कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फिल्म क्षेत्रमा फेरि महामारीको धक्का : निर्माता संघ भन्छ, 'सरकारले डेढ अर्ब लगानी बचाइदिनु पर्‍यो'

रीना मोक्तान

काठमाडौँ — झन्डै २ वर्षपछि फिल्म क्षेत्र विस्तारै पुरानै अवस्थामा चलायमान बन्दै थियो । हलमा दर्शकको भीड जम्मा हुन थालेको थियो । नयाँ फिल्मको घोषणासँगै धमाधम छायांकन सुरु भयो । महामारीले प्रदर्शन स्थगन गरेर बसेका अधिकांश फिल्महरूले प्रदर्शनको जोखिम मोल्न सुरु गरेका थिए ।

फिल्म क्षेत्रमा फेरि महामारीको धक्का : निर्माता संघ भन्छ, 'सरकारले डेढ अर्ब लगानी बचाइदिनु पर्‍यो'

धेरैले प्रदर्शनको नयाँ मितिसमेत तोके । हलमा बलिउड र हलिउडमात्रै नभएर नेपाली फिल्म 'कठपुतली : द पपेट'ले समेत हाउसफुल दर्शक पाइरहेको थियो । तर चलमलाउन थालेको यो क्षेत्रलाई महामारीले फेरि धक्का लगाएको छ ।

हलमा लागेको तेस्रो दिनमै 'चपलीहाइट ३'का निर्माण टिमले फिल्मको प्रदर्शन नै स्थगन गर्नुपर्‍यो । सरकारले ओमिक्रोनको संख्या बढ्दै गएपछि रात्रिकालीन व्यवसायसँगै हल बन्द गर्ने निर्णय गरेपछि 'चपलीहाइट ३'का निर्माताले फिल्म स्थगन गर्न बाध्य भए । फिल्मका निर्माता अर्जुन कुमार प्रदर्शन हुँदा हुँदै फिल्म स्थगन गर्नुपर्दा तनावमा छन् ।

'वर्डअफ माउथ पनि राम्रो भइरहेको थियो । दर्शक विस्तारै हलमा आउला भन्ने थियो । माउथ पब्लिसिटीले फिल्म चलेका धेरै घट्ना छन् । तर नेपाल सरकारले अचानक हल बन्द गर्ने निर्णय गरिदियो । अगाडि नै सजग गराएको भए हामीले हलमा फिल्म चलाउँथेनौं । तीन दिन चलिसकेको फिल्मको घाटा सरकारले व्यहोर्न सक्दैन होला तर म क्षतिपूर्तिको माग गर्छु,'कुमार सुनाउँछन् ।

महामारीकै कारण २ वर्ष अघिदेखि फिल्मको प्रदर्शन स्थगन गरेर बसेको 'चपलीहाइट ३'ले महामारीबीच नै प्रदर्शन आँट्ने जोखिम मोलेको थियो । राम्रो मिति पाउने आसमा धेरैपटक फिल्मको प्रदर्शन सारियो । निर्माण टिमले पुस ३० लाई फिल्म प्रदर्शनको अन्तिम मिति तोके । तर हलमा फिल्म प्रदर्शन गर्न नपाउँदै हटाउनुपर्दा यो फिल्म प्रतक्ष मारमा पर्‍यो ।

'निर्माताको हकमा मैले धेरै घाटा व्यहोरेको छु । बैंकको ब्याजको हिसाब गर्दा ७२ लाख घाटा भइसक्यो । म त रुनु र हास्नुको अवस्थामा छु, 'निर्माता कुमारले आफ्नो दु:ख पोखे,'अब फेरि हल कहिले खुल्ने हो । हल खुलिसकेपछि फिल्मलाई चलाउन फेरि ७/८ लाख त प्रचारमै खर्च लाग्छ ।'

आफ्नो फिल्मलाई दर्शकमा देखाउन नपाउनुको पीडामा छन् निर्देशक निकेश खड्का पनि । 'हलमा लागिसकेको हाम्रो फिल्मलाई प्रदर्शन हुन दिनुपर्थ्यो । हल बन्द नै नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । खोप कार्ड देखाएर हल चलाउन सकिन्थ्यो,'खड्काले भने,' हामीले यो फिल्मलाई धेरै मितिमा सारिरह्यौं । फिल्मले राम्रो मिति पाओस्, सो पनि धेरै पाओस् भन्ने सोचेरै फिल्म सार्‍यौं । राम्रो मिति छान्ने सोच्दा-सोच्दै गलतै मिति पर्‍यो ।' उनी हल खुलिसकेपछि पनि राम्रो सो पाउला/नपाउला भन्ने पीरमा छन् ।

हल बन्द हुँदा 'चपलीहाइट ३'भन्दा अगाडि प्रदर्शनमा आएको 'कठपुतली'लाई पनि प्रभाव पर्‍यो । प्रदर्शनरत फिल्म 'कठपुतली'ले चौथो हप्तामा पनि ७० प्रतिशत दर्शक पाइरहेको थियो ।

तर हल बन्द हुँदा फिल्मको प्रदर्शन समय छोटियो । यसले निर्मातालाई असर पारेको फिल्मकी पटकथाकार सम्पदा मल्ल बताउँछिन् । 'तेस्रो हप्तासम्म पनि ७० प्रतिशत अकुपेन्सी थियो । नेपाली फिल्म चल्छ र भन्ने प्रश्न उठिरहँदा हाम्रो फिल्म चलिदियो । दर्शक नआएको भए फिल्म चल्दैनथ्यो । हिन्दी फिल्म नआउँदा हामीले धेरै सो पायौं । हल बन्द नभएको भए चौथो हप्तामा पनि फिल्म लाग्थ्यो । तर त्यसको सिधासिधा असर निर्मातालाई पर्‍यो,'उनले भनिन् ।

दुई वर्षअघि कोभिडले यसरी नै हलमा दीपेन्द्र के खनाल निर्देशित फिल्म 'आमा'को प्रदर्शनलाई पनि असर पारेको थियो । हलमा फिल्म चौथो हप्तामा चलिरहेको थियो । विदेश प्रदर्शनका लागि फिल्मको डिमाण्ड पनि बढ्दै थियो । अझै केही हप्ता फिल्म चल्ने देखिन्थ्यो । तर कोरोना महामारीका कारण हल बन्द भएपछि फिल्म लामो समय हलमा प्रदर्शन हुन पाएन । डायस्पोराबाट आम्दानीको आकलन गरेको एक करोड रकम निर्माताको हातबाट फुत्कियो ।'फिल्मले राम्रै फाइदा उठाउने देखिएको थियो । तर लगानी उठाएर फिल्मले मात्र ३०/३५ लाखको फाइदा उठायो । विदेशबाट राम्रै पैसा आउने देखिएको थियो । विदेश रिलिजबाट एक करोड उठ्ने पक्कापक्की थियो । अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइसकेपछि अन्य देशहरूमा फिल्म चल्न पाएन । आइसकेको पैसा हातबाट फुत्कियो,'निर्देशक खनाल दुखेसो पोख्छन् ।

त्यतिखेर महामारीको प्रत्यक्ष मारमा परेको अर्को फिल्म थियो - 'म यस्तो गीत गाउँछु २' । प्रचारप्रसारको काम सबै सकिएपछि पनि यो फिल्म प्रदर्शनमा आउन पाएन । फिल्म प्रदर्शनको तीन दिन बाँकी हुँदा महामारीले हल बन्द गरायो । त्यसयता महामारीको प्रत्यक्ष असरमा परेको यो फिल्म अझै प्रदर्शन हुन सकेको छैन । 'फिल्मको प्रदर्शन रोकिँदा पौने तीन करोड रुपैयाँ फ्रिज अवस्थामा छ । कोरोनाले सुरुमै असर पार्‍यो मेरो फिल्मलाई,' निर्देशक सुदर्शन सुनाउँछन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी छायांकनमा अड्किएका, पोस्ट प्रोडक्सन र प्रदर्शन पर्खिरहेका लगभग ८२ फिल्मको १ अर्ब ५५ करोड लगानी अहिले धरापमा परेको बताउँछन् । 'हामीले आंकडा निकालेको ८२ फिल्मको लगभग १ अर्ब ५५ करोडको लगानीको फिल्ममध्येमा डेढ करोड(चपलीहाइट ३) त घाटामै गइसक्यो । निर्माताले पोस्टरको पैसासमेत उठाउन पाएनन् । राज्यले पूर्वसूचना नदिँदा यो घटना घटेको हो,'अध्यक्ष अधिकारीले भने,'राज्यले यो ठूलो रकमलाई बचाउन सकेन भने राज्यलाई नै घाटा पर्ने देखिन्छ । कला, सँस्कृति भेषभुषा बचाउने यो क्षेत्रलाई अब राज्यले प्राथमिकता दिएर हेर्नुपर्छ । बन्दै गरेको फिल्म, प्रदर्शनमा रहेको फिल्मका लागि राहतको प्याकेज दिनुपर्‍यो । यो महामारीबाट निर्मातालाई बचायो भने यो क्षेत्र पछि आफैं उठ्न सक्छ ।'

प्रदर्शन तोकेका फिल्म अन्योलमा

महामारीपछि बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी', 'स्पाइडरम्यान : नो वे होम', 'पुष्पा'मा दर्शक ओरिएपछि अधिकांश नेपाली फिल्महरूले फिल्मको नयाँ प्रदर्शन मिति तोके । 'म यस्तो गीत गाउँछु २(माघ १९), 'सम्हालिन्छ कहिले मन'(फागुन २७), 'ए मेरो हजुर ४'(वैशाख १), 'मन्त्र' ‍(माघ २८), 'लप्पन छप्पन'(फागुन १३), 'आकाशे खेती' (फागुन १३), 'चिसो एस्ट्रे' (चैत ४), 'हेल्लो जिन्दगी'(चैत ११), 'पासो' (चैत १८), 'लक्का जवान'(वैशाख), 'कब्बडी ४'(असोज १५), 'चिसो मान्छे'(वैशाख ३०)लगायतका फिल्मले प्रचारप्रसारका लागि ट्रेलर, टिजरदेखि गीतसमेत सार्वजनिक गरिसकेका थिए। तर फेरि हल बन्द भएपछि फिल्मकर्मीहरू प्रदर्शनलाई लिएर अन्योलमा परेका छन् ।

'चपलीहाइट ३'को भोगाइले उनीहरूलाई फेरि सोच्न बाध्य बनाएको छ । 'यस्तो कुनै महामारी आयो भने हाम्रो मनोरञ्जन क्षेत्रलाई नै सबभन्दा पहिला असर गर्छ । अब फेरि ओमिक्रोनको असर छ । आसा गरौं, यसले लामो समय असर नपारोस् । यो भेरिएन्ट लामो समय जान्दैन भन्ने सुनेको छु,' कलाकार एवं पटकथाकार दिपकराज गिरी भन्छन्,'फिल्म हल राम्ररी चल्न थालेको थियो । पुरानै ट्र्याकमा चल्न थालेको थियो । फेरि सोच्न बाध्य गराएको छ । अब तुरुन्तै उठिहाल्दैन, विस्तारै समय लाग्ला । फिल्मको छायांकन गर्ने तयारीमा रहेका, प्रदर्शन तोकिसकेका फिल्महरूलाई गाह्रो बनायो ।'

निर्देशक सुदर्शन थापाले यही माघ १९ गते प्रदर्शनमा आउने तयारी रहेको 'म यस्तो गीत गाउँछु २'को प्रदर्शन स्थगन गरेका छन् । 'कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक काम गर्न बाहेक भीडभाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्नको लागि सूचना जारी गरेकोमा हामीले पनि आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्म फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छौं,' केहीदिनअघि मात्रै निर्देशक सुदर्शनले विज्ञप्ति सार्वजनिक गरेका थिए ।

महामारीकै कारण यसअघि फागुन १३ मा प्रदर्शन गर्ने भनिएको फिल्म 'प्रेमगीत ३'को पनि प्रदर्शन स्थगन भयो । 'हामीले नेपाललगायत मुम्बईका दिग्गज टिमबाट 'प्रेमगीत ३'को पोस्ट प्रोडक्सनको काम सम्पन्न गरेका छौं। फिल्मको प्रदर्शन मिति फागुन १३ लाई लक्षित गरेर विभिन्न प्रचार सामग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं । यसै क्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै फिल्म घरहरू बन्द हुने क्रम बढेको छ,’ सन्तोषले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘त्यसैले नेपाल, भारत र विश्वभर अलग-अलग मितिमा प्रदर्शन नगरी एकैसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले नआत्तिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै त्यो गहकिलो प्रस्तावलाई स्वीकार गरेर अनिश्चितकालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

आर्थिक वर्ष २०७७/०७८ मा ७९ फिल्मले चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिएका छन् । यद्यपि यी ७९ फिल्मको निर्माणमा कोभिडले असर पारेन भन्न सकिँदैन । डायस्पोराको व्यापार बन्द हुँदासमेत फिल्मकर्मीले फिल्म प्रदर्शनको जोखिम मोले । तर हल नै बन्द हुँदा सबै अन्योलमा परेका छन् । 'अब अहिले विदेशबाट कमाउने स्रोत सबै ठप्प छ । अहिले त एकदम जोखिम मोलेर फिल्म प्रदर्शन गर्नुपर्छ । मैले चिसो मान्छे वैशाख ३० लाई राखेको छु । हेरौं त्यतिञ्जेल ओमिक्रोनको प्रभाव घट्ला कि !' निर्देशक दीपेन्द्र के खनालले सुनाए ।

निर्देशक दिनेश राउतले दोस्रो लकडाउनअघि छायांकन सकाएको फिल्म 'प्रकाश' आगामी वर्षमा रिलिज गर्ने सोचेका थिए । तर महामारीकै कारण उनी नयाँ मिति तोक्न सकिरहेका छैनन् । 'हामी त फिल्मको सबै काम सकेर प्रदर्शनको मिति तोक्ने सोचिरहेका थियौं । तर यस्तो अवस्थाले तोक्न सकिरहेका थिएनौं । यो वर्षमा हलमा लगाउने भन्ने थियो । फेरि यसरी महामारी फेरि उचाइमा पुग्ला भनेर सोचेका थिएनौं,'राउतले भने,'समग्रमा यो मनोरञ्जन क्षेत्रलाई महामारीले निकै असर पारेको छ । पहिला बन्द हुने र ढिला खोलिएको क्षेत्र नै यही भयो । त्यही हिसाबले यो क्षेत्रमा आफ्नो करिअर बनाएकाहरूको करिअर ब्याक भयो नि । अब फिल्मको प्रदर्शनबारे सोच्नुपर्ने भएको छ ।'

आशावादी फिल्मकर्मी

बौरिँदै गरेको फिल्म क्षेत्रमा बारम्बार कोरोनाले पारेको प्रभावले फिल्मकर्मी निरास बनेका छन् । 'दु:ख लाग्दो छ । अब त झन् साउथको फिल्म पनि त्यतिकै आउला जस्तो छ । पहिला बलिउड र हलिउडको मिति हेरे पुग्थ्यो नेपाली फिल्मको प्रदर्शन तोक्न । अब साउथको पनि हेर्नुपर्ने भएको छ । अब साउथको एकदम धेरै फिल्म आउला जस्तो छ,'दीपेन्द्र के खनाल सुनाउँछन्,'कति निर्माताको कमाउने अन्य स्रोत छन् । तर मलगायत अन्य फिल्मकर्मी जसको मूल स्रोत नै यो हो । उनीहरूले अहिले आएर अर्को पेशा सुरु गर्न गाह्रो छ । तर यही क्षेत्र यसरी धरासयी बनेको देख्दा डिप्रेसन नै होला जस्तो लाग्छ । यही क्षेत्रलाई बाँच्ने आधार बनाएका फिल्मकर्मीमा एक तहको डिप्रेसन नै छ । अहिले आसा राख्नुभन्दा केही उपाय नै छैन हामीसँग । अब अहिलेको ओमिक्रोन धेरै लामो समयसम्म नरहला भन्ने लाग्छ ।'

दीपकराज गिरीको भनाइ पनि उस्तै छ । भन्छन्, 'जो व्यक्ति फिल्म नै भनेर बसिरहेको छ । जसको फिल्मबाहेक केही छैन त्यस्ता फिल्मकर्मीका लागि पछिल्ला वर्षहरू गाह्रै भयो । उनीहरूको अवस्था राम्रो छैन ।'

त्यसो त महामारीबीच मौलाउनुपर्ने डिजिटल प्लेटफर्म पनि अपेक्षाकृत रुपमा मौलाउन सकेन । यसबीच कति डिजिटल प्लेटफर्म मौलाउनुको सट्टा बन्द नै भए । डिजिटल प्लेटफर्मले निर्मातालाई विश्वास दिलाउन नसक्दा र निर्माताले डिजिटल प्लेटफर्ममा विश्वास गर्न नसक्दा नेपालमा यो प्लेटफर्म मौलाउन सकेन । त्यसकारण पनि फिल्मकर्मी हल खुल्ने समयलाई नै पर्खनु परेको निर्देशक खनाल सुनाउँछन् ।

'भारतमा हल नहुँदा पनि ओटीटी मौलाए तर हामीकहाँ त्यो पनि भएन । हामीले त हल नै कुर्नुपर्‍यो । कन्टेन्ट पनि हल नै लक्षित नै बनाउनु पर्‍यो । अहिले हामी फिल्मकर्मीलाई त एकदम गाह्रै छ । फिल्मको पैसा कसरी उठाउने होला ? आत्यस लागिसक्यो,' खनालले भने । खनाल कोभिडपछि सम्भावना बोकेको फिल्म गर्नुपर्छ कि भन्ने सोचेर 'पशुपति प्रसाद २' बनाउने तयारीमा लागेका छन् ।

निर्देशक दिनेश राउत भने ओमिक्रोनको पारेको असरमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको दाबी गर्छन् । 'ओमिक्रोनले अझै डेढ महिना प्रभाव पार्ला जस्तो छ । त्यसपछि शान्त होला कि! त्यसपछि हलहरू फिल्म आउन थालेपछि दर्शक आइहाल्छन् नि । यसअघि पनि खतम नै भयो भन्ने लागेको थियो । तर नेपाली फिल्ममा पनि दर्शक आउन थाल्नु भएको थियो । त्यसैले केही समय अप्ठ्यारो होला । त्यसपछि सामान्य अवस्थामा हामी फर्कन्छौं भन्ने लाग्छ । त्यसैले आत्तिहाल्नु पर्ने अवस्था छैन ।'

अर्का निर्देशक दीपेन्द्र लामाको धारणा पनि त्यस्तै छ । 'ओमिक्रोनको प्रभाव त छोटो भन्ने समाचार बढिरहेको छु । भारततिर लगातार फिल्मको प्रदर्शन तोकिएको छ । मेरो बिचारमा यसले फिल्म क्षेत्रमा खासै असर नपार्ला । यसपछि नयाँ भेरियन्ट आयो भने चाहिँ अलिकति गाह्रो हुन्छ । यसको डरलाग्दो प्रभाव पार्ला भन्ने देखिन्न । एक महिनाको व्यापारमा असर गर्ला,'उनले भने ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारी महामारीको प्रत्यक्ष मारमा परेका निर्माता सरकारको प्राथमिकतामा हुनुपर्ने बताउँछन् । 'सबैभन्दा मारमा परेको त निर्माता नै हो । निर्माता त एकपटक डुब्यो भने डुब्यो । अहिलेको समयमा निर्माता बचाएन भने हाम्रो घरेलु उद्योग नै धरासायी बन्छ । प्राविधिक, कलाकार, निर्देशकले कसरी बाँच्ने ? यी सबै व्यक्ति पलायन हुने अवस्था आउँछ । निर्माताले समेत देश छोड्ने स्थिति आउन सक्छ,' उनले भने, 'सरकारले महामारीबाट प्रभावित क्षेत्रका लागि कर मिनाहको कुरा ल्याएको छ । तर यी कुरा त फिल्म प्रदर्शन गर्न पाएपछि आउने न हुन् । त्यसैले अहिले यी निर्माताहरूलाई एउटा राहत प्याकेज दिएर कसरी तत्काल बनाउनुपर्छ राज्यले हेर्नुपर्छ ।'

प्रकाशित : माघ ८, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?