कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फिल्म हल खुले तर छैन नयाँ रिलिज

रीना मोक्तान

काठमाडौँ — दसैं-तिहारमा फिल्म प्रदर्शन गर्नु व्यावसायिक हिसाबले सुखद मानिन्थ्यो । दसैं-तिहारको लामो बिदामा फिल्म प्रदर्शन गर्न नेपाली फिल्मका निर्माता 'तँछाडमछाड' नै गर्थे । चाडपर्वको समयमा हलमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । तर कोरोना महामारीबीचको दसैं-तिहारमा उस्तै दृश्य देखिएन । अधिकांश निर्माता दसैं-तिहारमा फिल्म प्रदर्शन गर्न पछाडि हटे । एउटै मितिमा फिल्म प्रदर्शन गर्न हानाथाप गर्नेहरु त्यसबाट भागमभाग गर्न थाले ।

फिल्म हल खुले तर छैन नयाँ रिलिज

हालैको दसैंमा हल खुल्दा पनि एक निर्माताले मात्र फिल्म प्रदर्शन गर्ने आँट गरे । चलचित्र विकास बोर्डले पुस मसान्तसम्म प्रदर्शनमा आउने फिल्मको 'इन्कोडिङ', भर्चुअल प्रिन्ट कस्ट (भीपीसी), 'प्रसारप्रसार तथा छपाई'को रकम दिने घोषणा गर्दा पनि निर्माताहरुले फिल्म प्रदर्शनको जोखिम मोल्न सकेनन् ।

महामारीकै कारण दर्जन बढी फिल्मले प्रचारप्रसारपछि पनि फिल्म प्रदर्शन गर्न पाएनन् । ४ दर्जन बढी फिल्मको प्रदर्शन अझै अलमलमा छ । अंग्रेजी फिल्म 'फास्ट एण्ड फ्युरियस ९'को प्रदर्शनसँगै हल संचालनमा आयो । फूलपातीको दिनदेखि निर्देशक सोभित बस्नेतले 'डाँडाको वरपीपल' हलमा लगाए । तर फिल्मले हलसम्म दर्शक तान्न सकेन । मल्टिप्लेक्स चेनअन्तर्गत क्युएफएक्सले फिल्म प्रदर्शनको तेस्रो दिनदेखि नै हलबाट 'डाँडाको वरपिपल'लाई हटायो ।

फिल्मका निर्देशक सोभित बस्नेत हलमा जाने दर्शकको बानी छुटिसकेको बताउँछन् । आफूले 'हल खुल्यो है' भन्ने सन्देश दिनका लागि मात्र पनि कसैले नआँट्दा फिल्मको प्रदर्शन गरेको उनको भनाइ छ । 'हाम्रा निर्माताहरु यस्तो अवस्थामा फिल्म चलाउन डराउँछन् । तर मेरो अनुभवमा अबको ८/९ महिना अझै दर्शक हलमा आउँदैनन्,' उनले भने, 'महामारीबीच हल खोल्दा पनि दर्शक हलमा गएनन् । डराएर पनि होइन । क्लबदेखि रेस्टूरेन्टको भीडमा उनीहरु मिसिन पुगेकै हुन्छन् । खासमा हल पुगेर फिल्म हेर्ने दर्शकको बानी छुटिसकेको छ ।'

बस्नेतले ओटीटी लक्षित गरेर 'डाँडाको वरपिपल' निर्देशन गरेका थिए । तर फूलपातीको दिन हलमै लगाए । ५० लाख लगानीमा बनाइएको फिल्म हलमा चलाउँदा घाटामा नगएको उनको दाबी छ । 'बुढासुब्बा त आफैंमा व्यापारिक संस्था हो । त्यो संस्थाको लगानी छ फिल्ममा । फिल्मका लागि विकास बोर्डबाट ७ लाख आयो । हलबाट आउने आम्दानी गरेर १२/१५ लाख भइहाल्छ । त्यो त निर्माताका लागि बोनस हो। फिल्मले ओटीटीबाट पनि कमाइहाल्छ । फिल्म घाटामा जाँदैन । त्यसैले त तिहारपछि अर्को काम गर्ने सम्झौता गरिसकेका छौँ ।'

बलिउड फिल्मको पर्खाइमा फिल्मकर्मी

महामारीबीच नै प्रदर्शनमा आएको 'डाँडाको वरपिपल'ले नेपाली निर्मातामा खासै उत्साह थपेन । फिल्मले दर्शक तान्न नसक्दा प्रदर्शनको पर्खाइमा रहेका फिल्म अझै ढुक्क हुन सकेका छैनन् । दसैंमै प्रदर्शनमा आएको जेम्स बोन्डको फिल्म 'नो टाइम टु डाई'ले भने केही उर्जा थपिदियो । तर अझै पनि नेपाली फिल्मका निर्माता फिल्म प्रदर्शन गर्न डराइरहेका छन् । उनीहरु हिन्दी फिल्मको प्रदर्शनलाई पर्खिरहेका छन् । तिहारमा अक्षय कुमारको 'सूर्यवंशी' प्रदर्शनमा आउने चर्चा छ । 'सूर्यवंशी'ले नै नेपाली फिल्मको आगामी प्रदर्शन निर्धारण गर्ने चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् ।

'यो तिहारमा ठूलै हिन्दी फिल्म आयो भने त्यसमा आउने दर्शक संख्याले नै नेपाली फिल्मको प्रदर्शन निर्धारण गर्छ । 'नो टाइम टु डाई' मल्टिप्लेक्समा चलिरहेको छ । मोफसलमा अंग्रेजी फिल्म त्यति चल्दैन । दसैंबाट मल्टिप्लेक्स सबै हलहरू खुलेका छन् । फिल्म नभएकै कारण सिंगल स्क्रिनहरु खुल्ने, बन्द हुने भइरहेका छन्,' शर्माले भने, 'दुर्भाग्य नेपाली फिल्मले सूर्यवंशी कुरेर बसेको छ ।'

'सूर्यवंशी'लाई नेपाल ल्याउने तयारी गरिरहेका वितरक मनोज राठी अझै अक्षयको फिल्म आउने/नआउने तय नभइसकेको बताउँछन् । 'अब हिन्दी फिल्मवालाहरू पहिला लिने गरेको रकममै फिल्म दिन चाहन्छन् । अब हलमा दर्शक पहिलाकै अवस्थामा आउला भन्न सकिँदैन । हामी प्रायस गर्दैछौं फिल्मलाई नेपाल ल्याउने । तर आज/भोलिमै फिल्म आउँछ भन्ने अवस्थामा कुरा पुगिसकेको छैन,'वितरक राठीले सुनाए ।

तिहारको छेकोमा 'चोर पुलिस' र 'धुम ४' प्रदर्शनमा आउने तयारी छ । पुसमा 'चुरीफुरी' प्रदर्शनमा आउने तय भएको छ । दर्शक तान्ने आस बोकेको ठूला ब्यानरका फिल्मले भने फागुनपछिका मितिलाई प्रदर्शनका लागि रोजेका छन् । 'लप्पन छप्पन २'फागुन १३, 'ए मेरो हजुर ४' चैत २५ र 'चिसो मान्छे`'ले वैशाख २० लाई प्रदर्शन मिति तोकिसकेका छन् ।

हलमा अंग्रेजी फिल्मले दर्शक तान्न सफल भएको सुनाउँछन् क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा । जेम्स बोन्डको फिल्मले ओपनिङमा ६० प्रतिशत दर्शक पाएको पनि उनको भनाइ छ । 'जेम्स बन्डको फिल्म त राम्रै चलिरहेको छ । यो हप्ता कुनै नयाँ फिल्म छैन । त्यही जेम्स बन्डको फिल्म र 'फास्ट एण्ड फ्यूरियस ९' छ । अंग्रेजी फिल्महरु ३०/३५ दर्शक क्षमतामा चलिरहेको थियो,'उनले भने ।

घटस्थापनाको दिनदेखि क्यूएफएक्स चेनअन्तर्गत काठमाडौंको लबिम, सिभिल, छायाँ र भक्तपुरको हल संचालनमा आयो । अहिले पनि १५/२० जना दर्शकको उपस्थिति रहेको उनी सुनाउँछन् । 'नेपाली फिल्म चलेको छैन अहिले । सायद नेपाली फिल्मकर्मी, सूर्यवंशी कत्तिको चल्छ त्यो हेर्न खोज्नु भएको जस्तो लाग्छ । दर्शक त सोचे भन्दा बढी आइरहेका छन् । २ अंग्रेजी फिल्म त झन्डै- झन्डै हाउसफूल नै भयो,'उनले थपे ।

प्रचारप्रसार सकेर प्रदर्शन गर्न नपाएका फिल्महरुको प्रदर्शनमा बोर्डले विशेष महत्वका साथ सहयोग गर्ने बताएको छ । '२०७६ चैत्र ५ गतेसम्म प्रचारमा आइसकेका २०७७ असार मसान्तसम्मको प्रदर्शनको तयारीमा रहेका ५/७ वटा फिल्म प्रदर्शनमा आउन पाएन । प्रदर्शनको मुखैमा रहेका फिल्म बन्द भयो । त्यस्ता फिल्म प्रदर्शनमा आएमा विशेष महत्व दिने भन्ने छ,'बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?