१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अनुपम, परिणिति, बोमन बिहीबार हेलिकप्टरबाट मनाङ जाँदै 

सुरज कुँवर

काठमाडौँ — मन मिल्ने ४ जना साथीको पदयात्रा कथामा आधारित बलिउड सिनेमा ‘उचाई’को खुम्बु क्षेत्रमा सुटिङ सकेर अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिक हसन लगायतका भारतीय कलाकार काठमाडौं फर्किएका छन् । 

अनुपम, परिणिति, बोमन बिहीबार हेलिकप्टरबाट मनाङ जाँदै 

खराब मौसमका कारण जहाजबाट फर्किन नसकेका उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । मुख्य कलाकारसहित करिब डेढ सय जना भारतीय कलाकार र सिनेकर्मीको टोलीको अबको यात्रा मनाङतर्फ मोडिएको छ । खराब मौसमका कारण झन्डै एक साता पछाडि धकेलिएको उनीहरुको तालिकाअनुसार अबको १० दिन उपल्लो मनाङमा रहने छन् ।

निर्माणाधीन सिनेमा व्यवस्थापन हेरिरहेका नेपाली कम्पनी थ्री व्हिलरका संचालक सुरज आचार्यका अनुसार, मौसममा सुधार आएमा बलिउड कलाकारहरु अनुपम, बोमन, परिणिति, सारिक तारा एयरको टुइनअटर चढेर काठमाडौंबाट मनाङ जाने छन् । यदि जहाज उड्न नसक्ने मौसम भएमा उनीहरु अल्टीच्यूट एयरको हेलिकप्टरमा बिहीबार माथिल्लो मनाङ जानेछन् ।

अल्टीच्यूटका मार्केटिङ प्रमुख सीताराम सापकोटाका अनुसार, असोज १७ गते दिल्ली हुँदै काठमाडौं आइपुगेको यो टोली असोज २१ गते खुम्बु पुगेको थियो । स्वयम्भू, हायत होटल र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित यति एयरलायन्सको ह्यांगरमा सुटिङ सकेर खुम्बु क्षेत्र गएको यो टोलीले आइतबार खुम्बु क्षेत्रमा सुटिङ सकेको थियो ।

तर, मौसम खराबी कारण मुख्य कलाकारसहितको टोली जहाजबाट फर्किन नसकेपछि सोमबार मनाङ एयरको हेलिकप्टरबाट फर्केका थिए । ‘मौसममा थोरै सुधार भएपछि तारा एयरले बुधबार ५ वटा उडानबाट लुक्लामा रोकिएका कलाकार र प्राविधिकहरुलाई काठमाडौं ल्यायो,’ आचार्यले भने, ‘बाँकी भोलि आउँदै छन् ।’ उनका अनुसार, खुम्बु क्षेत्रमा ११ दिनको सुटिङमा भरिया, नेपाली कलाकार, बलियडकर्मी र सुटिङ युनिटसहित करिब ५ सय जना थिए ।

उनका अनुसार, फिल्म युनिटले हालसम्म करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ । ‘मनाङको सुटिङ सकेर फेरि सगरमाथा आधार शिविर जानुपर्ने छ । यो सबै गरेर उचाईको टोलीले २० करोड रुपैयाँ हाराहारी नेपालमा खर्च गर्ने अनुमान गरेका छौं,’ आचार्यले भने ।

सुटिङ युनिटले सगरमाथा आधार शिविरमा गर्नुपर्ने छायांकनको काम अन्तिममा राखेको छ । ‘मनाङबाट फर्केपछि २५ जना जति कलाकार हेलिकप्टरमा लिएर सगरमाथा आधार शिविर जाने कार्यक्रम राखेका छौं,’ आचार्यले भने ।

कोराना संक्रमणले नेपालको पर्यटन र सिनेमा बजार थिलथिलो बनेका बेला नेपाल आइपुगेका कलाकारलाई सरकारको तर्फबाट स्वागत गर्न पर्यटनमन्त्री प्रेमबहादुर आलेले मंगलबार निम्तो दिएको बताउँदै आचार्यले नेपाल सरकारको निम्तोबारे मनाङबाट फर्केपछि तय हुने बताए । हाल भारतीय कलाकारहरु बौद्धस्थित हायत होटलमा बसिरहेका छन् ।

तस्बिर सौजन्य : विवेक खड्का र सुरज आचार्य ।

प्रकाशित : कार्तिक ३, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?