‘बिहार से काठमान्डु’- मनोरञ्जन - कान्तिपुर समाचार

‘बिहार से काठमान्डु’

बिहारको एउटा युवक नेपालको राजधानी पुगेर मायाप्रेम र संघर्षको दैनिकीमा जेलिएको कथा
शंकर आचार्य

पर्सा — वीरगन्जको चिनी मिल आवास क्षेत्रस्थित पशुपति मन्दिर परिसर । सधैंको भन्दा एउटा बिहानको दृश्य अलि फरक थियो । शिवा (प्रदेशी साह) ले निराश र हतास देखिएकी निशा (रुखसाना खातुन) लाई एउटा हातले अंगालो मार्दै सान्त्वना दिँदै थिए । उनै शिवाले अर्को हातले आफ्नो पछाडि उभिएकी एलिना (एलिना बास्कोटा) को हात समातेर उनलाई कतै नजान भनेर रोक्दै पनि थिए ।

वीरगन्जमा छायांकन सुरु भएको भोजपुरी चलचित्र ‘बिहार से काठमान्डु’ को दृश्य हो यो । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा एलिनाको शंका गर्ने बानीले सबै पात्रले सास्ती खेप्नुपरेको कथावस्तु समेटिएको छ । कोरोना संक्रमण महामारीको प्रभाव घटेलगत्तै वीरगन्जमा चलचित्र छायांकन सुरु भएको हो । यो चलचित्र चितवन र त्यसपछि काठमाडौंमा समेत छायांकन गर्ने योजना रहेको निर्देशक रामदत्त उपाध्यायले बताए । त्यसपछि कथाअनुसार भारतको बिहारमा पनि छायांकन गरिनेछ ।

रोमान्स, थ्रिलर, सस्पेन्स र कमेडी पनि समेटिएको कथावस्तुमा कलाकारहरू नजमा खातुन, मोहन दास र मेलिना आचार्यको पनि अभिनय रहनेछ । निर्देशक उपाध्यायले पानी परेकाले छायांकनमा केही समस्या भए पनि वीरगन्जमा खिच्ने तय भएका दृश्यको काम छिटै पूरा गर्ने लक्ष्य रहेको बताए ।

आशुतोष फिल्म प्रोडक्सन प्रालि र नमस्ते नेपाल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको प्रस्तुतकर्ता नवीनकुमार अग्रवाल हुन् । गोपाल पौडेल र किरण सरकार निर्माता रहेको चलचित्रको अनुमानित लागत ८० लाख रुपैयाँ छ । ४ वटा गीत रहेको चलचित्रमा संगीत बाबुल गिरीले भरेका छन् । नायक प्रदेशी साहले पहिलो पटक गीतसमेत गाउँदै छन् । छायांकन एक महिनाभित्र सकेर छिटै पोस्ट प्रोडक्सनमा लगेर छठमा प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक उपाध्यायले बताए । चलचित्र नेपाल र भारतमा प्रदर्शन हुनेछ । उपाध्यायको यो पहिलो भोजपुरी चलचित्र निर्देशन हो । विभिन्न सर्ट मुभीमा अभिनय गरिसकेकी खातुनको ठूलो पर्दाको यो पहिलो चलचित्र हो । नायिका एलिना बास्कोटाले यो आफ्नो आठौं र भोजपुरी भाषाको पहिलो चलचित्र रहेको बताइन् ।

प्रदेशी साहले भने अघिल्ला चलचित्रहरूभन्दा यसमा फरक चरित्रमा देखिन लागेको बताए । ‘भारतको बिहार राज्यको एउटा सोझो युवक नेपालको राजधानी काठमाडौं पुगेपछि त्यहाँ कसरी माया प्रेम, अप्ठ्यारा र संघर्षले जेलिन्छ त्यो कथा छ,’ उनले भने ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

अपरिचितले दिए विस्थापितलाई दसैं खर्च

‘विस्थापित एक वर्षदेखि झुत्रे पालमै’ समाचार प्रकाशितपछि सहयोग
कान्तिपुर संवाददाता

सुनसरी — पहिरोका कारण विस्थापित भएपछि एक वर्षदेखि पालको भरमा बसेका धरान–२० विष्णुपादुकास्थित चिहानडाँडाका ६ घर परिवारले दसैं–तिहार खर्च पाएका छन् ।

साताअघि कान्तिपुरमा ‘विस्थापित एक वर्षदेखि झुत्रे पालमै’ समाचार प्रकाशित भएपछि एक अपरिचित दाताले उनीहरूलाई दसैं–तिहार खर्च भनेर मंगलबार ७५ हजार रुपैयाँ पठाइदिएका थिए ।

कान्तिपुरको सम्पर्कमा आएका मनकारी दाताले आफूले समाचारमा तस्बिरसहित विस्थापितहरूको नाजुक अवस्थाबारे जानकारी पाएपछि दसैं–तिहार खर्च पठाएको बताए । उनले आफ्नो परिचय गोप्य राख्न अनुरोध गर्दै भने, ‘मैले नामका लागि व्यक्तिगत रूपमा ती विस्थापितहरूलाई सहयोग गरेको होइन । समाचारमा देखेर उनीहरूले पनि दसैं–तिहार राम्ररी मनाऊन् भनेर खर्च पठाइदिएको हो ।’

विस्थापित नन्दलाल यादव र दीपासरी राईले आफूहरूले ती अपरिचित दाताबाट ७५ हजार रुपैयाँ प्राप्त गरेको बताए । यादवले भने, ‘हामीले नगद सहयोग पायौं । एक वर्षदेखि पालमा बसेको र यो दसैं–तिहार कसरी टार्ने भनेर चिन्तामा थियौं । तर ती अपरिचित हाम्रा लागि मनकारी बनेर पैसा पठाए ।’

उक्त रकम ६ घरले दामासाहीले १२ हजार ५ सयका दरले बाँडेको दीपासरी राईले बताइन् । उनका अनुसार उक्त रकमले दसैं–तिहारमा आवश्यक खाद्य, नुनतेल, बालबालिकाका लागि लत्ताकपडा, जुत्ताचप्पल किन्ने र फाटेको पाल टाल्नेमा सदुपयोग गर्ने बताइन् । विस्थापितका लागि सुरुमा केही गैरसरकारी संस्था र धरान उपमहानगरले सहयोग गरे पनि स्थायी बसोबासका लागि हालसम्म कुनै व्यवस्था नगरेकामा चिन्तित बनेका छन् ।

गत वर्ष असोज ३ गते दिउँसो विष्णुपादुकाको आँपटारको बस्ती जमिन धसिएर पहिरो जाँदा ७ घर विस्थापित भएका थिए । तीमध्ये एक घर आर्थिक रूपमा आत्मनिर्भर भए पनि बाँकी ६ घर भने झुत्रे पालको भरमा बसेका छन् । विस्थापितहरूमा सवालमान राई, वीरकुमार राई, रामबहादुर याक्खा, रामबहादुर राई, बस्तीलाला राई, नन्दलाल यादव छन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×