अल्लु अर्जुनको 'क्रेज'ले हिट 'पुष्पा'- मनोरञ्जन - कान्तिपुर समाचार
फिल्म समीक्षा

अल्लु अर्जुनको 'क्रेज'ले हिट 'पुष्पा'

'भाग २' कै लागि कथालाई तन्काइँदा 'पुष्पा'ले अर्को भागका लागि दर्शकमा कुतूहल भने खासै जाग्दैन ।
रीना मोक्तान

काठमाडौँ — बलिउडमाथि हाबी बन्दै गरेको दक्षिण भारतीय फिल्मले पछिल्लो समय नेपालमा पनि दर्शक पाउन थालेको छ । अल्लु अर्जुन अभिनित 'पुष्पा'ले एक सातादेखि लगातार पाइरहेको हाउसफुल दर्शक,दक्षिण भारतीय फिल्म उद्योगले नेपाली दर्शकमाझ पारेको प्रभावको प्रमाण हो ।

एसएस राजमौलीको 'आरआरआर', 'केजीएफ-२'नेपाली दर्शकबीच प्रतिक्षित बन्दै जाँदा बलिउडलाई उछिन्दै गरेको दक्षिण भारतीय फिल्मले नेपाली दर्शकमा आफ्नो छाप छोडेको प्रस्ट हुन्छ । हिन्दी भाषामा डबिङ गरिएका यी फिल्महरु नेपालका हलमा भने राजमौलीकै बाहुबली(६ सय ५० करोड)र बाहुबली-२(१७ सय करोड) पछि ढुक्कले प्रदर्शन हुन थालेको हो । युट्युबमा प्रदर्शनमा आएको केही दिनमै दक्षिण भारतीय फिल्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्नुले नै फिल्मप्रतिको क्रेज झल्किन्छ ।

अल्लु अर्जुनको क्रेज कति छ भन्ने कुरा चलचित्रमा उनको प्रवेशमा दर्शकले गर्ने हुटिङबाट पनि झल्किन्छ । त्यतिमात्रै होइन, उनको हिँड्ने र बेलाबेला दाह्रीमा हात लैजाने शैलीमा पनि थुप्रै टिकटक भिडियो बनाइएको छ ।

दक्षिण भारतीय फिल्म उद्योगको स्टार हुन् अल्लु अर्जुन । बहुप्रतिक्षित मानिएको उनको फिल्म'पुष्पा'ले गत शुक्रबारदेखि भारतका हलमा मात्रै होइन नेपालकै हलमा पनि दर्शकको ओइरो लगाइदिएको छ । कोभिडपछि प्रदर्शनमा आएको 'सूर्यवंशी'पछि हलसम्म दर्शकको भीड जम्मा गर्न सफल यो फिल्म 'स्पाइडरम्यान: नो वे होम'सँगै प्रदर्शनमा आएको हो ।

प्रदर्शनको एक साता बित्न लाग्दा पनि फिल्मले नेपालमा हाउसफुल दर्शक पाउनु अल्लुले कमाएको फ्यानको प्रतिफल हो । बलिउड मसालाले भरिएको यस फिल्ममा रक्तचन्दन तस्करीमा लागेका पुष्पा(अल्लु)को कथा देखाइएको छ । जो, आम मजदुरीको काम छोडेर इज्जत/पैसा कमाउनकै लागि रक्तचन्दनको तस्करी गर्ने गिरोहमा मिसिन पुग्छन् । सुरुमा रक्तचन्दन काट्ने र ओसार्ने कामदार बन्छन् । एकदिन डीएसपी गोविन्दप्पाले जंगलमा छापा मार्ने क्रममा तस्करी गरिएका रक्तचन्दन उनको आँखै अगाडि लुकाउन सफल भएपछि तस्कर गर्ने माफियाबीच पुष्पाले भरोसा कमाउँछ । त्यसपछि रक्तचन्दनको तस्करमा कुख्यात कोन्डा रेड्डीको पार्टनर बन्छन्। अरुका अगाडि झुक्न नचाहने, हठी स्वभावका पुष्पाले रक्तचन्दनलाई गोविन्दप्पाबाट बचाउँदै नाफाको व्यापार सुरु गरिदिन्छन् । तर त्यसैबीच पुष्पाकै कारण सिन्डिकेटर मंगलम श्रीनुले तस्करसँग कम मूल्यमा रक्तचन्दन किनेर व्यापारीलाई धेरै रकममा बेच्ने गरेको वास्तविकता बाहिरिएपछि कोन्डा र श्रीनुबीच दुस्मनी बढ्छ । सिन्डिकेटरसँगै दुस्मनी बढेपछि कोन्डाले रक्तचन्दनको व्यापार कसरी गर्लान् ? के पुष्पा सँधै गोविन्दप्पाको आँखा छलेर रक्तचन्दन तस्करी गर्न सफल बन्लान् ? 'पुष्पा'को कथायत्ति हो ।

सामान्य मजदुरीबाट पुष्पा कसरी उदाउँछ तीन घण्टा लामो फिल्मले पुष्पालाई उठाउन भरमग्दुर प्रयास गरेको छ ।भन्न खोजिएको कथा सजिलै भनिदिएको भए पुष्पाको कथा लम्बाइरहनु पर्थेन । तर निर्देशकले भन्न खोजेको कथा सजिलै भन्न नसक्दाको परिणाम बन्यो, पुष्पा । फिल्मको मुख्य द्वन्द्वमा पटकथाकार अलमलिएपछि'पुष्पा'को कथा उपकथातिर छरिएको छ । श्रीवल्लीसँगको प्रेम अनि पुष्पाको पारिवारिक पृष्ठभूमिमा धेरै समय खर्चिइएको छ । क्लाइमेक्स पनि त्यति चुस्त लाग्दैन । क्लाइमेक्सका कति दृश्य त दर्शकले पहिल्यै अनुमान गर्न सकिने किसिमका छन् । मध्यान्तरपछिको कथा रक्तचन्दन तस्करीको विषयवस्तुलाई उठाउनुभन्दा पनि बढी तस्करहरुबीचको दुस्मनी सल्टाउनमै केन्द्रित हुन्छ । त्यतिबेलासम्म दर्शकले रक्तचन्दनको विषय बिर्सिसक्छन् ।

फिल्म सम्पादनका कमजोरी दर्शकलै सहजै थाहा पाउने खालका छन् । पानीमाथिबाट बग्दै गरेको रक्तचन्दनको दृश्यमाथि विश्वास गर्न गाह्रो हुन्छ । पानीमा काठभन्दा पनि प्लास्टिक बगेको जस्तै दृश्य देखिन्छ ।

फिल्ममा पात्रहरुको स्थापनामा मात्र होइन 'सेफ ल्यान्डिङ'मा समेत समय धेरै लगाइएको छ । कुनै पनि कथाको अन्त्यतिर पात्रहरुको सटिक अवतरण गरिन्छ । तर 'पुष्पा'मा कथाको अन्त्य त हुन्छ तर नयाँ पात्रहरु थपिँदै जान्छ । तस्करीहरुबीचको दुस्मनीमा सिन्डिकेटर श्रीनुका साला मारिन्छन् । श्रीनुकी पत्नी पुष्पासँग बदला लिन चाहन्छिन् । त्यसैको रिसमा श्रीमान्‌को घाँटीमा ब्लेड चलाइदिन्छन् । उता गोविन्दप्पापछि अर्का डीएसपी भवरसिंह सेखावतको इन्ट्री हुन्छ । डीएसपी शेखावतको पात्र स्थापनाका लागि कथालाई बढी नै तन्काइएको छ । तीन घण्टा लामो 'पुष्पा'को कमजोर पक्ष नै यो हो ।

'भाग २'कै लागि कथालाई तन्काइँदा 'पुष्पा'ले अर्को भागका लागि दर्शकमा कौतुहलता भने खासै राख्दैन । सेखावतको कथाले न त दर्शकलाई फिल्मसँग जोडेर राख्छ न त फिल्मलाई रोचक बनाउँछ नै । फिल्ममा यति धेरै पात्रहरु देखाइन्छन् कि ती पात्रहरुलाई किन महत्त्वका साथ पर्दामा देखाइयो भन्ने नै पुष्टि हुन्न । सुरुवातमा शक्तिशाली देखाइएको गोविन्दप्पालाई एकैचोटी कमजोर देखाउनु न्यायपूर्ण देखिँदैन । श्रीनु, कोन्डा रेड्डीका भाइ जोली रेड्डी, जक्का रेडीलाई शक्तिशाली पर्दामा बिनाकाम धेरै समय दिइएको छ । अभिनेत्री श्रीवल्ली(रस्मिका मन्दना) लाई भूमिकालाई पनि परम्परावादी शैलीमा प्रस्तुत गरेर कमजोर बनाइएको छ ।

पुष्पालाई बलियो देखाउनकै लागि फिल्मको केही दृश्यमा उनी अटाएकी छन् । केबल नायकसँगको रोमान्सका लागि उनलाई भूमिका दिइएको जस्तो देखिन्छ । 'पुष्पा'को यीनै कमजोरीले अल्लु अर्जुनको प्रतिक्षित मानिएको फिल्मलाई 'अचारबिनाको खल्लो परिकार' बनाइदिएको छ । तर, अल्लु र फहाद फासिल(शेखावत) को अभिनयले फिल्मको कथामा केही प्रतिशत भए पनि प्राण भरिदिएको छ । अभिनेत्री रस्मिकाले पनि आफ्नो चरित्रलाई न्याय दिएकी छन् । एक मुक्काले १० जनालाई उडाउन सक्ने एक्सन, जबरजस्त घुसाइएको मेलोड्रामा र बन्दाबन्दैको बिग्रिएको कथा हेर्न चाहने अल्लु अर्जुनका फ्यानले मात्र यो फिल्मलाई झेल्न सक्नेछन् ।

प्रकाशित : पुस ९, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै कथा भन्ने हुटहुटीले जन्मिएका निर्देशक

किरणको 'एट एनोदर विन्टर' बुसानमा छनोट, किम्फमा उत्कृष्ट आख्यान फिल्म
रीना मोक्तान

काठमाडौँ — पाँच वर्षकी छोरी राधाले बोल्न र सुन्न सक्ने आशामा आमा यशोधा उनलाई नजिकैको धामीकहाँ लैजान्छिन् । धामीले नबोल्ने बालबालिकाका लागि काठमाडौंमा ठूलो मन्दिर रहेकाले यशोधालाई उतै जान सल्लाह दिन्छन् । उनले आफ्नो श्रीमानलाई सँगै काठमाडौं जान अनुरोध गर्छिन् तर, उनी मान्दैनन् ।

बहिनीलाई पनि भन्छिन् । तर उनी तयार हुँदिनन् । त्यसपछि यशोधा एक्लै छोरी लिएर काठमाडौं जाने निधो गर्छिन् । सहर पुगेपछि पुजारीले उनलाई एउटा यस्तो मन्दिर देखाइदिन्छन् जहाँ बालबालिकालाई भित्र थुनिदिनुपर्छ जबसम्म उनीहरूको आवाज फुट्दैन । यशोधाले राधालाई मन्दिरभित्र थुनिदिन्छन् र ढोकैमा कुरिबस्छिन् । भित्रबाट राधाले आमालाई आवाज दिन्छिन् त ? के आफ्नो छोरीको बोली फुटेको व्यग्र प्रतिक्षामा रहेकी आमा यशोधाको अथक प्रयास सफल बन्ला ?

२२ मिनेट लामो लघु फिल्म 'एट एनोदर विन्टर'को कथा आमा यशोधाको हो, जसले दुर्गम गाउँबाट आफ्नी छोरीका लागि एक्लै काठमाडौं जाने आँट र संघर्ष गर्छिन् । यो कथा ती आमाहरुको हो, जो आफ्नो सन्तानका लागि दु:खका पहाड उक्लँदै आशाको यात्रा गर्ने साहस बोक्छन् । 'एट एनोदर विन्टर' एक आमाको प्रेम, भौतिक र मनोवैज्ञानिक यात्रा हो । किरण श्रेष्ठ निर्देशित यो फिल्मले १९ औं किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) को नेपाल पानोरामातर्फ उत्कृष्ट आख्यान अवार्ड उचाल्यो ।

यो फिल्मलाई धेरैले किम्फमै हेर्न पाए । किरण आफ्नो आमालाई पनि यो फिल्म देखाउन चाहन्छन् । तर सकिरहेका छैनन् । यो फिल्मको कथा उनको आमाको जीवनसँग मेल खान्छ । उनकी आमा बोल्न नसक्ने दिदीलाई लिएर यसरी नै मन्दिरहरू धाउँथिन् । ६ दिदी २ दाजुपछि जन्मेका किरणले आमाको यो भोगाइलाई सुनेका मात्र थिए । तर यही कथामाथि फिल्म बनाइसकेपछि दर्शकले दिएको प्रतिक्रियाले उनलाई लागेको छ, 'यो मेरो आमाको मात्र कथा होइन रहेछ । धेरैले यस्तो कुरा भोगेका हुँदा रहेछन् ।'

'धेरैजनाले यो कथालाई रिलेट गर्नु भएको रहेछ । त्यस्तो प्रतिक्रियाले जे- का लागि फिल्म बनाएको थिएँ त्यो कतै पूरा भयो भन्ने लागेको छ,' किरणले खुसी व्यक्त गरे ।

फिल्मबारे बुझ्ने भएसँगै किरणलाई कथा भन्ने हुटहुटी थियो । फिल्म सम्पादन(इडिटिङ) गरिरहँदा यो कुराले झस्काइरहन्थ्यो । कथा भन्नुपर्छ भन्ने गाँठो मनमा थियो । कहिले त फिल्म सम्पादनसमेत गर्न सक्दैन थिए । मनभित्र द्वन्द्व चल्थ्यो 'कथा भन्ने कहिले त ?'

एकदिन सम्पादनको काम सबै छोडेर गृहजिल्ला खोटाङ पुगे । २/३ वटा कथाहरु लेखे तर कुनै चित्त बुझ्दो थिएन । त्यसपछि आमाको भोगाइमाथि नै कथा भन्ने सोचे । मन्दिरहरु धाउँदा आमाको यात्रा कस्तो थियो होला ? भन्ने कुरा सँधै उनको मानसपटलमा घुमिरहन्थ्यो । फिल्ममार्फत त्यो यात्रालाई फर्केर हेर्न चाहन्थे किरण । मन्दिरहरु भ्रमण गर्दै जाँदा नेपाली समाज निकट पाए यो कथालाई ।

'सायद यो पो भन्नु पर्ने हो कि भनेर यो कथा लेख्न थालें । मेरो आमाको आफ्नै कथा । आमाले यस्तै गरी मेरो दिदीलाई धामीझाँक्री र मन्दिर लिएर जानु भएको रहेछ । फिल्म गरिरहँदा म त्योबेलाको मेरो आमा र दिदीलाई देख्थें,'उनले आफ्नो अनुभव सुनाए,'आमाले फिल्म देखाउनु भन्नुभएको छ । यो फिल्म मेरो आमाको व्यक्तिगत कथा हो । उहाँ फिल्म हेरेपछि भक्कानिनुहुन्छ भन्ने डरले देखाउन सकिरहेको छैन ।'

फिल्मको नाम सुरुमा 'घामको पहिलो झुल्का' थियो । त्यसपछि 'टेम्पल अफ होप' राखे । अन्तमा सम्पादनपछि 'एट एनोदर विन्टर' फाइनल गरे । प्रख्यात फिल्म फेस्टिभल बुसानको एसियन सर्ट फिल्म प्रतियोगितातर्फ यो फिल्म छनोटमा पर्‍यो । आफ्नो फिल्मलाई फेस्टिभलमा लिएर जाँदा निकै खुसी थिए किरण । 'मलाई खासमा यो फिल्म चित्त बुझिरहेको थिएन । तर बुसानले छनोट गर्दा एकदम खुसी लाग्यो । अरु फिल्म फेस्टिभलमा पनि पठाएको थिएँ । तर छनोटमा परिसकेको थिएन ।

पहिलोपटक आफ्नो फिल्म लिएर अन्तर्राष्ट्रिय मञ्चमा जाँदा अनौठो अनुभव बटुले । त्यहाँ पुगेपछि लाग्यो 'हामीकहाँ कथा भन्ने शैली राम्रो रहेनछ । हामीले त धेरै कुरा गर्न बाँकी रहेछ ।' बुसानमा फिल्मको प्रशंसा गर्ने मात्र भेटेनन् उनले । फिल्म हेरिसकेपछि एकजनाले 'तिम्रो फिल्मले मलाई निराश बनायो', अर्को एकजनाले 'तिम्रो फिल्म डार्क भयो' भन्ने दर्शकहरू भेटिए । फिल्मका लागि तालीसँगै गाली पाएपछि फिल्ममेकिङको उनको दृष्टिकोण झनै फराकिलो बनेको छ।

फिल्म पढ्दा पढ्दै भागेर नेपाल

सानैदेखि लजालु, शान्त स्वभावका थिए, किरण । कक्षा २ देखि १० सम्म मोडल स्कूल थानकोटमा होस्टल बसेर पढे । परिवारबाट टाढा, त्यो एक्लोपन, जीवनप्रतिको बुझाइ, खोजाइ अर्कै हुन थाल्यो । आफूभित्रका केही कुरा अभिव्यक्त गर्न बाँकी छ भन्ने लागिरहन्थ्यो । ‍२०६४ मा एसएलसी दिएपछि आफैंलाई स्वतन्त्र अनुभव गरे । साथीहरूको लहलहैमा विज्ञान विषय लिए । केही महिनामै विज्ञान आफ्नो रुचीको विषय होइन भन्ने पनि थाहा पाए । एकदिन अचानक रेडियो कार्यक्रममा 'हामीले हाम्रो कथाहरू भन्न सकिरहेका छैनौं' भन्ने कुराको फिल्मी बहस सुन्न पुगे । फिल्मको विषयले उनलाई तान्यो । साइबर गएर फिल्महरूबारे खोजी गरे । त्यतिबेला साइबरमा २० रुपैयाँ तिर्नु पर्थ्यो । विस्तारै फिल्मतिर झुकाव बढ्दै गयो ।

१२ को पढाइ सकिएपछि साथीहरू इन्जिनियरिङतिर लागे । तर उनी ओस्कर क्याम्पसमा फिल्म पढ्न गए । फिल्म कलेज देख्ने बित्तिकै 'यही हो मेरो क्षेत्र' भन्ने लागिसकेको थियो । तर परिवारले खासै चासो नदेखाएपछि पढाइ अगाडि बढेन । एक वर्ष केही गरेनन् । त्यसपछि केयू (काठमाडौं युनिभर्सिटी)मा पुगे । त्यहाँ 'मिडिया स्टडिज' भन्ने विषय देखे । त्यसमा क्यामेराका तस्बिर थिए । क्यामेरा देख्ने बित्तिकै फिल्मप्रतिको उनको लगाव झनै बलियो भयो, उनले उक्त विषय रोजे । तर मिडिया पढ्दै गएपछि थाहा पाए फिल्म, फोटोग्राफीभन्दा बढी यो पत्राकारितातिर ढल्किएको विषय भन्ने ।

तर केयूको पढाइले उनलाई आफूजस्तै फिल्मप्रेमी साथीहरूसँग भेटायो । फिल्म मनपराउनेहरूको समूह नै बन्यो- 'बार्दली' । समूहका कति साथीहरूसँग फिल्म निर्माणको अनुभव थियो । तर उनी फिल्मबारे सिक्नलाई टिममा सरिक भए । कथा लेख्नेले नै निर्देशनको जिम्मा पाउने नियम बन्यो । शरुन मान्धरले 'रेट्रो भी' भन्ने फिल्म निर्देशन गर्दा किरण अभिनय गर्ने समूहमा परे । त्यतिबेला उनीहरुसँग भिडियो क्यामेरा थिएन, डिजिटल क्यामेराबाटै फिल्म खिच्थे । १५ मिनेटको ब्रेकटाइमा हतार-हतार साथीको कोठामा बार्दली समूह फिल्म खिच्न पुग्थ्यो । उनीहरुले ४/५ हजारमै लघु फिल्म तयार पार्‍यो ।

'सेकेण्ड रोट्र्याक एचआइभी एड्स'को फिल्म प्रतियोगितामा उनीहरुको फिल्मले जित्यो । त्यो जितले फिल्मतिर ढल्किन छुट्टै उत्साह थपियो । त्यो प्रतियोगिता नजितेको भए सायद यहाँसम्म आइपुग्थेनन् किरण । त्यही फिल्म नै उनको फिल्म यात्राको टर्निङ बन्यो । त्यसबीच बार्दलीले आर्मी कम्पिटिसनमा पठाउन अर्को फिल्म बनायो । तर त्यो फिल्म जीतको नजिक पनि पुग्न सकेन । तर त्यसले किरणको फिल्म बनाउने जोशमा खासै असर गरेन ।

त्यसबीच उनले फोटोग्राफीको प्रदर्शनीमा पूराना फोटोग्राफर वैकुण्ठबहादुर श्रेष्ठसँग भेटे । वैकुण्ठको फोटो कलेक्सन देख्दा उनलाई झनै फिल्म बनाउनुपर्छ भन्ने प्रेरणा मिल्यो । फेरि फिल्म पढ्ने निर्णय लिए । सन् २०१२ मा किरण भारतको नोयडा गए । एसियन स्कूल अफ कम्युनिकेसनमा ब्याचलर इन फिल्म अनर्स गर्न । त्यहाँ विश्व सिनेमा बुझ्ने मौका पाए । त्यहाँ उनी निरन्तर फिल्म सम्पादन गरिरहन्थे । त्यही क्रममा एकदिन 'द फोर हन्ड्रेड ब्लोज' हेरे, आफ्नै कथा बोकेको फिल्म भन्नुपर्छ भन्ने कुराले उनलाई पुन: चिमोट्यो ।

'द फोर हन्ड्रेड ब्लोज'जस्ता फिल्मले कसरी देश बन्यो भन्ने कुरा दिमागमा घुमाइरह्यो । पहिलो वर्षको अन्तिमतिर उनले फिचर फिल्ममा प्रमुख साहयक निर्देशक भएर काम गर्ने मौका पनि पाए । तर निर्देशकहरुको दबाबमा काम गर्नुपर्ने भएपछि उनी छायांकनस्थलबाटै भागेर नेपाल आए । 'घरको याद, अनि कामको दबाब। विद्यार्थी जीवनमा अभाव धेरै हुन्थ्यो । आफ्नै कथा भन्नुपर्छ भन्ने कुरा सँधै मनमा आइरहन्थ्यो । अनि मलाई यहाँ दु:ख गर्नुभन्दा आफ्नै देशमा गएर फिल्म बनाउँछु भन्ने भयो । आफ्नो देशमा सिक्नु, फिल्म गर्नुको मज्जा अरुमा कहाँ हुन्छ? भन्ने लाग्यो । साथीसँग २ हजार मागें अनि भागेर आएँ,'किरण सम्झन्छन् ।

'कालोपोथी'मा ब्रेक, मीन भामको सिकाइ

कलकत्ताबाट भागेर आएपछि फिचर फिल्ममा साहयक निर्देशक बनुँला भन्ने उनले पटक्कै सोचेका थिएनन् । फर्किएपछि किरणले वैकुण्ठबहादुरमाथि डकुमेन्ट्री बनाउने तयारी के थालेका थिए 'कालोपोथि'का लागि साहयक निर्देशक खोज्दै गरेको कुरा बार्दली समूहमा फैलियो । उनलाई मीन भाम कलात्मक लाग्थ्यो, उनीबाट सिक्नकै लागि फेरि एकपटक सायहक निर्देशक हुने निर्णयसहित 'कालोपोथी'का लागि निवेदन लेखे । निर्देशक भामले उनलाई रोजे । त्यो उनको जीवनको अर्को मोड थियो, जहाँबाट सुरु भयो किरणको कलात्मक फिल्महरु बुझ्ने यात्रा ।

'फिल्म सिक्ने भोक मेटाउन कालोपोथिमा आबद्ध भएँ । डकुमेन्ट्रीको सबै काम बन्द गरें । कालोपोथीको टिममा सबै फिल्म पढेका, फिल्मको भोक भएकाहरूसँग ठोक्किएँ,'श्रेष्ठ सुनाउँछन् । किरणले 'कालोपोथी'मा दोस्रो सायहक निर्देशक भएर काम गरे । मीनसँग निर्देशनमात्र होइन २ वर्ष पोस्टको काम सिके । मीनले आफूलाई विश्वास गरेर धेरै मौका दिएको किरण बताउँछन् ।

'मीन दाइले माया गर्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो । कालोपोथीमा आवद्ध हुनु मेरो जीवनको ठूलो सिकाइ थियो । म पैसा नहुँदा भोकभोकै पनि मीन दाइसँग सिक्न जान्थें । मीन दाइले खुवाउनु पनि हुन्थ्यो । म पैसाका लागि त्यहाँ गएको पनि थिइन । सिक्ने ठाउँ यही हो भन्ने ठानेर गएको थिएँ,'श्रेष्ठले पूराना दिन सम्झन्छन्,' २ वर्ष मीन दाइले आफूसँगसँगै राखेर सिकाउनुभयो, उहाँले मलाई विश्वास गरेर काम गर्ने ठाउँ दिनुभयो । फिचर फिल्म लाइनअप गर्न दिनुहुन्थ्यो । फिचर फिल्म कसले लाइनअप गर्न दिन्छ र । मीन भामले मेरो लागि धेरै गर्नुभएको छ । मैले धेरै कुरा उहाँबाट सिकें ।'

कालोपोथीपछि उनले मीनसँग अर्को लघु फिल्ममा काम गर्ने मौका पाए । त्यो फिल्मले निर्देशक अविनाश विक्रम शाहसँग सिक्ने अवसर दियो । खेम्पो लामाका लागि अविनाश कथा लेख्ने तयारीमा रहेछन् । साथी असिमसँग मिलेर किरणले अविनाशसँग स्क्रिप्टिङ सिके । 'सायद कुनै कलेज गएर मैले त्यसरी लेख्न सिक्दिन थिएँ होला । १० दिन भनेर गएँको थिएँ हेर्दा हेर्दै ७/८ महिना भयो । त्यतिबेला भारतले नाकाबन्दी लगाएको थियो । अविनाश दाइले राइटिङको कुरा धेरै सिकाउनु हुन्थ्यो । लेख्दा लेख्दै हामी रुन्थ्यौं, त्यही कथामा हाँसिरहँदा रमाइलो पनि लाग्थ्यो । त्यहाँबाट धेरै कुरा सिकियो,' उनले सम्झे । उनीहरूले लेख्न सिकेको त्यही अविनाशको कथामा नै पछि 'सुप्पर मंक' बनेको थियो ।

मीन, अविनाश र खेम्पोको अर्को फिल्म 'इयर अफ दि बर्ड'बाट किरणले आफ्नो व्यवसायिक फिल्म सम्पादनको करिअर थाले । यसअघि कालोपोथीमै साहयक सम्पादन गरेका थिए । यो फिल्म खिचिसकेपछि डेस्कमा फिल्म छोडेर सबैजना आ-आफ्नो बाटो लागे । कसैलाई फिल्मको खिचाइ मन परिरहेको थिएन । तर सम्पादनमा कथालाई उल्टाइ पल्टाइ हेर्न थालेपछि किरणले केही आकार भेटे ।

त्यसपछि उनले अर्कै कोणबाट फिल्म सम्पादन गरे । मीन, अविनाश र खेम्पोले उनको सम्पादनको प्रतिभा हेरेर तारिफ पनि गरे । त्यसयता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरू चाहर्दै गरेका फिल्महरू 'जालगेडी', 'जुलुङ्गो', 'ऐना झ्यालको पुतली', 'अनहत' 'तटिनी', 'टेन इयर्स नाइन मन्थ्स एट डेज'लगायतका फिल्ममा किरणले सम्पादन गरे ।

सम्पादनमा आफ्नो कौशल देखाइसकेका किरण फिल्म सम्पादन प्राविधिकभन्दा पनि सुन्दर हुनुपर्ने धारणा राख्छन् । 'फिल्म सम्पादन प्राविधिक कुरा त हो । तर फिल्मको सम्पादन टेक्निकलभन्दा पनि ब्युटिफुल हुनुपर्छ । मलाई त सम्पादन गर्दा त्यो कथाभित्रको पात्रले तान्छ । म ती पात्रहरूकै कथा भनिरहेको छु भन्ने अनुभव हुन्छ । हुन त धेरैजना फिल्मलाई टेक्निकली हेर्नुहुन्छ । तर सम्पादन त यस्तो ठाउँ हो जहाँ तपाईं पात्रहरुसँग गहिरिएर काम गर्नुपर्छ । फिल्मभित्र डुबिरहनुको सौन्दर्य छुट्टै लाग्छ । सम्पादन एक किसिमको ध्यान नै हो मेरो लागि ।'

किरणको अनुभवमा नेपालमा नयाँ निर्देशकलाई लगानी खोज्न गाह्रो छ । उनले पनि 'एट एनोदर विन्टर'का लागि सजिलै लगानीकर्ता भेटेका थिएनन् । 'राम्रा फिल्ममेकरले लघु फिल्म बनाउँदै आफूलाई नियाल्दै गइरहेको हुन्छ । लघु फिल्म आफ्नो क्षमता हेर्न र नियाल्न पाइन्छ नि । भविष्यमा फिचर फिल्म बनाउने मन छ । सायद ८/१० वर्ष लाग्ला कि । नेपालमा त सरकारको लगानी पनि हुँदैन । फिचर फिल्मको लागि त धेरै लगानी चाहिन सक्छ । त्यसैले पनि लघु फिल्म गरिरहेका हुन्छन् । लगानीको एकदम समस्या छ । निर्माता खोज्न नै चुनौती हुन्छ,'किरणले भने ।

उनले 'एट एनोदर विन्टर' खिच्न १२ दिन लगाएका थिए । तर खिचाइको अन्तिमतिर आर्थिक दबाब भयो । उनी नन-एक्टरसँग काम गर्न चाहन्थे । तर लगानीकर्ताकै कारण अडिसन गरेर कलाकार छनोट गरे । फिल्मको छायांकन पहिला काठमाडौंमा सकेर गाउँतिर गर्ने तयारी थियो । तर त्यसरी खिच्दा कथाको मर्म मर्ने हुनाले गाउँबाट खिच्दै काठमाडौं आइपुग्यो । २०२१ को जनवरी तिर यो फिल्म तयार भयो । फिल्मको लेखनमा राजेशप्रसाद खत्री पनि समावेश छन् ।

प्रकाशित : पुस २, २०७८ २०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×