जलवायु परिवर्तनको विषयमा केन्द्रित 'किम्फ' - मनोरञ्जन - कान्तिपुर समाचार

जलवायु परिवर्तनको विषयमा केन्द्रित 'किम्फ' 

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमाल एसोसियसनद्वारा आयोजित काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ । जलवायु परिवर्तनको विषयलाई स्लोगान बनाइ 'क्लाइमेट कर्म' उपशिर्षक दिइएको यो फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइनेछन् ।

भर्चुअल र भौतिक दुवै माध्यमबाट आयोजना गरिने फेस्टिभलको मुख्य आकर्षण हुन् सोनाम वाङचुक । लद्दाखका पर्यायवरणविद, रोलेक्स पुरस्कार विजेता वाङचुक फेस्टिभलका 'किनोट स्पीकर' हुन् । समय मिलेसम्म उनी फेस्टिभलका लागि नेपाल नै आउने तयारीमा छन् । अमेरिकी फिल्मकर्मी काइल रुडिक निर्देशित फिल्म 'ड्रिम माउन्टेन' प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिनेछ ।

'क्लाइमेट कर्म'मार्फत् वातवरणसँग मानवको सम्बन्ध र जलवायु परिवर्तनका विषयमा जोड दिँदै नेपालीलाई असर गर्ने मुद्दाहरूबारे अन्तरक्रिया र संवादसमेत गराउने किम्फको तयारी छ ।

किम्फ र युरोपेली संघले नेपाली फिल्म मेकरका लागि 'ग्रीन ग्रोथ-ग्रीन रिकभरी' शीर्षकमा लघु फिल्महरूको प्रतियोगिता पनि गर्नेछ । किम्फ र 'सेभ द चिल्ड्रेन'ले वातावरणका लागि 'कल टु एक्सन'मा टिकटक च्यालेन्ज पनि गर्ने भएको छ ।

स्विट्जरल्याण्डका पत्राकार तथा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्राकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल फेस्टिभलका निर्णायक हुन् । निर्णायकले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ ।

यो वर्ष अमेरिकामा रहेर फोटोग्राफी गर्दैआएकी सिरा क्रोवेलले 'मास्टर क्लास' लिनेछिन् भने स्विस भूवैज्ञानिक टोनी हेगनको 'बिल्डिङ बिज्रेज टु द थर्ड वर्ल्ड'को नेपाली अनुवादित पुस्तक 'नेपालमा मेरो खोज यात्रा'को पनि विमोचन गरिनेछ । साथै 'सस्टेनवल समिट्स –क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दि वर्ल्ड', 'एभरेस्ट–बाइ दोज हु वेयर देयर, १९२१, १९२२, १९२४' को विशेष प्रदर्शनी गरिनेछन् ।

प्रकाशित : मंसिर १९, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

ओमिक्रोन विरुद्ध तयारी थाल्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण संक्रमण फैलनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिले आवश्यक तयारी सुरु गर्न निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

घर्तीका अनुसार जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउन मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।

उनले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकता अनुसार बन्दोबस्त गर्न पनि निर्देशन दिएको जानकारी दिइन् ।

‘खोपलाई छिटोभन्दा छिटो जनताकहाँ पुर्‍याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नु भएको छ । हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु । ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ । किनकि थोरै हुन्छन् । त्यस्तो गरे सजिलो हुन्छ । यो व्यवस्था स्वास्थ्य मन्त्रालयले गरोस्,' सभापति घर्तीले भनिन् ।

यस्तै बाहिरबाट आएका मानिसलाई नगरपालिका, गाउँपालिका र वडामा पुगेर खोप लगाउने व्यवस्था गर्नुपर्ने पनि उनले बताइन् । तर ओमिक्रोनबाट बच्न र आम मानिसबाट भय हटाउन शतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित : मंसिर १९, २०७८ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×