कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गायनमा जब मोडियो बाटो

सन्जु पौडेल

लुम्बिनी — रोजाइको क्षेत्रमा निरन्तर परिश्रमले सफलता मिल्छ । यसको उदाहरण हुन् गायक अमित बराल । नवलपरासीको बर्दघाटका उनले स्कुले बेलादेखि नै गीत गुनगुनाउन सुरु गरेका थिए । विद्यालयको प्रतियोगितामा पहिलोचोटि ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गाउँदा प्रथम भए । 

गायनमा जब मोडियो बाटो

७ कक्षापछि परिवारसँगै रूपन्देहीको सैनामैना–४ मा बसाइँ आएका उनले मञ्च पाउँदा गाइरहे । बुटवलमा संगीत प्रशिक्षण लिए । नेपाल आइडलको पहिलो सिजनका लागि अडिसन खुल्यो । सुन्ने जतिले राम्रो गाउँछौ भनेकाले ढुक्क थिए । ‘गीत गाइयो, प्री–अडिसनमै फालिएर नमज्जा भयो,’ उनले भने, ‘बथान साथी गएका थिए । नछानिँदा लाज पनि लाग्यो ।’ दुईदिने अडिसनमा अमित अर्को दिन फरक लुगा लगाएर अडिसन दिन गए । नचिनिएपछि उनले गाउन पाए । छनोटमा परे । थिएटर राउन्डमा भने उनको यात्रा टुंगियो । अर्को आइडल अडिसन कुर्न एक वर्ष लाग्थ्यो । काठमाडौंमा चण्डीप्रसाद काफ्लेसँग एक वर्ष संगीत सिकेका उनले पढ्दै जागिर पनि गरे ।

नेपाल आइडलको अडिसन छोड्न मन नलागेकाले रूपन्देही आई रेस्टुराँमा तीन महिना लाइभ म्युजिकमा काम गरे । आइडल सिजन–२ को अडिसनमा प्रि–राउन्ड पार गरी निर्णायकको अगाडि जान पाए । त्यो दिन भुल्न नसकिने खुसीको दिन बन्यो । पुष्पन प्रधानको ‘पन्छी फर्केर स्वदेश आऊ’ बोलको गीत अमितले आइडलको मञ्चमा गाए । त्यो गीत गाएपछि अनपेक्षित प्रशंसा पाए ।

नेपाल आइडलबाट निस्केर जापान, अस्ट्रेलिया, कुवेत, भारत र कोरियामा आफ्नो आवाजको जादू छरे । अरूका गीत गाएर आइडलको यात्रा गरेका उनले पुष्पनको साथ पाएपछि ‘म तिम्रै थिएँ, तिम्रै हुँ, तिम्रै रहुँला’ गाए ।

युट्युबमा आफ्नै च्यानलमार्फत ‘घामछाया’ र ‘यति धेरै माया’ बोलका गीत ल्याएका छन् । पहिलोपटक उनले बुटवलमा गाउँदा ६ हजार पारिश्रमिक पाएका थिए । देशभित्र १५ देखि ५५ हजार र बाहिर एक लाखभन्दा बढी उनको पारिश्रमिक छ । चलचित्रका लागि पनि गाउने अवसर आएको उनले बताए । अमित टिकटक लाइभमा पनि आइरहन्छन् र श्रोताले रोजेका गीत गाइदिन्छन् ।

रूपन्देहीबाट उदाएका अर्का कलाकार अफ्सर अली पनि नेपाल आइडलबाटै उदाएका हुन् । श्रोतामाझ उनको राम्रो छाप छ । तिलोत्तमा–१५ कोटिहवाका उनले बुटवलमा संगीत सिकेका हुन् । गाउँदै गर्दा उनले दीप सिंगिङ स्टार, नेपाली तारा, भ्वाइस अफ बुटवल/भैरहवाजस्ता कार्यक्रममा भाग लिए । कतै मञ्चमा कार्यक्रम भएको वा हुने थाहा पाए गाउन पाए हुन्थ्यो भनी आग्रह गर्दै उनी रातिसम्म गीत पाउने आसमा मञ्चअगाडि उभिएका दिन सम्झन्छन् । ‘कहीं दिइहाले पनि अन्तिममा राखिदिन्थे,’ उनले भने, ‘राति १२ बजेतिर गाउन पाए, सकाएर हिँड्दै घरसम्म पुग्थें ।’

अलीका दाजु समर्थक र प्रेरणा हुन् । उनी पनि गाउँछन् । अफ्सर नेपाल आइडलको पहिलो सिजनमा १५ राउन्डसम्म पुगेर फालिएका थिए । बाहिरिनुपर्दा दुःख लागेको उनले सुनाए । उनी अहिले एकल गायनका लागि एउटा कार्यक्रममा २५ देखि ३० हजार पारिश्रमिक लिन्छन् । शास्त्रीय संगीतमा रुचि भएकाले उनी त्यही विधाको गायनलाई बढी महत्त्व दिन्छन् । उनको ‘तस्बिर देख्छु तिम्रै नशाको’ गीतले राम्रै चर्चा पायो । मञ्चमा शास्त्रीय र सुफी गाएर परिचित उनी भारत, कतार, मलेसियासम्म पनि पुगेका छन् । उनी अहिले विद्यालयमा संगीत सिकाउँछन् ।

उनको सांगीतिक समूह छ । अफ्सर अली एन्ड द पियानोट्स ब्यान्डका ७ सदस्यले मञ्च चढेपछि दर्शक र श्रोताको तालीको गडगडाहाट आउने गरेको छ । ब्यान्ड प्रस्तुतिमा अफ्सर ५० हजार बढी पारिश्रमिक लिएर गाउँछन् । शास्त्रीय फ्युजन गरिएका गीत रुचाउने अली कलाकारलाई सम्मानले हौसला हुने बताउँछन् ।

प्रकाशित : मंसिर ८, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?