कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'चपलीहाइट-३' : क्राइम थ्रिलरमा निकेशको औसत प्रयास

रीना मोक्तान

काठमाडौँ — ब्रान्ड बेचेर कमाउनु सिक्वेल फिल्महरूको प्रमुख उद्देश्य नै भएको छ । 'लुट', 'कबड्डी', 'नाइ नभन्नु ल', 'ए मेरो हजुर', 'छक्कपञ्जा'का सिक्वेल व्यापारिक नाफाकै लागि बने । कतिले व्यवसायिक सफलता पाए, कसैले प्रचारको खर्च उठाउन पनि सकेनन् ।

'चपलीहाइट-३' : क्राइम थ्रिलरमा निकेशको औसत प्रयास

गायनबाट निर्माणमा होमिएका अर्जुन कुमारले पनि 'चपलीहाइट'को ब्रान्ड बेचेर 'चपलीहाइट २' बनाए । तर फिल्मले न 'चपलीहाइट'ले झैं प्रशंसा कमायो न पैसा । कोभिड महामारीकै कारण झन्डै २ वर्ष अलमलमा परेको फिल्महरूको सूचीमा पर्छ -'चपलीहाइट ३' । अनन्त: क्राइम थ्रिलरमा आधारित यो फिल्म यो शुक्रबारदेखि हलमा प्रदर्शनमा आयो ।

दक्षिण भारतीय फिल्मका अल्लु अर्जुनको 'पुष्पा'सँग भिड्नुपर्दा निर्माण टिमले 'चपलीहाइट ३'को प्रदर्शन पुस १५ का लागि सारे । तर त्यही मितिमा 'कठपुतली'ले पहिल्यै प्रदर्शन तय गरिसकेका हुनाले यो फिल्म पुस ३० मा सर्‍यो । यसबीच आउने भनिएको बलिउडको प्रतिक्षित फिल्म 'आरआरआर'को प्रदर्शन पनि सरेपछि भने यी दुई नेपाली फिल्मले ढुक्कको सास फेर्न पाए ।

राम्रा बलिउड र हलिउड फिल्म नभएपछि क्युएफएक्सले पनि सजिलै शो दिने गर्छन् । तर हलमा शो पाउनु नै मुख्य कुरा होइन, फिल्मको कन्टेन्ट कत्तिको बलियो छ, त्यसैले पाएको शो बढ्ने/घट्ने निर्धाण हुन्छ ।

निकेश खड्का निर्देशित यो फिल्मको कन्टेन्ट भने अन्य सिरिजभन्दा माथि उक्लेको छ । क्राइम थ्रिलर हेरिरहने दर्शकका लागि कथा नौलो छैन । तर फिल्मको प्रस्तुतिकरणले 'चपलीहाइट ३'लाई अन्यभन्दा केही हदको राम्रो बनाएको छ । कति कुरा पहिल्यै नै अनुमान गर्न सकिने भए पनि सस्पेन्स र थ्रिलरले १ घण्टा ४६ मिनेटसम्म दर्शकलाई फिल्मले बाँधेर राख्छ । यसअर्थमा निर्देशक निकेश खड्काको निर्देशनलाई 'वाह' भन्न नसके पनि नराम्रो भनिहाल्न सकिँदैन ।

एक दिन क्लबबाट फर्कने क्रममा श्रद्धा रायमाझी (स्वस्तिमा खड्का)को गाडी 'चपलीहाइट'मा पुगेर बिग्रन्छ । तीनजना युवा सहयोग गर्न आउँछन् तर उनीमाथि दुर्व्यवहारको प्रयास हुन्छ । उनलाई पच्छ्याउँदै चपलीहाइट पुगेका धनाढ्य व्यापारीका छोरा 'पारस'(आमिर गौतम) त्यहीँ मारिन्छन् । घटना प्रहरीकहाँ पुग्छ । व्यापारीका परिवारले ती तीनजनाको खोजी सुरु गर्छ । व्यापारीका परिवारले प्रहरीमा नराम्रो छवि बनाएका एक इन्सपेक्टर (महेश त्रिपाठी)लाई ती तीनलाई खोज्न मोटो रकममा किन्छन् ।

व्यापारी, प्रहरी र मिडिया जोडिएपछि घटनाले अर्कै रुप लिँदै जान्छ । 'पारस'को हत्यारा पत्ता लगाउन प्रहरीको कदम कस्तो होला, त्यो घटनामा प्रहरीलाई श्रद्धाले कसरी सहयोग गर्लिन् ? ती तीनको पहिचान कसरी होला ? भन्ने प्रश्नको जवाफ 'चपलीहाइट ३' हेरेपछि पाइन्छ ।

निर्देशकले इमान्दार भएर फिल्मको कथा भन्न खोजे पनि केही कुरामा फिल्मको कथा चिप्लिएको छ । कति मसिना तर महत्वपूर्ण कुरालाई ध्यानै दिइएको छैन । क्लबको एउटा दृश्यमा फिल्मको साउन्ड 'जर्क' सुनिन्छ । सामान्य सइले स्कर्पियो चढेको देखाइएको छ । प्रिया(सुपुष्पा भट्ट)ले क्लबको दृश्यलाई दोहोर्‍याइरहँदा उनले लगाउने पहिरण भने उस्तै देखाइँदैन । एउटै घटनामा किन पहिरन फेरियो भन्ने कुराको कारण प्रष्ट छैन । क्लबको दृश्य दोहोर्‍याइरहँदा श्रद्धाको पहिरन भने एउटै हुन्छ ।

फिल्मको अर्को दृश्यमा इन्स्पेक्टरलाई उनको टुकटुके फोनमा 'ससपेक्टर'को फोन आउँछ । तर इन्सपेक्टरले आफ्नो फोनमा आएको कल उठाउन श्रद्धालाई दिन्छन् । सस्पेक्टरले श्रद्धालाई नै प्रत्यक्ष मोबाइलमा फोन नगरेर किन इन्सपेक्टरमार्फत् गरे भन्ने कुराको कुनै लजिक फिल्ममा भेटिँदैन ।

फिल्मका यी सब दृश्यलाई 'फिल्म लिबर्टी' भनेर पक्कै दर्शकले पत्याउँदैनन् । पटकथामा कमजोरी थुप्रै छन् । संवादमा मेहनत आवश्यक थियो । श्रद्धा र आश्रमकी बहिनीको सम्बन्धलाई विश्वासिलो ढंगले स्थापना गर्न फिल्म चुकेको छ । कथाको प्रमुख गुदी अड्किएको विषयमै लापरवाही देखाएपछि दोस्रो हाफमा दर्शकलाई फिल्ममा अडिरहन गाह्रो पर्छ ।

थ्रिलर र सस्पेन्स सिर्जना गर्नतिरै ध्यान दिँदा प्रिया हराएको कुरा लामो समयसम्म दर्शकले बिर्सिसक्छन् । अर्थात् यसले कुनै उत्सुकता दिँदैन । यद्यपि प्रियाको कथालाई हतार-हतार अन्य दृश्यसँग तालमेल मिलाउन खोजेको देखिन्छ । प्रियासँगकै अर्को दृश्यमा भने श्रद्धा भक्कानिन्छिन् । तर उनी दुईबीचको सम्बन्ध नै प्रष्ट नहुँदा फिल्ममा उक्त दृश्यले खासै अर्थ राख्दैन । उक्त दृश्य नै क्लिसे छ ।

त्यस्तै, अचानक श्रद्धाको निकट हुन खोजेका प्रहरी सइको व्यवहार पत्याइहाल्न सकिने किसिमले लेखिएको छैन । नराम्रा छवि देखाइएका इन्स्पेक्टरले श्रद्धामाथि तुरुन्तै विश्वास गर्नु, अनि व्यवहारमा झट्ट बदलाव ल्याउने कुरा राम्रोसँग स्थापना गर्न नसक्दा कथालाई दर्शकले महसुस गर्न सक्दैनन्।

दोस्रो हाफपछि फिल्म सक्ने हतारमा क्लाइमेक्स नै बिग्रिएको छ । क्लाइमेक्समा जति तनाव सिर्जना हुन्छ त्यसले उत्साहको स्तरलाई त्यही उचाइमा पुर्‍याइदिन्छ । तर क्लाइमेक्समै पटकथाकारले फिल्म सक्न हतार गरिदिँदा 'चपलीहाइट ३'ले त्यो तनाव सिर्जना गर्दैन जुन अक्सर क्राइम थ्रिलर फिल्महरूमा देख्न सकिन्छ । क्लाइमेक्समै फिल्म बिग्रिएपछि फिल्म सतही बन्न पुग्छ ।

यसकारण 'चपलीहाइट ३'को क्लाइमेक्स खल्लो र क्लिसे छ । डिएसपी(दीपाश्री निरौला)को चरित्रलाई खासै महत्व दिइएको छैन । जे होस्, देखाउन खोजिएको थ्रिलर र सस्पेन्स अनि कलाकारको अभिनयले फिल्मका कमजोरीसँग दर्शक सम्झौता गर्न बाध्य बन्छन् ।

इन्सपेक्टरको भूमिकामा कलाकार महेश त्रिपाठीको अभिनय भने प्रशंसनीय छ । दाम्पत्य जीवनको समस्या, कामप्रतिको जिम्मेवारी र चुनौतिलाई उनले आफ्नो अभिनयबाट इन्स्पेक्टरको पात्रमा बाँचिदिएका छन् । श्रद्धाको भूमिकामा स्वस्तिमाले आफ्नो अब्बल अभिनय देखाएकी छन् । केही ठाउँमा लाउड लागे पनि 'बुलबुल'को अभियनलाई उनले बिर्साइदिएकी छैनन् ।

अभिनेत्री लक्ष्मी बर्देवाले भने छोटो अवधिको दृश्यमै आफ्नो अभिनय कौशल पुष्टि गरेकी छन् । उनले आफ्नो भूमिकालाई इमान्दार भएर निर्वाह गरेकी छन् । सुपुष्पाको अभिनय 'रणवीर'मा देखिएको भन्दा फरक छैन । उनको चरित्रलाई ग्ल्यामरकै लागि देखाइएको छ । दीपाश्रीले सानो भूमिकामा पनि आफ्नो चरित्र असल तरिकाले निभाएकी छन् ।

तर उनको भूमिका नै प्रष्टसँग लेखिएको छैन । डिएसपीजस्तो व्यक्तिको भूमिकालाई घटनामा एकपटक मात्र चासो राखिएको देखाइएको छ । अर्पन थापाको अभिनय तारिफलायक नै छ । फिल्ममा साउन्डको काम उत्कृष्ट छ । उत्तम न्यौपाने 'सिएएस'को साउन्डले फिल्ममा नै थ्रिलर सिर्जना गर्न महत्वपुर्ण भूमिका खेलेको छ । साउन्डमा उनले देखाएको प्रखरता प्रशंसाको विषय हो ।

प्रकाशित : पुस ३०, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?