कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदर्शनमा किन हच्किए नेपाली सिनेकर्मी ?

अहिले रेस्टुराँ, क्लबदेखि सार्वजनिक यातायातमा खुट्टा टेक्न नसक्ने भीड बढेको छ तर सिनेकर्मी भने बन्द कोठाभित्रको हलमा दर्शक आउन डराउने बहाना बोकेर उभिएका छन्
रीना मोक्तान

काठमाडौँ — फूलपातीको दिनदेखि सोभित बस्नेत निर्देशित सिनेमा ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । अंग्रेजी सिनेमा ‘फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै घटस्थापनादेखि हल खुलेसँगै प्रदर्शनको आँट गर्ने यो पहिलो नेपाली सिनेमा थियो । तर, सलोन बस्नेत अभिनीत फिल्मले हलसम्म दर्शक तान्न सकेन । हलमा लागेको तेस्रो दिनमै क्यूएफएक्सले फिल्म हटायो । 

प्रदर्शनमा किन हच्किए नेपाली सिनेकर्मी ?

बानेश्वरको वान सिनेमाजमा भने प्रदर्शनको दोस्रो साता पुगे पनि दर्शकको उपस्थिति शून्यप्रायः थियो । तीन शो त रद्द नै भए । फिल्मको बक्स अफिस रिपोर्ट पनि खासै उत्साहजनक छैन । ‘उत्साहजनक छैन बक्स अफिस रिपोर्ट । निकै न्यून छ आम्दानी,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कान्तिपुरलाई ‘डाँडाको वरपीपल’ बक्स अफिस रिपोर्ट दिन चाहेनन् ।

नेपाली सिने क्षेत्रमा सुदर्शन थापाको परिचय चल्तीको निर्देशककै छ । तर, तिनले पनि झन्डै दुई वर्षदेखि फिल्मको प्रदर्शनको आँट गर्न सकेका छैनन् । महामारीका कारण रिलिजको तीन दिनअगाडि हल बन्द भएपछि थापाको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन स्थगन भयो । प्रचारप्रसारमा लाखौं खर्च भइसकेको थियो । ‘म यस्तो गीत गाउँछु–२’ मा बजारमा चलेका कलाकार पूजा शर्मा र पल शाह पनि छन् । हलसम्म दर्शक फर्काउन सक्ने सम्भावना बोकेको कलाकार सिनेमामा हुँदासमेत निर्देशक थापा फिल्म प्रदर्शनका लागि ढुक्क छैनन् । उनलाई लाग्छ, ‘सामान्य अवस्थामा झैं दर्शक हलसम्म आइदिएनन् भने ?’

थापालाई मात्रै होइन प्रायः सबैजसो निर्माता/निर्देशकलाई यही डरले लखेटिरहेको छ । महामारी केही मत्थर भएपछि सरकारले भदौ १८ मा सिनेमाहल सञ्चालन गर्न अनुमति दिएको थियो । हल खुलेसँगै प्रदर्शनमा आएको ‘फास्ट एन्ड फ्युरियस–९’ र ‘नो टाइम टु डाई’ ले ६० प्रतिशत दर्शक प्राप्त गरेको हलवालाको दाबी छ । यही शुक्रबारबाट प्रदर्शनमा आएको अंग्रेजी फिल्म ‘भेनम’ ले पनि दर्शकको राम्रै साथ पाइरहेको छ । तर नेपाली निर्माताले भने सिनेमा प्रदर्शनको जोखिम मोल्न सकिरहेका छैनन् । अक्सर दसैं–तिहारको बिदामा सिनेमा चलाउन तँछाडमछाड गर्ने फिल्मकर्मी यसपालि मौन छन् । ‘डाँडाको वरपीपल’ को हविगतले पनि उनीहरूको सातो उडाएको छ । महामारीअघि बनेका र महामारीबीच तयार भएर प्रदर्शनका लागि ठिक्क भएका चार दर्जनभन्दा बढी फिल्म छन् । तर, कुनैले पनि प्रदर्शनको हिम्मत जुटाउन सकेनन् ।

प्रदर्शनमा आउने सिनेमालाई सहयोग गर्ने चलचित्र विकास बोर्डले प्रतिबद्धता जनाउँदासमेत निर्माताहरूले हलमा लगाउन सकेनन् । बोर्डले पुस मसान्तसम्म प्रदर्शनमा आउने सिनेमाको ‘इन्कोडिङ’, ‘भर्चुअल प्रिन्ट कस्ट’ (भीपीसी), ‘प्रसारप्रसार तथा छपाइ’ का लागि हुने खर्च अनुदानमा दिने घोषणा गरिसकेको छ । नेपाली सिनेमा रिलिज गर्न डराइरहेका अधिकांश सिनेकर्मीको आँखा अक्षय कुमारको ‘सूर्यवंशी’ मा छ । उनीहरू अक्षयको सिनेमालाई हेरेर आफ्नो फिल्मको प्रदर्शन मिति तोक्ने तयारीमा छन् । वितरक मनोज राठीले महँगो रकममा उक्त सिनेमा प्रदर्शनका लागि नेपाल ल्याएका हुन् । सिने क्षेत्रलाई चलायमान बनाउन आफूले यो जोखिम उठाएको उनको तर्क छ । ‘हलमा दर्शक छैनन् । सिनेमा महँगैमा किनेको छु । अब आशा छ दर्शक सिनेमा हेर्न हलसम्म आइदिनुहुन्छ,’ उनले भने ।

वितरकले जोखिम उठाइरहँदा सिनेकर्मीले किन प्रदर्शनको आँट गर्न सकिरहेका छैनन् त ? ‘बल्ल हल खुल्यो । हल खुल्नेबित्तिकै सिनेमा प्रदर्शन गर्न सकिँदैन नि त । दर्शक नआउला भन्ने चिन्ता त भइहाल्छ । बल्ल त मानिस महामारीको डरबाट बाहिर निस्किएका छन् । अहिले पहिलाकै अनुपातमा फिल्म चल्छ/चल्दैन भन्ने डर छ निर्मातामा । भारतमै अक्षय कुमारको सिनेमा चलेन । अर्को कुरा त नेपालमा फिल्म प्रदर्शन गर्न निर्माताले मात्रै जोखिम उठाउनुपर्छ । सबैले होस्टेमा हैसे गरे आँट गर्न सकिन्थ्यो । निर्मातालाई त डर हुन्छ नै,’ निर्मातासमेत रहेका थापाले भने, ‘एउटा फिल्मले खाल्डोमा पार्‍यो भने बाहिर निस्कन गाह्रो छ यहाँ । ऋण लिएर फिल्म बनायौं, अहिले ब्याज तिर्नुपरिरहेको छ । सिनेमाको सय प्रतिशत जोखिम आफैंले मोल्नुपरेपछि प्रदर्शन गर्न निर्माता डराएका हुन् ।’

त्यस्तै निर्देशक दीपेन्द्र लामा पनि थापाले जस्तै लगानी उठ्ने अनिश्चितताले हलमा नेपाली सिनेमा प्रदर्शन गर्न निर्माताहरू डराइरहेको बताउँछन् । ‘अंग्रेजी सिनेमामा भयंकर दर्शक आइसकेका छैनन् । सायद त्यही देखेर पनि कतिले फिल्म प्रदर्शन गर्न सकिरहेका छैनन् । नेपाली फिल्मको स्तर पहिलादेखि नै कमजोर हो । ९० फिल्म प्रदर्शन हुँदा मुस्किलले १० वटा सिनेमाले लगानी उठाउँथ्यो,’ उनले भने । विदेशी डायस्पोरामा पनि सिनेमाको आम्दानी शून्य छ । नेपालीहरूलाई हलबाट उठ्ने पैसामा भर छ । ‘यस्तो बेलामा दर्शक क्षमता पनि ५० प्रतिशत मात्रै छ । पूरा टिकटमा दर्शकलाई सिनेमा देखाउन नपाएनन् । त्यसमाथि अझै दर्शकमा डरको मनोविज्ञान छ,’ उनले भने, ‘अब सिनेमा प्रदर्शन गरेको एक हप्तामै जिल्ला प्रशासनले हल बन्द गर्ने निर्देशन नदेला भन्न सकिँदैन । त्यही अनिश्चितताले पनि सिनेमा प्रदर्शन गर्न नसकिएको हो भन्ने मलाई लाग्छ ।’

हुन त अहिले रेस्टुराँ, क्लबदेखि सार्वजनिक यातायातमा खुट्टा टेक्न नसक्ने भीड बढेको छ । तर सिनेकर्मी भने बन्द कोठाभित्रको हलमा दर्शक आउन डराउने बहाना बोकेर उभिएका छन् । निर्देशक मनोज पण्डित निराशातर्फ गइरहेको सिनेमाको ग्राफले निर्मातालाई फिल्म प्रदर्शनको हौसला नमिलेको धारणा राख्छन् ।

‘अहिले हल खुले पनि सिनेमा प्रदर्शन गर्न नसक्नुका पछाडि आफ्नो कन्टेन्टमाथि विश्वास नहुनु नै प्रमुख कारण भने होइन । सिनेमा क्षेत्र धेरै समिश्रणले बनेको छ । पछिल्लो समय नेपाली सिनेमा निरासामा ओरालो लागिरहेका थियो । धेरै फिल्म त घाटाको व्यापारतर्फ अगाडि बढेको छ नि त । अब निराशाको यो माहोलमा उत्साहको बाटो नभेटुन्जेल सिनेमा प्रदर्शन गर्न गाह्रैपर्छ,’ उनले भने, ‘सिनेमा प्रदर्शन त सामूहिक मनोविज्ञान हो । सिनेमा बनाउने व्यक्तिले त तत्कालीन समयमा अन्य फिल्मकर्मीले कस्तो कथ्य सिर्जना गरिरहेको छ भन्नेतर्फ पनि ध्यान दिन्छ । कोरोना कालमा सिनेमाहलमा आउन दर्शक उत्साहित छैनन् भन्ने कथ्यलाई हामीले चिर्न सकेका छैनौं ।’

अहिले नेपाली सिनेमा ‘पर्ख र हेर’ को अवस्थामा पुगेको पण्डितको भनाइ छ । ‘पर्ख र हेरको अवस्थामा बस्नु गलत होइन । हो नेपाली सिनेमाको गुणस्तर बढ्न सकेको छैन । नेपाली सिनेमामा केही निश्चित शैलीका सिनेमाबाहेक अन्यमा दर्शक आइदिँदैनन् भन्ने कथ्यको विकास हुँदा त्यसमाथि पुनर्व्याख्या गर्न सकेनौं ।’

सिनेमा क्षेत्र अहिले मौन भएर बसेको उनको तर्क छ । ‘यसरी गरौं भन्ने सामूहिक रूपमा कुनै कोसिस नै भएको छैन । हाम्रो सिने क्षेत्र सामूहिकतामा अगाडि बढ्न सकेनन् । संकटको बेलामा त डराइहाल्छन् नि,’ उनले भने, ‘हाम्रो कन्टेन्ट अधकल्चो छ भन्ने कुरामा दुईमत छैन । यदि आफ्ना लागि बनाएको सिनेमा छ भने उसले अझैं कुर्न सक्छ । तर बजारका लागि बनाइएको सिनेमाले त बजारको विचारधाराअनुसार अगाडि बढ्छ । हामी यी दुवै मार्गमा छैनौं । अलमलिरहेका अवस्थामा छौं । सिनेकर्मी भन्नेबित्तिकै आँट गर्न सकिहाल्छन् भन्ने छैन ।’

प्रकाशित : कार्तिक १५, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?