नेसनल अवार्डमा उत्कृष्ट कंगना र मनोज, 'छिछोरे'ले अवार्ड पाउँदा सुशान्तको सम्झना - मनोरञ्जन - कान्तिपुर समाचार

नेसनल अवार्डमा उत्कृष्ट कंगना र मनोज, 'छिछोरे'ले अवार्ड पाउँदा सुशान्तको सम्झना 

कान्तिपुर संवाददाता

काठमाडौँ — ६७ औं नेसनल फिल्म अवार्डमा अभिनेत्री कंगना रनावतले 'मनिकर्णिका' र 'पंगा'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । 'भोसले'बाट मनोज बाजपायी र धनुषले 'असुरन'बाट उत्कृष्ट अभिनेताको अवार्ड पाए ।

कंगनाले नेसनल अवार्ड चौथो पटक पाएकी हुन् । यसअघि उनले 'फेसन', 'क्वीन', 'तन्नु वेड्स मन्नु रिटर्न्स'बाट यो अवार्ड पाइसकेकी थिइन् ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म 'छिछोरे'ले उत्कृष्ट फिल्मको अवार्ड पायो । निर्देशक नितेश तिवारीले कार्यक्रममा सुशान्तको अभाव खड्किएको बताए । 'यो अवार्ड सुशान्तलाई समर्पित गर्न चाहन्छु । सुशान्त हाम्रो फिल्मको प्रमुख व्यक्ति थियो ।,' रेड कार्पेटमा हिँड्दै गर्दा भारतीय मिडियालाई नितेशले भनेका थिए । फिल्मलाई साजिद नाडियावले निर्माण गरेका थिए ।

कार्यक्रममा अभिनेता रजनीकान्तलाई फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै 'दादासाहेब फाल्के अवार्ड'बाट सम्मान गरियो । भारतको प्रतिष्ठित अवार्डमध्यको यो अवार्ड कार्यक्रम पनि महामारीकै कारण पछाडि सरेको थियो ।


प्रकाशित : कार्तिक ८, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

८७ अंक बढ्यो नेप्से, डेढ दर्जन कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से ८७ अंकले बढेको छ ।  ८७.६३ अंकले बढेर परिसूचक २६७२ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब ३० करोड पुगेको छ । यस दिन १८३ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य घट्यो । 

सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७, विकास बैंक ३०१, फाइनान्स १७६, होटल तथा पर्यटन ८१, जलविद्युत २००, लगानी ३, जीवन बीमा ५३७, उत्पादन १४३, माइक्रोफाइनान्स १२१, निर्जीवन बीमा ४६७, अन्य ४६ र ब्यापार उपसमूह १५ अंकले बढे ।

डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिश्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै १० प्रतिशत नै मूल्य बढेका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री र ग्रीनलाइफ हाइड्रोपावर छन् ।



प्रकाशित : कार्तिक ८, २०७८ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×