सर्‍यो ग्रामी अवार्ड - मनोरञ्जन - कान्तिपुर समाचार

सर्‍यो ग्रामी अवार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — जनवरी ३१ मा आयोजना गरिने भनिएको संगीत क्षेत्रको चर्चित अवार्ड ग्रामीको नयाँ मिति तोकिएको छ ।  कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि आयोजकले अप्रिल ३ लाई लस भेगासमा ग्रामीको ६४ ‍औं संस्करण गरिने जानकारी दिएको हो । 

यसअघि गायक जस्टिन बिबर, बिली एलिस, ओलिभिया रोड्रिगो मनोनयनमा परेको अवार्ड लस एन्जलसमा गरिने तयारी थियो । अब भने लस भेगासको एमजीएम ग्रान्ड गार्डेन एरिनामा अवार्ड कार्यक्रम गरिने बताइएको छ ।

'हामी ग्रामीलाई पहिलो पल्ट लस भेगासमा गर्न अत्यन्त उत्साहित छौं, 'रेकर्डिङ एकेडेमीका प्रमुख कार्यकारी अधिकृत हार्वे मेसनले बताए,'ग्रामीको मिति सारिएसँगै कलाकारहरुले देखाइदिनु भएको साथ र समझदारीको लागि आभारी छौं ।'

कोभिड महामारीकै कारण कार्यक्रमहरु सार्नुपरेको यो पहिलो घटना होइन । फिल्म र टेलिभिजनतर्फ गरिने क्रिटिक्स अवार्ड र प्रोड्युसर्स गिल्ड अवार्ड्सले पनि अर्को मितिमा कार्यक्रम सारेका छन् । यही हप्ता सन्डान्स फिल्म फेस्टिभल पनि भर्चुअली आयोजना हुँदैछ । ग्रामीको एक हप्तापछि अस्कर अवार्ड गरिनेछ । अस्करले अहिलेसम्म मार्च २७ को मितिलाई सारिसकेका छैनन् ।

प्रकाशित : माघ ५, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

पुलिसलाई हराउँदै एपीएफले जित्यो पीएम कपको उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले पुलिसले २१ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको विजयी लक्ष्य पाएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनायो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए । ५४ बल सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दिलिप नाथ २३, आरिफ शेख १२र अनिल साह १० रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्रै खर्चिएका थिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दीपक बोहराले १/१ विकेट लिए ।

यसअघि एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाएका थिए । १५ बलमा ३ छक्का र २ चौका प्रहार गरेका उनले नै एपीएफको रन उकासेका थिए । त्यस्तै लोकेश बमले २७ रन बनाउँदै सन्दीप जोरा र भुवन कार्कीले क्रमश: २४ र १७ रन बनाए ।

पुलिसका लागि सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यस्तै गुल्सन झाले २ विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।


प्रकाशित : माघ ५, २०७८ १३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×