बहुपति प्रथाबारेको वृत्तचित्र ‘को-हजबेण्ड’ युरोपमा पुरस्कृत

कान्तिपुर संवाददाता

नेपालको 'बहुपति प्रथा'का बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा पुरस्कृत भएको छ । 

बहुपति प्रथाबारेको वृत्तचित्र ‘को-हजबेण्ड’ युरोपमा पुरस्कृत

स्लोभाकियाको पोपरोडमा आयोजित २९ औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपरोडमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले 'अनरेवल मेन्सन अवार्ड' जितेको हो । आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रममा निर्णायक मण्डलले नेपालको प्रचलित बहुपती प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति रहेकाले पुरस्कृत गरिएको बताएका थिए । महोत्सवमा १७ वटा देशका ४४ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

‘विभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैंमा गर्वको कुरा हो । अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामू पुरस्कार थाप्न पाउँदा निकै खुसी लागेको छ । यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ,’ अवार्ड पाएपछि वृत्तचित्रका निर्देशक पाण्डेले भने ।

यो वृत्तचित्रले गत वर्ष रसियामा आयोजित १९ औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो ।

‘सहायक श्रीमान’ बहुपति प्रथामा आधारित वृत्तचित्र हो । ३५ मिनेटको डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो ।


प्रकाशित : कार्तिक १, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?