कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतको दोस्रो साता निफ, छानिए ३८ देशका ८९ फिल्म

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महोत्सवमा प्राप्त ५५ देशका ४०० भन्दा बढी फिल्महरूमा ३८ देशका ८९ फिल्म छनोट गरिएको निफले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

चैतको दोस्रो साता निफ, छानिए ३८ देशका ८९ फिल्म

अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर, एनिमेटेड, वृत्तचित्र, लघु फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर, वृत्तचित्र र लघु फिल्महरूको आवेदन परेको थियो । 'विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' नाराका साथ यो महोत्सव आयोजना हुने भएको हो ।

'फिल्म संस्कृति' विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यस वर्ष नेपाली प्रतिस्पर्धामा पचास हजार नगद पुरस्कारसहितको 'वेष्ट डकुमेन्ट्री अवार्ड' पनि थप गरिएको महोत्सव अध्यक्ष केपी पाठकले बताए ।

यससँगै नियमित रुपमा प्रदान गर्दैआएको अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर फिल्मलाई १५सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट इन्टरनेस्नल फेडरेसन अफ फिल्म सोसाइटिज डन किओते अवार्ड पनि प्रदान गरिनेछ ।

यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वाग्मती अर्वाड प्रदान गरिनेछ ।

त्यस्तै नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा लघु फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ ।

फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । महोत्सव भौतिक उपस्थितिमा हुने वा भर्चुअल्ली हुनेबारे भने कोरोनाको संक्रमण अवस्थाअनुसार एक महिनाभित्र निर्णय गरिने अध्यक्ष पाठकले बताए ।

प्रकाशित : माघ ११, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?