बर्लिन र रोट्रड्याममा नेपाली फिल्म

काठमाडौँ — यो वर्ष तीन नेपाली फिल्मले चर्चित फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाउन सफल भएको छ । दीपक रौनियार निर्देशक लघु फिल्म 'फोर नाइट्स' बर्लीनाली सर्ट फिल्म प्रतियोगितामा छनोटमा पर्दा निरञ्जन भेटवाल र सुनील पाण्डेको दुई फिल्म पनि इन्टरनेसनल फिल्म फेस्टिभल रोट्रड्याममा छनोटमा पर्‍यो । 

बर्लिन र रोट्रड्याममा नेपाली फिल्म

'गोग्राह फिल्म कार्यशालाका मेन्टर एवं निर्देशक दीपक रौनियार निर्देशित 'फोर नाइट्स' बर्लिनाली सर्ट्स अन्तर्गत छनोटमा परेको छ । दीपक रौनियार निर्देशित यो फिल्ममा दयाहाङ राई र आशा मगरातीको अभिनय छ । हामी निकै उत्साहित छौं,'‍ गोग्राहले सामाजिक सञ्जाल फेसबुमार्फत जानकारी दिएको छ ।

यो फिल्म बर्लिनाली फिल्म सर्ट प्रतिस्पर्धामा प्रिमियर हुने बताइएको छ । निरञ्जन र सुनिलले केही समयअघि मात्रै रोट्रड्याममा आफ्नो फिल्म छनौटमा पर्दाको खुसी साटेका थिए । रोट्रड्यामको 'सर्ट एण्ड मिड-लेन्थ' अन्तर्गत छनौटमा परेको निरञ्जन निर्देशित १३ मिनेटको 'अनहद'मा पितृ बोलाउने प्रथामा आधारित छ । फिल्मको कथा निरञ्जनको व्यक्तिगत कथा पनि हो, जसमा उनले पितृ बोलाउँदा आफूले अनुभव गरेको कुरालाई समेटेका छन् ।

'समाजमा धेरैले पितृ बोलाउने काम आज पनि गर्छन् । त्यहीमाथि कथा बनाएँ,' ३३ वर्षीय निरञ्जनले भने । निरञ्जनको यो तेस्रो लघु फिल्म हो । यसअघि 'काफल पाक्यो', 'मडारिएको नीलो धुँवा' बनाएका उनको 'साक्षी रुख' बर्लिनाली फिल्म फेस्टिभलअन्तर्गतको 'सर्ट फर्म स्टेसन'मा छनौटमा परेको थियो ।

सुनील पाण्डेको 'बाघथान'मा ८५ वर्षको वृद्धाको कथा हो । कसरी उक्त वृद्धाको परिवार बसाईंसराइ गर्न बाध्य हुन्छन्, त्यो अवस्थामा उनले अनुभव गर्ने कुरा नै उनले 'बाघथान'मा देखाएका छन् । 'आफ्नो कामको प्रशंसा पाउँदा त खुसी लाग्दो रहेछ । एउटा फिल्मकर्मीका लागि आफूले व्यक्त गर्ने कुरा नै प्रमुख हुन्छ । व्यक्त गरेको यस्तो लघु फिल्मलाई त फिल्म फेस्टिभलमै पठाउने हो । फिचर फिल्म भएको भए हलमा देखाइन्थ्यो,' सुनीलले सुनाए ।

सन् २००६ मा उनले आफ्नो अस्कर कलेजमा आफ्नो दीक्षान्तका लागि बनाएको 'अनन्त यात्रा' ३५ भन्दा बढी देशमा देखाइएको थियो । अहिले उनी फिचर प्रोजेक्ट 'डियर वाइफ'को काममा व्यस्त छन् ।

प्रकाशित : पुस ३०, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?