सलमान खान नेपाल आउँदै- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलमान खान नेपाल आउँदै

दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने
सुरज कुँवर

काठमाडौँ — कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन आगामी जेठ १४ गते बलिउडका चर्चित नायक सलमान खानसहित भारतीय कलाकारको टोली काठमाडौं आउने भएको छ ।

स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन् ।

१० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको हो । ती कलाकारलाई सम्झौताअनुसार, भुक्तानी गर्नुपर्ने कुल रकममध्ये ४ करोड पारिश्रमिक पठाउन ओडीसीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई बताए ।

नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये सर्वाधिक भारतीय आउने भएकाले यो कार्यक्रमले नेपालको पर्यटन बजारलाई उकास्न मद्दत पुग्ने जनाउँदै कुनै पनि आर्थिक दायित्व नपर्ने गरी मन्त्रालयले सचिवस्तरीय निर्णयबाट यो कार्यक्रमलाई सघाउन मातहतका निकायलाई निर्देशन गरेको छ । यसअघि ०७४ फागुन २६ गते सलमानखान काठमाडौंको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भएको थियो । उनका भाइ सोहेल खान काठमाडौं आई पत्रकार सम्मेलन गरी सलमान बस्ने होटल, कार्यक्रमस्थल, सुरक्षाको अवस्थाबारे जानकारी लिई फर्किसकेका थिए । त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।

त्यसै बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो । एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो । सलमान खानको कार्यक्रम गर्ने स‌ंस्थाले त्यसबेला आयोजकबाट लिएको बैना रकम फिर्ता नगरी कार्यक्रम नै गर्ने सम्झौता गरेकाले यो कार्यक्रम आउने वैशाखमा रंगशालामा हुने भएको हो ।

प्रकाशित : फाल्गुन ४, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्

खल्ती एपमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने  

कान्तिपुर संवाददाता

काठमाडौँ — अब खल्ती डिजिटल वालेट प्रयोग गरी सवारीसाधनका ब्लुबुक नवीकरण शुल्क तिर्न पाइने भएको छ । खल्ती एप मार्फत यो सेवा लिन सकिने कम्पनीले जनाएको छ । अहिले वाग्मती प्रदेशका खल्ती प्रयोगकर्ताले यो सेवाको लाभ उठाउन सक्ने र आगामी दिनमा यो सुविधा देशभर उपलब्ध हुने बताइएको छ ।  

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त हुनेछ ।

खल्ती एपभित्र भएको गभर्नमेन्ट सर्भिसेस मा रहेको ब्लुबुक रिन्युमा नवीकरणमा ट्याप गरी आवश्यक विवरण भरेर भुक्तानी गर्न सकिन्छ । नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेकालाई कुनै अन्योल नहोस् भनेर 'स्याम्पल' बिल पनि एपमै उपलब्ध गराइएको छ । भुक्तानी गर्नासाथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्जेक्सनमा गई दुबै बिल प्राप्त गर्न सकिन्छ ।


प्रकाशित : फाल्गुन ४, २०७८ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×