कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोक, चौतारामा मञ्चन गरिँदै 'ठूलो माछा सानो माछा' 

काठमाडौँ — पोखरी, ढुंगेधारा, खोलानाला सुके । रुखहरू मासिए, चराचुरुङ्गीले बासस्थान गुमाए । चारो खान आउने चराहरूको संख्या घटेको छ । कृष्णकी आमालाई चराचुरुङ्गी र प्रकृतिको मात्रै होइन छोराबुहारीको पनि चिन्ता छ ।

चोक, चौतारामा मञ्चन गरिँदै 'ठूलो माछा सानो माछा' 

कृष्णलाई भने छोरा र छोरी पढाउनकै चिन्ता । सडक विस्तारले आफ्नो खेत मासिने भएपछि मुआब्जा लिने कि नलिने दोधारको चिन्ता । सडक विस्तारको नाममा मुआब्जा बेगर उनको खेतमा डोजर चल्छ । कृष्णले यी सबै समस्यासँग कसरी संघर्ष गर्लान् ?

नाटक 'ठूलो माछा सानो माछा' भुइँमान्छेको कथा हो । यो गरिब, निमुखाको पीडा बोल्ने कथा हो । यही नाटकलाई लिएर देश दौडाहमा निस्किएको शिल्पी टिमले 'ठूलो माछा सानो माछा'लाई काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न ठाउँहरूमा देखाउने भएको छ ।

यसअघि टिमले झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा यो नाटक देखाएको थियो । घिमिरे युवराजको परिकल्पना र निर्देशनमा तयार भएको यो नाटक कीर्तिपुरको बाघभैरव, चापागाउँ, कालिमाटी, बसन्तपुर, पाटन, भक्तपुर, थानकोट, खोकना, बालाजु, टोखालगायतका ठाउँमा देखाइने भएको हो ।

मंसिर १० देखि २० सम्म शिल्पीले विभिन्न डबली, चोक र सडकमा नाटक मञ्चन गर्दै जनता जगाउने भएको छ ।

काठमाडौंमा देखाइने भएसँगै नेपाली र नेपाल भाषामा नाटक तयार पारिएको छ । यसअघि काठमाडौंमै नेपाली, थारु र मैथली तीन भाषामा नाटक मञ्चन गरिएको थियो ।

'जसरी समाज बसेको छ त्यसरी नै हामीले नाटक गर्ने कोशिस गरेका छौं,' नाटकमा प्रयोग गरिएका भाषाबारे घिमिरेले प्रष्ट्याए । विकासमा नाममा भइरहेको विध्वंस, साँस्कृतिक हस्तक्षेपसँगै गरिब, निमुखा, किसानको पीडा बोल्ने यो नाटकले सरकारी कार्यालयको ढिलासुस्ती, बिचौलिया प्रवृत्ति, स्वास्थ्यमा गरिने लापरवाहीलगायत समस्याहरूमाथि प्रश्न उठाउँछ ।

प्रकाशित : मंसिर ९, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?