प्रशंसकबाट घेरिए हमाल

मधु शाही

बाँके — उनी तन्नेरीका घेरामा थिए । भीड छिचोल्दै भुइँतिर झुकेका दुई वृद्धवृद्धा अभिनेता राजेश हमालका अघिल्तिर टुप्लुक्क आइपुगे । हमालका अगाडि उभिन पाउँदा उनीहरूलाई सानोतिनो युद्ध जितेजस्तै भएको थियो । मुस्कानसहित राजेशतिर पुलुक्क हेरेर वृद्धाले बागेश्वरी मन्दिरको प्रसाद र फूल दिइन् ।

प्रशंसकबाट घेरिए हमाल

सेल्फी खिच्ने र टिकटक बनाउने युवाको मन राख्दै गरेका अभिनेताले वृद्धवृद्धाप्रति श्रद्धापूर्वक चासो देखाए । ‘सन्चै हुनुहुन्छ ?’ भन्दै एक–दुई शब्दमा हालखबरसमेत सोध्न भ्याए । अनि, प्रसाद ग्रहण गरेर कृतज्ञता व्यक्त गरे ।

राजेश हमाललाई फ्यानको कमी छैन । नेपाली सिने क्षेत्रमा दुई दशक लामो यात्रा पार गरेका उनको पाका र युवा दुवै पुस्ता फ्यान छन् । जति पुरानो भए, उति क्रेज छ । शनिबार नेपालगन्ज म्याराथनमा पछ्याउनेको मिश्रित दृश्य थियो । कसैले ‘राजेश दाइ’ भन्दै सम्बोधन गर्थे भने बूढापाकाले ‘राजेश बाबु’ भन्दै बोलाउँथे । भीडमा सेल्फी खिच्दै गरेका दाङका बिहान रोकायको राजेशप्रतिको बुझाइ अलि अनौठो थियो ।

सेल्फी खिचेपछि उनी फेसबुकमा अपलोड गर्न आतुर थिए । उनी दंग थिए । भीड नियन्त्रण गर्न नसकेपछि म्याराथनको स्टेजबाट हमालले फ्यानलाई पालैपालो भेट्न थाले । कहिले कसो स्टेजमुनिका दर्शकमाझ हात मिलाएर हौसाउँथे । कालो चस्मा, कालो टिसर्टमा उभिएका उनीसँगै पत्नी मधु भट्टराई पनि थिइन् । यद्यपि, राजेशका अधिकांश फ्यानले मधुलाई चिन्न सकेका थिएनन् । कतिपयले ती युवती को होलिन् भन्दै गाइँगुइँ गर्दै थिए ।

एक कलाकारका लागि दर्शक नै सबैथोक हुन् । राजेशको हकमा दर्शकको महिमा अझै विशेष छ । उनी पाका पुस्ताका दर्शकलाई भेटेर आफूले खेलेको फिल्मको चर्चा परिचर्चा अझैसम्म गरेको देख्दा भावुक हुन्थे । पर्दामा देखिएको व्यक्तिलाई प्रत्यक्ष अगाडि उभिएको देख्न पाउनु सौभाग्यजस्तै ठान्थे । दर्शक जति उत्साहित हुन्छन्, राजेश पनि उत्तिकै हर्षित थिए । ‘कलाकार र दर्शक नङ र मासुजस्तै हुन्,’ उनले भने, ‘उहाँहरूको कुरा सुन्दा अझै नोस्टाल्जिक हुन्छु ।’

राजेश हमाल भेट्न जान्छु भनेर काठमाडौं पुगेका एक जना दर्शकले पछि भेटेपछि तपाईं कहाँ हुनुहुन्थ्यो ? भन्दै निर्दोष शैलीमा सोधेको उनको मस्तिष्कमा ताजा छ । ‘कलाकार समाजभन्दा टाढा हुनै सक्दैन,’ भेट्न आएकाको भीड देखेर हमालले भने, ‘दर्शकले नै कलाकार बनाएका हुन्, दर्शक छन् र त म छु ।’

प्रकाशित : मंसिर ६, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?