कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

२९ वर्षदेखि चर्चित गीत- 'तिहारै आयो, लौ झिलिमिली' 

रीना मोक्तान

काठमाडौँ — 'तिहारै आयो लौ, झिलीमिली, ए सुन हजुर भैलिनी आए आँगन… ।' भैलो खेल्ने समूहले आफ्नो घरको आँगनमा यही गीत बजाउँदै नाचगान गर्दा निर्देशक शम्भु प्रधानको मन ढक्क फुल्छ । तिहार नजिकिएसँगै सुपर मार्केटदेखि घर/घरमा यो गीत बज्न सुरु हुन्छ । यो गीत नगुञ्जिएसम्म तिहार आएको भान नै हुँदैन ।

२९ वर्षदेखि चर्चित गीत- 'तिहारै आयो, लौ झिलिमिली' 

भैलो खेल्नेले त कण्ठस्तै पारेका हुन्छन् । आफ्नो फिल्मको यसै गीतमाथि भैलो खेलेको देख्दा शम्भुलाई लाग्छ, 'समाजलाई केही त दिएछु ।'

'स्वर्ग' फिल्मको पटकथाले नै मागेको गीत थियो यो । राम लाहुरे(शिव श्रेष्ठ)लाई खोज्दै सावित्री(गौरी मल्ल) गाउँ/गाउँमा भैलो खेल्न हिँडेकी हुन्छिन् । भैलो खेल्ने क्रममा लाहुरेको घरमा पुग्दा यो गीतको दृश्य सुरु हुन्छ ।

निर्देशक प्रधानले गीतकार यादव खरेललाई फिल्मको उक्त दृश्यका लागि गीत लेख्न लगाए । शम्भुजित बाँस्कोटालाई संगीतको जिम्मा लगाइदिए । यादव र शम्भुजितसँग भेटेर गीतको कथा र परिवेश सुनाए । गीतकार खरेलले तिहारकै झल्को दिने शब्दहरु रचे । शम्भुजितले संगीत भरेपछि तयार भयो, 'भैलिनी आए आँगन… ।'

विगत २९ वर्षदेखि हिट यो गीत तिहारको 'एन्थम' नै बनिसक्यो ।

'भैलो खेल्नेहरु मेरै घरमा आउँछन् मेरै गीतमा भैलो खेल्छन् । पल्लो पट्टी घरमा भैलो खेल्ने टिमले त्यही गीतमा नाचेको देख्छु । अर्कै आनन्द महसुस गर्छु । नेपाली दर्शकले यसरी हाम्रो गीत मनपराई दिँदा त खुशी लाग्छ नि,' प्रधान सुनाउँछन्, 'अहिले हामी फिल्म बनाउँदैनौं । तर तिहारमा यही गीतमा भैलो खेलेको देख्दा, नाचेको देख्दा यो क्षेत्रलाई केही त दिएछु भन्ने अनुभव हुन्छ । मैले त यो गीत हाम्रो फिल्मको भन्ने नै बिर्सन्छु । यो गीत त अब राष्ट्रकै भइसक्यो ।'

गीतमा लोचन भट्टराई र नुतन प्रधानको स्वर छ । फिल्मको यो गीतबाहेक अन्य सबै गीतलाई मुम्बईमा रेकर्ड गरिएको हो । त्यतिबेला फिल्मका गीत मुम्बईमै रेकर्ड गरिन्थ्यो । तर आफूहरुले ‍मौलिक स्वादकै लागि पनि यो गीतलाई नेपालमै रेकिर्डिङ गरिएको प्रधान सुनाउँछन् ।

मुम्बईमा रेकर्डिङ गराउँदा मादलको इफेक्ट बलिउड शैलीको सुनिएला भन्ने सोचेर उनीहरुले गीतलाई नेपालमै रेकर्ड गराए । 'मुम्बईमा त बलिउड टच आउँथ्यो । हामीलाई गीतमा मौलिक बाजाको धुन चाहिन्थ्यो । मादल र सारंगीको मौलिक धुनकै लागि गीतलाई यता रेकर्डिङ गर्‍यौं, ' प्रधान नोस्टाल्जिक भए, 'नेपालमा रेकर्ड गरेको गीत पनि चल्दो रहेछ त ! हामीले लोकल पाराले गीत रेकर्ड गरेका थियौं ।'

भिडियो खिच्‍न १४ रात

यो गीतको छायांकन गर्न १४ रात लागेको थियो । चांगुनारायणको एउटा घरमा गीतको भिडियो खिचिएको हो । त्यतिबेला सबै कलाकारको व्यक्तिगत सवारी साधन थिएन । उनीहरु एउटै बसमा छायांकनस्थल पुग्थे ।

काठमाडौंबाट कलाकार, प्राविधिकको टोली छायांकनस्थल पुग्दा ८ बजिसक्थ्यो । छायांकन सुरु हुँदा १०/११ बजिसक्थ्यो । जाडोको समय । राति अबेरसम्म सुटिङ गर्दा खाना त्यतै खाने व्यवस्था मिलाइन्थ्यो । रातको १/२ बजेसम्म छायांकन हुँदा सबै हाइ काढ्थे । प्याकिङ गरेर घर फर्कनुको विकल्प हुन्थेन । लगातार १४ रातसम्म काठमाडौंदेखि छायांकनका लागि चांगुनारायण पुगेर यो फिल्मको सुटिङ गरियो ।

दुई दशकदेखि तिहारको सदाबहार गीतका रुपमा चर्चित छ,'तिहारै आयो लौ झिलीमिली ।' गीतले दर्शकको मन छोएकै कारण हरेक तिहारमा यो गीत बज्ने गरेको प्रधानको भनाइ छ । 'सायद यो गीतले नेपालीहरुको मुटु छोइदियो । हामी नेपाली तिहार भन्ने बित्तिकै रमाउँछौं नि । दसैंभन्दा पनि धेरै उत्साह हामी तिहारमा हुन्छौं, 'प्रधानले भने, ' तिहारमा बत्तिको झिलिमिली हुन्छ । सेलरोटी पाक्छ । तिहारमा त छुट्टै मज्जा हुन्छ । दिदीभाईको सम्बन्धमा रमाउँछौं । 'तिहारै आयो लौ झिलीमिली' भन्ने पहिलो पंक्तिले नै दर्शकको मन प्रफुल्लित हुन्छ । सायद यही कारणले गीत हिट भइदिएको हो कि !'

गीत, संगीत र आवाजको तालमेलसँगै कथा र परिवेश मिल्दो भिडियोले यो गीत दर्शकले मनपराइदिएको दाबी गर्छन् गीतकार खरेल ।

'आम दर्शकको मनलाई यो गीतले छोयो । त्यसैले लामो अवधिसम्म चल्यो यो गीत । गीत हिट हुनुमा धेरै कारण हुन्छन् । लेखकले लेखिदिएकै भरमा अथवा गायक/गायिकाले गाइदिएको भरमा गीत चल्दैन, 'खरेल सुनाउँछन्, 'गीत/संगीतमा तीन आयम हुन्छन् । गीत, संगीत र आवाज । यही त्रिवेणी मिल्यो भने गीत हिट भएर आउँछ । तर यो त्रिवेणी मात्र होइन गीतको दृश्य भिडियोमा उतारिएको हुन्छ । कथा र परिवेशसँग गीतको सामांजस्य मिलेको छ । सम्भु प्रधानले गीतलाई ठिक कथा र परिवेशमा प्रस्तुत गरेका छन् ।'

खरेलको घरमा एकपटक ७१ जनाको टोली भैलो खेल्न आइपुगेका थिए । उनीहरुले यही गीत गाउँदै भैलो खेले । हरेक तिहारमा भैलो खेल्न आउने टोलीले उनको आँगनमा यो गीत गाएकै हुन्छन् । 'म कहाँ आएर यही गीतमा नाच्ने युवाहरुलाई यो गीत मैले लेखेको भन्ने पनि थाहा हुँदैन,' उनले भने, 'गीतहरु भनेको २/४ वर्ष चल्छ । त्यसपछि हराउँछ अनि अर्को नयाँ आउँछ । तर यो गीत यतिका लामो वर्षसम्म चल्यो । अहिलेसम्म गीत चलिरहनु भनेको यो गीत स्रोताहरुको मनमा बस्न सकेको प्रमाण हो ।'

कहिलेकाहीँ रचनाकारले स्वेच्छाले लेखेका गीत फिल्ममा समावेश गरिन्छ । कतिपय समयमा निर्देशकले दिएको कथा र परिवेशको आधारमा गीत लेखिन्छ । गीतकार खरेलले फिल्मका गीत लेख्नुअघि निर्माताको मात्र कुरा सुन्दैनन् । निर्देशकसँग फिल्मको कथा सुनेर मात्र लेख्न बस्छन् । निर्देशक प्रधानबाट कथा र परिवेश सुनिसकेपछि उनले यो गीत लेखेका हुन् ।

कति फिल्मकर्मी हतारमा गीत लेखिदिन भन्दै उनीकहाँ आउँथे । तर उनले त्यस्तो गीत लेख्नमा रुची देखाएनन् । 'कतिपय फिल्ममा मैले लेखिदिएको गीतकै बेइज्जत हुने किसिमको भिडियो बनाइएको छ । पात्र र परिवेशको सामान्जस्य नमिल्दा गीतको स्तर नै घटेको छ । तर यो गीतमा निर्देशक शम्भु प्रधानले न्याय गरेका छन् । हुन त आजसम्म मैले स्वर्ग फिल्म भने हेरेको छैन,' खरेल सुनाउँछन्, 'गीतको भिडियोमा तिहारको माहोल देखाइएको छ । बत्तिको झिलिमिली अनि भैलोको दृश्य छन् । तिहारको साँस्कृतिक पक्ष देखाइएकाले पनि गीतले दर्शकको मन जितेको हो ।'

कथाकै माग थियो गीतको स्याड भर्सन पनि । 'टाढाका हामी धाएर आयौं हाम्रो त घर हो गैरी गाउँ । मनका धनी रहेनछन् यहाँ हिँड है साथि फर्कि जाउँ…।' लाहुरे नदेखेपछि दुखित हुँदै सावित्रीले यी अन्तरा गुनगुनाउँछिन् ।

संगीतकार शम्भुजित बाँस्कोटा गीतमा प्रयोग गरिएको 'मेरो हजुर नजाउ लाहुर, नेपालमै पाइन्छ जागिर' भन्ने शब्द आफूले पछि थप्न लगाएको बताउँछन् । 'तिहारको समयमा विदेशिएका दाजुभाइहरुको सम्झना हुन्छ । हामीकहाँ कमाउन देश छोडेर बाहिर जाने चलन छ । फिल्मको मुख्य पात्र पनि बाहिर जान्छ । त्यसैले मलाई लाहुरको विषयय जोड्न मन लाग्यो । त्यति कुरा मिसाउँदा भावनात्मक निकटता गाँसिएला भन्ने थियो,' शम्भुजित सुनाउँछन् । शम्भुजितले भने झैं गीतका यी अन्तराले नेपाली दर्शकको मन हुँडलिदिन्छ ।

गीतमा भावना, संस्कृति र परम्परा मिसाउनु थियो । चल्दै आएको भैलोमा भन्दा फरक धुन सिर्जना गर्न चाहन्थे शम्भुजित । परम्परागत भैलोको चलन त देखाउनु नै थियो । त्यसमा केही नौलोपन पस्किन उनलाई चुनौती थियो । भैलोको नयाँ धुन निकाल्न आफूले निकै मिहेनत गरेको बताउँछन् बाँस्कोटा । 'परम्परागत देउसी भैलो चल्दै आएको थियो । म नौलो किसिमले प्रस्तुत हुन्छु भन्ने थियो । देउसी भैलोको साँस्कृतिक पक्षलाई पनि समेट्नुपर्ने थियो । तर पुरानो धुनमा अलिकति पनि नबसेर नयाँ धुनसँग अगाडि बढ्नुपर्ने चुनौती थियो,' उनी सुनाउँछन्, 'त्यसका लागि कम्पोजिसनमा मैले धेरै मिहेनत गर्नुपर्‍यो । लोक सँस्कृतिलाई ध्यानमा राखें । धुन नै नयाँ राखेर गीत रेकर्ड गरियो ।'

आफूले सिर्जना गरेको धुन २ दशकदेखि तिहारमा गुञ्जिँदा उनी आफूलाई आशिषित महसुस गर्छन् । 'म एकदमै आशिषित अनुभव गर्छु । जीवनमा धन नकमाए पनि जन कमाइन्छ भनिन्छ । तिहारको समयमा जन-जनको मनमा यो गीत गाउँदा एकदमै खुशी लाग्छ,' बाँस्कोटाले सुनाए ।

प्रकाशित : कार्तिक १७, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?