१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिलो भेटमै टुंगिएको प्रेम, जसले जन्मायो पैसाको गीत

दिनेशको उबडखाबड यात्रा : युद्धदेखि पैसाको गीतसम्म
रीना मोक्तान

काठमाडौँ — नोकियाको मोबाइलमा घण्टौं कुराकानी । ब्याट्री स्वीच अफ नहुञ्जेल रातको २/३ बजेसम्म प्रेमका कुरा । सँगै बाँच्ने/मर्ने कसमसम्मको प्रेम सम्बन्ध त्यही मोबाइलले जोडिदिएको थियो । एकअर्कालाई भेटेका थिएनन् तर मोबाइलबाटै मन साटिसकेका । काठमाडौंमै घर भएकी प्रेमिकालाई भेट्न डराउँथे दिनेश गौतम । गरिबी प्रेमको तगारो बन्न सक्ने डर थियो । प्रेमिका असाध्यै राम्री । आमाबुवा अष्ट्रेलियातिरै । डेढ वर्ष फोनमा कुराकानी भइसकेपछि एक दिन भेट भयो ।

पहिलो भेटमै टुंगिएको प्रेम, जसले जन्मायो पैसाको गीत


अफसोच त्यही भेटमै टुंगियो प्रेम । त्यसयता प्रेमिकाले उनको फोन उठाउनै छोडिन् । २०६२/६३ तिरको घट्ना थियो यो । पहिलो भेटले वर्गीय खाडल खनिदिएपछि दुईको प्रेम मोबाइलबाट अगाडि बढ्न सकेन । दिनेशलाई लाग्यो, 'आखिर संसारमा पैसा नै ठूलो हो त ?'

प्रेमिकाको नम्बरमा फोन नलागेपछि त्यस रात दिनेश निदाउनै सकेनन् । मनभित्रका प्रश्नहरू शब्दमा उतारे । हार्मोनियममा तीनै शब्दहरू कम्पोज गरे । त्यही शब्दमाथि गीत बन्यो,'पैसा कसले बनायो ?'

लेखेको ५/६ वर्षपछि गीत रेकर्ड भयो । यही गीतले संगीत क्षेत्रमा दिनेश गौतमलाई गायकको रुपमा चिनायो । गीतमा उनकै शब्द तथा संगीत समावेश छ। यसअघि नै उनले 'निष्ठुरी' शीर्षकको एल्बम निकालेका थिए । तर एल्बमका गीत स्रोताको कानसम्मै पुगेन । पैसाप्रति आम मानिसको धारणा र आफ्नो जीवनको त्यही भोगाइमा बनेको 'पैसा कसले बनायो'ले भने संगीत यात्रामा नयाँ मोड लियो । सन् २०१३ ताका हरेक संगीतप्रेमीको मुखमा झुन्डिएको थियो यो गीत ।



सानैदेखि चलाख थिए दिनेश । 'तिमीजस्तो व्यक्ति जनताको लागि लड्नुपर्छ' भनिदियो कुनै विद्यार्थी नेताले । कक्षा ७ मा पढ्दै गर्दा उनलाई पनि लाग्यो,'एउटा क्रान्तिको सुरुवात भएको छ । हो मैले देशको लागि लड्नुपर्छ । जनताका लागि लड्नैपर्छ ।' उनले भूमिगत रुपले पार्टीका काम सुरु गरे । सूचना आदनप्रदान गर्थे । पार्टीको सामग्री भनिएको ठाउँसम्म पुर्‍याइदिने, रातारात नाराहरुको पेन्टिङ गर्ने । विद्यालय गएको वाहना गर्दै पढ्न छोडेरै पार्टीका काममा सहभागी हुन्थे । त्यसबेला पार्टीले उनलाई 'पुस्तक प्रसाद'को नामले चिन्थ्यो । गायनमा सानैदेखि रुची थियो उनको । पार्टीको कार्यक्रममा जनवादी गीत गाउँथे । 'यो शरीर ढल्यो साथी हो, लालझन्डा ढल्न नदिनू'लगायत उनले थुप्रै जनवादी गीतहरु मञ्चमा गाउँदै हिँडे ।

एक पटक पार्टी वार्तामा आउने कुरा भयो । त्यतिबेला धेरैजना सार्वजनिक भए । पार्टी सार्वजनिक भइसकेपछि सरकारमा जान्छ भन्ने हल्ला व्यापक थियो । 'जनकपुर', 'कलैया', र 'निजगढ'मा भएका कार्यक्रममा उनी सार्वजनिक भए । त्यसलगत्तै संकटकाल घोषणा भयो । दाजु सेनामा उनी माओवादी । माओवादी युद्ध उत्कर्षमा थियो । सेनाको 'वान्टेड' सूचीमा नाम परेको थाहा पाउनासाथ दुई बाटोमध्ये एक रोज्नुपर्थ्यो उनले, 'जंगल या काठमाडौं ?' तर आमा बुवाले भूमिगत हुन दिएनन् । बरु काठमाडौं जान दबाब दिए ।

२०५८ तिर निजगढबाट भागेर काठमाडौं आए दिनेश । एसएलसी पनि दिन पाएनन् । त्यतिबेला १३/१४ वर्षका मात्रै थिए उनी । 'संकटकालपछि इलाका प्रहरी कार्यालयमा मेरो घरको नक्सा बनाएको कुरा छिमेकी दाइले आमालाई सुनाइदिएछन् । छापा मार्नसक्छ भनेर सुनेपछि म हिँडेको थिएँ । हिँडेको भोलिपल्टै सेनाले घर घेरेको कुरा पछि बुवाले भन्नुभयो,'दिनेश भावूक बने ।

तर काठमाडौंमा जीवन सहज थिएन । लुकेर जीवन बिताउनुपर्‍यो । साथीहरुसँग एउटै कोठामा बस्न थाले । छापामार साथी मेश उप्रेती पनि उनीसँगै बस्न थाले । जीवन गुजाराका लागि कहिले तरकारी पसल राखे त कहिले कस्मेटिकको मार्केटिङ गर्दै हिँडे । सानोतिनो काम गर्दै उनले संगीत पनि सिक्न थाले । आशु लामासँग ६ महिना संगीत पढेपछि गुरुदेव कामदको घरमै पुगेर संगीत सिक्न थाले । धनबहादुर गोपालीसँग पनि संगीत पढे । त्यही बीचमा उनले निकालेका हुन्,'पैसा कसले बनायो ?'

बीचमा हेटौंडा जाँदा उनी तीन दिन अपहरणमा पनि परे । पहिलो एल्बम निकालेर उनी दिदीको घर पुगेका थिए । घर नजिकै माओवादीको कार्यक्रम भइरहेको रहेछ । उनी एकजना साथीको लहैलहैमा कार्यक्रम हेर्न पुगे । कार्यक्रम सकेर घर फर्कँदा माओवादीहरूले उनी र साथी सन्जिव लामालाई घेरे । उनीहरूलाई कुटपिट त गरेनन् । अपहरणमा परेका अर्का एक व्यक्तिलाई उनीहरूकै अगाडि मारियो । त्यसपछि भने उनले आफ्नो परिचय खुलाए । प्रमुख इन्चार्जले 'पुस्तक प्रसाद' नामले उनलाई चिन्यो । अनि उनलाई दिदीको घरसम्म पुर्‍याइदिए ।

एउटै गीतले संगीत क्षेत्रमा चम्किएका दिनेश 'पुस्तक प्रसाद'ले नै 'शीतल' एल्बम निकालेका हुन् । एल्बमको 'तिमीलाई नै खोज्छन् आज मेरा यी नजरहरू'बोलको गीत भारतीय गायक कुमार सानुले गाएका हुन् । 'माफ गर'लगायत पुरुषोत्तम बस्नेतसँग मिलेर तीनवटा सोलो एल्बम निकालेका छन् उनले । अहिलेसम्म ११ वटा एल्बम बजारमा सार्वजनिक गरिसकेका दिनेशले हालै 'चरी' र 'राजाको हात्ती' बोलको गीत सार्वजनिक गरेका छन् । दुवै गीतबाट दर्शकको प्रतिक्रिया आइरहेको उनको भनाइ छ । 'राम्रै प्रतिक्रिया पाइरहेको छु । 'चरी', अनप्लग भिडियो भएकै कारण पनि दर्शकले रुचाइदिनु भएको छ । राजाको हात्तीलाई पनि दर्शकले रुचाइदिनुभयो । एकदमै खुसी छु,'उनले भने ।

संगीत क्षेत्रमा प्रवेश गरेको यतिका वर्षमा दिनेशले थुप्रै 'अप्स एण्ड डाउन' देखे । उनका अन्य गीतले 'पैसा कसले बनायो'को जस्तै सफलता चुम्न भने सकेन । संगीत क्षेत्रमा १९ वर्ष बिताइसकेका दिनेश नातावादकै कारण आफू संगीत क्षेत्रमा रहेर पनि गुमनाम बन्नुपरेको गुनासो गर्छन् ।

'आजभोलि नातावादको कुरा सुनिन्छ । तर नातावाद पहिल्यैदेखि थियो । संगीतकारहरूलाई रक्सी खुवाउनेहरुलाई गीत दिइन्थ्यो । राम्रो प्रतिभालाई कदर नै गरिन्नथ्यो । म कम्पोजर बन्नुको कारण पनि त्यही हो । मैले एउटा एल्बम गरौं न भनेर महिनौं संगीतकारको पछि लागेँ । ४० हजार दिँदा पनि मेरो काम गरिदिन मान्ने थिएनन् । त्यसैले यहाँभित्रको नातावादले राम्रा गायक पछाडि पर्छन् । सूर नै नभएको गायक/गायिका चर्चामा आइदिन्छन् ।'

प्रकाशित : कार्तिक १०, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?