फिल्म

'सुपरहिरो'लाई पछ्याउँदै पर्दामा

रीना मोक्तान

काठमाडौँ — उनी सुपरहिरो फिल्म मन पराउँछन् । फिल्म कलेजको दीक्षान्तका लागि सुपरहिरोकै फिल्म बनाउने सोच्छन् । तर, मेन्टरले कलात्मक फिल्म बनाउन सल्लाह दिएपछि सुपरहिरोको कथा छोडेर गरिबी र दु:ख दर्शाउने फिल्म बनाउन थाल्छन् । फिल्मलाई फिल्म फेस्टिभलमा पनि पठाउनै पर्‍यो !

'सुपरहिरो'लाई पछ्याउँदै पर्दामा

कलात्मक फिल्म बनाउने चक्करमा सुपरहिरो बनाउने उनको जोश, सिर्जना त्यसै हराइसक्छ । अन्तमा फिल्म त बन्छ, तर भित्री मनबाट उनलाई त्यो मनपर्दैन । २२ मिनेट लामो लघु फिल्म 'अ नेपाली सर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल'ले विद्यार्थीका सिर्जनात्मक क्षमतामाथि हाबी भइदिने मेन्टरहरूलाई प्रश्न गर्छ ।

कलात्मक फिल्मको नाममा फर्मुला फिल्मका पछाडि दौडिने फिल्मकर्मीलाई व्यंग्य गर्ने यो फिल्मको प्रदर्शनपछि स्टेजमा देखा परे निर्देशक सजल लोप्चन । साथमा छन् फिल्मका दुई कलाकार । छातीमा छातीपाता, कम्मरमा बेग्लै किसिमको पेटी । स्टार वार्सका एक पात्रको पहिरनमा लोप्चन स्टेज प्रवेश गर्दा पामे फिल्म फेस्टिभलका दर्शक चकित छन् ।

जापानीज कमिक्सका कुनै पात्र फुत्त बाहिर निस्किए झैं उनी स्टेज उक्ले । सुपरहिरोकै कस्ट्युम लगाएका उनले दर्शकको मुड बुझेर भनिहाले,'मलाई सुपरहिरो एकदमै मनपर्छ । फोटो खिच्नुहुनेले मेरो खुट्टा नखिचिदिनुहोला मैले चप्पल लगाएको छु ।' माहोल हाँसोमय बन्यो ।

फिल्मको विद्यार्थी हुँदा यसरी फिल्ममा देखाएजस्तै मेन्टर हाबी भएको कुनै अनुभव छ । यो कथा तपाईंकै भोगाइ त होइन ? छलफलका क्रममा उनलाई सोधियो । उनले यस्तै किसिमको भोगाइ नभोगे पनि अवचेतन रुपमा दबाब महसुस गरेको अनुभव सुनाए । 'फिल्मको विद्यार्थी हुँदा दीक्षान्त हुनका लागि एउटा स्क्रिप्ट र सर्ट फिल्म बुझाउनु पर्ने थियो । स्क्रिप्ट लेख्ने क्रममा म त्यही प्रमुख पात्रकै अवस्थामा पुगें । फिल्ममेकर भएपछि आर्ट फिल्म बनाउनुपर्छ भन्ने कुरा सब-कन्ससली प्रेसर आयो,' लोप्चनले भने, 'पढ्दै जाँदा जुन किसिमको फिल्मको हामीले उदाहरण पाउँछौं । त्यसले सायद दिमागमा दबाब पर्‍यो । कसैले तैंले यस्तो फिल्म बनाउनू भनेर त दबाब दिएनन् । हामीलाई विद्यार्थी जीवनमा कलात्मक फिल्म देखाइयो अनि त्यस्तै बनाउनुपर्छ भन्ने दबाब भइरह्यो ।'

दीक्षान्तका लागि त्यतिबेला उनले स्क्रिप्ट त लेखे । तर चित्त बुझ्दो स्क्रिप्ट नभएपछि उनले कथालाई उल्टाइदिए । दीक्षान्त हुनेवाला एउटा विद्यार्थीले फिल्म बनाउनु पर्‍यो भने कसरी भड्किँदै जाला ? भन्ने कुरा मनमा आयो । उनले त्यही कुरामाथि कथा लेखे अनि नेसनल फिल्म स्कुल एण्ड रिसर्च सेन्टरका नवविजय प्रकाश श्रेष्ठलाई बुझाइदिए । त्यही कथामा बनेको हो - 'अ नेपाली सर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल' ।

सन् २०१७ मा लेखेको यो कथा २०१९ को अन्तिममा फिल्म बनेर आयो । फिल्मलाई यसअघि निफ(नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव) र किम्फ(काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल)मा देखाइएको थियो ।

फिल्म फेस्टिभललाई भरपुर व्यंग्य गरिएको 'अ नेपाली सर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल'लाई फेस्टिभलले सजिलै छनोट गर्छन् त ? प्रश्न गर्दा उनले जवाफमा भने,'हामीलाई त फेस्टिभलमा फिल्म पठाउँदा डर लागेको थियो । जुरीहरूले फिल्मलाई कसरी लिनुहुन्छ होला, रिसाउनु होला कि भन्ने हन्थ्यो । तर पठाइ हेरौं न भनेर हामीले फेस्टिभलहरूमा फिल्म पठायौं । छनोटमा पर्दा मैले भन्न खोजेको कुरा बुझिदिनु भयो भन्ने कुराले सन्तुष्टि मिल्दो रहेछ । फिल्म फेस्टिभलमा फिल्म प्रदर्शन भइसकेपछि राम्रो प्रतिक्रिय पाएँ, खुसी छु ।'

नेपालका फिल्म फेस्टिभलमा फिल्महरूमा विविधता देखिँदैनन् । सजल आर्टको व्याख्यामा नपर्ने फिल्म पनि फेस्टिभलमा देखाइनुपर्ने धारणा राख्छन् । 'अन्तर्राष्ट्रिय फिल्महरू त फरक-फरक विषयमा बनिरहेका हुन्छन्,' उनले भने,'फिल्म फेस्टिभल भनेको फिल्मको उत्सव हो । तर नेपाली फिल्म फेस्टिभलमा किन त्यस्तो हो ? त्यस किसिमको भराइटी देख्दिनँ । आर्ट भनेर नचिनिने वा व्याख्या नगरिने फिल्महरू पनि फेस्टिभलमा आउनुपर्छ भन्ने मेरो सोचाइ हो । कर्मसियल फिल्म पनि आर्ट हुन सक्छ, यदि फिल्ममेकरले मन लगाएर फिल्म बनाएको छ भने ।'

सजल फिल्ममेकरले भित्री मनबाट बनाएको फिल्मलाई 'आर्ट' भन्न रुचाउँछन् । 'आर्ट भनेको त मनबाट जे कुरा आउँछ त्यो हो । अहिले केही सिमित व्यक्ति आर्ट भनेको केही सिमित किसिमको फिल्मलाई मात्र भन्ने बुझ्छन् । त्यस किसिमको बुझाइमाथि मैले फिल्ममार्फत् व्यंग्य पनि गरेको छु,'उनले भने,'आर्ट इज एनिथिङ द्याट कम्स फ्रम हर्ट ।'

नेपाली सुपरहिरो फिल्म

सानैदेखि सुपरहिरोका क्रेजी फ्यान थिए सजल । सुपरहिरोको फिल्म हेर्दै हुर्किए । बाल्यकालमा कमिक्सहरू त हातमा परेनन् । तर टेलिभिजनमा देखिने कार्टुन, सुपरहिरोसँग छुट्टै सम्बन्ध गाँसियो । पर्दामा देखिने पात्रलाई सधैँ नक्कल गर्न खोज्थे उनी । उनलाई पर्दामा देखिने पात्र बन्न मन लाग्थ्यो । सुरु-सुरुमा सुपरम्यान यति मन पराउँथे कि उनी रातो मार्करले नीलो टिसर्टमा 'एस' लेखेर दौडन्थे । अनि घाँटीमा 'टावेल' झुन्डाएर खेल्थे ।

उनका अरु साथी पनि सुपरहिरोका फ्यान हुन् । तर सजल सुपरहिरोका यस्तो फ्यान हुन् जो सुपरहिरोकै कस्ट्युम बनाउन घण्टौं बिताउँछन् । सन् २०१७ मा ओटाकुजात्रा(सुपरहिरो, कमिक्सका कस्ट्युम लगाएर प्रदर्शनी)बारे थाहा पाएपछि उनले कस्ट्युम बनाउन थाले । ओटाकुजात्रामा उनले आफूजस्ता कमिक्स, एनिमेसनका फ्यानहरू भेटे ।

त्यसपछि उनी कस्ट्युम बनाउन झनै हौसिए । सन् २०१८ मा आइरन म्यानको सुट बनाए । 'एभेन्जर्स इन्डगेम'को समयमा उनले क्याप्टेन अमेरिकाको कस्ट्युम बनाएर त्यही पहिरनमा फिल्म हेर्न हल पुगे । 'इन्फिनिटी वार'को बेलामा आइरन म्यानको सुट, क्याप्टेन अमेरिका, डक्टर स्ट्रेन्ज, ब्ल्याक प्यान्थरको कस्ट्युम बनाए । साथीहरूसँगै कस्ट्युम लगाएर हलमा पुगे ।

केही दिनअघि मात्रै 'स्पाइडरम्यान : नो वे होम' हेर्न सबै साथीसँगै स्पाइडरम्यानको कस्ट्युममा उनी हल पुगे । 'फस्ट सो हेर्न फ्यानहरू जाने हुन् । यसरी कस्ट्युम लगाएर फ्यानसँग फिल्म हेर्दा रमाइलो छुट्टै हुन्छ । कतिले सेल्फी लिन्छन् । उत्साह नै बेग्लै हुन्छ,'उनले भने ।

सुपरहिरो फिल्मको प्रदर्शन मिति तोकिने बित्तिकै सजल उत्साहित भइहाल्छन् । फिल्मको प्रदर्शन नजिकिने बित्तिकै यति उत्साहित हुन्छन् कि कस्ट्युम नबनाई बस्नै सक्दैनन् । कतिपटक फिल्मको सुटिङ, सम्पादनको काम थाती राखरै कस्ट्युम बनाए । 'भेनम'को प्रदर्शनको समयमा ३ बजेसम्म एउटा फिल्मको सम्पदान गरेर, बिहानसम्म कस्ट्युम बनाए । कति पटक फिल्मको सुटिङ नै सारिदिएका छन् ।

सजल एक दिन नेपाली सुपरहिरो फिल्म बनाउन चाहन्छन् । सुपरहिरो फिल्मको आइडिया र कन्सेप्ट तयार छ । स्क्रिप्ट चित्त बुझ्यो भने सुपरहिरोमाथि फिल्म बनाउने सोचेका छन् । सजल नेपाली सुपरहिरो फिल्ममा नेपालकै पात्र हुनुपर्ने बताउँछन् ।

'हामीले बनाउने सुपरहिरो फिल्मको पात्र नेपाली सुपरहिरो जस्तो हुनुपर्‍यो । त्यो पात्र नेपालकै हो भन्ने लाग्नुपर्‍यो । स्पाइडरम्यान जुन सहरमा छ उ त्यही सहरका लागि फिट सुपरहिरो हो । त्यो पात्रलाई नेपालमा ल्यायो भने त्यति काम लाग्दैन । त्यही हो, हामीले कुनै सुपरहिरो पात्रको कल्पना गर्छौं भने, नेपालको लोकेसनसँग फिट हुनुपर्छ जस्तो लाग्छ,'उनले भने ।

सुपरहिरो फिल्म बनाउनुपर्छ भन्ने सोचले नै उनी एनिमेसन र भिएफएक्स पढ्न सन् २०१३ मा बैंगलोर पुगे । 'ब्याचर्स इन एनिमेसन एण्ड भिएफएक्स' गरेर सन् २०१६ मा नेपाल फर्के अनि फिल्म मेकिङमै आफूलाई तिखार्ने सोचले नेसनल फिल्म स्कुल एण्ड रिसर्च सेन्टरमा डिप्लोमा पढे ।

सजललाई यस्तो कुनै सम्झना वा घटना याद छैन जसले उनलाई फिल्म मेकिङ नै गर्नुपर्छ भन्ने भयो । बुवा उनलाई कम्युटर इन्जिनियरिङ पढ्न हौसला दिनुहुन्थ्यो । तर १२ को पढाइपछि उनलाई फिल्मी संसार मन पर्न थाल्यो । उनी हरेक शुक्रबार साथीहरूसँग मिलेर बसपार्क पुगेर सस्तोमा डिभिडी किनेर ल्याउँथे । त्यसरी डिभिडी किनेर फिल्म हेर्दा-हेर्दै फिल्मतिरै तानिए । २०२२ को अन्तिमसम्म अर्को फिल्म बनाउने तयारीमा छन् उनी । हाल उनी फिल्म सम्पादन पढाउन र फिल्म बनाउनमै व्यस्त छन् ।

प्रकाशित : माघ ४, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?