'उचाई'को छायांकनले फिल्म क्षेत्रमा बढायो आशा

छायांकन अनुमति खर्च घटाइदिए बलिउड फिल्महरू नेपाल आउने थिए : सुरज आचार्य
रीना मोक्तान

काठमाडौँ — अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा मिल्ने साथी हुन्छन् । डेनी सोलुखुम्बुवासी हुन् । आफ्ना मिल्ने साथीलाई उनी आफ्नो गाउँ-ठाउँ घुमाउने कुरा सधैँ गरिरहेका हुन्छन् । अमिताभ, अनुपम र बोमन एक दिन अचानक नेपाल आइपुग्छन् । नेपाली गाइड परिणिती चोपडाले उनीहरूलाई डेनीको घरसम्म पुर्‍याउने जिम्मा पाउँछिन् । डेनीको घरसम्म पुग्ने यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै 'उचाई'को मूल कथा हो ।

'उचाई'को छायांकनले फिल्म क्षेत्रमा बढायो आशा

यही कथा खिच्न बलिउड निर्देशक सुरज बडजात्यको टिमले नेपालमा करिब १ महिना बिताए । बलिउड स्टार अनुपम खेर, बोमन इरानी र परिणिती चोपडाले नेपाली भूमिमा पहिलोपटक अभिनय गरे । निर्देशक सुरज ३० तारिखमा नेपाल आएका थिए । फिल्मका मुख्य कलाकारहरू अक्टोबर ३ मा आइपुगेका हुन् । अक्टोबर १ मै फिल्मको करिब डेढसय जनाको टिम आइपुगेको थियो । सुरजको निर्देशकीय टिमले पहिला काठमाडौंको छायांकन सम्पन्न गर्‍यो । स्वयम्भु, विमानस्थल, हायातको दृश्य खिचिसकेपछि टिम अक्टोबर ६ मा लुक्ला उड्यो । चार दिन लुक्लामै छायांकन भयो । अक्टोबर ११ मा उनीहरू नाम्चे पुगे । नाम्चेबाट टोली १८ मा काठमाडौं फर्कियो । २ दिनको आरामपछि अक्टोबर २२ मा मनाङ पुगे । त्यहाँ २९ सम्म छायांकन गरेर ३० मा फिल्मका मुख्य कलाकारहरू भारत फर्किएका छन् ।

कोरोना महामारीले नेपाली फिल्म क्षेत्रलाई धरासयी बनाएको बेला फिल्म क्षेत्रका सयौं प्राविधिक तथा कामदारहरूले रोजगारी पाए । १ सय ५० जना पोर्टर, २४ जना गाइड र सहायक गाइडले एक महिनामा कम्तीमा ८० हजारदेखि १ लाखसम्म पारिश्रमिक पाए । यससँगै फिल्म 'उचाई' ले यहाँको फिल्म र पर्यटन व्यवसायलाई केही तंग्रिन उर्जा मिलेको अपेक्षा गरिएको छ । यो फिल्मले नेपाल छायांकनमा भारतीय रुपैयाँ १० देखि १२ करोड खर्च भएको 'उचाई'का नेपाल व्यवस्थापन हेरेका सुरज आचार्य (थ्री ह्विलर्स संचालक) बताउँछन् ।

प्रोडक्सन कन्ट्रोलर/म्यानेजर, सुरज आचार्य फिल्मका लाइन प्रड्युसरसमेत हुन् । मुम्बई बसेर काम गरिरहेका दीपक पन्त फिल्मका अर्का लाइन प्रड्युसर हुन् । कोभिडअघि नै दीपकसँग 'उचाई'बारे कुरा भएको थियो । निर्माण टिमसँग पहिलो लहरको कोभिडपछि छलफल भयो । त्यसपछि सुरज बडजात्यालाई आचार्यले पोखरा, लुक्ला, नाम्चेका छायांकन स्थल देखाए । त्यतिखेर मुस्ताङ खुलिसकेको थिएन । मुस्ताङको विकल्पमा उनले नै मनाङमा फिल्म खिच्न सुझाए । मनाङको रेकी सिद्ध्याएपछि सुरजको टिम अक्टोबरमा नेपाल छायांकनका आएको हो ।

छायांकन स्थलमा हरसमय बलिउडका १ सय ४२ जना टिम हुन्थे । छायांकनका दौरान द्वन्द्व निर्देशक श्याम कुसाल र कोरियोग्राफर सबिना खान नेपाल आएर फर्के । भारतीय टिममा बढीमा १ सय ५५ जना सदस्य थिए । नेपालीतर्फ कलाकारबाहेक छायांकनमा ३० देखि ३५ जना नेपाली प्राविधिक खटिरहे । टिमका लागि ६०/६५ गाडीको प्रयोग २४सै घण्टा रहन्थ्यो । निर्माण टिमले यति एयरलाइन्सलाई लजिस्टिक पार्टनर बनाएको थियो । टिमले पहाडी भेगको उडानका लागि अल्टिच्यूड एयर बुक गरेको थियो ।

सुरजका अनुसार छायांकनको दौरान लगभग ३ सयको हाराहारीमा हेलिकप्टर उडान गरिएको थियो । 'यो एक महिनाको दौरानमा हेलीको फ्लाइट ३ सयभन्दा बढी थियो । हामीले फाप्लो-लुक्ला, लुक्ला-नाम्चे, नाम्चे-एबिसी, कालापत्थर, कालापत्थर-काठमाडौं । काठमाडौं-मनाङको यात्रा हेलीबाटै गरेका थियौं,' उनले सुनाए ।

'हम आपके हे कौन', 'मैने प्यार किया', 'मे प्रेमकी दिवानी हुँ', प्रेम रतन धनपायो', 'हम साथ साथ है', 'विवाह'लगायत फिल्म निर्माण गरिसकेको राजश्री प्रोडक्सन बलिउडको चल्तीकै ब्यानरमा पर्छ । निर्माण टिमले नेपालमा पहिलो चरणको छायांकन सक्यो । यसपछि 'उचाईं'को मुम्बई र दिल्लीमा छायांकन हुनेछ । आचार्यका अनुसार फिल्मको कथा नेपालकै भएकाले पर्दामा ४० मिनेटसम्म नेपालका दृश्यहरू देखाइनेछन् । अमिताभ बच्चन भने नेपाल आउन नपाएकाले भारतमै नेपालको सेट निर्माण गरेर छायांकन गरिने बताइएको छ ।

'उचाई'को छायांकनले पर्यटन, फिल्म क्षेत्रलाई राहत मात्र पुर्‍याएन । नेपालका फिल्म छायांकन स्थलहरूको प्रचारसमेत गर्ने अपेक्षा गरिएको छ । अभिनेता अनुपम खेरले छायांकन दौरान आफू पुगेको जिल्लादेखि हरेक ठाउँको नाम राख्दै ४० लाख फलोअर्स भएको इन्स्टाग्राममा तस्बिरसमेत राखे । अभिनेत्री परिणिती र बोमनले पनि इन्स्टाग्राममार्फत् नेपालको प्रचार गरिरहे ।

'फिल्म पर्यटनमा सरकारको साथ पाएनौं'

बलिउड जस्तो ठूलो बजारमा जाने फिल्मले पर्यटन, फिल्म क्षेत्रलाई राहत पुर्‍याउँदा पनि सरकारबाट अपेक्षित सहयोग नभएको आचार्यको गुनासो छ । 'यो फिल्मले कोरोनाबाट बल्लतल्ल माथि उक्लँदै गरेको अवस्थाको नेपाली प्राविधिक, पर्यटन क्षेत्र, होटल व्यवसायीलाई केही हदसम्म राहत दिएको छ । कलाकारहरूले छायांकनस्थलको प्रचार गरिदिएका छन् । भोलि यूरोप, अमेरिका छायांकन गर्न जाने बलिउड फिल्म नेपालतिर आकर्षित हुने भए,' आचार्यले भने, 'तर हामीले छायांकन दौरान नेपाल सरकारको तर्फबाट केही पनि सहयोग पाएनौं । विकास बोर्डले कोभिडको समयमा बलिउड टिमलाई भैरहवाबाट प्रवेश गर्न सहजिकरणको व्यवस्था मिलाइदियो । सार्क देशहरूका लागि मुस्ताङको छायांकन सस्तो छ । तर उपल्लो मुस्ताङको छायांकनको खर्च अन्य विदेशी फिल्मलाई लिइने मूल्य नै छ । त्यो मूल्य सार्क देशहरूका लागि घटाइदिएको भए छायांकन गर्नेहरू बढ्ने थिए । हाम्रो ठाउँको प्रचार हुन्थ्यो । आन्तरिक पर्यटक बढ्थे ।'

फिल्म पर्यटनले नै नेपालमा आन्तरिक पर्यटक बढेको दाबी गर्छन् आचार्य । 'नेपाली फिल्महरूकै कारण नेपालमा आन्तरिक पर्यटन बढेका छन् । आजभन्दा १० वर्षअगाडि मुस्ताङमा नेपालीहरू कमै पुग्थे । तर जब त्यहाँ फिल्म, गीतहरू खिचियो तब आन्तरिक पर्यटनको चहलपहल बढ्यो । आज विदेशीभन्दा त्यहाँ आन्तरिक पर्यटनको संख्या धेरै देखिन्छ,'उनले भने ।

लामो समयदेखि नेपालमा प्रोडक्सन म्यानेजरको जिम्मा सम्हालिरहेका आचार्य सरकारले छायांकन स्थलहरूको प्रचार गरिदिनुपर्ने धारणा राख्छन् । 'बलिउड र हलिउडका फिल्म अरबौं रकममा बनेका हुन्छन् । उनीहरू ५/१० दिनको फिल्म छायांकन गर्न नेपाल आइदिए मात्र पनि पुग्छ । नेपालमा छायांकनका लागि सूचना तथा संचार मन्त्रालयमा अनुमति बापत राजस्व १५ हजार बुझाउनुपर्छ,' उनी भन्छन्, 'हाम्रो देश त आफैँमा फिल्म स्टूडियो हो । जता क्यामेरा फर्काए पनि दृश्यहरू भेटिन्छ । हामीले कृत्रिम सेट बनाइरहनु पर्दैन । तर विदेशी फिल्म यता छायांकनका लागि आउने वातावरण बनाइदिन सरकारले प्रचार गरिदिनुपर्‍यो ।'

स्थानीय सरकारले आफ्नो क्षेत्रको प्रचारमा चासो नदेखाइदिँदा नेपालका कति छायांकनस्थलहरू विदेशी फिल्मकर्मीलाई देखाउन नसकेको उनको भनाइ छ । 'विदेशी फिल्म नेपालमा आउँदा होटल व्यवसायीले कमाउँछ । प्राविधिकले काम पाउँछन् । विदेशतिर त मेरो देशमा फिल्म सुटिङ गर्न आइज भनेर कति सहुलियत दिइएको हुन्छ । नेपाल सरकारले छायांकनका लागि आएर स्थानीय कम्पनीमार्फत् बुझाएको कर मिनाहा गरिदिए पनि ठूलो राहत हुन्थ्यो । विभिन्न सेवा/सुविधाका लागि हामीले कर तिरेका छौं । त्यति मात्र मिनाहा गरिदिए पनि पुग्छ ।'

नेपालका कति क्षेत्रमा सजिलै छायांकन अनुमति नपाउने गरेको पनि आचार्यको गुनासो छ । 'नेपाली फिल्मको छायांकन केही ठाउँमा सजिलै प्राप्त हुनुपर्‍यो । जस्तै सिंहदरबार सुटिङ गर्न खोज्यौं भने एकदमै मुस्किल छ अनुमति पाउन । देशको सुरक्षा प्रतिष्ठाको प्रोटोकलअनुसार स्क्रिप्ट हेरेर हामीलाई त्यो अनुमति दिँदा हुन्छ त,' उनी तर्क गर्छन्, 'हामीलाई सिंहदरबारको सेट बनाउने खर्च हुँदैन । माइतिघर चोकबाट संसद् भवनसम्म पनि निषेधित क्षेत्र तोकिदिएको छ । त्यहाँ हामी छायांकन पनि गर्न पाउँदैनौं ।'

'मागअनुसार प्राविधिकले काम पाएन'

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा पनि 'उचाई'को प्रडक्सन म्यानेजरको रुपमा खटिएका थिए । फिल्मका लागि १२ जना प्रोडक्सन म्यानेजर सक्रिय थिए । महामारीबीच छायांकनका लागि नेपाल आएको यो फिल्मले ३० प्रतिशत नेपाली प्राविधिकलाई रोजगारी दियो । कुनै पनि अन्तर्राष्ट्रिय प्रोजेक्ट नेपाल छायांकनमा आउँदा ६० प्रतिशत प्राविधिकले काम पाउनुपर्छ भन्ने माग छ संघको ।

'उचाई'मा त्यो माग पूरा हुन नसकेको लामाको भनाइ छ । 'हो उचाईमा नेपाली प्राविधिकले काम पाए । तर लक्षित संख्याले काम पाएन । कुनै पनि अन्तर्राष्ट्रिय प्रोजेक्ट नेपालमा आउँदा ६० प्रतिशत प्राविधिकले त्यसमा राख्नुपर्छ भन्ने हाम्रो माग हो । कोभिडको समयमा ३० प्रतिशत प्राविधिकले काम पाएकोमा चित्त त बुझाएका छौं तर अब आउने प्रोजेक्टमा ६० प्रतिशत नै हुनुपर्छ भन्ने हाम्रो माग हो,'उनले भने ।

'उचाई'ले मनाङको व्यवसाय उकासिदिएको होटल व्यवसायी विनोद गुरुङ बताउँछन् । 'फिल्मको टिम यहाँ मनाङको ९ वटा होटलमा बसेका थिए । यहाँका स्थानीयले फिल्ममा अभिनय गर्न पाए । यहाँका होटल व्यवसायी तथा स्थानीयले काम पाए । पोर्टर र गाइडले काम पाए । बलिउड टिमले मनाङमा १० दिन बिताए,'नेपाली फिल्मका निर्मातासमेत रहेका गुरुङ सुनाउँछन्,' उनीहरुले गंगपूर्ण तालको वरिपरि, खाङसार जाने बाटोको पुल वरपर फिल्म खिचे । मनाङमा लगभग १ करोड खर्च गरेर गयो टिमले।'

प्रकाशित : कार्तिक २१, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?