१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘कहानी’को त्यो हत्यारा

स्मृति गुमेको पात्र, जो हत्या गर्दै हिँडेको छ र सोध्छ ‘मैले यो गर्नुपर्ने हो ?’

काठमाडौँ — एक घण्टा २२ मिनेटको फिल्ममा मुस्किलले ४/५ मिनेट देखाइएका पात्र दर्शकलाई कत्तिको याद हुन्छ ? मोटो मोटो ज्यानको भद्र देखिने व्यक्ति, पावरदार चस्मा लाउँछ । हेर्दा सज्जन लाग्ने त्यो पात्र अफिसमा राम्ररी काम नगरेकामा गाली खान्छ । सुरुमा सोझो, जवाफ नफर्काउने देखिएका उनको मोबाइल एमएमएसमा फोटो आउँछ । हेर्छन् र जसको आयो, उसलाई त्यसलाई मार्न निस्कन्छ ।

‘कहानी’को त्यो हत्यारा

सन् २०१२ मार्चमा आएको सुजय घोष निर्देशित हिन्दी फिल्म ‘कहानी’ मा ‘बब विश्वास’ नामक हत्यारा पात्रको कथा लामो थिएन । श्रीमानको हत्यारा मिलन दाम्जीलाई खोज्न निस्किएकी महिला विद्या बागची मूल पात्र थिइन् । दाम्जीको खोजी गरिरहेकी महिलालाई मार्ने ‘सुपारी’ लिएका बब पर्दाबाट केहीबेरमै हराउँछन् । कथा विद्याको वरिपरि घुम्दा बब थोरैबेर मात्रै पर्दामा देखाइने पात्र थिए । कन्ट्रयाक्ट किलर बनेका शाश्वत चटर्जीको भूमिका छोटो भए पनि दर्शकको मनमा छाप छोड्ने प्रकारको थियो ।

बब नामक त्यो पात्रले छाप छोडेको अहिले आएर पुष्टि भएको छ, जब शाहरुख खानको कम्पनी रेड चिलिज इन्टरटेन्मेन्टले ‘बब विश्वास’ फिल्म तयार गरेको छ । यस पटक चटर्जीको ठाउँमा छन् अभिषेक बच्चन ।

यस पटकको क्राइम थ्रिलरलाई निर्देशन गरेकी छन् दिया अन्नपूर्ण घोषले । सुजय घोष भने यो फिल्मका लागि पटकथामा काम गरेर रेड चिलिजकी गौरी खानसँगै निर्माताको सूचीमा बसेका छन् । गत शुक्रबार रिलिज भएको फिल्मको ट्ेरलर हेरेपछि अभिषेकप्रति बाबु अमिताभ बच्चन उत्साहित देखिएका छन् । निर्माता कम्पनीले ट्रेलर राखेर गरेको ट्वीटलाई कोट गर्दै उनले लेखेका छन्, ‘म गर्वले भन्न सक्छु तिमी मेरो छोरा हौ ।’

यसको कारण हो अभिषेकले अभिनयमा बलिउडको ध्यानाकर्षण गर्ने भूमिका निकै कम पाउनु । सन् २००० मा जेपी दत्ताको ‘रिफ्युजी’ बाट डेब्यु गरेका उनी अहिले ४५ वर्षका भए । फिल्म नपाएका होइनन्, तर मूलकथा आफैंमा केन्द्रीत रहेर अभिनयमा खरोमध्ये दरिने भूमिका पाएकै छैनन् । अभिनयमा गम्भीर र अर्थपूर्ण मानिने भूमिकाले कलाकारको करिअरलाई अगाडि बढाउँछ । अभिष्ोकले फिल्म पाएका छन्, अभिनयमा खरो देखिने चरित्रको काम पनि पाएका छन्, तर पाए पनि आफूलाई साबित गर्न सकेको बलिउडका समीक्षकहरू मान्दैनन् । यस पटक ‘बब विश्वास’ को ट्रेलरमै उनी प्रभावशाली देखिएका छन् । त्यसले उनको करिअरलाई बल दिने अपेक्षा अमिताभसँगै स्वयं अभिषेकको पनि रहेको सामाजिक सञ्जालका पोस्टहरुले देखाउँछन् । अभिष्ोकका लागि यो नयाँ चरित्र पनि हो । स्मरण शक्ति गुमेको पात्र, जो हत्या गर्दै हिँडेको छ र सोध्छ ‘मैले यो गर्नुपर्ने हो ?’ डाक्टर उनलाई स्मृति फर्कन्छ भनेर नै परिवारका फर्काइएको बताउँछन् । ट्रेलरले नै अपराध कथा अनौठो प्रतीत गराएको छ । फिल्म आगामी डिसेम्बर पहिलो साता जी–फाइभको ओटीटी प्लेटफार्ममा रिलिज हुने भएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : मंसिर ५, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?