कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘जुलुङ्गो’ लाई युनिसेफ आइरिस अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म जुलुङ्गो (अ स्केरक्रो)ले फ्लोरेन्स चलचित्र महोत्सवमा युनिसेफ आइरिस अवार्ड जित्न सफल भएको छ ।

‘जुलुङ्गो’ लाई युनिसेफ आइरिस अवार्ड

फ्लोरेन्स इटालीमा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा निर्देशक राजेशप्रसाद खत्रीद्वारा निर्देशित चलचित्रले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभल २०२१ मा ‘युनिसेफ आइरिस ७५ अवार्ड’ हात पारेको हो । चलचित्रले किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गर्दछ ।

निर्णायक मण्डलीले 'अ स्केरक्रो'लाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो । हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले आफ्नी आमालाई स्केरक्रो (जुलुङ्गो ) बनाउन सहयोग गर्नका लागि विद्यालय जानबाट बञ्चित भएकी किशोरीको कथा देखाउँछ ।

‘दुर्गम गाउँको एक शिक्षक भएको हुनाले मैले निर्दाेष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको छु,’ खत्रीले भने, ‘सत्य कथाहरूलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु ।’ उनले नेपाली बालबालिकाहरुले भोगेका कथाहरू संसारका सबै भागमा पुग्ने आशा गरेका छन् ।

महोत्सवमा विश्वका २९ देशहरूबाट ३९ वटा चलचित्रहरूको विशेष प्रदर्शन भएको थियो । महोत्सवले आजको समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक दर्शाएका चलचित्रहरूको उत्सव मनाउँछ । यूआईएफएफले बालबालिकाबारे चलचित्र निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसारभरि बाल्यावस्थालाई चलचित्रको विषयवस्तुको रूपमा अन्वेषणमा प्रोत्साहित गर्नका लागि ‘आइरिस अवार्ड’ स्थापना गरिएको हो । यसको दोस्रो संस्करणमा ११४ देशहरूबाट कुल १७०० चलचित्रहरू प्राप्त भएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?