दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार- मनोरञ्जन - कान्तिपुर समाचार

दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

कान्तिपुर संवाददाता

दोलखा — सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

फिल्म सिटीको पछिल्लो अवस्था बुझ्ना सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ ।

शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपयुक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए ।

मन्त्रिपरिषद्ले ५ वर्ष अघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो । सोही आधारमा १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाइसकेको छ ।

सञ्चार सचिव अर्यालले आयोजनास्थल अवलोकनपछि उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताए । यहाँबाट देखिने हिमालय श्रृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने उनले बताए ।

प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भई काम समेत सुरु भइसकेको छ ।

यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ ।

ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो ।

काठमाडौंबाट करिब १०९ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ । प्रशासनिक भवन तथा प्रवेशद्धार निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि यो परियोजना छानिएको थियो । चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन समेत आवश्यक पर्न सक्ने सचिव अर्यालले बताए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले २ अर्ब ७५ करोड लागत अनुमान पर्ने जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

अफगानिस्तानमा भोकमरीबाट ८ बालबालिकाको मृत्यु

एजेन्सी

काबुल — अफगानिस्तानका एक नेताले पश्चिम काबुलस्थित ८ बालबालिकाको भोकमरीका कारण मृत्यु भएको बताएका छन् ।



पूर्वसांसद् हाजी मोहम्मद मोहकेकका अनुसार अल्पसंख्यक हजारा समुदायका बालबालिकाको यसरी मृत्यु भएको हो । 'पश्चिम काबुलमा गरिबी र भोकमरीले ८ बालबालिकाको मृत्यु भयो,' मोहकेकले बताए ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि जनताको जीवनस्तर उकास्न तालिबान सरकार असक्षम भएको उनले बताए । यस्तै हजारा र सिया समुदायलाई सहयोग गर्न उनले अन्तर्राष्ट्रिय समुदयलाई आग्रहसमेत गरेका छन् । तालिबान सत्तामा आएपछि नै यहाँका हजारासहित अल्पसंख्यक समुदाय प्रताडित बन्ने गरेको भन्दै तालिबान सरकार आलोचित बन्दैआएको छ । यस्तै सिया समुदाय पनि सशस्त्र समूहको निशाना बन्दैआएका छन् ।

काबुलस्थित मानवअधिकारकर्मीहरुले तालिबानले अल्पसंख्यक समुदायमाथि अमानवीय व्यवहार गरेको बताएका छन् । एम्नेस्टी इन्टरनेश्नलले यसै महिनाको सुरुमा तालिबानले अल्पसंख्यक समुदाय हजारामामाथि कसरी नरसंहार गरेको थियो भन्नेबारे रिपोर्ट नै तयार पारेको थियो ।

ठूलो संख्यामा सिया धर्मावलम्वीहरु रहेका हजारा नागरिकहरु देशभर ९ प्रतिशतको संख्यामा छन् । अधिकारकर्मीहरुका अनुसार उनीहरु विगतमा युद्धको क्रममा तालिबानद्वारा सताइएका थिए ।

यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि यहाँ तालिबानले सत्ता कब्जा गरेपछि अल्पसंख्यक हजारा समुदायको जीवनयापनको अवस्था बिग्रेको भन्दै चेतावनी दिएका छन् ।

मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि नागरिकहरुको जीवनयापन बिग्रेको विषयमा धेरै अन्तर्राष्ट्रिय समूहले चेतावनी दिएका छन्। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अधिकांश विदेशी नागरिकले काबुल छाडेका थिए । तालिबान नेतृत्वको सरकारले भने विदेशी नाकाबन्दी र आर्थिक संकटको सामना गर्न थालेको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×