कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हल बन्द गरिँदा 'चपलीहाइट ३' मारमा : निर्माता भन्छन् 'खुल्ने बित्तिकै फिल्म लगाउँछौं'

काठमाडौँ — सरकारले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेसँगै प्रदर्शनमा आएको तेस्रो दिनमै 'चपलीहाइट ३'को प्रदर्शन स्थगन गरिएको छ । कोभिड महामारीकै कारण झण्डै २ वर्ष अलमलमा परेको फिल्म फेरि महामारीकै चपेटामा पर्‍यो ।

हल बन्द गरिँदा 'चपलीहाइट ३' मारमा : निर्माता भन्छन् 'खुल्ने बित्तिकै फिल्म लगाउँछौं'

यसअघि २०७६ को चैत २८ मा फिल्म प्रदर्शन गर्ने तयारी थियो । तर चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि निर्माता अर्जुन कुमार फिल्मको प्रदर्शन स्थगन गर्न बाध्य भए ।

यस्तै निर्देशक/निर्माता सुदर्शन थापाको फिल्म प्रदर्शन गर्न तीन दिन बाँकी हुँदा स्थगन भयो । निर्माता कुमारका अनुसार 'चपलीहाइट ३' स्थगन गर्दा झन्डै २ वर्ष १ करोड ५० लाखको लगानी फ्रिज भयो । लामो समयपछि हलमा दर्शक फर्कने छाँटकाँट देखिएपछि प्रदर्शन आँटेका थिए कुमारले । तर विविध कारणले यसबीच फिल्मको प्रदर्शन मिति सरिरह्यो । पुस ३० भने फिल्म प्रदर्शनको फाइल मिति थियो । तर लक्षित दर्शकलाई फिल्म देखाउन नपाउँदै हल बन्द हुँदा उनलाई तनाव थपिएको छ ।

'वर्ड अफ माउथ सुरु भएको थियो । विस्तारै दर्शक आउँदै थिए । तर हामी कोभिडको प्रतक्ष मारमा पर्‍यौं । हल चलिरहेको भए फिल्म चलाइन्थ्यो । तर अब हल नै बन्द भएपछि फिल्म कहाँ देखाउने ? २ वर्षअघि पनि यही स्थिति थियो । अहिले पनि अवस्था त्यस्तै भयो । अहिले कोभिड पनि धेरै नै बढेको छ । मानिसहरु डराएका छन् । डराएकै कारण फिल्म हेर्न आइदिएनन् । मानिसहरु आइदेलान् भन्ने थियो । अब फेरि फिल्म प्रदर्शन गर्दाखेरी दर्शक आउनुहोला भन्ने आसा छ,'निर्माता कुमारले भने।

फिल्म प्रदर्शन अगाडि नै प्रचारमा खर्च गरिसकेको बताउँछन् कुमार । फेरि फिल्म प्रदर्शन गर्दा प्रचारमा उस्तै खर्च बढ्ने भएपछि उनी तनावमा छन् । '१५ गतेबाट हल खुलेपछि फेरि प्रचार गर्नै पर्‍यो । फिल्मको लागि राम्रो प्रतिक्रिया पाएको छु । त्यसैले प्रचार गर्ने आँट आएको छ । यस्तो अवस्थामा हल खोल्नुपर्छ भन्ने झण्डा बोक्दै हिँड्नु भएन । अब सरकारको नियम मान्नुको विकल्प छैन । आसा छ बन्द भएका हल चाँडै खुल्नेछन्,'कुमारले सुनाए,'मैले राम्रो मितिका लागि फिल्मलाई कति सारें । धेरै भागें, तर धेरै भाग्न सकिन । आखिर मारमा परियो । आर्थिक भार थपिएको छ ।'

निर्देशक निकेश खड्का यसरी फिल्म हल बन्द गरिहाल्न नहुने तर्क गर्छन् । 'वर्ड अफ माउथबाट दर्शक आउन सुरु भएको थियो । हल बन्द नै नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । खोप कार्ड देखाएर हल चलाउन सकिन्थ्यो । दिल्लीमा हल बन्द भयो । तर मुम्बईमा हल चलिरहेका छन् । हामीकहाँ पनि केही वैकल्पिक बाटो निकालेको भए हुन्थ्यो । तर यस्तो निर्णय आएपछि मान्नै पर्‍यो,'खड्काले भने,' हामीले यो फिल्मलाई धेरै मितिमा सारिरह्यौं । फिल्मले राम्रो मिति पाओस्, सो पनि धेरै पाओस् भन्ने सोचेरै फिल्म सार्‍यौं । राम्रो मिति छान्न सोच्दा सोच्दै गलतै मिति पर्‍यो ।'

म्युजिक भिडियोको निर्देशनमा सक्रिय निर्देशक खड्का हल खुलिसकेपछि फिल्मले राम्रो शो पाउला/नपाउला भन्ने पीरमा छन् । 'तीन दिन मात्र फिल्म चल्नु त हाम्रो दुर्भाग्य नै हो । मेरो फिल्म मैले देखाउनै पाइनँ । तर अर्को पटक हल खुल्यो भने कसरी प्रदर्शन गर्ने होला ! तीन दिन चलिसकेको हुनाले त्यही हिसाबमा हलले शो दिने होला । अहिलेसम्म फिल्म कसरी चलाउने भन्ने नै निश्चित भइसकेको छैन । हामी टिममा बसेर छलफल गर्छौं,' उनले भने । उनी फेरि फिल्म प्रदर्शन गर्नुपरे प्रचारमा ४/५ लाख खर्च लाग्ने बताउँछन् ।

अधिकांश हल आइतबारदेखि बन्द भएका छन् । हल बन्द गर्नेबारे भने हलवालाको छाता संगठन चलचित्र संघले केही निर्णय गरिसकेको छैन । हलवालाले हलमा फिल्म देखाउन बन्द गरिसकेका छन् । तर चलचित्र संघबाट कुनै ठोस निर्णय नआउँदा उनीहरू हल बन्द गर्ने वा नगर्ने अलमलमा छन् । 'अहिले हामीले फिल्महरू होल्डमा राखेका छौं । हल बन्द गर्ने/नगर्ने भन्ने कुरा संघबाट आइसकेको छैन । अब फिल्म नचलाउनु भनेको त हल बन्द गरेको जस्तै भइहाल्यो नि,'क्युएफएक्सका कार्यकारी अधिकृति रोशन अडिगाले भने ।

प्रकाशित : माघ ३, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?