१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

२०२२ मा सिक्वेलको वर्षा 

काठमाडौँ — सन् २०२१ फिल्म नगरीका लागि खासै उत्साहजनक वर्ष भएन । कोरोना महामारीकै कारण यो वर्ष फिल्महरुको प्रदर्शन सोचेजस्तो हुन सकेन । तर नयाँ वर्ष २०२२ ले बलिउडमा सिक्वेल फिल्महरुको वर्षा हुने छाँटकाँट देखाइसकेको छ ।

२०२२ मा सिक्वेलको वर्षा 

दर्शकहरुले अब पूरानै फिल्मको सिक्वेलमा रमाउन पाउने भएका छन् । 'बधाई दो', 'हिरोपन्ती २', 'भुलभुलैया २', 'एक भिलेन रिटर्न्स', 'गदर २' जस्ता सिक्वेल फिल्महरु यही वर्ष प्रदर्शनमा आउने तय भएका छन् ।

सन् २०१८ मा प्रदर्शनमा आएको 'बधाई हो'को सिक्वेल हो, 'बधाई दो' । राजकुमार राओ, नीना गुप्ता, आयुष्मान खुराना र सान्या मल्होत्रा अभिनित फिल्मले दर्शकसँगै समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुल्यो । हर्षबर्द्धन कुलकर्नी निर्देशित फिल्मको सिक्वेलमा भने राजकुमारसँगै भुमी पेड्नेकरको अभिनय रहनेछ । द हिन्दुस्तान टाइम्सका अनुसार यो फिल्म फेब्रुअरी महिनामा प्रदर्शनमा आउँदैछ ।

टाइगर स्रफको डेब्यु फिल्म 'हिरोपन्ती'को सिक्वेल यही अप्रिलदेखि प्रदर्शनमा आउने पक्का भएको छ । सन् २०१४ मा प्रदर्शनमा आएको उनको डेब्यु फिल्मको यो सिक्वेल भने एहमद खानले निर्देशन गरेका हुन् । फिल्ममा टाइगरसँगै नवाजुद्दिन सिद्दकी र तारा सुतरियाको अभिनय रहने बताइएको छ ।

२००७ को चर्चित हरर कमेडी फिल्म 'भुलभुलैया २' लाई यो वर्षको प्रतिक्षित फिल्ममध्ये पर्छ । अक्षय कुमार र विद्या वालन अभिनित फिल्मको सिक्वेलमा भने कार्तिक आर्यनको प्रमुख अभिनय रहनेछ । मार्च महिनामा प्रदर्शनमा आउने यस फिल्ममा आर्यनसँगै तब्बु र कियारा एड्वानीको अभिनय रहनेछ ।

सिद्धार्थ मल्होत्रा, श्रद्धा कपुर अभिनित सन् २०१४ को 'एक भिलेन'को चर्चाले फिल्मका निर्देशक मोहित सुरी यो फिल्मको सिक्वेल बनाउन तम्सिएका हुन् । नयाँ कलाकार लिएर निर्देशकले फिल्मको सिक्वेल बनाएका छन् । रोमान्टिक थ्रिलरमा बन्ने यस फिल्ममा दिशा पटानी, जोन अब्राहम, तारा सुतरिया र अर्जुन कपुरको अभिनय रहनेछ । फिल्म जुलाइ महिनामा आउने आकलन छ ।

सन् २००१ मा प्रदर्शनमा आएको 'गदर : एक प्रेमकथा'को सिक्वेल फिल्म हो, 'गदर-२' । लामो समयपछि सन्नी देवल, तारासिंह र अमिसा पटेलकै अभिनयमा यो फिल्मको सिक्वेल प्रदर्शनमा आउने भएको छ ।भारतीय मिडियाका अनुसार यसै वर्ष प्रदर्शनमा आउने फिल्मको अहिले छायांकन भइरहेको छ ।

प्रकाशित : पुस १९, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?