बिहेबिना नै सन्तान ग्रहण गर्ने स्वरा भास्करको घोषणा- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहेबिना नै सन्तान ग्रहण गर्ने स्वरा भास्करको घोषणा

कान्तिपुर संवाददाता

मुम्बई — बलिउड अभिनेत्री स्वरा भास्करले विवाहबिना नै सन्तान 'एडप्ट' गर्ने घोषणा गरेकी छन् । ३३ वर्षीया अभिनेत्री भास्करले विवाहबिना नै सन्तान ग्रहण गर्ने घोषणा गरेकी हुन् । उनले बच्चा ग्रहण गर्नका लागि कानुनी प्रक्रियासमेत सुरु गरिसकेको बताएकी छन् ।

उनले यसका लागि सरकारी निकाय 'सेन्ट्रल एडप्टेशन रिसोर्स अथोरिटी'मा आफ्नो नाम दर्ता गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 'म सधैँ परिवार र बच्चा चाहन्थें । मलाई महसुस भयो कि यो कामका लागि एडप्टेशन सबैभन्दा राम्रो हुनेछ,' अभिनेत्री भास्करले भनेकी छन् ।

भारतीय कानुन अनुसार यहाँ एकल महिलाहरूलाई सन्तान एडप्ट गर्ने अनुमति दिइएको छ । यसअघि पनि अभिनेत्री सुस्मिता सेन, प्रिती जिन्टा, रवीना टन्डन, सन्नी लियोन, निलम कोठारी लगायत कलाकारले सन्तान एडप्ट गरिसकेका छन् ।

भास्करले यसअघि पनि यसबारे प्रतिक्रिया दिएकी थिइन् । 'वीरे दि वेडिङ', 'तनु वेड्स मनु'सहित केही फिल्ममा आफ्नो अभिनयको जबर्जस्त प्रभाव देखाएकी भास्कर पछिल्लो समय सत्ता र शक्तिको खरो आलोचना गर्ने गरेकी छन् ।

कतिपय राजनीतिक तथा सामाजिक मुद्दामा तर्क राख्दा उनी विवादितसमेत बनेकी छन् । देशव्यापी किसान आन्दोलनमा ऐकवद्धता जनाउनुका साथै उनले जवाहराल नेहरु विश्वविद्यालयको विद्यार्थी आन्दोलनमा खुलेर समर्थन गरेकी थिइन् ।

प्रकाशित : मंसिर १०, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासी क्षेत्र २ मा अझै भएन पुन: मतगणना

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा ३ दिन भइसक्दा पनि पुन: मतगणना हुन सकेको छैन । क्षेत्रीय सभापतिका २ उम्मेदवारको मत बराबर भएपछि पुन: मतगणना गर्ने सहमति भएको थियो ।

मतगणना सकिएको ३ दिन बितिसक्दा पनि उम्मेदवार र तिनका एजेन्ट मत गणनास्थल (कांग्रेस पार्टी कार्यालय कावासोती) मा नआएका कारण निर्वाचन समितिले गणना सुरु गर्न सकेको छैन ।

बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुन: मतगणना गर्ने निधो भएको थियो । फेरि गन्न दुबैको सहमति भए पनि पार्टी कार्यालयमा कोही पनि उपस्थित नभएका कारण मत गन्न नसकिएको हो । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदवार बनेका थिए ।

मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । त्यो (क्षेत्र नम्बर २) क्षेत्रको मतदान चोरमाराको स्कुलमा भएको थियो । मतदान अधिकृत चुडामणि कँडेलले प्रतिनिधि आए पनि, नआएपनि शनिबार बिहान १० बजेबाट मतगणना गरी नतिजा सार्वजनिक गरिने जनाए ।

त्यहाँको मतगणना नभएको बहाना बनाउँदै नेताहरुले जिल्ला कार्यसमितिको निर्वाचन मंसिर १९ र २० गते गर्ने भएका छन् । '१९ गते मनोनयन हुन्छ, २० गते मतदान', निर्वाचन अधिकृत कँडेलले भने । उम्मेदवार सूर्य गुरुङले शनिबारको मतगणनामा आफूहरु उपस्थित हुने कान्तिपुरलाई जानकारी दिए ।


प्रकाशित : मंसिर १०, २०७८ २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×