नेपालमा गुमनाम विश्वमा चर्चित : लोफाइ आर्टिस्ट सगुन- मनोरञ्जन - कान्तिपुर समाचार

नेपालमा गुमनाम विश्वमा चर्चित : लोफाइ आर्टिस्ट सगुन

रीना मोक्तान

काठमाडौँ — उनी घरमै बसेर संगीत निर्माण गर्छन् । संगीतको विधा – लोफाइ । नेपाल बसेर विश्व दर्शकबीच चर्चित बनेका उनी आरआइएए (रेकर्डिङ इन्डस्ट्री एसोसियसन अफ अमेरिका सर्टिफेकसन)बाट पाउने प्लाटिनम कुर्दैछन् ।

विश्वका चर्चित संगीतकार, गायक/गायिकाले प्राप्त गरेको यो रेकर्डका लागि उनको 'आइल किप यु सेफ'ले सबै मापदण्ड पूरा गरिसक्यो । लोफाइमार्फत विश्व संगीतमा आफ्नो पहिचान बनाउन सफल उनलाई नेपालमा भने खासैले चिन्दैनन् । नेपालमा गुमनाम, तर विश्वमा चर्चा कमाइरहेका लोफाइ आर्टिस्ट हुन्, सगुन खड्का ।

यथार्थमा २२ वर्षीय सगुन एक 'अन्डरग्राउन्ड आर्टिस्ट' हुन् । न त उनी कमेन्ट र लाइकका लागि सामाजिक सञ्जालतिर आफ्नो तस्बिर पोष्ट्याउँछन्, न खुलेर संगीतको चालु बजारमा आउन रुचाउँछन् । उनले सिर्जना गर्ने संगीत (बिट/ट्र्याक) नै उनको पहिचान हो । सगुनलाई सुन्नेहरू थोरै छन् । तर जति छन्, सबैले एउटै एनिम तस्बिरबाटै उनलाई चिन्छन् ।

'थाहा छैन किन मलाई खुलेर आउन मन लाग्दैन । तर मलाई सधैँ पछाडि नै बसेर काम गर्न मन लाग्थ्यो । कसैले थाहा नपाए पनि मलाई पछाडि बसेर नै काम गर्न मनलाग्छ । सायद आगामी दिनमा खुलेर आउन पनि सक्छु,' मुसुक्क मुस्कुराउँदै सगुनले सुनाए ।

संसारका संगीतप्रेमीहरू आराम, तनावमुक्त हुन लोफाइ सुन्ने गर्छन् । धुमधाम नचाउने वा रुवाउने बिटभन्दा यो संगीतमा ध्वनीको प्रयोग निकै धिमा, बिगरिएको रेकर्डिङ झैं सुनिन्छ । सन् १९८० र १९९० दशकमा लोफाइलाई व्यावसायिक संगीतभन्दा अर्गानिक मानिन्थ्यो । तर सन् २०१३ तिर लोफाइ कलाकारले युट्युबतिर यो संगीतलाई राख्न थालेसँगै युवा पुस्तामा यो विधा लोकप्रिय बन्यो । सन् २००४ को एनिमेटेड सिरिज 'सामुराइ चाम्पलु'ले त लोफाइ र एनिमेसनलाई अन्तरसम्बन्धित नै बनाइदियो । लोफाइको दुनियामा सगुनको फड्को गर्वको विषय हो ।

सगुन, ज्याजको इन्स्ट्रुमेन्ट र हिपहपको ड्रम मिक्स गरेको संगीतलाई 'लोफाइ' भन्ने गर्छन् । भन्छन्, 'लोफाइ जेलाई पनि भन्न मिल्छ । धेरै व्यक्तिको फरक-फरक मत हुन सक्छ यो संगीतलाई लिएर, तर लोफाइ सुन्दा जुन अनुभव हुन्छ त्यो महत्वपूर्ण हो । धेरै व्यक्ति संगीतलाई क्लियर राख्न खोज्छन् तर हामी साउन्डको क्वालिटी 'लो' बनाउँछौं । लोफाइ सुन्दा अर्कै ठाउँमा पुर्‍याओस् भन्ने उदेश्यले ।'

छोटो समयमै सगुनले संगीतमा आफ्नो नाम बनाइसके । भिएस निकेतनमा १२ पढ्दै गर्दा उनी र्‍यापर जेकोललाई सुन्थे । जेकलका गीतहरूमा आफैंलाई पाउँथे । जेकोलका हिपहप असाध्यै मनपर्ने । जेकोलका अन्तर्वार्ता खोजी खोजी हेर्न थाले । एक अन्तर्वार्तामा जेकलले आफैं संगीत सिर्जना गर्ने गरेको कुरा सुनेपछि उनी झनै प्रभावित बने ।

जेकोलले युट्युबमा संगीत सिर्जना गरेको भिडियो राखेका रहेछन् । उनलाई पनि संगीतका बिट/ट्र्याक बनाउन मनलाग्यो । युट्युबबाट ट्युटोरियलतिर संगीत सिर्जना गर्न सिके । यसरी बिटहरू सिर्जना गर्दै सगुन लोफाइतिर ढल्किए ।

त्यो समय कम्प्युटरमा झुन्डिरहन्थे सगुन । कम्प्युटर धेरै गेम खेल्न बसेको भन्दै परिवारको गाली खान्थे । उनी गेम त खेल्थे, सँगसँगै युट्युबतिर संगीत सिर्जनाका तरिका सिक्थे । सन् २०१७ मै उनले पहिलोपटक रिदम भन्ने इपी(४-७ वटा ट्र्याक) सार्वजनिक गरे । आफ्नो पहिलो इपी उनलाई साह्रै मनपर्‍यो । युट्युबबाटै सार्वजनिक गरिदिए । रिदमले नसोचेको प्रतिक्रिया बटुल्यो । उनलाई झनै बिट सिर्जना गर्न उत्साह थपियो । उनले उक्त इपीलाई एक हप्तामै तयार पारेका थिए ।

सुरुआतमा सगुनले संगीत सिर्जना मात्र गर्थे । विस्तारै अरुको भोकल स्याम्पल गर्न थाले । अरुलाई गीत गाउन लगाएर त्यसमा ट्र्याक/बिट बनाउन थाले । कसैले गाइसकेको गीतलाई रिमिक्स बनाएर पनि बिटमा ढाले । गायनमा भन्दा संगीत सिर्जनामै रुची बढ्न थाल्यो । उनी नि:शुल्क भेटिने अडियो स्याम्पलमा बिट/ट्र्याक बनाउँछन् । कहिले आफैं स्याम्पल बनाइरहेका हुन्छन् । जे होस्, सगुनलाई स्पोटिफाइमा मासिक रुपमा १२ लाख बढी दर्शकले सुन्छन् ।

यसबीचमा सगुनले साइलो डायनास्टी, कार्ल, क्यालीलगायतसँग पनि सहकार्य गरेका छन् । बिट/ट्र्याक बनाउन सिक्ने क्रममै एक दिन साइलोले युट्युबमा सार्वजनिक गरेको कभर गीत सुन्न पुगे 'आइ विल किप यु सेफ' । गीत सुन्ने बित्तिकै उनलाई मनपर्‍यो । यही गीतमाथि उनले लोफाइ सिर्जना गर्‍यो । यही संगीतलाई सुनेर एकदिन अमेरिकाको एक रेडियोबाट उनलाई फोन आयो । रेडियोले उनको गीत बजाउन अनुमति माग्न सम्पर्क गरेका रहेछन् । त्यसैक्रममा त्यही रेडियोमार्फत एप्पल म्युजिकमा काम गर्ने प्रोफेट भन्नेसँग उनको चिनाजानी भयो ।

त्यतिखेरसम्म उनी आफ्नो संगीतलाई साउन्डक्लाउड र युट्युबमा मात्र सार्वनजिक गर्थे । तर प्रोफेटले नै उनलाई एप्पल म्युजिकमा गीत सार्वजनिक गर्न सल्लाह दिए । उनैले लन्डनको एप्पलसँग सम्बन्धित संगीत वितरण कम्पनी 'प्लटन'सँग उनको कुरा चलाइदिए । प्लटोनले उक्त ट्र्याकलाई एप्पल र स्पोटिफाइमा राखिदिए । त्यतिबेला उनलाई लाग्यो, 'म्युजिकमा मेरो करिअर रहेछ।'

प्लटोनसँग आवद्ध भएसँगै सगुनका संगीत डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूमा बज्न थाले । एप्पल, स्पोटीफाइ, डिजर, टाइडलमा विश्वले आफ्नो संगीत सुनेर मन पराइदिँदा सगुन आफूलाई भाग्यमानी ठान्छन् । 'ओहो मेरो म्युजिक पनि यति धेरैले सुन्छ है भन्ने कुराले एकदमै खुसी लाग्छ । विश्वासै लाग्दैन कहिले त ,'उनले भने । उनी युट्युबमा पनि आफ्नो संगीत सिर्जना राखिरहेका हुन्छन् ।

तर धेरैले एप्पल र स्पोटीफाइमै गीत मन पराइदिन्छन् । 'आइ विल किप यु सेफ' स्पोटिफाइमा १३ करोड बढी पटक स्ट्रिम भएको छ भने 'आइ एम ड्रंक एण्ड कन्फ्युज्ड' २ करोड पटक स्ट्रिम भएको छ । सबैभन्दा धेरै सुनिएको 'आइ विल किप यु सेफ'लाई युट्युबमा ५ करोडभन्दा बढी भ्युज प्राप्त छ । युट्युबमा धेरै मनपराएको 'ट्रस्ट नोबडी लभ, नोबडी द सेम'मा पनि उनले साइलोसँगै सहकार्य गरेका थिए ।

२ करोडभन्दा बढी भ्युज प्राप्त यो ट्र्याक युट्युबमा मनपराइदिएको अर्को संगीत हो । ट्र्याक/बिट बनाउनु सगुनको लागि कम्युटरमा खेल खेलेजस्तै हो । 'संगीत बनाउनु त खेल खेलेको जस्तै हुन्छ । कर्डहरू बजायो, स्याम्पलहरूसँग खेल्यो । म धेरै संगीत बनाउँछु । मैले १० ट्र्याक बनाउँछु भने एउटा ट्र्याक सार्वजनिक गर्छु । यो एक किसिमले संगीतसँग खेले जस्तै हो,'उनले भने ।

उनी सार्वजनिक गर्ने ट्र्याकलाई २० पटकसम्म दोहोर्‍याएर सुन्छन् । उनी कम्युटरकै वाद्यवादन मात्र होइन कहिलेकाहीँ साथीहरूलाई बजाउन लगाएर पनि लोफाइ संगीत सिर्जना गरिरहेका हुन्छन् । फिदर्समा त्यही अभ्यास गरिएको थियो ।

लोफाइमा सगुन एनिमेसन प्रयोग गर्छन् । उनका संगीतका लागि स्टुडियो सोअफले एनिमेसन तयार पारिदिन्छन् । उनी एनिमेका क्रेजी फ्यान । चाइडिस ग्यामबिनोका लागि एनिमेसन बनाइसकेका यो स्टुडियो पछिल्लो समय उनका ट्र्याकमा एनिमेसन गर्ने जिम्मा लिएका छन् । उनी आफ्नो संगीतलाई बुझ्न एनिमेसनले सहयोग गर्ने हुँदा त्यसको प्रयोग गर्दै आएको सुनाउँछन् । 'त्यो संगीत सुन्दा एनिमेसनले बुझ्न धेरै सहयोग गर्छ जस्तो लाग्छ । एनिमेसनले अझ बढी दर्शकलाई संगीतलाई अनुभव गर्न सक्छन् । संगीतले पुर्‍याउने त्यो ठाउँमा एनिमेसनले लाग्छजस्तो लाग्छ,'उनले भने ।

अमेरिका जाने तयारी

सगुनका म्यानेजर अमेरिकाकै हुन् । उनी आवद्ध वितरक कम्पनी लन्डनमा छ । उनी आफ्नो टिमसँग बसेर काम गर्न छिट्टै अमेरिका जाने तयारीमा छन् । 'मलाई उतै गएर काम गर्दा सजिलो हुन्छ कि । त्यता अवसर पनि धेरै छन्,'मैले फिदर्सको इपी लन्डनमै बनाएको थिएँ । त्यहाँ २ हप्ताका लागि गएको थिएँ । २ हप्ता काम गर्दा मलाई सबैजनासँग सँगै बसेर काम गर्दा उर्जा थपियो । सजिलो पनि भयो । त्यसैले मलाई टिममा बसेर काम गर्न पनि उता जाने सोच्दैछु । मलाई बाहिर गएर एक्लै बस्ने अनुभव पनि गर्नु छ । सायद धेरै अनुभव गर्नेछु । त्यहाँ गएर काम गर्दा धेरै कुरा सिक्छु भन्ने लागेको छ ।'

भक्तपुरको बोडेमा बस्दै आएका सगुन अधिकांश समय एक्लै बिताउँछन् । संगीत सिर्जना गर्न कोठाभित्रै समय बिताउनु उनको लागि नौलो होइन । ६ महिनाअघि मात्रै इस्लिङ्टन कलेजबाट मल्टिमिडियामा स्नातक गरेका उनी नयाँ अनुभव र सिकाइका लागि अमेरिका पुग्न चाहन्छन् ।

आफ्नो जीवन नै संगीतलाई दिने सपना देखेका सगुनलाई उनको परिवारको भरपुर साथ छ । 'म अझै संगीतबारे सिक्न मन छ । धेरै इन्स्ट्रुमेन्ट बजाउन मन छ । धेरै व्यक्तिहरू भेट्न मन छ । धेरै संगीत बनाउन मन छ । मेरो जीवन नै संगीतलाई दिन चाहन्छु । यही इन्डस्ट्रीमा पनि मलाई रहनुछ,'उनले भने,'म लोफाइभन्दा पनि अन्य विधाको संगीत पनि गर्न चाहन्छु । हिपहप आर एण्ड बी गर्न मन छ । फिदर्स पनि लोफाइ र आर एण्ड बी गरे । अब मलाई र्‍यापरहरूसँग काम गरेर हिपहप निकाल्नु मन छ ।'

'स्पटलाइट'मा आउन नचाहने सगुनलाई नेपालमै पनि धेरैले पच्छ्याउँछन् । तर खुलेर नआउँदा उनलाई धेरैले चिन्दैनन् । उनले अहिलेसम्म नेपाली गायक/गायिकासँग काम भने गरेका छैनन् । तर आफूलाई मनपर्ने गायक सज्जनराज वैद्य, यावेश थापा, ओएसिस थापासँग भविष्यमा सहकार्य गर्ने इच्छा भएको सगुन सुनाउँछन् । संगीतको अत्यधिक बिक्रीबापत प्राप्त गर्ने प्लाटिनम पाउने पक्का भएपछि फुरुङ्ग सगुन नेपालमा संगीत गरेर जीउन गाह्रो भए पनि कलाकारले संगीतमै मेहनत गर्दा जीवन गुजारा गर्न सकिने विश्वास गर्छन्।

प्रकाशित : पुस २३, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

कमजोर पटकथाको नतिजा 'कठपुतली' : थ्रिलर न कथार्सिस

रीना मोक्तान

काठमाडौँ — उ कहिले खोला किनार पुग्छ, कुनै युवतीले बुवालाई खोलाभित्र डुबाएको देख्ने बित्तिकै झसंग निन्द्राबाट ब्युँझन्छ । फेरि कतै नाचगान भइरहेको ठाउँमा पुग्छ अनि नाच्दै गरेका युवतीहरूले आफ्नो घाँटी थिच्न आएको देख्ने बित्तिकै आँखा उघारिन्छ ।

फेरि कतै पुग्छ तर आँखा खोल्दा आफूलाई ओच्छ्यानमै पाउँछ । सजिलै अनुमान गर्न सकिने, अनि दोहोरिरहने यस्तै दृश्य(जस्तै, कपाल काट्ने दृश्य पनि)ले प्रमाणित गर्छ 'कठपुतली : द पपेट'को पटकथा कति कमजोर छ भन्ने ।

पटकथालाई फिल्मको मेरुदण्ड मानिन्छ । तर मेरुदण्ड नै कमजोर भए फिल्म कस्तो बन्ला ? 'कठपुतली' त्यसकै एक उदाहरण हो । कमजोर पटकथा, फितलो संवाद अनि 'हरर फिल्म'को ह्याङओभरमा बनेको यो फिल्मको कथा खासै नौलो छैन ।

देशमा राजतन्त्रविरुद्धको आन्दोलन चर्किएको छ । युवराज(कर्मा) आफ्नो बुवालाई जनतासँग माफी माग्न लगाएर आन्दोलन साम्य पार्न चाहन्छ । उनलाई जसरी पनि राजगद्दीमा राज गर्नुछ । राजा(ध्रुव कोइराला) छोराको कुरा सजिलै किन मान्थे र ? उनी आफ्नै हिसाबले आन्दोलन रोक्न लागिपरेका छन् । दरबारभित्रै थुनिएका युवराज भने आन्दोलन रोक्ने आफ्नो कुटनीतिक गुरु योजना पूरा गर्न एकदिन दरबारबाट भाग्छन् ।

गुरु-योजनामा साथ दिने साथीहरू भेट्न नपाउँदै उनी एक बन्द दरबारभित्र पुग्छन् । त्यही बन्द दरबारभित्र उनले असाधरण घट्नाहरूको सामना गर्छन् । सम्पदा मल्लको लेखन र भीमसेन लामाको निर्देशनमा तयार भएको फिल्म 'कठपुतली : द पपेट'को कथा यत्ति हो । तर हरर विधामा बनेको यो फिल्मले न त दर्शकलाई तर्साउँछ, न अब के होला(कथार्सिस) ? भन्ने कुरा नै उत्पन्न गराउँछ । त्यसैले फिल्मले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्न सक्दैन । फिल्मको 'क्लाइमेक्स' पनि चुस्त छैन ।

फिल्ममा देखाउने भुत(जम्प स्केर) पनि हलिउड र बलिउडमा देखिरहनेभन्दा फरक छैन । हरर विधाका अधिकांश हलिउड फिल्मको अन्त्यमा केही यस्तो दृश्य देखाइन्छ जसले दर्शकलाई फिल्मको सिक्वेलका लागि कुर्ने बनाउँछ अथावा फिल्मले छोडेको प्रश्नको उत्तर खोज्न खुलदुली जन्माउँछ । यो फिल्मले पनि त्यही सूत्रलाई पच्छ्याउन खोजेको त छ, तर फिल्मको कथ्य शैली यति कमजोर छ कि दर्शकलाई त्यो अन्तिम दृश्यले खासै उत्साह थप्दैन ।

फिल्मका संवाद फितला छन् । दृश्यहरूमा तादम्यता देखिँदैन । फिल्मका कति दृश्य हटाए पनि कठपुतलीको कथा अगाडि बढ्न सक्थ्यो भन्ने लाग्छ । 'यो ज्यान कठपुतली' बोलको गीतमा जबर्जस्ती प्रयोग गरिएको दृश्यबिना पनि फिल्म अगाडि बढ्न सक्थ्यो । यो गीतको प्रयोग फिल्मको लागि आवश्यक लाग्दैन ।

आन्दोलनकै कारण राजपरिवारमा आरोह-अवरोह आइरहन्छ तर आन्दोलनको कुरा झट्ट विश्वास गर्न सकिने किसिमले पर्दामा देखाइँदैन । जनता के कारण आन्दोलनमा छन् ? आन्दोलन किन चर्कियो भन्ने कुरा संवादहरूको भरमा दर्शकले बुझिदिनुपर्छ । त्यसका अलावा दर्शकलाई तर्साउन असाधरण घट्ना(प्यारानर्मल एक्टिभिटिज) र भुत देखाउन बढी समय खर्चिएको देखिन्छ ।

पैतालाको माटो, कपाल काटेर तन्त्रमन्त्रको प्रयोग, उल्टा पाइला, मरिसकेको व्यक्ति(किचकन्डी)को खुट्टामा धागो बाँध्ने कुरा कता-कता नेपाली समाजसँग नजिक भए पनि अपुष्ट छन् । निर्देशकले दाबी गरे जस्तो 'हरर वर्ल्ड' स्थापना गर्न नै असमर्थ छ फिल्म ।

यद्यपि ध्वनीले नै जबर्जस्त दर्शक तर्साउनुपर्छ भन्दै कर्कस आवाजको प्रयोग गर्ने नेपाली हरर फिल्मभन्दा माथि उठेको छ, 'कठपुतली' । फिल्ममा प्रयोग गरिएका ध्वनी र एन्ड्र्यु फ्रान्सिसको कलरको काम प्रशंसालायक छन् । एनिमेसनको पाटोमा उति मिहेनत देखिँदैन । सिनेमेटोग्राफी खासै उम्दा छैन ।

फिल्मको महत्वपूर्ण पाटो नै कलाकारहरूको अभिनय हो । युवराजको अभिनयमा कर्माले पर्दामा भरपुर बाँचिदिएका छन् । कति ठाउँमा 'लाउड' लागे पनि उनको अभिनय सशक्त लाग्छ । बूढी आमाको भूमिकामा मिथिला शर्माको अभिनय उत्तिकै सशक्त छ । अभिनेत्री उषा रजकले बोलेको नेवारी लवज नाटकीय लाग्छ । उनको अभिनयलाई त्यही लवजले छायाँमा पारिदिएको छ । फिल्ममा दरवारीय भाषामा त्यति अनुसन्धान गरे झैं लाग्दैन ।

पर्दामा अन्य सहायक कलाकारले भन्दा पनि कम दृश्य पाएका छन् कलाकार गौरी मल्ल र शिल्पा मास्केले । महिलाले नै लेखेको फिल्मको यो कथामा महिला पात्रहरूलाई कमजोर, निर्बल र निरीह नै देखाइएको छ ।

लेखक सम्पदाले फिल्ममा आफूमाथि भएको अत्याचारविरुद्धको बदला लिनसक्ने महिला पात्रहरू त उभ्याएकी छन् । तर हरर विधाको फिल्ममा बलियो महिला पात्र देखाउन कुनै अदृश्य स्वरुप(भुत, किचकन्डी), अथवा तान्त्रिक गतिविधिमै संलग्न महिलालाई प्रस्तुत गर्नु त परम्परागत शैली नै भइहाल्यो ।

फिचर फिल्ममा 'कठपुतली : द पपेट', भीमसेन र सम्पदाका लागि पहिलो प्रयास थियो । यो फिल्मले हरर विधाको नेपाली फिल्मको स्तरमा खासै इँटा थप्दैन, संख्या मात्र थपिएको छ । फिल्ममा थुप्रै ट्रिटमेन्ट आवश्यक लाग्छन् ।

फिल्म निर्देशक भीमले कतिपय काममा नयाँ प्रयोग गरेको दाबी गरेका छन् । फिल्म होस् वा अरु 'आर्ट फर्म'मा सामान्यत: नयाँ प्रयोग गर्नुलाई प्रशंसनीय मानिन्छ । तर प्रमुख पक्ष के भने ती प्रयोगबाट आफूले व्यक्त गर्नखोजेको कुरालाई पुष्टि गर्नुपर्छ ।ती 'प्रयोग'को पुष्टि गर्न नसक्दा फिल्ममा गरिएका 'नयाँ प्रयोग'को खासै अर्थ हुँदैन । निर्देशक भीमको कमजोरी नै तिनको पुष्टि गर्न नसक्नु हो ।

प्रकाशित : पुस १९, २०७८ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×