'रुदाने'को जीवन पो जीवन !- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'रुदाने'को जीवन पो जीवन !

अभिनेता दिव्य देवका ६ वटा फिल्म प्रदर्शनको पर्खाइमा छन्
रीना मोक्तान

काठमाडौँ — भिक्टर नभरोस्कीले न्युयोर्क विमानस्थल पुगेपछि थाहा पाउँछन्, सैन्य 'कु'ले देश गृहयुद्धमा परिणत भइसक्यो । गृहयुद्धको प्रभावले विमानस्थलमा उनको पासपोर्ट जफत गरिन्छ । बिना पासपोर्ट न उनी न्युयोर्क प्रवेश गर्न सक्छन् न देश फर्कन । अंग्रेजी बुझ्दैनन्, बोल्न पनि सक्दैनन् । 'एस- नो' र 'थ्यांक्यू' को भरमा भिक्टर ९ महिना उक्त विमानस्थलमा अड्किन्छन् । आफ्नो गन्तव्यसम्म पुग्नका लागि टर्मिनल भवनभित्रै महिनौं खुम्चिएर भिक्टरले संघर्ष गर्छन् ।

'द टर्मिनल' को यो कथाले अभिनेता दिव्य देवको मन छोयो । जीवनकै पहिलो अंग्रेजी फिल्म 'द टर्मिनल' उनले अष्ट्रेलिया पुगेपछि हेरे । अंग्रेजी कलाकार टम ह्यांक्सले अंग्रेजी बोल्न नसक्ने भिक्टरको अभिनय निर्वाह गरेको देखेपछि उनलाई लाग्यो- 'अभिनय भनेको यो पो हो त !' यही फिल्मले उनलाई अभिनयमा करिअर देखायो । सन् २००८ मा अष्ट्रेलिया पुगेका उनी २ वर्षमै नेपाल फर्के । फिल्म कलेज अस्कर भर्ना भए, अभिनयमा जम्न थाले ।

हुन त १३/१४ वर्षको उमेरमै पहिलोपटक टिभी देख्दा अभिनयमा आकर्षित भएका थिए, दिव्य । बैतडीमा हुर्केका उनलाई द्वन्द्वकालको समयमा घरमा असुरक्षा हुने देखिएपछि बुवाले मामाघर पठाइदिए । मामाघरमै उनले टिभी देखे । पर्दाभित्रको दुनियाँले उनलाई तान्यो । एसएलसी गरेर काठमाडौं आए । रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्राकारिता पढे । त्यतिबेलासम्म कलेजमा हुने नाटकमा अभिनय त गर्थे तर अभिनयमै भविष्य देख्छु भन्ने सोचिसकेका थिएनन् । टम ह्यांक्सको फिल्मसँग ठोक्किएपछि भने अभिनयमा उनी गम्भिर बने । अस्कर भर्ना भएको पहिलो वर्षमै थिएटरमा अभिनय गर्ने मौका पाए । 'युथ थिएटर फेस्टिभल'मा मञ्चन भएको 'पर्गेटरी'मा अभिनय गरे ।

त्यसपछि अंग्रेजी नाटक 'एन्जल्स इन अमेरिका'को अडिसनमा छनोट भए । समलैंगिक पात्रको भूमिका, मञ्चमै अर्का पुरुष पात्रलाई चुम्बन गर्नुपर्ने । यो नाटकसँगै थिएटरमा उनको अभिनयको यात्रा सुरु भयो । अस्करकै साथी उत्पलको निर्देशनमा तयार भएको 'लभ, लस्ट, लाइफ'मा पनि उनले अभिनय गरे, जुन'कान्स'को लघु फिल्मतर्फ छनोटमा पर्‍यो ।

अहिलेसम्म गरेका २५ नाटकमा दिव्यले करिब १८ त अंग्रेजी नाटक नै गरेका छन् । 'ह्यामलेट', 'लुक ब्याक इन एन्गर', 'सान्दाजुको महाभारत', 'सेम टाइम नेस्कस्ट इयर'लगायतका नाटकमा आफ्नो अभिनयको प्रखरता देखाइसकेका दिव्य प्रदर्शन हुन बाँकी ६ फिल्मका अभिनेता हुन् । यसअघिका फिल्म 'नागरिक', 'सुप्पर हिट', 'आवरण'ले ठूलो पर्दामा उनलाई खासै चिनाएन । प्रदर्शन पर्खिरहेको 'रुदाने', 'डाकिनी', 'चिसो एस्ट्रे', 'हिजो आजका कुरा', 'किया', 'राधा'ले भने पर्दामा आफूलाई स्थापित गराउनेमा उनी आसावादी देखिन्छन् ।

'कुनै फिल्मको रिलिजको अत्तोपत्तो छैन । म त कुर्दा कुर्दा हैरान भइसकें, 'हाँस्दै सुनाए, 'प्रदर्शनलाई लिएर हतास नै भइसकेको त छैन । फिल्मका दर्शकबीच मेरो परीक्षा हुन बाँकी छ । थिएटरमा एकहदसम्म आफूलाई प्रमाणित गरिसकें । तर फिल्ममा सयौं थरिका दर्शक हुन्छन् । हरेकका आ-आफ्नै विचार हुन्छन् । म नाटकलाई लिएर जति ढुक्क हुन्छ फिल्ममा त्यस्तो छैन ।' अभिनयमा अब्बल दिव्य आवाजको दुनियाँमा पनि खोजिने नाम हो । विज्ञापन, डकुमेन्ट्रीमा आवाज दिइरहेका दिव्य अहिले 'माइ सेकेण्ड टिचर' र 'रामायण'मा आवाज दिन व्यस्त छन् ।

रुदाने यात्रा

सन् २०१५ मा 'रुदाने'को अफर आउँदा दिव्यलाई बल्ल आफूले रोजेजस्तै, चुनौतीपूर्ण पात्र भेटेको भान भयो । निर्देशकद्वय विकास ढकाल र अमित किशोर सुवेदी रुदानेजस्तै देखिने अनुहारको खोजीमा रहेछन् । दुब्लो पातलो शरिर, अनुहार पनि रुदानेसँग मिल्न गएपछि उनी फिल्मका लागि चुनिए । फिल्म गर्नुअघिसम्म रुदानेलाई चिन्दैन थिए, दिव्य । 'दुर्भाग्यवस मैले उहाँलाई चिनेको थिइनँ । जब थाहा भयो 'ओहाे के आयो सामुन्ने' भन्ने लाग्यो ।सुरुमा एकदम अचम्मको व्यक्ति लाग्यो ।त्यस्तो व्यक्तिले जिएको जीवन र दर्शन गहन छ । अहिलेको पुस्तालाई रुदाने थाहा नहुनु दु:खद कुरा हो,'फिल्म आवद्ध हुँदाको क्षण सम्झिन्छन् ।

'रुदाने'को चरित्र निर्माणका लागि उनीसँग खासै स्रोतहरू थिएनन् । २/४ वटा अडियो टेप थिए । 'थाहा' लेखिएको किताब थियो । रुदानेलाई बुझ्न गहिराइमा जानकारीहरू बटुले । मकवानपुर पुगे । रुदानेको 'हाउभाउ कसरी पहिल्याउने' भिडियोमा हेर्न कुनै स्रोत थिएन । गाउँ पुगेपछि भाषण गर्दा हातहरू चलाउने खुट्टा बजाउने गर्थे भन्ने कुरा थाहा पाए । रुदानेको चरित्र निर्माण गर्न सजिलो थिएन । 'गाउँमा एकले एकथरि, अर्कोले अर्कोथरि सुनाउँथे । त्यही कुराहरूमा साझा के छ त? भनेर खोज्न थालें । उनको बोल्ने शैली एकदमै विशेष । थोरै शब्दमा टक्क मुटुमै पर्ने कुरा भन्न सक्ने । त्यो कुरालाई एक कलाकारका हिसाबले कसरी गर्ने चुनौति थियो,' उनले सुनाए, 'अभिनयमा त्यो चरित्रको आत्मा झल्किनुपर्‍यो नि ! हाउभाउ र लुक्सले मात्र पुग्दैन नि त ! त्यो असाधरण व्यक्तिको आत्मा पनि असाधरण नै हुनुपर्छ । त्यो पहिल्याउनु र आत्मासाथ गर्न सजिलो थिएन ।'

'रुदाने'को चरित्र निर्वाह गर्दा दिव्यलाई अभिनय मात्र गरिरहे झैं भयो । पात्रको ऊर्जा उनमा झल्किएन । त्यसैले उनले सहरमा 'थाहा' लेख्दै हिँड्न थाले । 'थाहा' लेख्दै हिँड्दा प्रहरीले थर्काउने पो हो कि? भन्ने विचार नआएको होइन। तर उनको मनले भन्यो 'रुपचन्द्र कहाँ डराउँछ त ?' उनले आफूलाई रुपचन्द्रको रुपमा विश्वास गरे । लाजिम्पाट, रत्नपार्कलगायत सहरका विभिन्न पुलहरूमा थाहा लेख्दै हिँडे । विस्तारै उनले रुदानेको उर्जालाई आफूमा आत्मासाथ गरे । लामो ओभरकोट, रुदानेकै हाउभाउ । त्यही हुलियामा उनी सहर डुल्न थाले । हिँड्दै गर्दा अचानक एकदिन भाषण नै गर्न मन लाग्यो । काठमाडौं मल छेउको पुलमा उभिएर भाषण गर्न थाले ।

मानिसहरू उनलाई बहुलाएको हो कि ! भन्ने भावमा घुरेर हेर्थे । तर उनले ती नजरहरूलाई बेवास्ता गरे । त्यसपछि रुपचन्द्रले झैं पर्चाहरू बेच्न थाले । मानिसहरू रमाइलोका लागि पर्चा किन्थे । पाँच रुपैयाँमा २०/३० वटा पर्चा बेचे । पर्चा बेचेको पैसा उनले साँचेर राखेका छन् । रुपचन्द्र चुनाव खर्च त्यही पर्चाबाट उठाउँथे । राजनैतिक विचार, जीवनको दर्शन, जनतालाई जगाउने छोटा कविता लेखेर पर्चा बेच्थे । 'मानिसहरू उनको पर्चा किन्न हारालुछ गर्थे । कस्तो अचम्म अहिले कोही नेताले पर्चा दियो भने सित्तैमा लिन पनि मान्दैनन् । त्यसरी हिँडेपछि झन-झन आफैंलाई रुपचन्द्रको रुपमा विश्वास गरें, ' दिव्यले चरित्र निर्माणको क्षण सम्झे ।

चरित्र निर्माणकै क्रममा उनले रुपचन्द्रको जीवनशैली, निर्णयलाई नजिकबाट नियाल्न पाए । जिद्दु कृष्ण मूर्तिलाई सुन्न थालेपछि आफूले रुपचन्द्र र 'थाहा'लाई बुझेको दिव्य सुनाउँछन् । 'उहाँले छोड्नु भएको दर्शन, बाँच्नु भएको जीवन एकदमै विशिष्ट छन् । त्यस्तो जीवन पो जीवन ! साँच्चै जे बोलेको छ त्यस्तै बाँचिदिने । त्यो पात्रको अभिनय गर्न पाउनु मेरो भाग्य हो। न्याय दिएँ, दिइनँ त्यो फिल्म प्रदर्शनपछि थाहा हुन्छ, 'दिव्यले भने, 'फिल्म भनेको एउटा पक्ष मात्र राम्रो भयो भन्दैमा राम्रो हुँदैन । एउटा कलाकारले राम्रो काम गर्‍यो भन्दैमा फिल्म राम्रो हुँदैन । सम्पादकले राम्रो सम्पादन गर्‍यो भन्दैमा राम्रो हुँदैन । त्यही भएर हाम्रो फिल्म कस्तो बन्यो भन्ने कुरामै डर छ। तर हामी सबैले आफ्नो उत्कृष्ट दिएका छौं । ४ वर्ष अगाडि अभिनयको जस्तो ज्ञान थियो त्यो सबैलाई इमान्दार भएर मैले रुदानेको चरित्रमा अभिनय गरेको छु ।'

दिव्य सेटभर रुदानेकै पहिरनमा बस्थे । वर्कसपको बेलादेखि सहायक कलाकारलाई 'भाते' भनेर बोलाउन थालिसकेका थिए । गाउँमा सुटिङ हुँदा गाउँलेहरू उनलाई हेर्न झुमिन्थे । त्यही पहिरनमा दिव्यलाई देख्दा कतिले रुदानेलाई सम्झिए पनि । सुटिङ हेर्न आएका गाउँलेहरू भन्थे,'एकचोटी भाते भनिदिनु न ।' उनी भनिदिन्थे 'भाते के छ' ?' । पर्दामा रुदानेको जीवन बाँचेका दिव्य रुपचन्द्रसँग व्यक्तिगतरुपमै गाँसिएका छन् । 'यो व्यक्तिसँग एकपटक भेट्न पाए भन्ने अर्कै खालको लगाव छ । सायद त्यो चरित्रलाई भावनात्मक रुपले आत्मसाथ गरेको भएर होला व्यक्तिगत रुपले गाँसिएको अनुभव भएको छ,'उनले सुनाए ।

दिव्य आफूलाई चुनौती लाग्ने, उत्साहित बनाउने कुरा फिल्ममा भएपछि मात्र फिल्म गर्न तयार हुन्छन् । 'रुदाने' मात्र होइन प्रदर्शन कुरिरहेको ६ फिल्म उनको रोजाइमा परेका फिल्म हुन् । सबै फिल्ममा कलाकारले चरित्र निर्माणको लागि समय पाइरहेका हुँदैनन् । विशेष त व्यवसायिक फिल्ममा । दिव्यले 'रुदाने'लाई झैं अन्य चरित्रहरूको निर्माणमा समय र उतिकै मिहिनेत गरेका छैनन् । उनी सबै चरित्रका लागि गहिराईमा पुगेर अभिनय गर्नु नपर्ने बताउँछन् । 'सायद सबै फिल्ममा त्यो चाहिँदा पनि चाहिँदैन ।त्यो गर्नु पनि हुँदैन जस्तो लाग्छ । हरेक चरित्रको एउटा यात्रा हुन्छ, एउटा प्रकृया हुन्छ । कतिमा स्वतन्त्र भएर बस्नुपर्छ । कुनैमा रुपचन्द्रको जस्तो गहिराईमा पुगेर अभिनय गर्नुपर्छ,'उनी सुनाउँछन् ।

प्रकाशित : मंसिर ६, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

उब्रिएको कपडाबाट मास्क बनाउने ज्ञानशोभा

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर, पाटनकी ज्ञान शोभा बज्राचार्यले १८ वर्ष हुँदा नै बुटिकको काम सुरु गरिन् । अहिले उनी ५८ वर्ष भइन् ।

२० वर्षदेखि पाटनको गाबहालमा आफ्नै लगानीको ‘बसुन्धारा क्रिएसन’ चलाइरहेकी छन् । जहाँ ग्राहकले कपडा सिलाउन ल्याउँछन् । सिलाएर बाँकी रहेको कपडाको थुप्रो धेरै हुन्थ्यो । यस्तो कपडालाई कसरी प्रयोगमा ल्याउने भनेर उनले उपाय निकालिन्– मास्क बनाएर बिक्री गर्ने ।

हाल उनले त्यस्ता कपडाबाट मास्क, रोटी पट, डुअर म्याट, प्याड, हेयर ब्यान्ड, मेकअप बक्स, वासिङ मेसिन कभर बनाएर बिक्री गर्छिन् । कुनै सामान बनाइसकेपछि बाँकी रहेको कपडा फ्याक्नुपर्दा उनलाई माया लाग्छ । हाल उनले एउटा मास्क सय रुपैयाँमा मात्र बिक्री गर्छिन् । काम सिक्न चाहने अरुलाई पनि सिकाउँछिन् । यो काम नाफाको दृष्टिकोणले मात्रै नगरेको उनी सुनाउँछिन् । फालिएका कपडाबाट आफैले प्रयोग गर्न मिल्ने अन्य सामान बनाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको उनले बताइन् ।

प्रकाशित : मंसिर ६, २०७८ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×