भनेर जानीबुझीकनै जोखिम मोलेरै रिलिज गरेका हौं । अब विदेशमा चलाउँदासम्म हामी सुरक्षित छौं ।’ २०७६ फागुन ३० मा रिलिज डेट निश्चित गरेको ‘म यस्तो गीत गाउँछु–२’ कोभिड महामारीपछि भएको लकडाउनका कारण दुई वर्षसम्म पछि सर्दा बजेट बढ्न पुगेको थियो । ‘२ वर्षपछि पनि डरैडरमा रिलिज गरेका हौं । कुनै पनि फिल्म चलिरहेको अवस्था थिएन । हामीले अब अगाडि बढ्नुपर्छ भनेर पनि हिम्मत जुटायौं,’ निर्देशक थापाले भने । समग्रमा हेर्दा २०७८ मा ९८ प्रतिशत फिल्म असफल रहे पनि आफ्नै फिल्मले भोलिको दिनका लागि आशाको किरण भने छरेको उनी जिकिर गर्छन् ।

त्यसैगरी, फरक कथा प्रस्तुतिको तरिकाका कारण स्यावासी पाए पनि ‘चिसो एस्ट्रेले भने बक्सअफिस खासै तताउन सकेन । स्टार भ्यालु बोकेका भनिएका प्रदीप खड्का, अनमोल केसीका कुनै पनि फिल्म वर्ष २०७८ मा आएनन् ।

अभिनेता दीपकराज गिरी वर्ष २०७८ नेपाली फिल्मका लागि गैरफिल्मी वर्ष रहेको टिप्पणी गर्छन् । ‘कोभिड महामारीले गर्दा न फिल्म बनाउन सकियो, न सिर्जना गर्ने वातावरण नै रह्यो, न त चल्ने नै,’ उनले भने । भारतीय फिल्मले हलमा व्यावसायिक उर्वरता देखाउन थालेपछि नेपाली फिल्मको प्रारम्भिक अवस्था सुनौलो नदेखिएको गिरी तर्क गर्छन् । ‘एक त हामी फिल्मकर्मीमै पनि प्रविधिदेखि सिर्जनशीलतामा कमजोरी छ । अनुभवको कमी छ, बजार सानो छ । मनग्गे लगानी गर्न सक्दैनौं । विदेशी फिल्मसँग खुला प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । त्यसमाथि सरकारी नीति पनि स्वदेशी फिल्मलाई संरक्षण गर्ने खालको छैन,’ उनले भने ।

आधा शताब्दीको लामो इतिहास कोरिसकेको स्वदेशी फिल्म क्षेत्र अझै पनि बामे सर्दाकै अवस्थामै छ । विदेशी फिल्मको दबदबा र कमजोर स्वदेशी फिल्मको अवस्थाले गर्दा फिल्म क्षेत्रले आशातित प्रगति गर्न सकिरहेको छैन । केही नयाँ प्रयोग र राम्रा काम नभएका भने होइनन् । तर, ती अझै पनि नगण्य अवस्थामा नै छन् । बरु विदेशी फिल्मले बर्सेनि नेपालमा प्रदर्शनबाट मोटो रकम लगिरहेको तीतो यथार्थ फिल्मकर्मीसँग छ ।

भदौ ११ लाई रिलिज मिति निश्चित गरिसकेका निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘चिसो मान्छे’ लाई कोभिडकै कारण हलसम्म ल्याउन सकिरहेका छैनन् । उनले दसैंमा पनि ताकेता नगरेका होइनन्, फेरि माहोल मिलेन । तैपनि उनी २०७८ लाई कोभिडका कारण सामान्य मान्दै निराश भइहाल्नुपर्ने अवस्था नरहेको जिकिर गर्छन् । ‘बरु यो बीचमा विदेशी फिल्मको दबदबा यसरी बढ्यो कि हामीले राम्रो फिल्म बनाउने चुनौती अझ थपियो । आफ्नोपन दिने फिल्मका लागि आफ्नो कथा खोज्न ध्यान दिनुपर्ने बेला आएको छ,’ उनले भने, ‘दक्षिण भारतीय फिल्म हाम्रा लागि मात्रै नभई बलिउडका लागि समेत टाउको दुखाइ भइसकेको छ । उनीहरूसँग हामी बजेटका हिसाबले खरो उत्रन नसके पनि हाम्रो माटो सुहाउँदो कसरी उत्कृष्ट सिर्जना दिन सक्छौं भन्ने चुनौतीसँगै अवसर पनि छ ।’

स्वदेशी फिल्म नै सोचेअनुरूप चल्न नसक्नु हरेक वर्षको एउटा विडम्बना त छ नै, यसपटक भने दक्षिण भारतीय (डब) फिल्म पनि सियो बनेर छिर्‍यो । लकडाउनकै अवधिमा कतिपय नेपाली दर्शकले ती फिल्म युट्युबमा हेरेरै एकखाले लतको विकास गरिसकेका थिए, अब स्वदेशी हलमै लाग्न थालेपछि नेपाली दर्शक हान्निएर पुग्न थालेका छन् ।

अल्लु अर्जुनको ‘पुष्पा’ ले त्यसको छनक दियो भने रामचरण र जुनियर एनटीआर अभिनीत ‘आरआरआर’ सम्म आइपुग्दा त दक्षिण भारतीय फिल्मले नेपालका सिनेमाघरहरूमा ठूलै दबदबा देखाइसके । यो अझ बढ्ने अवस्था देखिएको छ । वर्ष २०७८ केवल नेपाली फिल्मको असफलतासँग मात्रै जोडिने छैन, फिल्म क्षेत्रकै अधोगतिको कारक बनेर इतिहासमा रहने देखिएको छ ।

कोरोना संक्रमणपछि भएको लकडाउन र निषेधाज्ञाका कारण वर्षभर नै नयाँ फिल्म प्रोजेक्ट फ्लोरमा जान पाएनन् । यसले गर्दा आगामी वर्षका लागि पनि स्वदेशी फिल्मको उत्पादनमा कमी आउने निश्चितप्रायः छ । यस्तोमा स्थानीय बजारमा आगामी वर्ष पनि विदेशी फिल्मको दबदबा कायम नै रहने त्रास यही वर्षले छोडेर जाँदै छ । वर्षभर प्राविधिक बेरोजगार रहे भने कलाकारहरू फुर्सदिला बने । केही चल्तीकै नायक, नायिकाले म्युजिक भिडियोमा भए पनि आफूलाई व्यस्त राखे ।

महानायकको पगरी गुथाइएका राजेश हमालसमेत म्युजिक भिडियोमा रमाएको वर्ष २०७८ मा सर्वाधिक व्यस्त रहे, पल शाह । उनले महिनामै २० माथि म्युजिक भिडियोमा समेत काम गरे । यतिबेला उनी मुद्दामामिलामा परेपछि भने उक्त रिक्ततालाई आकाश श्रेष्ठ, पुष्प खड्का, नाजिर हुसेनलगायतले परिपूर्ति गरिरहेका छन् । त्यसबाहेकका अधिकांश कलाकार भने सामाजिक सञ्जाल अझ खासगरी टिकटकमै रमाएर वर्ष बिताए । कतिपयले कन्ट्रोभर्सी गरेर दिमाग तताए । समग्रमा उत्पादनमूलक काममा व्यस्त रहेको देखिएन ।

नेपाल खुला बजारमा विश्वास गर्छ भने यहाँका दर्शकले घरमै बसीबसी विश्व सिनेमालाई हेर्न सक्छन् । झन् यो दुई वर्षको कोरोना अवधिले धेरै दर्शकको फिल्म चेतको स्तरलाई बढाइदिएको छ । विश्वभरका छानिएका राम्रा राम्रा फिल्म, सिरिज वा डकुमेन्ट्री हेर्ने बानी धेरैमा बसिसकेको छ । यो अवस्था नेपाली फिल्मकर्मीका लागि चुनौती र अवसर दुवै हुन सक्छ । खसीको टाउको झुन्ड्याएर बाख्राको मासु बेच्ने परिपाटीको अन्त्य हुँदैन भने नेपाली फिल्मका लागि अबका वर्ष झनै चुनौतीले भरिएका छन् । अब कसैका स्टारडम भजाएर मात्रै सिंगो फिल्म नबिक्न सक्छ ।

बलिउडबाट आयातित दृश्यभाषालाई बदलेर आफ्नै समाजको कथा घटना, यहीका पात्र चरित्रलाई टिपेर हाम्रै परिवेशमा भन्न जरुरी छ । फिल्म चेतको स्तर बढिरहेको अवस्थामा साँच्चै सिर्जनशील काम गर्न चाहने मेकरका लागि अबका वर्ष अवसर पनि हो । देशभर सिंगल स्क्रिनका हलहरू भत्किँदै गर्दा सुविधासम्पन्न मल्टिप्लेक्स बढिरहेका छन् । नेपाली फिल्मले प्रविधिलाई पनि ख्याल गर्दै फिल्मको भाष्य परिवर्तन गरेर स्तरोन्नति गर्न जरुरी छ । नत्र फिल्म निर्माणको सधैं यही घिसिपिटी रहीरहे फिल्म हलमा लाग्ने विदेशी फिल्म मात्रै स्वदेशी फिल्मका लागि चुनौती नभई ओटीटी प्लेटफर्ममा हेर्न पाइने विदेशी फिल्म नै तगारो हुनेछन् ।

प्रकाशित : चैत्र ३०, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?